Thursday, October 20, 2011

प्राधिकरणलाई थाहै नदिई कुलेखानीको जलाशयमा मोटरबोट सन्चालन

कुलेखानीको बाटामा जिविसको कर
काठमाडौं, ३ कात्तिक- पाँच वर्षपछि कुलेखानीको जलाशय इन्द्रसरोवर यसपटक भरिएपछि प्राधिकरणका कर्मचारीमा निकै ठूलो खुसी छाएको थियो तर त्यसको एक'दुई दिनमा नै सात किलोमिटर लामो इन्द्रसरोवरमा एकाएक मोटरबोट चल्न थालेपछि उनीहरु आश्चर्यमा परेका छन् । विद्युत् प्राधिकरणको जिम्मा र पूर्ण सुरक्षामा रहेको इन्द्रसरोवरमा कसले कसको अनुमति दिएर मोटरबोट चल्न थालेका हुन् कुलेखानी पहिलो आयोजनाका प्रमुख र कर्मचारी कसैलाई जानकारीसम्म छैन । अरु बेला कुलेखानी आयोजनाको अनुमित नलिई सर्वसाधारणले इन्द्रसरोवरको नजिक गएरहेर्नसमेत पाउँदैनथे तर यसपटक तीन सातादेखि दिनहुँ हजारौं व्यक्ति इन्द्रसरोवरमा डुंगामा सयर गरिरहँदा पनि कुलेखानीका कर्मचारी टुलुटुलु हेरेर बस्न बाध्य छन् ।
'कुलेखानी जलाशय प्राधिकरणको पूर्ण सुरक्षामा रहेको सम्पत्ति हो यसमा मोटरबोट या डुंगा चलाउन उपयुक्त छ'छैन छ भने स्वीकृति दिने अन्तिम अथरिटी प्राधिरकरण हो' कुलेखानी पहिलो आयोजनाका प्रमुख रघुवीर महासेठले भने-' प्राधिकरणले अनुमति दिनु त परको कुरा प्राधिकरणलाई बाइपास गरेर डुंगा चलाउन कसले अनुमति दिएको हो औपचारिक रुपमा हामीलाई जानकारीसम्म आएको छैन ।/ प्राधिकरणका कर्मचारीका अनुसार कुलेखानीको जलाशय भरिएर एकदम सुन्दर देखिएकाले त्यसमा मोटरबोटमा शयर गर्न जानेको संख्या ह्वात्तै बढेको छ । राजधानीबाट दिनहुँ तीन हजारभन्दा बढी व्यक्ति कुलेखानी गएर जलाशयमा डुंगामा शयर गरेर आनन्द लिन्छन् दिनहुँ डुंगामा शयर गर्नेहरुको संख्या बढिरहेको छ । सन्चालकहरुले यात्रुहरुलाई दुइटा मोटरबोटबाट प्रतिव्यक्ति २ सय रुपैयाँ लिएर सात किमी लामो जलाशयको शयर गराउँछन् १०/१० जना चढ्ने दुइटामात्र मोटरबोटमात्र भएकाले यात्रुहरुले डुंगामा शयर गर्न घन्टौं कुर्नुपर्छ ।
आयोजनाका कर्मचारीका अनुसार डुंगा साचालकले मोटरबोट दुर्घटना भएमा यात्रुलाई बचाउन आवश्यक लाइफ ज्याकेट उद्धार गर्ने डुंगा र जनशक्तिजस्ता सेफ्टी मिजर अपनाएका छैनन् । 'दुर्घटनामा मोटरबोट चढ्नेको मृत्यु भयो भने उल्टै अवगालमात्र आउने हो कि भन्ने चिन्ता हामीलाई छ' महासेठले भने ।
कुलेखानीका कर्मचारीले जिल्ला विकास समिति मकवानपुरले अनधिकृत रुपमा कुलेखानी जलाशयको माछापालन समूहलाई निश्चित रकम लिएर ठेक्कामा मोटरबोट चलाउने अनुमति दिएको दाबी गरे । जिविसले जलाशयमा माछा मार्ने समूहलाई डुंगा साचालन समिति बनाउन लगाएर दुइटा मोटरबोट ११ लाख रुपैयाँमा खरिद गरी साचालन गर्न दिएको हो । डुंगा साचालन समितिसित मोटरबोट खरिद गर्ने पैसा नभएकाले जिविसले खरिद गरेर दिएको जिविसका अधिकारी बताउँछन् ।
कुलेखानी आयोजनाले मकवानपुर जिविस जिल्ला प्रशासन र माछापालन समूहलाई एक साताअघि पत्र लेखी प्राधिकरणको सम्पत्ति जलाशयमा कसको अनुमतिमा कसले डुंगा चलाइरहेको हो भनी स्पष्टीकरण सोधेको छ । 'प्राधिकरणको स्वीकृतिबिना जलाशयमा कसैले पनि डुंगा चलाउन पाउँदैन जलाशयमा डुंगा चलाउन दिने/नदिने कुनै नीतिसित प्राधिकरणले बनाएको छैन' पत्रमा छ ।
मकवानपुरका जिल्ला विकास अधिकारी भुवनप्रकाश भट्टले इन्द्रसरोवरमा माछा पालन समूहलाई डुंगा चलाउन दुइटा मोटरबोट खरिद गरेर दिएको तर साचालन अनुमति भने आफूहरुले नदिएको दाबी गरे । उनले डुंगा साचालकबाट जिविसले करसमेत नलिएको दाबी गरे । उनले पर्यटन वर्षका अवसरमा कुलेखानी जलाशयमा आन्तरिक पर्यटक बढाउन अनुदानमा 'सिड मनी' का रुपमा मोटरबोट दिएको र डुंगा चलाउने अनुमति माछा पालन समूहले प्राधिकरणसित लिए÷नलिएको आफूलाई थाहा नभएको दाबीसमेत गरे । माछा पालन समूह कुलेखानी ड्याम बनाउँदा प्रभावित स्थानीयबासीको समूह हो ।
भट्टलई जिविसले दिएको मोटरबोटको कमाइबाट डुंगा साचालन समितिले खुट्टाले चलाउने डुंगा खरिद गरेर स्थायी रुपमा साचालन गरुन् भन्ने आफूहरुको सोच रहेको बताए । उनले डुंगा सन्चालन समितिले प्राधिकरणसित स्वीकृति लिए/नलिएको आफूलाई पहिला थाहा नभएको दाबी गरे । कुलेखानी आयोजनाको पत्र आएपछिमात्र आफूले उनीहरुले प्राधिकरणसित स्वीकृति नलिएको र सेफ्टी मिजर नअपनाएको थाहा पाएको दाबीसमेत उनको छ । उनले जिविसका तर्फबाट डुंगा सन्चालकलाई यात्रुको बिमा र सेफ्टी मिजर अपनाउन दुर्घटना भएमा तत्काल उद्धार गर्न सक्ने व्यवस्था गर्न आग्रह गरिएको दाबी गरे ।
भीमफेदीबाट कुलेखानीको जलाशयसम्म १६ किमी पिच बाटो कुलेखानी आयोजनाले बनाएको हो त्यसको मर्मतसम्भारसमेत प्राधिकरणले नै गर्छ । तर प्राधिकरणको सम्पत्तिका रुपमा रहेको उक्त बाटामा जिविससहितले तीन ठाउँमा ढाँट राखेर कर उठाउँछन् एक ठाउँमा जिविसको नाममा करको रसिद दिइन्छ बाँकी दुई ठाउँमा कसले उठाएको हो त्यो प्राधिकरण र कुलेखानीका कर्मचारीलाई थाहा छैन । 'हामीले बनाएको मर्मतसम्भारसमेत हामीले नै गर्ने सडकमा जिविसलगायतले किन कर उठाइरहेका हुन् भन्ने औपचारिक जानकारीसमेत हामीलाई छैन' कुलेखानीका कर्मचारीले भने ।
प्राधिकरणको बाटामा प्रतिमोटर २५ रुपैयाँ र प्रति मोटरसाइकल १० रुपैयाँ कर असुल्ने गरिएको छ । राजधानीबाट कुलेखानी हुँदै तीन घन्टामा हेटौंडा पुगिने उक्त सडकमा दिनको सरदर हजारभन्दा बढी गाडी गुड्छन् । उक्त सडकमा वर्षको करोडौं रुपैयाँ कर उठ्छ तर त्यसको केही अंश चरम घाटामा रहेको प्राधिकरणले पाउनु त परको कुरा कर उठाइन्छ भन्ने औपचारिक जानकारीसमेत प्राधिकरणलाई छैन । जिविसले कुलेखानी जलाशयको केही तल ढाँट राखेर कर उठाउँछ । जिल्ला विकास अधिकारी भट्टले हेटौंडादेखि काठमाडौंसम्मको बाटाको कर कुलेखानीले बनाएको सडकमा ढाँट राखेर उठाइरहेको स्वीकार गरे । 'अब ढाँट कुलेखानीले बनाएको सडकभन्दा केही माथि सार्ने तयारी गर्दैछौं' भट्टले भने ।





Wednesday, October 19, 2011

साहलाई बचाउन पीडितलाई घुस दिने झा तिवारी हत्याका मतियार

काठमाडौं, २ कात्तिक- वीरगन्जका काशी तिवारीको हत्याको अभियोग लागेका तत्कालीन भूमिसुधारमन्त्री प्रभु साहलाई जोगाउन ८ लाख रुपैयाँ पीडितलाई घूस दिने भूमिसुधार मन्त्रालयका विवादास्पद सहसचिव नागेन्द्र झामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारले कुनै कारबाही प्रकि्रया सुरु नगरेकामा सरकारी अधिकारीले आश्चर्य व्यक्त गरेका छन् ।
आफ्नै तालुकवाला मन्त्री साहलाई बचाउन पीडितलाई एक साताअघि ८ लाख रुपैयाँ दिएर दोषीलाई नपोल्न प्रलोभन दिएको घटनाले झामाथि घुस दिएकोमात्र होइन हत्यारालाई बचाउन खोजेको अर्थ लाग्ने उल्लेख गर्दै ती अधिकारीले त्यस्तो व्यक्तिले कुनै पनि अर्थमा उन्मुक्ति पाउन नहुने र सरकारको जिम्मेवार पदमा बसिरहन नमिल्ने बताए ।
प्रधानमन्त्री डा। बाबुराम भट्टराईले विपक्षी दलको मागबमोजिम हत्याको अभियोग लागेका साहलाई बुधबार बर्खास्त गर्दा पनि उनैलाई हत्याको अभियोगबाट बचाउन पीडितलाई घूस दिने भूमि व्यवस्थापन तालिम केन्द्रका कार्यकारी निर्देशक झामाथि सरकार र संवैधानिक निकायले कारबाही नथाल्नुले दण्डहीनतालाई बढाउने चिन्ता ती अधिकारीले व्यक्त गरेका छन् ।
वीरगन्जमा तिवारीको हत्या हुँदा झा पसा्रकै प्रजिअ थिए । त्यतिबेला झाले प्रजिअको नाताले तिवारीमा हत्यामा संलग्न साह र उनका सहयोगीहरुलाई पक्राउ गर्न कुनै चासो दिएनन् । तिनै झाले पसा्रको प्रजिअबाट भूमिसुधार मन्त्रालयमा फर्किएपछि उल्टै तिवारीको हत्यामा संलग्नलाई बचाउन पीडित परिवारलाई राजधानीस्थित आफ्नै निवासमा बोलाएर हत्यामा मन्त्री साहलाई नपोल्न भन्दै ८ लाख रुपैयाँ दिएका थिए । पीडित परिवारले झाले साहलाई नपोल्न घूस दिएको भन्दै आफूलाई दिएको रकमसमेत पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए ।
प्रजिअ हुँदा हत्यामा संलग्नलाई पक्राउ गर्न नखोज्नु र पछि साहलाई जोगाउन घूस दिनुले उक्त घटनामा झासमेत अपरोक्ष रुपमा संलग्न रहेको आशंका बढेको छ । अझ एक सय रुपैयाँसम्म घुस िदंदा या िलंदा पनि कर्मचारी या अन्य व्यक्ति कारबाही हुने गरेका उदाहरण हुँदाहुँदै झामाथि छानबिन नभएको घटनाले मुलुकमा घूसखोरीलाई प्रश्रय दिने अधिकारीहरु बताउँछन् ।
भूमिसुधार सचिव लालमणि जोशीले झामाथि कारबाहीको प्रकि्रया सुरु नभएको जानकारी दिए । 'झाविरुद्ध मन्त्रालयमा कुनै उजुरी आएको छैन साचार माध्यममा आएपछि मैले बोलाएर सोधें झाले सत्य होइन भने । उजुरी नआएकाले झामाथि कुनै कारबाही सुरु भएको छैन' जोशीले भने ।
पसा्रमा प्रजिअ हुँदा झा गम्भीर विवादमा परेका थिए । जिल्लामा कानुनी शासन चलाउनुपर्ने झा आफैं भन्सार छली ल्याएको चोरीको गाडीमा पसा्र जिल्लाको शयर गर्ने गर्थे । इष्टमित्रसहित चोरीको गाडीमा हिडिरहेको बेला स्थानीबासीले झालाई नियन्त्रणमा लिएपछि उनी विवादमा परेका थिए ।
झा नापीतर्फका प्राविधिक अधिकारी हुन् । उनीमाथि नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको अभियोगमा अख्तियारले छानबिन गरिरहेको छ । नापी विभाग र मातहतका विभिन्न कार्यालयमा रहँदा धूर्त कर्मचारी मानिने झा अन्तरिम सरकारका पालादेखि गृहमा सरुवा भई प्रजिअ भएका हुन् । मधेशी दलहरुले मधेशका जिल्लामा मधेशी प्रजिअ चाहिन्छ भन्ने आवाज उठाएपछि झासहित प्रशासन समूह बाहिरका ५ जनालाई प्रजिअ बनाइएको थियो । झा नापीतर्फबाट प्रजिअ हुने एक्लो अधिकारी हुन् ।
उनी तीन वर्ष गृहमा रहँदा कपिलवस्तु, रुपन्देही र अन्तिम कालमा पसा्रमा प्रजिअ थिए । एमाले अध्यक्ष झलनाथ खनालका पालामा विवादास्पद झालाई भूमिसुधार मन्त्रालयमै फर्काइएको हो ।

