Tuesday, October 11, 2011

सरकार आफैं मितव्ययिता निर्देशिकाको खिल्ली उडाउँदै

 अमेरिकास्थित सहसचिव  र कतारस्थित दुतावासमा उपसचिवको दरबन्दी थप
काठमाडौं, २४ असोज- सरकार आफैंले बनाएको सरकारी खर्चमा मितव्ययिता कायम गर्ने निर्देशिका २०६८ को उल्लंघन गर्न थालेको छ । सरकारी खर्चमा मितव्ययिता कायम गर्न भदौ ३० मा जारी निर्देशिकाको व्यवस्थाविपरीत मन्त्रिपरिषदको सोमबार बसेको बैठकले परराष्ट्र मन्त्रालयमा कर्मचारीको दरबन्दी थप गरेको छ ।
सरकारी खर्चमा मितव्ययिता कायम गर्ने निर्देशिका २०६८ को दफा ३ मा 'निजामती प्रहरी सेनालगायत कुनै पनि संगठनमा नयाँ पद/दरबन्दी सिर्जना गरिने छैन । नयाँ संगठन स्थापना गरिने छैन' भन्ने उल्लेख छ । सरकारी खर्च घटाउन निर्देशिकाले कुनै पनि सरकारी निकायमा थप दरबन्दी सिर्जना गर्न बन्देज लगाएको छ ।
तर सरकारले मितव्ययिता निर्देशिकाको यो प्रस्ट व्यवस्थाको उल्लंघन गर्दै परराष्ट्र मन्त्रालयमा सहसचिव र उपसचिवको दरबन्दी थप गरेको हो । मन्त्रिपरिषद आफैंले मितव्ययिताविपरीत काम गर्न थालेपछि राज्यका अरु निकायलाई मितव्ययिता निर्देशिका उल्लंघनको बाटो खुलेको टिप्पणी सरकारी अधिकारीहरु नै गर्छन् ।
प्रधानमन्त्रीमा डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि विकासनिर्माणका लागि बढी बजेट जुटाउन सरकारी निकायमा हुने प्रशासनिक र फजुल खर्च कटौती गर्ने उद्धेश्यले सरकारले १ सय २ वटा दफा भएको मितव्ययिता निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याएको हो ।
अर्थमन्त्रालयले आफैंले प्रस्ताव गरेको मतव्ययिता निर्देशिकाविपरीत कसरी दरबन्दी थप्नेजस्तो आर्थिक दायित्व बढाउने परराष्ट्रको प्रस्तावमा सहमति दिएको हो भन्नेमा मन्त्रिपरिषद सचिवालयका अधिकारीले आश्चर्य व्यक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले अमेरिका र कतारस्थित नेपाली दुतावासका लागि सहसचिव र उपसचिवको दरबन्दी थप गरेको हो । अमेरिकास्थित नेपाली दूतावासमा सहसचिव र कतारको दुतावासमा उपसचिवको दरबन्दी थप गरिएको हो । अमेरिकामा अब राजदूतपछि उपसचिवको सट्टा सहसचिव राखिनेछ । कतारस्थित दुतावासमा समेत अब राजदूतपछि शाखा अधिकृतको सट्टा उपसचिव राखिनेछ ।

