Monday, December 19, 2011

गृहका अधिकारी र सुरक्षाकर्मीलाई विदेशीको भोजमा जान प्रतिबन्ध

विदेशीसित भेट्न गृह सचिवको सहमति लिनु अनिवार्य
काठमाडौं, ४ पुस- सरकारले गृह मन्त्रालयका निजामती कर्मचारी र मातहतका तीनवटै सुरक्षा निकायका प्रमुखलगायतका अधिकारीलाई विदेशी नियोग अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दातृ संस्थाद्वारा आयोजित कुनै पनि भोजमा जान प्रतिबन्ध लगाएको छ ।
गृह मन्त्रालयका अधिकारी मातहतका सुरक्षा निकाय नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु विदेशीको भोजमा जाने प्रवृत्ति बढ्दै गएको र त्यसले एकातिर सुरक्षाका काममा असर परेको र अर्कातिर भोजका नाममा कतिपयको विदेशीसित नाजायज सम्बन्धसमेत हुने गरेकाले त्यस्तो भोजमा जान प्रतिबन्ध लगाइएको जानकारी गृहका एक अधिकारीले दिए ।
एउटै भोजमा गृह र मातहतका सबैजसो माथिल्ला अधिकारी जाने र त्यतिबेला मुलुकमा कुनै महत्वपूर्ण घटना भएमा तत्काल आदेश दिने अधिकारीसमेत नहुने स्थिति आउने गरेकाले त्यस्तो घटना दोहोरिन नदिन यस्तो प्रतिबन्ध लगाइएको जानकारी स्रोतले दिएको छ । विदेशीसितको भोज र उठबसले संवेदनशील ठाउँमा बस्ने कतिपय अधिकारी नाजायज सम्बन्धका कारण कतिपय अवस्थामा कर्तव्यच्युत हुने गरेकाले समेत प्रतिबन्ध लगाउनुपरेको गृहका अधिकारीले उल्लेख गरे ।
नेपालस्थित कुटनीतिक नियोग र दातृ निकायमा रहेका विदेशीहरु र विदेशबाट केही दिन÷समयका लागि नेपाल आएका विदेशीहरुसँग यस मन्त्रालय र अन्तर्गतका निकायका पदाधिकारीले भेट गर्ने प्रकि्रयालाई व्यवस्थित एवं स्पष्ट गर्न वााछनीय भएकाले गृह मन्त्रालयले हालै 'विदेशीहरुसंग भेट गर्दा पालना गर्नुपर्ने निर्देशिका २०६८' बनाई लागू गरेको हो ।
'नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतका कर्मचारी वैदेशिक नियोग वा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वा दातृ संस्थाद्वारा आयोजित कुनै पनि भोजमा वा अन्य कार्यक्रममा सहभागी हुने छैनन्' निर्देशिकाको दफा ४ छ ।
विदेशीले आयोजना गरेको भोजमा कुनै कारणवश जानुपर्ने भएमा तीनवटै सुरक्षा निकायका प्रमुख र गृहका कर्मचारीले गृह सचिवको अनिवार्य रुपमा पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । 'सुरक्षा निकायका प्रमुखहरुले वैदेशिक नियोग वा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वा दातृ संस्थाद्वारा आयोजित कुनै पनि भोज र अन्य कार्यक्रममा सहभागी हुनुपरेमा गृहसचिवको अनुमति लिनुपर्नेछ । त्यसैगरी सुरक्षा निकायअन्तर्गतका कर्मचारीले सुरक्षा निकायका प्रमुखको अनुमतिमा र निजामती कर्मचारीले सचिवको अनुमति लिएर भोजमा सामेल हुन सक्नेछन्' निर्देशिकामा छ ।
गृह सचिव त्यस्ता भोजमा जानुपरेमा गृह मन्त्रीको अनिवार्य स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था निर्देशिकामा गरिएको छ । तीनवटै सुरक्षा निकायका प्रमुख÷कर्मचारी र गृहका अधिकारीहरुलाई आफूभन्दा माथिल्लो निकायको पूर्व स्वीकृतिबिना विदेशी नागरिकसित भेट्नसमेत प्रतिबन्ध लगाइएको छ । विदेशीसित भेट्नुपर्दा तीनवटै सुरक्षा निकायका प्रमुख/कर्मचारी र गृहका अधिकारीले कुन मुलुकको नागरिकसँग कुन विषय र समयमा भेट गर्न लागेको हो सम्पूर्ण विवरण खुलाई माथिल्लो अधिकारीबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
'कुनै नियोग वा दुतावास वा विदेशीसँग भेटघाट गर्दा के विषयमा कुन मुलुकका नागरिकसँग कुन मिति र समयमा भेट गर्न लागिएको हो सो को स्पष्ट विवरणसहित अनुसुची १ मा उल्लिखित भएअनुसार खुलाई सहमति लिनुपर्नेछ' निर्देशिकाको दफा २.२ मा उल्लेख छ ।
सुरक्षा निकायका प्रमुखहरुले विदेशीहरुसंग भेटघाट वा छलफलका क्रममा विदेशीले राखेका
विषयवस्तु तथा भेटघाट गर्ने व्यक्तिले दिएका जवाफको अभिलेख खडा गरी आफ्नो संगठनमा सुरक्षित राख्ने र त्यसको एकप्रति सहमति दिने पदाधिकारीलाई दिनुपर्ने अनिवार्य गरिएको छ । त्यसैगरी सचिव र सहसचिव तथा मातहतका विभागीय प्रमुखहरुले विदेशीसँग भेटघाटका क्रममा प्रस्तुत भएका द्विपक्षीय विषयवस्तु अभिलेख गरी सुरक्षित राख्नुपर्नेछ ।
निर्देशिकामा भेटघाटपछिको नतिजा र संवाद छिटो साधनद्वारा गृह मन्त्रालयलाई जानकारी गराउनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । वार्ताका क्रममा गृह र सुरक्षा निकायका अधिकारीले कुनै विषयवस्तुमा प्रतिबद्धता जनाउनुपर्ने अवस्था आएमा गृह मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने र स्वीकृति प्राप्त भएपछि मात्र प्रतिबद्धता जनाउने अनिवार्य व्यवस्था निर्देशिकाले गरेको छ ।
विदेशीसँग भेटवार्ता गर्दा प्रमुख जिल्ला अधिकारीले क्षेत्रीय प्रशासक क्षेत्रीय प्रशासक मन्त्रालयका सहसचिव तथा विभागीय प्रमुखहरु नेपाल प्रहरी सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले गृह सचिवसित पूर्व सहमति लिनुपर्नेछ । गृह सचिवले विदेशीहरुसँग भेटघाट गर्नुपरेमा गृहमन्त्रीको सहमति लिनुपर्ने अनिवार्य गरिएको छ । प्रमुखभन्दा तलका अधिकारीले आफ्नो प्रमुखमार्फत् गृह सचिवको स्वीकृति लिएपछिमात्र विदेशीसित भेट्न पाउने व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment