Tuesday, December 6, 2011

सुकुम्बासी समस्या बल्झाउने आयोग गठन

अध्यक्षमा प्रधानमन्त्रीका जिल्लाबासी
काठमाडौं, २० मंसिर- सरकारले सुकुम्बासी समस्या समाधानका लागि सुझाव दिन भक्ति लामिछानेको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सुकुम्बासी समस्या समाधान उच्चस्तरीय आयोग गठन गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए । अघिल्ला आयोगहरुका अनुभवका आधारमा सरकारी अधिकारीहरु यो आयोगले सुकुम्बासी समस्या समाधानभन्दा जथाभावी जग्गा बाँडेर समस्या बल्झाउने बताउँछन् ।
आयोगका अध्यक्ष लामिछाने माओवादीको भातृ संगठन अखिल नेपाल किसान संघ २००७ का उपाध्यक्ष हुन् । उनी प्रधानमन्त्री बाबुराम भट्टराईका गृह जिल्ला गोरखा आरुघाटबासी हुन् । आयोगका सदस्यहरु नियुक्त गर्न भने बाँकी छ । मँिन्त्रपरिषदले आयोगमा सदस्यहरु नियुक्त गर्ने अधिकार भूमिसुधारमन्त्री भीमप्रसाद गौतमलाई दिएको जानकारी स्रोतले दिएको छ ।
सचिव पाण्डेको राजिनामा स्वीकृत
मन्त्रिपरिषदले सचिव शंकर पाण्डेले दिएको राजिनामा स्वीकृत गरेको छ । पाण्डेले निजामती ऐनविपरीत आफ्नो अनिवार्य अवकास पाउन डेढ महिनामात्र बाँकी रहेका बेला आफूलाई अपमानपूर्वक शिक्षा मन्त्रालयबाट मन्त्रिपरिषद सचिवालयमा सरुवा गरिएकामा असन्तुष्टि जनाउँदै राजिनामा दिएका हुन् । ऐनमा अनिवार्य अवकास पाउने समय एक वर्षभन्दा कम बाँकी रहेको व्यक्तिलाई सरुवा गर्न सम्बन्धित व्यक्तिको सहमति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

Monday, December 5, 2011

राष्ट्रसेवक कर्मचारीका लागि आचारसंहिता जारी, पालना हुनेमा आशंका

कार्यालय समयमा परिचयपत्र र पोशाक अनिवार्य
सेवाग्राहीबाट उपहारसमेत लिन प्रतिबन्ध
दाताबाट व्यक्तिगत सहयोग लिने प्रवृत्तिमा रोक
राजकीय सामन्ती स्वभाव झल्कने भाषाको प्रयोगमा प्रतिबन्ध
तडकभडक र भोजभतेर गर्नेलाई कारबाही हुने

काठमाडौं, १९ मंसिर- सरकारले ५ लाखको संख्यामा रहेका राष्ट्र सेवक कर्मचारीहरुलाई जिम्मेवार अनुशासित र सेवाग्राही जनताप्रति जवाफदेही बनाउन २६ बुँदे आचारसंहिता जारी गरी लागू गरेको छ । अराजक भ्रष्ट र अनुशासनहीन हुँदै गएका कर्मचारीहरुको आचरण र व्यवहारलाई अनुशासित र मर्यादित तथा सार्वजनिक सेवालाई जनतामैत्री बनाउन मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले 'सार्वजनिक पद धारण गरेका राष्ट्र सेवक कर्मचारीहरुको आचारसंहिता २०६८' पारित गरी जारी गरेको हो । ऐननियमसमेत लागू नहुने मुलुकमा संहिता पालना हुनेमा कर्मचारीहरु नै आशंका प्रकट गर्छन् ।
सरकारको राजस्वबाट तलब भत्ता वा अन्य सुविधा लिने विभिन्न सेवामा कार्यरत निजामती नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी शिक्षक वित्तीय क्षेत्र एवं सरकारी संस्थान विकास समिति र स्थानीय निकायका कर्मचारीहरुका लागि पहिलोपटक आचारसंहिता बनाई लागू गरिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीले जानकारी दिए ।
आचारसंहिताले कर्मचारीहरुको व्यक्तिगत प्रयासबाट विदेशमा कार्यशाला र तालिममा जान दातालाई प्रभावमा पार्ने व्यक्तिगत विदेश भ्रमणका लागि दाताबाट हवाई भाडालगायत भ्रमण खर्च मागेर लिने बढ्दो प्रवृत्तिलाई प्रतिबन्ध लगाएको छ । राष्ट्रसेवकको हैसियतले आफूलाई या आफ्ना छोराछोरी र नातेदारका लागि छात्तवृत्ति माग्न नपाइने व्यवस्थासमेत आचारसंहितामा गरिएको छ ।
आचारसंहिताले राष्ट्रसेवकले सेवाग्राहीसित घूस कमिसन त परको कुरा कुनै पनि किसिमको उपहारसमेत लिन बन्देज लगाएको छ । संहिताका अनुसार विभिन्न निकायका जिम्मेवारी कर्मचारीले विभिन्न दल र तिनका भातृ संस्थाका कार्यक्रमका लागि सवारी साधन इन्धनलगायतका सरकारी सम्पत्ति दिन पाउने छैनन् । ुसरकारी वा सार्वजनिक सम्पत्ति सवारीसाधन इन्धन आदि अनधिकृत रुपमा कुनै पनि दल वा तिनका भातृ संगठनको कार्यक्रमका लागि प्रयोग गर्न वा गराउन दिन हुँदैनु संहितामा भनिएको छ ।
राष्ट्रसेवकहरुलाई अनुशासित र जनताप्रति बढी उत्तरदायी बनाउन आचारसंहितामा राष्ट्रसेवकहरुले कार्यालयमा रहँदा या कार्यक्षेत्रमा खटिई काम गर्दा परिचयपत्र लगाउनु अनिवार्य गरिएको छ । कार्यालय समयावधिभर पोसाक तोकिएका राष्ट्रसेवकका लागि सोहीबमोजिमको र नतोकिएकाको हकमा मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्थासमेत गरिएको छ ।
संहिता कार्यान्वयन गर्नु÷गराउनु सबै सम्बन्धित केन्द्रीय कार्यालयका प्रमुखहरुको कर्तव्य हुने व्यवस्था आचारसंंहितामा गरिएको छ । संहितामा प्रत्येक मन्त्रालय केन्द्रीय निकाय संवैधानिक निकाय र मातहतका समन्वय गर्नुपर्ने कार्यालयका प्रमुखहरुलाई संहिता पालना भए÷नभएको नियमित अनुगमन गरी पालना नगर्ने कर्मचारीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने÷गराउने जिम्मेवारी दिइएको छ ।
राष्ट्रसेवकले सेवा प्रवाह गर्दा अशक्त वृद्धवृद्धा गर्भवती महिला वा सुत्केरी बालबालिका असहाय विद्यार्थी कमजोर वर्ग र टाढाका सेवाग्राही जनतालाई प्राथमिकता दिनुपर्ने व्यवस्था संहितामा गरिएको छ । राष्ट्रसेवकहरुले आफ्नो व्यावसायिक सीप ज्ञान र अनुभवले गर्न सक्ने कामसमेत बाहिरका व्यक्तिलाई दिने र त्यसबाट व्यक्तिगत आर्थिक स्वार्थपूर्ति गर्ने प्रवृत्तिलाई समेत संहिताले अंकुश लगाएको छ ।
संहितामा राष्ट्रसेवक कर्मचारीले अनावश्यक तडकभडक नगरी ुसादा जीवन उच्च विचारु को मान्यतालाई अवलम्बन गर्नुपर्ने र आफ्नो नगरी नहुने पारिवारिक भोजभतेरलाई मितव्ययी बनाउनुपर्ने अनिवार्य गरिएको छ । कर्मचारीलाई समाजमा शालीन शिष्ट र सादा पहिचान कायम गर्नुपर्नेछ ।
विभिन्न सरकारी सेवामा रहेको आफूभन्दा माथिका कर्मचारीलाई अनावश्यक उच्च आदरार्थी र राजकीय सामन्ती स्वभाव झल्कने भाषाको प्रयोग गर्ने प्रवृत्तिलाई संहितामा प्रतिबन्ध लगाइएको छ । नेपाली सेना र प्रहरीमा अनावश्यक उच्च आदरार्थी र राजकीय सामन्ती स्वभाव झल्कने भाषाको बढी प्रयोग प्रवृत्ति छ ।
कर्मचारीले सेवाग्राही र आफूभन्दा माथिका कर्मचारीप्रति उचित आदरभाव देखाउनुपर्ने र आफूभन्दा मुनिका कर्मचारीप्रति सम्माजनक व्यवहवार गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ । आफू मातहतका कर्मचारीलाई हेयवाचक शब्दमा बोल्नसमेत निषेध गरिएको छ ।
संहिताले राष्ट्रसेवक कर्मचारीलाई सेवाग्राहीलाई कुनै पनि आधारमा भेदभाव गर्न नपाइने सेवाग्राहीमैत्री हुनुपर्ने व्यवस्था गरिएको छ । संहितामा कर्मचारीले जातजाति धर्म भाषा िलंग राजनीतिक वा सामाजिक हैसियत भौगोलिकता राजनीतिक दृष्टिकोण पहुँच वा व्यक्तिगत सम्बन्ध वा अन्य कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई सम्मानका साथ समान व्यवहार गरी सेवाप्रवाह गर्नुपर्ने अनिवार्य गरिएको छ । बोलीचाली हाउभाउ वा शारीरिक संकेतबाट सेवाग्राहीलाई अवहेलना गर्ने कर्मचारीमाथि कारबाही हुने व्यवस्थासमेत संहितामा गरिएको छ ।

लगानी कोषमा अधिकारीको पुनर्बहाली

काठमाडौं, १८ मंसिर- सर्वोच्च अदालतले नागरिक लगानी कोषको अध्यक्षमा चन्द्रमणि अधिकारीलाई पुनर्बहाली गरेको छ । सर्वोच्चका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले आइतबार अध्यक्ष अधिकारीलाई हटाई उपेन्द्र शर्मालाई नियुक्त गर्ने मन्त्रिपरिषदको मंसिर १ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले अधिकारीलाई अध्यक्षका रुपमा निर्वाध रुपमा कार्य गर्न दिन सरकारलाई आदेश दिएको छ । अधिकारी तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको पालामा अध्यक्ष नियुक्त भएका हुन् । वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुनको सिफारिसमा मन्त्रिपरिषदले अधिकारीलाई हटाई शर्मालाई नियुक्त गरेको हो ।

Sunday, December 4, 2011

अपमानपूर्वक सरुवापछि सचिव पाण्डेद्वारा राजिनामा

काठमाडौं, १८ मंसिर- निजामती ऐनविपरीत आफूलाई अपमानपूर्वक सरुवा गरिएकामा असन्तुष्ट सचिव शंकर पाण्डेले आइतबार राजिनामा दिएका छन् । ५८ वर्ष उमेर पुगी अनिवार्य अवकास पाउन डेढ महिनामात्र बाँकी रहेका पाण्डेलाई शिक्षा मन्त्रालयबाट डेढ साताअघि मन्त्रिपरिषदले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको थियो ।
अवकास पाउन एक वर्षभन्दा कम समय रहेको कर्मचारीलाई सरुवा गर्दा सम्बन्धित व्यक्तिको सहमति लिनुपर्ने कानुनी व्यवस्थाविपरीत आफ्नो सरुवा भएपछि पाण्डे असन्तुष्ट भएका थिए । पाण्डेले ५८ वर्ष पूरा गरी आगामी पुस २० मा अनिवार्य अवकास पाउँदै थिए ।
पाण्डेले आइतबार अपराह्न मुख्यसचिव माधव घिमिरेलाई भेटी राजिनामा बुझाएका थिए । उनले राजिनामामा आफ्नो असन्तुष्टि भने लेखेका छैनन् । आफूले स्वेच्छाले राजिनामा दिएको उल्लेख गरेको जानकारी पाण्डेले दिए ।
पाण्डेले राजिनामा दिएपछि सचिव रिक्त भएका मन्त्रालय र निकायको संख्या ८ पुगेको छ जसमा प्रशासनका ६ र कानुनका तर्फका दुई पद छन् । सचिव रिक्त भएकामा परराष्ट्र कानुन संघीय मामिला मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा सुदूर मध्यपश्चिम पश्चिमााचल र पूर्वााचलका क्षेत्रीय प्रशासन कार्यालय छन् ।
परराष्ट्र कानुन मन्त्रालय र पूर्वााचल क्षेत्रीय प्रशासन कार्यालयमा कायममुकायम प्रमुख छन् बाँकी सबैमा निमित्त प्रमुख छन् । निमित्त प्रमुखलाई दैनिक प्रशासन चलाउनबाहेक नयाँ निर्णय गर्ने अधिकार हुँदैन निमित्त प्रमुख भएका कारण निकायको काम प्रभावित भइरहेको छ ।