Monday, October 10, 2011

ऊर्जा क्षेत्रको विकासका लागि लगानीकर्ताहरुको सम्मेलन

काठमाडौं, २३ असोज- मुलुकमा ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउन राजधानीमा 'इन्भेस्टस्र फोरम' लगानीकर्ताहरुको सम्मेलन गरिने भएको छ । मुलुकको प्रमुख दातृ निकाय एसियाली विकास बैंक एडीबी को संयोजनमा ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक लगानी जुटाउन अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको सम्मेलन गर्न लागिएको जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार एडीबी अर्थ र ऊर्जा मन्त्रालयले छलफल गरी यही असोज २६ र २७ गते इन्भेस्टस्र फोरम गर्ने कार्यक्रम तय गरिएको छ । ऊर्जाको चरम संकट भोगिरहेको मुलुकमा यस क्षेत्रको विकासका लागि पहिलोचोटि अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन बृहतस्तरको इन्भेस्टस्र फोरम गर्न लागिएको हो ।
फोरममा अमेरिका, दक्षिण कोरिया, चीन, क्यानाडा, भारत, लाओस, भूटान, बेलायत, प्रुान्स, नेदरल्यान्ड र नर्बेसहित युरोपियन विभिन्न मुलुकका ठूला बहुराष्ट्रिय कम्पनी उद्योगपति तथा व्यापारी गरी एक सयभन्दा लगानीकर्ताको सहभागिता रहनेछ । अमेरिकाका तर्फबाट भारतमा लगानी गरिरहेका उद्योगपति र व्यापारीहरु सहभागी हुने स्रोतले उल्लेख गरेको छ । अर्थ र ऊर्जा मन्त्रालयले औपचारिक निर्णय गरी आग्रहपछि एडीबीले इन्भेस्टस्र फोरमको संयोजन गरेको हो ।
फोरममा सहभागी हुने लगानीकर्ताहरुलाई मुलुकमा ऊर्जा विकासको सम्भावना देखाउन असोज २८ गते राजधानीबाट नजिकको भोटेकोसी नदीको स्थलगत भ्रमण गराउने कार्यक्रमसमेत रहेको जानकारी ऊर्जा सचिव बालानन्द पौडेलले दिए ।
सम्मेलनमा सरकारका तर्फबाट प्रधानमन्त्री डा। बाबुराम भट्टराई अर्थमन्त्री वर्षमान पुन ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीसहितले मुलुकमा जलस्रोत विकासको अपार सम्भावना रहेको र नेपाललाई बढी हुने बिजुली बेच्न भारत ऊर्जाको ठूलो बजार रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरिने जानकारी स्रोतले दिए । सम्मेलनमा सत्तारुढ र विपक्ष दलका नेता र नेपाली उद्योगपति र व्यापारीलाई समेत सहभागी गराइनेछ ।
सम्मेलन चरम लोडसेडिङको समस्या भोगिरहेको मुलुकका लागि ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउने एउटा राम्रो अवसर हुने विश्वास ऊर्जाका एक अधिकारीले व्यक्त गरे । तर विभिन्न विद्युत आयोजनामा लगानी गर्न आएका भारतीय कम्पनीहरुमाथि सत्तारुढ माओवादीको अवरोध स्वदेशी तथा विदेशी लगानीका उद्योगहरु मजदुर हडतालका कारण एकपछि अर्को बन्द हुँदै गइरहेका बेला सरकारले सम्मेलनमा आएका अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी सुरक्षित छ भनेर विश्वस्त पार्न सक्नेमा प्रश्नसमेत उब्जिएको छ ।
सम्मेलनमा प्रधानमन्त्री र मन्त्रीहरुले लगानीकर्ताहरुको विश्वास जित्न ऊर्जामा क्षेत्रमा आउने लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले विभिन्न कदम चाल्ने घोषणा गर्ने तयारी भइरहेको जानकारी स्रोतले दिए । ऊर्जा क्षेत्रको विकासका लागि सत्तारुढ विपक्षी दल नेपाली उद्योगपति÷व्यापारी एकजुट छन् र लागनीका लागि उपयुक्त वातावरण छ भन्ने देखाउन राज्यका तर्फबाट कुनै कसरत बाँकी नराखिने जानकारी अर्थमन्त्रालयका एक अधिकारीले उल्लेख गरे ।

चार राजस्व न्यायाधीकरणमा अध्यक्ष तोकिए

काठमाडौं, २३ असोज- सरकारले पुनरावेदनका चार न्यायाधीशलाई चारवटा राजस्वसम्बन्धी मुद्दा हुने अदालतको अध्यक्ष तोकेको छ । मन्त्रिपरिषदको बैठकले न्यायपरिषद्को सिफारिसमा चार न्यायाधीशलाई चारवटा राजस्व न्यायाधीकरणमा अध्यक्ष तोकेको जानकारी सरकारी अधिकारीले दिए ।
ती अधिकारीका अनुसार राजस्व न्यायाधीकरण काठमाडौंको अध्यक्षमा पुनरावेदन अदालत पाटनका न्यायाधीश दीपककुमार कार्की, राजस्व न्यायाधीकरण विराटनगरको अध्यक्षमा पुनरावेदन अदालत विराटनगरका न्यायाधीश गिरीराज पौडेल, राजस्व न्यायाधीकरण पोखराको अध्यक्षमा पुनरावेदन अदालत पोखराका न्यायाधीश माधव चालिसे र राजस्व न्यायाधीकरण नेपालगन्जको अध्यक्षमा पुनरावेदन अदालत नेपालगन्जका न्यायाधीश प्रकाश ढुंगानालाई तोकिएको छ ।
तीन सदस्यीय राजस्व न्याधीकरणमा महालेखा नियन्त्रण कार्यालयका उपसचिव र अर्थमन्त्रालयको राजस्व समूहका उपसचिव सदस्य रहन्छन् ।
सहकारी वर्ष मनाउने निर्णय
सरकारले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मुलुकको सहकारीको विकास र प्रवद्र्धन गर्न सन् २०१२ लाई अन्तर्राष्ट्रिय वर्ष मनाउन कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्तको संयोजकत्वमा राष्ट्रिय समिति गठन गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने क्रममा साचालन गरिने कार्यक्रम कार्यान्वयन गर्न कृषि तथा सहकारी सचिव उमाकान्त झाको संयोजकत्वमा कार्यान्वयन समिति गठन गरिएको छ । सन् २०१२ मा सहकारीका माध्यमबाट मुलुकमा गरीबी निवारण मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुग्ने योगदानका बारेमा जनचेतना बढाउने सहकारीको विकास र प्रवद्र्धनका लागि आवश्यक उपयुक्त कानुन नियम र नीति बनाउने र पिछडिएको क्षेत्र तथा वर्गमा सहकारीको पहुँच बढाउने कार्यक्रम कार्यान्वयन गरी सहकारी वर्ष मनाइनेछ ।
आचारसंहिताको जिम्मा प्रधानमन्त्रीलाई
मन्त्रिपरिषदले मन्त्री र राष्ट्रसेवक कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहितालाई अन्तिम रुप दिने जिम्मा प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई दिएको छ । प्रधानमन्त्रीले आचारसंहिताको मस्यौदामाथि मन्त्रीहरुले दिने सुझावलाई मिलाएर अन्तिम रुप दिने जानकारी परराष्ट्रमन्त्री श्रेष्ठले दिए ।

Sunday, October 9, 2011

अहमद हत्या प्रकरणमा दुई सातासम्म छानबिनै सुरु भएन

काठमाडौं, २२ असोज- इस्लामी संघका महासचिव फैजान अहमदको हत्या भएको दुई साता भइसक्ता पनि घटनाको छानबिन गर्न मन्त्रिपरिषदद्वारा गठित समितिले काम सुरु नगरेको जानकारी स्रोतले दिएको छ ।
अहमदको गत असोज ९ मा राजधानीको रत्नपार्कमा दिनहाडै गोली हानी हत्या भएको भोलिपल्टै बसेको मन्त्रिपरिषद बैठकले सहन्यायाधिवक्ता विश्वबन्धु पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा प्रहरी वरिष्ठ उपरिक्षक मनोहर रिमाल र गृह मन्त्रालयका उपसचिव मुरारिराज शर्मा छन् ।
समिति गठन भए पनि त्यसमा रहने व्यक्ति तय हुन समय लागेको र यसबीचमा दसैं बिदा परेका कारण छानबिनको काम सुरु गर्न केही ढिलो भएको स्वीकारोक्ति गृह मन्त्रालयका एक अधिकारीले गरे ।
ती अधिकारीका अनुसार समितिलाई हत्याको छानबिन गरी दोषी पत्ता लगाएर कारबाहीको सिफारिस गर्न तथा महानगरीय प्रहरी कार्यालयको सामुन्ने राजधानीको मुटुमा दिनदहाडै हत्या हुँदा पनि हत्यारालाई पक्राउ गर्न नसक्नुमा कसकसको कमजोरी छ उनीहरुलाई केकस्तो नसहित दिनुपर्ने हो सुझाव दिनुपर्ने जिम्मा दिइएको छ ।
समितिका संयोजक र सदस्यहरुलाई आइतबारमात्र नियुक्तिपत्र दिइएको छ । कार्यालय व्यवस्था गरेर समितिले काम थाल्न अझै एक/दुई दिन लाग्ने गृह मन्त्रालय स्रोतले उल्लेख गरेको छ । समितिलाई काम थालेको एक महिनामा छानबिन प्रतिवेदन दिनुपर्ने म्याद दिएको छ ।