विपा र दोहारो कर सम्झौता र सहुलियत ऋण मुख्य एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमण भोलिदेिख
काठमाडौं, २ कात्तिक- द्विपक्षिय लगानी सुरक्षण विपा र दोहारो कर नलाग्ने सम्बन्धि सम्झौतासंगै थप १ अर्ब डलरको ऋण सहयोग सहितको मुख्य एजेन्डा लिएर प्रधानमन्त्री बाबुराम भट्टराई विहिबार भारत भ्रमणमा जादैछन ।
भारतीय चासो रहेको तर नेपालमा विवादास्पद विपा सम्झौतालाई मन्त्रीपरिषदबाट पारित गराउन सफल भट्टराईलाई भ्रमणका क्रममा नेपालको चासोका बिषयमा सहमत बनाउन सहज हुने देखिएको छ ।
विपामा भारतीय लगानीमा हुने नोक्सानीको क्षँतिपुर्तिको विवादास्पद बिषयमा लामो छलफल पछि मन्त्रीपरिषदले पारित गरेको हो । 'क्षतिपुर्तिको बिषय नेपाललाई हानी हुने नदेखिएपछि मन्त्रीपरिषदले पारित गरेको हो' सहभागि एक मन्त्रीले भने ।
यसैगरि दाहोरो कर नलाग्ने सम्बन्धि सम्झौतालाई पनि मन्त्री परिषदले पारित गरेपछि यसमा पनि हस्ताक्षर हुने भएको छ । यस सम्झौता पछि नेपाल वा भारतमा एक अर्का देशका लगानीकर्ताले व्यवसाय गर्दा एक ठाउमा मात्रै कर तिरे पुग्नेछ । यो सम्झौता पछि यसअघि सन १९८७ मा भएको यस्तै खाले सम्झौता खारेज हुने छ ।
भ्रमण दलमा प्रधानमन्त्री पत्नी हिसिला यमी, परराष्ट्र मन्त्री श्रेष्ठ, सूचना तथा साचारमन्त्री जयप्रकाश गुप्ता, भौतिक योजना मन्त्री हृदयेश त्रिपाठी, वाणिज्य मन्त्री लेखराज भट्ट, अर्थमन्त्री वर्षमान पुन, परराष्ट्रसचिव दुर्गा भट्टराई, शिष्टाचार महापाल मुक्ति भट्ट, मुख्यसचिव माधव घिमिरे, वाणिज्य सचिव पुरुषोत्तम ओझा, अर्थसचिव कृष्णहरि बाँस्कोटालगायत छन् ।
प्रधानमन्त्रीले भारतमा रहँदा समकक्षी भारतीय प्रधानमन्त्री मनमोहन िसंह राष्ट्रपति प्रतिभा पाटिल सरकारी प्रमण्डल भारतीय विभिन्न दलका नेता वरिष्ठ मन्त्रीलाई भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री भट्टराईले राजधानीलाई तराइसंग जोडने फाष्ट ट्रयाक निर्माणका लाि एक अर्ब अमेरिकी डलर करिब ७८ अर्ब रुपैया को सहुलियत पुर्ण ऋणको पहल गर्नेछन । भारतले दरिलो आयोजना माग गरेपछि नेपालले फाष्ट ट्रयाक प्रस्ताव गरेको हो । उक्त सहयोग पाउने सम्भावना उच्च रहेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।
यसअघि राष्ट्रपतिको भारत भ्रमणका क्रममा तय भएको २५ करोड अमेरिकी डलर करिब साढ १९ अर्ब रुपैया को सहुलियत ऋण सम्झौता पनि यसपटक हस्ताक्षर हुनेछ ।
यसैगरि कैलालीको अत्तरिया र बिरगंजमा विशेष आर्थिक क्षेत्र निर्माणका लागि पनि भारतको सहयोग खोजिनेछ । यसैगरि भारतसंग आयोडिन नुन सहयोग माग्ने सम्बन्धि प्रस्तावलाई पनि बुधबारको मन्त्रीपरिषदले पारित गरेको छ ।

योजना आयोगका सदस्य झा पदमुक्त

काठमाडौं, २ कात्तिक- सरकारले राष्ट्रिय योजना आयोगका सदस्य सुवोधनारायण झालाई पदमुक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पालामा सदस्य नियुक्त झालाई मन्त्रिपरिषदको बैठकले पदमुक्त गरेको जानकारी स्रोतले दिए । सदस्य नियुक्त भएको सवा दुई वर्षमा दुईपटक सरकार परिवर्तन हुँदा उपाध्यक्षसहित आयोगका अरु सबैले राजिनामा दिए पनि उनी नदिईकन पदमा बसिरहेका थिए ।
निवर्तमान प्रधानमन्त्री झलनाथ खनालका पालामा झा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमतिर लागेका कारण उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक को प्रस्तावमा उनलाई हटाइएको जानकारी स्रोतले दिए ।