Friday, December 2, 2011

बर्ड फ्लु नियन्त्रण गर्न संकटग्रस्त क्षेत्र घोषणा

तीन सैनिक अधिकारीको बढुवा
काठमाडौं, १६ मंसिर- सरकारले भक्तपुरको बर्ड फ्लू भेटिएको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले कुखुरामा बर्ड फ्लु भेटिएको भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको वडा नं। १६ लोकन्थली र मनोहरा पुल नजिकको क्षेत्रलाई संकेटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
मन्त्रिपरिषदले संकट क्षेत्रमा बर्ड फ्लू पूर्ण रुपमा नियन्त्रण गर्न हरसम्भव सबै उपाय अवलम्बन गर्ने र अन्त्रय फैलन नदिन स्वास्थ्य र कृषि मन्त्रालयले आवश्यक कदम चाल्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कोरियाले ७० करोड सहयोग गर्ने
दक्षिण कोरियाले नेपालको शिक्षा र स्वास्थ्यमा करिब ७० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । दक्षिण कोरियाले कैलालीमा स्वास्थ्य सेवा सुधार कार्यक्रम साचालन गर्न ४५ करोड र काठमाडौं विश्वविद्यालयमा प्राविधिक तालिम केन्द्र स्थापना गर्न २७ करोड ६० लाख रुपैयाँ सहयोग गर्न लागेको जानकारी श्रेष्ठले दिए । मन्त्रिपरिषदले उक्त सहयोग स्वीकार्ने निर्णय गरेको छ ।
सेनामा तीन जनाको बढुवा
सरकारले नेपाली सेनाका तीन सैनिक अधिकारीको बढुवा गरेको छ । मन्त्रिपरिषदले जंगी अड्डाको सिफारिसमा लेखातर्फका महासेनानी यादवध्वज देउजालाई सहायक रथीमा प्राविधिक तर्फका प्रमुख सेनानी दीपकप्रसाद बाँस्तोलालाई महासेनानीमा र प्रमुख सेनानी चिकित्सक देवेन्द्रबहादुर खत्रीलाई महासेनानीमा बढुवा गरेको छ ।
आयोगको म्याद थप
मन्त्रिपरिषदले इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्याको घटनाको छानबिन गर्न गठित आयोगको म्याद एक महिना थप गरेको छ । दुई महिनाअघि राजधानीको रत्नपार्कमा हत्या गरिएको घटनाको छानबिन गरी दोषी पत्ता लगाउन पूर्व न्यायाधीश राजेन्द्र भण्डारीको अध्यक्षतामा आयोग गठन गरिएको थियो ।