Saturday, October 8, 2011

अर्बौं पर्ने सरकारी जग्गा भूमाफियाको कब्जामा

काठमाडौं, २१ असोज- राजधानीको मुटुमा रहेको र मुख्य राजमार्गसित जोडिएको अर्बौं रुपैयाँ मूल्य पर्ने सरकारी कार्यालयको कम्पाउन्डभित्र रहेको जग्गामध्ये २१ रोपनीभन्दा बढीको लालपुर्जा विभिन्न व्यक्तिका नाममा रहेको खुलासा भएको छ । राजनीतिक नेता भूमाफिया र गुण्डाको आडमा आठ जनाले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै भोगचलन गर्न दिन या हालको मूल्यलाई आधार मानी मुआब्जा दिन माग गरी निवेदन दिएपछि उक्त तथ्य खुलासा भएको हो ।
सरकारले कृषि मन्त्रालयमातहतका दुई कार्यालयका लागि ४० वर्षभन्दा अघि अधिग्रहण गरी मुआब्जा दिइसकेको उक्त बहुमूल्य जग्गाको लालपुर्जा मालपोत कार्यालयको भ्रष्टाचार र भूमाफियाका कारण व्यक्तिको नाममा गरिएको हुन सक्ने सरकारी अधिकारीले उल्लेख गरेका छन् ।
कृषि मन्त्रालय स्रोतका अनुसार त्रिपुरेश्वरस्थित पशु सेवा केन्द्रको कम्पाउन्डभित्र रहेको ३९ रोपनीमध्ये १३ र बालाजुको चक्रपथ नजिकको मत्स्य विकास केन्द्रको कम्पाउन्डभित्र रहेको ५६ रोपनी जग्गामध्ये ८ रोपनीभन्दा बढी जग्गाको लालपुर्जा व्यक्तिको नाममा समेत छ । सरकारले दुई केन्द्रीय कृषि कार्यालयका लागि २०२४ २०२६ र २०३१ सालमा ती दुई ठाउँको जग्गा मुआब्जा दिई अधिग्रहण गरेको हो । ती दुई कार्यालयले नै आफ्नो कम्पाउन्डभित्र रहेको सम्पूर्ण जग्गा भोगचलन गर्दै आएका छन् ।
त्रिपुरेश्वरस्थित पशु सेवा केन्द्रको कम्पाउन्डभित्रको ३९ रोपनी जग्गामध्ये तीन जनाले १३ रोपनी र बालाजुस्थित मत्स्य विकास केन्द्रको कम्पाउन्डभित्र रहेको जग्गामध्ये पाँच जनाले ८ रोपनी आफ्नो नाममा रहेको लालपुर्जासहित कृषि मन्त्रालयमा दाबी गरेका छन् । उनीहरुले सरकारी कार्यालयको कम्पाउन्डभित्र रहेको 'आफ्नो जग्गा' आफूलाई भोगचलन गर्न दिन या हालको मूल्यलाई आधार मानी मुआब्जा दिन निवेदनमा माग गरेका छन् ।
राजनीतिक नेता गुण्डा र भूमाफियाहरुले कृषि मन्त्रालयका अधिकारीहरुलाई उक्त जग्गा दाबी गर्ने व्यक्तिहरुलाई हस्तान्तरण गर्न या हालको मूल्यमा मुआब्जा दिन बारम्बार दबाब र धम्की दिइरहेको जानकारी कृषि मन्त्रालयका एक अधिकारीले दिए । स्रोतका अनुसार जग्गा आफ्नो हो भन्ने दाबी गर्नेहरुमध्ये अधिकांशले केही नेता गुण्डा र भूमाफियालाई मन्त्रालयमै ल्याई कृषिका अधिकारीहरुलाई धम्की दिने गरेका छन् । भूमाफियाको दबाबमा हरेक नयाँ प्रधानमन्त्री भूमिसुधार र कृषिमन्त्रीले समेत सरकारी जग्गा आफ्नो हो भनी दाबी गर्ने व्यक्तिको निवेदनमा सहानूभूतिपूर्वक विचार गरिदिन तोक लगाउने गरेका छन् । त्यो तोक दबाब र धम्कीले कृषि मन्त्रालयका अधिकारीहरु चेपुवामा पर्ने गरेका छन् ।
सरकारले ४० वर्षभन्दा अघि तत्कालीन मूल्यअनुसार ८ हजार रुपैयाँ रोपनीका दरले अधिग्रहण गरेको जग्गाको हाल आनाकै करोडभन्दा बढी पर्छ । 'आनाको करोडको दरले २१ रोपनीको पुनः मुआब्जा दिनुपर् यो भने राज्यले सवा तीन अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्छ' कृषिका एक अधिकारीले भने ।
मत्स्य विकास केन्द्रको सम्पूर्ण जग्गाको लालपुर्जा कृषि मन्त्रालयको नाममा छ । केन्द्रको कम्पाउन्डभित्र रहेको जग्गामध्ये १०६, १०७, १०८, १९६ र १९७ नं. कित्ता आफ्नो भएको दाबी गर्नेमा डम्बरजंग पाण्डेसहित पाँच जना छन् । कृषि मन्त्रालयका अधिकारीका अनुसार केन्द्रका लागि जग्गा अधिग्रहण गर्दा प्रमाण पुग्ने जग्गाधनी सबैलाई मुआब्जा दिइएको थियो । उक्त पाँच कित्तामा खेतीपाती गर्ने व्यक्तिको प्रमाण नपुगेकाले मुआब्जा पाएका थिएनन् तर उक्त जग्गा भोगचलन गर्दै आएका व्यक्तिले नै केन्द्रसित त्यतिबेलै आफ्नो प्रमाण नपुगेको भन्दै मुआब्जा नपाए पनि अधिग्रहणलाई स्वीकार गरी राजीखुसी कागज गरेर दिएका थिए ।