Tuesday, October 18, 2011

विद्युत प्राधिकरणमा कार्यकर्ता नियुक्त

काठमाडौं, १ कात्तिक- ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरण सन्चालक समितिको रिक्त तीन सदस्य मनोनयन गरेको छ । ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले मन्त्रालयस्तरीय निर्णय गरी सन्चालक समितिको सदस्यमा उपभोक्ताका तर्फबाट कृष्णप्रसाद दुलाल विद्युत् क्षेत्रका विश्वप्रसाद गौतम र मोहनराज पन्तलाई नियुक्त गरेका हुन् । तीनै जना हाल माओवादी पार्टीसँग सम्बद्ध रहेको स्रोतले उल्लेख गरेको छ ।
निवर्तमान ऊर्जामन्त्री गोकर्ण बिष्टका पालामा नियुक्त सन्चालकद्वय सुवास कर्माचार्य केदार सन्जेलले राजिनामा दिएपछि रिक्त पदमा नयाँ नियुक्ति गरिएको हो । बिष्टका पालामा नियुक्त अर्का सन्चालक सुजित आचार्यले भने राजिनामा दिएका छैनन् । प्राधिकरण ऐनमा साचालक समितिमा विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका २ उपभोक्तामध्येबाट १ र वित्तीय क्षेत्रबाट १ जना नियुक्त गर्ने व्यवस्था छ । ऊर्जा सचिव अध्यक्ष रहेको प्राधिकरण सन्चालक समितिमा अर्थसचिव पदेन सदस्य रहने व्यवस्था छ ।