निजामती प्रशासनका जब्बर पात्र

सरकारी कर्मचारीहरु सरकारको निर्देशन हुबहु पालना गर्छन् भन्ने सबैलाई लाग्छ तर सहसचिव गणेश राई त्यस्ता पात्र हुन् जसले सरकारी निर्देशनको कहिल्यै पालना नगर्ने दुस्साहसिक पात्र हुन् । त्यही कारण निजामती सेवाको एउटा सहसचिव जति चर्चित हुनुपर्ने हो राई त्योभन्दा बढी चर्चा विवाद र बहसमा छन् । उनलाई नचिन्ने कमै होलान् । महानगरमा आर्थिक सहायता वितरणमा त उनले रेकडै कायम गरेका छन् त्यो पनि सरकारी निर्देशनको अवज्ञा गरेर । स्थानीय विकास मन्त्रालयले काठमाडौं महानगरका तत्कालीन कार्यकारी अधिकृत राईलाई आर्थिक सहायता वितरण नगर्न पटकपटक निर्देशन दिइरह्यो तर उनले कहिल्यै पालना गरेनन् । अघिल्लो आर्थिक वर्षमा उनले आफूखुसी करिब ४७ लाख रुपैयाँ आर्थिक सहायता बाँडे । यो आवको कात्तिकको दोस्रो सातासम्म उनले १२ लाख रुपैयाँ बाँडिसकेका छन् ।
सहकर्मीहरु भन्छन् राईमा एकातिर 'मै जान्ने हुँ' भन्ने दम्भ छ भने अर्कातिर अरुले उच्काईदंदा बढी नै उच्किने स्वभाव छ । महानगरका बद्नियत भएका केही कर्मचारीले ुतपाईं त महानगरको कार्यकारी अधिकृतमात्र होइन मेयरसमेत हो तपाईंले गरे के हुन्न ु भनेर उच्काइदिने गरेका कारण उनले दुई वर्षसम्म महानगरमा कानुनले मिल्ने होस् या नमिल्ने सबै खाले काम गरे । मन्त्रालयले सर्वदलीय संयन्त्रले महानगरको वैधानिक प्रतिनिधित्व गर्दैन त्यही कारण सर्वदलीय संयन्त्रमा रहेका दलका प्रतिनिधिहरुलाई भ्रमणमा नलैजान पटकपटक निर्देशन दियो । तर उनले त्यसको पनि प्रवाह गरेनन् । उनले सर्वदलीय संयन्त्रमा रहेका दलका प्रतिनिधिहरुलाई लिएर दर्जनौं देशको भ्रमण गरे÷गराए ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास रहेको नयाँ बजार क्षेत्रमा आउजाउ गर्दा फोहोर बढी नै भएको देखेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले राईलाई बोलाएर महानगरको फोहोर व्यवस्थापन र भित्री सडकको स्थिति सुधार गर्न निर्देशनमात्र दिएनन् काम नभएमा अन्यत्र सरुवा गर्ने चेतावनी पनि दिए । तर राईले प्रधानमन्त्रीको निर्देशनको समेत वास्ता गरेनन् । प्रधानमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदबाट करिब एक महिनाअघि कारबाहीस्वरुप उनको अतिरिक्त समूहमा सार्ने निर्णय भयो । तर निर्णय माइन्युट नहुँदै राईले उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई प्रभावमा पारेर आफ्नो सरुवा गृह मन्त्रालयमा गराए । प्रधानमन्त्रीले सार्वजनिक रुपमा 'मेरो निर्देशनसमेत नमानेपछि मन्त्रिपरिषदबाट राईको अतिरिक्त समूहमा सार्ने निर्णय गरिएको हो । मैले मुख्यसचिव माधव घिमिरेलाई तत्काल अतिरिक्त समूहमा सारेको चिठी दिनु भनेको थिएँ । तर राई त गृहमा पो पुगिसकेछन् उनको गृहमा कसरी सरुवा भएको हो मलाई थाहा छैन । राई त कति जब्बर रहेछन् भने महानगरबाट सरुवा भएको दुई सातापछि कार्यकारी अधिकृतको हैसियतले इक्वेडर भ्रमणमा गएछन् उनीसित मेरै पार्टी माओवादी का काठमाडौं जिल्लाका नेतासमेत भ्रमणमा गएका रहेछन्' भनेपछि राई चर्चामा आएका हुन् ।
गच्छदारले सुरुमा मुख्यसचिवलाई दबाब दिएर राईलाई अतिरिक्तमा सार्ने निर्णय सच्याउन लगाएर आफ्नो मन्त्रालयमा सरुवा गराएका हुन् । तर राईले प्रधानमन्त्रीको निर्देशन नमानेको र महानगरमा उनले गरेका ुपुरुषार्थु एकपछि अर्को गरी सार्वजनिक हुन थालेपछि गच्छदारसमेत उनीसित हच्किए । त्यसपछि गच्छदारले सार्वजनिक रुपमै भने- 'राईलाई गृह मन्त्रालय सार्ने त परको कुरा म प्रवेश गर्नसमेत दिन्न ।' त्यसपछि मन्त्रिपरिषदले उनलाई सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा गरेको छ ।