कृषिका एक अधिकारीका अनुसार अहिले तिनै व्यक्तिका छोरानाति आएर जग्गा दाबी गरेका हुन् । राजीखुसी जग्गा अधिग्रहणलाई स्वीकार्ने व्यक्तिका छोरानातिहरुले नै मेरा बाबुले जग्गा या मुआब्जा नलिए पनि हामीलाई दिनैपर्छ भन्दै पाँच कित्ता जग्गा आफूलाई भोगचलन गर्न या हालको मूल्यमा मुआब्जा दिन माग गरेका हुन् । केन्द्रको नाममा सम्पूर्ण जग्गाको लालपुर्जा छ तर त्यसमध्ये पाँच कित्ताको लालपुर्जा प्रमाणै नभएका ती व्यक्तिका नाममा समेत कसरी बन्न पुग्यो भनेर कृषि मन्त्रालयका अधिकारी आश्चर्यचकित छन् उनीहरु मातपोत कार्यालयका कर्मचारीको नाजायज मिलोमतोले अनधिकृत व्यक्तिका नाममा धनीपुर्जा बनाइएको हुन सक्ने बताउँछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६५ मा नै ती पाँच कित्ता मत्स्य विकास केन्द्रकै भएको र हकदाबी गर्नेको कुनै प्रमाण नभएकाले मुआब्जा दिनुनपर्ने ठहर गरेको थियो ।
त्रिपुरेश्वरस्थित पशु सेवा केन्द्रको कम्पाउन्डभित्र रहेको ३९ रोपनी जग्गाको धनीपुर्जा कृषि मन्त्रालयसित छैन । कृषि मन्त्रालयले अधिग्रहण भएको ४० वर्ष बढी भइसक्ता पनि धनीपुर्जा लिनेतर्फ चासो नदिएका कारण भूमाफियाले खेल्ने मौका पाएको स्रोतले उल्लेख गरेको छ । मन्त्रालयले २०२४ र २०३१ मा केन्द्रका लागि अधिग्रहण गरेको जग्गाको धनीपुर्जा बनाइदिन ३५ वर्षभन्दा बढी पछि आएर मालपोत कार्यालयलाई आग्रह थियो । अधिग्रहण गरेको प्रमाण हुँदाहुँदै मालपोत कार्यालय काठमाडौंले भने भूमाफियासित मिलेर २०६० सालमा उक्त जग्गामा कसैको हकदाबी छ भन्ने निवेदन माग गरी सार्वजनिक सूचना प्रकाशित गरेपछि तीन जना व्यक्तिले १३ रोपनी जग्गा आफ्नो भएको दाबी गर्न आइपुगेका हुन् । स्रोतका अनुसार मालपोत कार्यालयले केन्द्रको ३९ रोपनीमध्ये १३ रोपनीमा तीन जना व्यक्तिको हकदाबी छ भन्दै कृषि मन्त्रालयलाई पूरै जग्गाको धनीपुर्जी बनाउन अस्वीकार गरिदिएको थियो ।
केन्द्रको जग्गामध्ये महेशविक्रम शाहले ६ रोपनी, कैलाशभक्त राजभण्डारीले ४ रोपनी र कन्हैया राजभण्डारीले तीन रोपनी आफ्नो भएको हकदाबी गरेका छन् । उनीहरुसित मालपोत कार्यालयले दिएको उक्त जग्गाको धनीपुर्जीसमेत छ । जबकि मालपोत कार्यालय काठमाडौंले कृषि मन्त्रालयलाई पठाएको प्रत्युत्तरमा नै १३ रोपनीमा तीन व्यक्तिको हकदाबी परे पनि नापीको रेकर्डमा भने सम्पूर्ण जग्गा ३९ रोपनी नै केन्द्रको नाममा रहेको उल्लेख गरेको छ । नापीको रेकर्डमा केन्द्रको नाममा भएको अधिग्रहहणको प्रमाणसमेत भएको सरकारी कार्यालयको कम्पाउन्डभित्र रहेको जग्गाको धनीपुर्जा मालपोतका तत्कालीन अधिकारीले भ्रष्टाचारको आडमा केही वर्षअगाडि तीन व्यक्तिको नाममा गरेको कृषिका अधिकारीले उल्लेख गरेका छन् ।
दुई सरकारी कार्यालयको जग्गाबारेमा जिज्ञासा राख्दा भूमिसुधार मन्त्रालयका अधिकारीले जग्गाको दोहोरो श्रेस्ता हुन नसक्ने दाबी गर्दै भए छानबिन गरी खारेज गरिने बताए । 'कुनै पनि जग्गाको दोहोरो श्रेस्ता हुन सक्तैन । कृषि मन्त्रालयबाट त्रिपुरेश्वर र माछापोखरीको पशु र मत्स्य विकास केन्द्रको कम्पाउन्डभित्र रहेको जग्गामध्ये केही भागको धनीपुर्जा कसरी व्यक्तिको नाममा पुग्यो भनेर सोध्दै त्यसलाई खारेज गर्न पत्र आएको छ । प्रमाण जसको पक्षमा पुग्छ उसैको नाममा दर्ता र धनीपुर्जा बन्छ । भूमिसुधार मन्त्रालयले सम्बन्धित कार्यालय मालपोत कार्यालय काठमाडौं लाई कृषि मन्त्रालयको उक्त जग्गाको छानबिन गरी दोहोरो श्रेस्ता खारेज गर्न अघिल्लो साता पत्र लेखिसकेको छ ।' उनका अनुसार दोहोरो श्रेस्ता खारेज गर्ने अधिकार मालपोत कार्यालयलाई छ ।