Monday, October 17, 2011

लुम्बिनीमा आधिकारिताकै प्रश्न उठेको चिनियाँ संस्था भित्र्याउन दाहाल समिति गठन

सन् २०१२ लुम्बिनी भ्रमण वर्ष
काठमाडौं, ३० असोज- सरकारले बृहत्तर लुम्बिनी विकासका लागि पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को अध्यक्षतामा उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लुम्बिनी क्षेत्रको विकासका लागि बृहत् गृरुयोजना बनाउन तथा त्यसका लागि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरी बढी सहयोग जुटाउन गठित समितिमा पूर्वसंस्कृति मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, एमाले नेता डा. मंगलसिद्धि मानन्धर, वनमन्त्री वकिल मुहम्मद, मनोजबहादुर श्रेष्ठ र लुम्बिनी विकास कोषका उपाध्यक्ष पेम्बा लामालाई राखिएको छ ।
दाहाल सह-अध्यक्ष रहेको चिनियाँ संस्था एसिया प्यासिफिक एक्सचेन्ज एन्ड को-अपरेसन फाउन्डेसन एपेक ले लुम्बिनी विकासका लागि नेपाल सरकारसित पूर्व सहमति बिनै ३ अर्ब डलर लगानी गर्ने महत्वाकांक्षी योजना घोषणा गरेको छ । त्यही संस्थाको माध्यमबाट लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन दाहालको अध्यक्षतामा निर्देशक समिति गठन गरिएको जानकारी एक मन्त्रीले दिए । संस्थाले लगानी गर्ने भनॆको तीन अर्ब डलर रकम कसरी जुट्छ भन्ने आधार दिन सकेको छैन । लुम्बिनीमा तीन अर्ब अमेरिकी डलरको महत्त्वाकांक्षी परियोजना घोषणा गर्ने चिनियाँ संस्थाको आधिकारिता र विश्वसनीयताबारे प्रश्न उठिरहेको छ ।
लुम्बिनी विकासमा योगदान पुर् याउँदै आएका विज्ञ समाजसेवी विकासविद र स्थानीय जनप्रतिनिधि गरी राष्ट्रिय निर्देशक समितिमा ११ जनासम्म सदस्य थप गरिने जानकारी सरकारका प्रवक्ता एवं पररराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए ।
श्रेष्ठका अनुसार राष्ट्रिय निर्देशक समितिलाई ख्यातिप्राप्त विज्ञहरुको सहयोग लिई बृहत्तर लम्बिनी विकासका लागि गुरुयोजना तयार गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने बृहत्तर लुम्बिनी विकास परियोजना साचालनका लागि आवश्यक सहयोग जुटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहल गर्ने जिम्मेवारी दिइएको छ । ुबृहत्तर लुम्बिनी विकास लागि सरकारले अन्तर्राष्ट्रिय शान्ति र सहनिर्माणको अवधारणा अघि बढाएर गुरुयोजना साचालन गर्नेछु श्रेष्ठले भने । बृहत्तर लुम्बिनी विकास गुरुयोजना क्षेत्र विस्तार गरी तीनवटा जिल्ला रुपन्देही कपिलवस्तु र नवलपरासीमा कार्यक्रम साचालन गर्ने निर्णयसमेत सरकारले गरेको छ ।
सरकारले विश्व सम्पदा सूचीमा रहेको र ऐतिहासिक महत्वको लुम्बिनीको प्रचारप्रसार संसारभर गरी यसप्रति विश्वकै ध्यानाकर्षण गरी विश्वभरका पर्यटकको आगमनलाई वृद्धि गर्न सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने निर्णयसमेत गरेको छ । भ्रमण वर्षले लुम्बिनी विकासका लागि अन्तर्राीष्ट्रय सहयोग जुटाउनसमेत सहयोग पुग्ने विश्वास सरकारको छ ।
दुई संस्थानमा अध्यक्ष तोकिए
सरकारले वन मन्त्रालयका दुई सहसचिवलाई टिम्बर कर्पोरेसन र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको साचालक समितिको अध्यक्ष तोकेको छ । मन्त्रिपरिषदले वन मन्त्रालयको वैदेशिक समन्वय महाशाखा प्रमुख रामप्रसाद लम्साललाई टिम्बर कर्पोरेसन तथा योजना महाशाखा प्रमुख हरिहर सिग्देललाई जडिबुटीको अध्यक्ष तोकेको जानकारी परराष्ट्रमन्त्री श्रेष्ठले दिए ।
छैटौं राष्ट्रिय खेलकुद हुने
सरकारले आगामी फागुन १४ देखि २१ मा छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुदूर पश्चिमको कैलाली र काचनपुरमा गर्ने निर्णय गरेको छ । हरेक दुई÷दुई वर्षमा हुने राष्ट्रिय खेलकुद यसपटक तीन वर्षपछि गर्न लागिएको हो । यसअघि २०६५ मा काठमाडौं पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । अघिल्लो वर्ष राष्ट्रिय खेलकुद गर्न बजेटमा रकम व्यवस्था गरिए पनि खेलकुद मन्त्रालय र परिषदको पदाधिकारीको कमजोरीले आयोजना हुन सकेन ।
प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
लोकसेवा आयोगका मध्यपश्चिमााचलका क्षेत्रीय निर्देशक नवराज चौंलागाईं बेपत्ता भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको जानकारी श्रेष्ठले दिए । चौंलागाईं एक वर्षदेखि बेपत्ता छन् ।