स्थानीय विकास मन्त्रालयमा कार्यकारी अधिकृत हुँदा राईले कानुन मिचे भनेर परेका उजुरीको लामो फेहरिस्त छ । उनमा कानुनको मतलबै नगर्ने स्वभाव छ । उनको त्यो कमजोरीको फाइदा आर्थिक सहायता लिनेले मात्र होइन महानगरकै कतिपय कर्मचारीले समेत लिए । कार्यकारी अधिकृत विदेश भ्रमणमा जाँदा सबभन्दा वरिष्ठ कर्मचारीलाई निमित्त दिने कानुनी व्यवस्था छ तर राईले यसलाई समेत कहिल्यै प्रवाह गरेनन् । उनी इक्वेडर भ्रमणमा जाँदा नवौं तहका वरिष्ठ कर्मचारी शंकर पौडेल हुँदाहुँदा सातौं तहका कनिष्ठ कर्मचारी ज्ञानेन्द्र कार्कीलाई निमित्त प्रमुखको जिम्मेवारी दिए । भ्रष्टाचारको आरोपमा आन्तरिक कारबाहीमा परी सधैंजसो जगेडामा रहने कार्कीलाई राई आएपछि महत्वपूर्ण जिम्मेवारी दिइएको छ । महानगरमा कर्मचारीको तह मिलानमा समेत राईले कानुन मिचेका थिए । महानगरको विनियमावलीमा छैटौंलाई शाखा अधिकृत र आठौं तहका कर्मचारीलाई उपसचिव कायम गर्ने प्रस्ट व्यवस्था छ तर राईले तजबिजी निर्णय गरी सातौंलाई अधिकृत र नर्वौ तहलाई उपसचिव कायम गराएका छन् । सर्वोच्च अदालतले राईको निर्णयलाई उल्टाउन आदेश दिइसकेको छ तर उनको कार्यकालभर निर्णय सच्याइएन ।
सहकर्मीहरु भन्छन्- राईमा सन्की जब्बर र सहकर्मीहरुसित नमिल्ने स्वभाव छ । लामो समय गृहमा बसेका राईले आफ्नो स्वभाव र कांग्रेस हुँ भन्ने गरेका कारण तत्कालीन गृह मन्त्री भीम रावलको पालामा राम्रो पोस्टिङ पाएनन् । त्यही कारण उनले तत्कालीन गृह सचिव गोविन्द कुसुमलाई 'तँ गृहमा रहिन्जेल गृहमा आउन्न' भन्दै कांग्रेस पार्टीको आडामा आफूलाई स्थानीय विकास मन्त्रालयमा सरुवा गराए । तत्कालीन स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले उनलाई विशिष्ट श्रेणीको कार्यकारी अधिकृत रहने काठमाडौं महानगरमा निमित्त बनाएर पठाए । निमित्तहरु कन्फर्म प्रमुखको कुर्चीमा बस्दैनन् । तर राई कार्यकारी अधिकृतकै कुसर्ीमा बसे । केही दिनपछि सचिव आनन्द पोखरेल कार्यकारी अधिकृत भएर आएपछि पनि राईले सुरुमा कुर्ची छाड्न मानेनन् । पोखरेलसित झगडा गरेपछिमात्र कुर्ची छाडे । त्यसपछि उनी पोखरेल महानगरमा रहुन्जेल राष्ट्रिय सभागृहमा कार्यालय खोलेर बसे पोखरेलको सरुवा भएपछि राई कन्फर्म कार्यकारी अधिकृत भए ।
महानगरमा निर्वाचित जनप्रतिनिधि नभएकाले अर्बौंको बजेटमा एक्लै हालीमुहाली गर्न पाएका राईलाई कार्यकारी अधिकृत पदसित मोहनी नै लागेजस्तो भएको छ । पोखरेल कार्यकारी अधिकृत भएका बेला राईलाई महानगरबाट सामान्य प्रशासनको अतिरिक्त समूहमा सारिएको थियो तर उनले महानगरबाट आफूलाई दुई वर्ष नपुग्दै अन्यत्र सरुवा गरेको विरुद्ध सर्वोच्च अदालतमा गए सर्वोच्चले उनलाई महानगरमा राख्नु भन्ने आदेश दियो । सरकारले अहिले फेरि उनलाई कार्यकारी अधिकृतबाट अतिरिक्त समूहमा सारेको छ । उनी फेरि कार्यकारी अधिकृतमा जान पाऊँ भनी सर्वोच्चमा गएका छन् । यसबाट पनि कार्यकारी अधिकृत पदप्रति उनको कति मोह छ भन्ने पुष्टि हुन्छ ।