Sunday, October 2, 2011

प्रधानमन्त्रीले ढुंगेललाई आममाफी दिलाउने

काठमाडौं, १५ असोज- माओवादी नेता एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भट्टराईले ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका आफ्नो पार्टीका सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिन मन्त्रिपरिषदमा प्रस्ताव राखेका छन् ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकमा प्रधानमन्त्रीले सशस्त्र द्वन्द्वका क्रममा मुद्दा लागेका सबैलाई आममाफी दिने शान्ति सम्झौतालगायत सरकार र माओवादीबीच भएका विभिन्न समझदारीमा प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्दै सोहीअनुसार ढुंगेललाई आममाफी दिन राष्ट्रपति यादवसमक्ष सिफारिस गर्न प्रस्ताव गरेका हुन् ।
'ढुंगेललाई आममाफी दिने प्रस्तावले मन्त्रिपरिषदमा प्रवेश पाएको छ तर छलफल भए पनि कुनै निर्णय भएको छैन प्रधानमन्त्री र गृह मन्त्री विजयकुमार गच्छदारबीच पहिला सहमति गरी सम्भवतः मन्त्रिपरिषदको अर्को बैठकबाट ढुंगेललाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हुनेछ' एक मन्त्रीले भने । संविधानअनुसार अदालतबाट सजाय पाइसकेको व्यक्तिलाई आममाफी दिन मन्त्रिपरिषदले सिफारिस गर्ने र राष्ट्रपतिले आममाफीको घोषणा गर्ने व्यवस्था छ । सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका ढुंगेललाई सरकारले गिरफ्तार नगरी स्वतन्त्र रुपमा गतिविधि गर्न दिएको छ उनी संसद बैठकमा समेत सहभागी हुने गरेका छन् । सशस्त्र द्वन्द्वका क्रममा हत्या र यातना दिएका सेना र प्रहरीका अधिकारीले भने सजाय पाएका छन् धेरैजसोले उन्मुक्ति पाएका छैनन् तर नृशंस हत्या यातनालगायतका घटनामा संलग्न माओवादी नेता तथा कार्यकर्ता भने कसैले पनि सजाय पाएका छैनन् ।