Sunday, October 16, 2011

भौतिक योजनाद्वारा काम नगर्ने ठेकेदारलाई कारबाहीको प्रकि्रया सुरु

ठेक्का रद्द गर्नेदेखि कालो सूचीमा राख्नेसम्मको कारबाही हुने
काठमाडौं, २९ असोजं- भौतिक योजना निर्माण मन्त्रालयले आफ्ना मातहतका विभिन्न विभाग डिभिजन कार्यालय र विकास आयोजनाको ठेक्का लिई कामै नगरेका र ढिलाइ गरिरहेका ठेकेदारहरुलाई कारबाही गर्ने प्रकि्रया अघि बढाएको छ ।
भौतिक योजना मन्त्री हृदयेश त्रिपाठीले आफ्ना मन्त्रालय मातहतका सबै विभाग केन्द्रीय र क्षेत्रीय कार्यालय प्रमुखसित छलफल गरी विकास आयोजनाको ठेक्का लिएर काम नगरी ढिलो गर्ने या कामै अवरुद्ध पार्ने बढ्दो प्रवृत्तिलाई निरुत्साहित गर्न ठेकेदारलाई कारबाही गर्ने मन्त्रालयस्तरीय निर्णय गराएका हुन् । ठेकेदारको कामै नगर्ने या ढिलो गर्ने बढ्दो लापर्वाही र त्यसलाई कारबाही नगर्ने प्रवृत्तिले विकासनिर्माणमा ठूलो नकारात्मक असर परिरहेको छ ।
भौतिक योजना सचिव तुलसी सिटौलाले ठेकेदारको लापर्वाही हेरी विकास आयोजनाको कामै अवरुद्ध गर्ने ठेकेदारलाई कालो सूचीमा राख्ने काममा ढिलाइ गर्ने ठेकेदारको ठेक्का नै रद्द गरी पुनः टेन्डर आह्वान गरी अर्कोलाई दिनेलगायतका कारबाही गर्न प्रकि्रया अघि बढाइएको जानकारी दिए । कालो सूचीमा परेकाले मुलुकभर कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लाग्छ । लापर्वाही गर्ने ठेकेदारलाई सरकारले वर्षौंदेखि कारबाही नगरेकाले ठेक्का ओगट्ने तर कामै नगर्ने गर्ने र ढिलो गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
सबभन्दा ठूलो विकास बजेट भएको भौतिक योजना मन्त्रालयले आफ्नो मातहतका चारवटै विभाग सडक सहरी विकास तथा भवन र खानेपानी र रेल्वे विभाग क्षेत्रीय कार्यालय र डिभिजन कार्यालयहरु र विभिन्न आयोजनाका प्रमुखहरुलाई काम नगर्ने र ढिला गर्ने ठेकेदारलाई कारबाही गर्ने प्रकि्रया एक साताभित्र प्रकि्रया सुरु गर्न निर्देशन दिएको छ । भौतिक योजनामा ४४ अर्ब रुपैयाँभन्दा बढी विकास बजेट छ ।
भौतिक योजनाका एक अधिकारीका अनुसार विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने र ढिलाइ गर्ने ठेकेदारको संख्या सयभन्दा बढी छ । ठेक्का लिएर वर्षौंसम्म काम नगर्ने ठेकेदारको संख्या पनि तीसभन्दा बढी छ ।
मन्त्रालयको निर्देशनपछि भौतिक योजना मातहतका विभिन्न विभाग डिभिजन कार्यालय विकास आयोजनाहरुले कारबाहीको प्रकि्रया सुरु गर्न काममा ढिलाइ गर्ने र कामै नगर्ने ठेकेदारसित सातदिने स्पष्टीकरण सोध्न थालेका छन् । केही डिभिजनले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ठेकदारसित स्पष्टीकरण सोधिसकेका छन् भने धेरैजसोले एक÷दुई दिनमा नै सोध्ने भएका छन् ।
मन्त्रालयको निर्णयअनुसार ठेकेदारहरुले किन काम नगरेको या ढिलाइ गर्नुको कारणसहित सात दिनभित्र स्पष्टीकरण दिनुपर्नेर्छ । स्पष्टीकरण आएपछि मन्त्रालय र मातहतका निकाय र आयोजनाले ठेकेदारको कसुर वा लापर्वाही हेरी कालो सूचीमा राख्ने ठेक्का रद्द गरी अर्कोलाई दिनेलगायतका कारबाही गर्ने जानकारी भौतिक योजनाका अधिकारीले दिए ।