माओवादी नेतृत्वको सरकारको लडाकुलाई पोस्ने निर्णय



लडाकुको मासिक भत्तामा १५ सयले वृद्धि
लडाकुका लागि वर्षको थप ३५ करोडभन्दा बढी खर्च हुने
काठमाडौं, १५ असोज- सरकारले छिट्टै सेनामा समायोजन र पुनःस्थापना गर्ने क्रममा रहेका माओवादी लडाकुलाई गत साउन महिनादेखि नै लागू हुने गरी मासिक भत्तामा ३० प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सात प्रमुख र २१ वटा सहायक शिविरमा रहेका माओवादी लडाकुको मासिक तलबमा जनही १५ सय रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी लडाकुलाई राष्ट्रसेवक कर्मचारीसरह खाइपाई आएको मासिक भत्तामा ३० प्रतिशत वृद्धि गरिएको हो । सरकारले राष्ट्रसेवक कर्मचारीको पनि ३० प्रतिशतको हाराहारीमा मासिक तलबसुविधा वृद्धि गरेको थियो ।
शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउन माओवादी लडाकुमध्ये एकथरीलाई सेनामा समायोजन र अर्काथरीलाई एकमुष्ठ रकम दिएर समाज पुनःस्थापना गर्न ढिलाइ भइसकेको छ । तर सरकारले सेना समायोजन र पुनःस्थापना गर्नेतर्फ कुनै पहल नगरी विपक्षी दल र सेना समायोजन विशेष समितिसित छलफलसमेत नगरी एकतर्फी रुपमा लडाकुको मासिक भत्ता वृद्धि गरेको हो । यसबाट सरकारको नेतृत्व गरिरहेको माओवादी छिट्टै लडाकुको समायोजन र पुनःस्थापना गर्न तयार नरहेको सन्देश दिएको सरकारी अधिकारीले दाबी गरे ।
यो वृद्धिपछि माओवादी लडाकुको मासिकभत्ता ५ हजारबाट बढेर ६ हजार ५ सय रुपैयाँ पुगेको छ । यो खाना खर्चबाहेकको सुविधा हो । लडाकुलाई खाना खर्चबापत सरकारले मासिक सरदर जनही तीन हजार रुपैयाँका दरले िदंदै आएको छ । हाल माओवादी लडाकुको संख्या १९ हजार ५ सय २७ जना छ । यो वृद्धिपछि माओवादी लडाकुको मासिक भत्ता र खाना खर्च गरी वर्षको साँढे २ अर्ब रुपैयाँ खर्च हुने जानकारी शान्ति तथा पुनर्निर्माण मन्त्रालयका अधिकारीले दिए । यो खर्च लडाकुका २१ वटा शिविरमा हुने मसलन्द बिजुली खानेपानी महसुल शिविरको मर्मतसम्भार र इन्धनबाहेकको खर्च हो । यसअघि लडाकुका लागि मासिक भत्ता र खाना गरी वर्षको २ अर्ब रुपैयाँभन्दा बढी खर्च हुन्थ्यो ।
लडाकुको मासिक भत्तामा १५ सय वृद्धिले राज्यको ढुकुटीबाट मासिक तीन करोड र वार्षिक ३८ करोड रुपैयाँका दरले थप खर्च हुने जानकारी सरकारी अधिकारीले दिए । माओवादी लडाकुलाई बढेको दसैं खर्चसहित तीन महिनाको थप रकम िदंदा एकमुष्ठ १२ करोड रुपैयाँ खर्च हुनेछ । जबकि लडाकुलाई सरकारले यसअघि नै दसैं खर्चसहित यो तीन महिनाको अवधिको साँढे ६२ करोड रुपैयाँ दिइसकेको छ ।
माओवादी शान्ति प्रकि्रयामा आएपछि तत्कालीन सरकारले शिविरमा राखिएका लडाकुलाई २०६३ सालमा मासिक तीन हजार भत्ता र खाना खर्च तीन हजार रुपैयाँका दरले दिन थालेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा २०६६ सालमा तत्कालीन अर्थमन्त्री डा। बाबुराम भट्टराईले लडाकुको मासिक भत्तामा २ हजारले वृद्धि गरी ५ हजार रुपैयाँ पुर् याएका थिए । भट्टराई नै प्रधानमन्त्री भएका बेला पुनः लडाकुको मासिक भत्तामा वृद्धि गरिएको हो ।
भट्टराईको अगुवाइमा माओवादी कार्यकर्ता र आफ्नो पार्टीलाई प्रत्यक्ष ठूलो आर्थिक फाइदा पुग्ने गरी निर्णय गरेको यो तेस्रोपटक हो । भट्टराई नेतृत्वको मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले माओवादी सशस्त्र द्वन्द्वकालमा मारिएका र बेपत्ता भएका व्यक्तिका १५ हजारभन्दा बढी परिवारलाई २÷२ लाख रुपैयाँ थप राहत दिने निर्णय गरेको थियो । यो सहायता पाउनेमा सबैजसो सशस्त्र द्वन्द्वमा मारिएका र बेपत्ता माओवादी कार्यकर्ता हुनेछन् ।
यसअघि भट्टराई अर्थमन्त्री हुँदा नै २०६५ सालमा पहिलोपटक सशस्त्र द्वन्द्वमा मारिएका र बेपत्ता भएका परिवारलाई एक÷एक लाख रुपैयाँ राहत दिइएको थियो । हाल भट्टराई प्रधानमन्त्री भएको एक महिनामै तिनैलाई थप २/२ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिएको हो ।
सरकारले यसपटक राहतको निर्णय गर्दा माओवादी कार्यकर्ता र अरुलाई भेदभाव गरिएको छ । सरकारले यसपटक सशस्त्र द्वन्द्वका क्रममा नेपाली सेना नेपाल प्रहरी र सशस्त्रका मारिएका व्यक्तिको पीडित परिवारलाई भने राहत नदिने भएको छ । सरकाले यसअघि तीन लाख रुपैयाँभन्दा बढी राहत पाइसकेकालाई थप रकम नदिने निर्णय गर्दै सेना र प्रहरीका मारिएका पीडित परिवारमाथि भेदभाव गरेको हो ।
सरकारले सशस्त्र द्वन्द्वका क्रममा माओवादीद्वारा मारिएका र बेपत्ता पारिएका व्यक्तिलाई समेत राहत वितरणमा भेदभाव गरेको छ । माओवादीद्वारा मारिएका र बेपत्ता पारिएका व्यक्तिका परिवारलाई भने सरकारले डेढ/डेढ लाख रुपैयाँमात्र राहत दिने निर्णय गरेको छ जुन द्वन्द्वमा मारिएका माओवादीका कार्यकर्ता र बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारलाई दिन लागिएको राहत रकमभन्दा ५० हजार रुपैयाँ कम हो ।
यसअघि माओवादी नेतृत्वको सरकारले २०६५ मा सशस्त्र द्वन्द्वका क्रममा मारिएका र बेपत्ता भएका सबैलाई बराबर एक/एक लाख रुपैयाँ राहत दिइएको थियो त्यति बेला माओवादी सेना प्रहरी या सर्वसाधारण भनेर कसैलाई पनि भेदभाव गरिएको थिएन ।
राष्ट्रपतिको भ्रमण दल तय
सरकारले राष्ट्रपति डा। रामवरण यादवले आगामी असोज २३ देखि २५ सम्म गर्न लागेको कतारको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बैठकले भ्रमण टोली कार्यक्रम र त्यसका लागि लाग्ने खर्चसमेत स्वीकृत गरेको छ ।
राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल र कतारबीच भिसामा सरलीकरण र सहयोग अभिवृद्धि गर्नेलगायत प्रस्तावित विभिन्न समझदारी गर्नसमेत सरकारले भ्रमण दललाई स्वीकृति दिएको छ । राष्ट्रपतिको भ्रमणमा सवारी मन्त्रीका रुपमा भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठी जानेछन् । भ्रमण दलमा राष्ट्रपतिकी छोरी राष्ट्रपति कार्यालयका सचिव वामन न्यौपाने प्रेस सल्लाहकार राजेन्द्र दाहाल, स्वकीय सचिव ललित बस्नेत, निजी चिकित्सक, दुई सुरक्षाकर्मी, कायममुकायम परराष्ट्र सचिव दुर्गा भट्टराई, शिष्टाचार महापाल मुक्ति भट्टलगायत छन् ।