सहकर्मीहरु राईको सेवा प्रवेशसमेत रहस्यमय र अनौठो रहेको बताउँछन् । अमृत साइन्स क्याम्समा पढ्दा उनी एमाले अखिलमा थिए । अखिल भएकै कारण पाचायतकालमा उनी ९ महिना जेल परेका थिए । स्नातक पास गरेपछि राईले सहकर्मीहरुसँगै सरकारी सेवा प्रवेश गर्न लोकसेवाको परिक्षा दिए । पाचायतकालमा अखिल र नेविसंघका परिचित नेता र जेल परेको व्यक्तिलाई प्रहरी रिपोर्टको नाममा सरकारी सेवा प्रवेश गर्न दिइन्थेन । सहकर्मीहरुले नौ महिना जेल बसेका राईको नाम निस्किँदैन भन्ने ठानेका थिए । तर राईको २०४० सालमा शाखा अधिकृतमा नाममात्र निस्किएन कि उनको पहिलो पोस्टिङसमेत गृह मन्त्रालयमा भयो । नेविसंघले स्ववियु चुनावमा अस्कल र त्रिचन्द्र क्याम्पसमा राईको उदाहरण दिएर अखिलका नेता पाचायतका सीआईडी हुन्छन् भनेर प्रचारै अभियान चलायो त्यसले अखिलप्रति विद्यार्थी माझमा नकारात्मक छाप पर् यो र ती क्याम्पसमा परिणाम नेविसंघको पक्षमा गयो । पन्चायतकालमा राई सधैं गृह मन्त्रालयकै आकर्षक ठाउँमा रहिरहे । राईकै एक जना सहकर्मी शाखा अधिकृतले जनआन्दोलन-०४६ को सफलतापछि ०४७ सालमा गृह सचिव भएका रामचन्द्र पौडेलसित सोधे- 'पचायतकालमा अखिलको नेतालाई गृहमा सधैं विश्वासिलो कर्मचारी बनाएर किन राखिएको होला' पौडेलले प्रत्युत्तरमा 'तिमीले पन्चायती व्यवस्था बुझेकै रहेनछौ' भनेर राई विद्यार्थीकालदेखि पाचायतको इशारामा काम गर्ने मान्छे भएको संकेत गरे ।
बहुदल आएपछि उनले आफूलाई कांग्रेसी भनेर चिनाउन थाले । राईलाई कांग्रेसका राई नेताहरुको आडभरोसा मिल्यो । बहुदलकालमा कांग्रेसीको आडमा राई शाखा अधिकृत र उपसचिवका रुपमा सधैंजसो आकर्षक ठाउँमा बसे । गृहमा अध्यागमन विभाग र कार्यालय आकर्षक मानिन्छन् । उनी खोटाङ सिन्धुलीलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी भएका थिए । जुनसुकै जिल्लामा प्रजिअ हुँदा उनी विवादमा पर्ने गर्थे । निजामती प्रशासनमा राई एक्ला कर्मचारी होइनन् उनीजस्ता थुप्रै छन् । राई निजामती प्रशासन गैरजिम्मेवार भ्रष्ट र अराजक हुँदै गएको बलियो प्रमाण हुन् । संक्रमणकालमा स्थायी सरकार मानिने निजामती प्रशासनमा यस्तो प्रवृत्ति मौलाउँदै गएको छ । यसमा राजनीतिक दलसमेत दोषी छन् जतिसुकै अराजक भए पनि आफ्नो पार्टी निकटको या आफूलाई सहयोग गर्ने कर्मचारी हो भनेपछि संरक्षण गर्ने प्रवृत्ति दल र तिनका नेतामा छ । सरकारले दण्ड र पुरस्कारको नीति अख्तियार गरी राई प्रवृत्तिलाई बेलैमा नियन्त्रण नगर्ने हो भने निजामती प्रशासन सम्हाल्न नसकिने गरी बिग्रनेछ भन्ने यथार्थलाई प्रशासनिक नेतृत्व र दलका जिम्मेवार नेताले बेलैमा बुझ्नु अपरिहार्य भइसकेको छ ।







Thursday, December 1, 2011

बढी देखाइएका तीन हजार लडाकुको तलबभत्ता माओवादीले खायो : कांग्रेस

कोइरालाद्वारा सहमतिविपरीत नबोल्न दाहाल र भट्टराईलाई चेतावनी
काठमाडौं, १५ मंसिर- कांग्रेसले माओवादीले राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा सबैलाई झुक्याएर लडाकुको संख्या बढी देखाएको र त्यसैको आडमा संस्थागत भ्रष्टाचार गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो निवासमा बिहीबार बिहान भेटवार्ता गर्न आएका माओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईलाई पुनवर्गीकरणका क्रममा लडाकुको कुल संख्याभन्दा किन तीन हजार कम देखिएको हो भन्ने प्रश्न गर्दै त्यस्तो आपत्ति जनाएका हुन् ।
'पुनवर्गीकरणबाट माओवादीले अनमिनलाई प्रभावमा पारेर लडाकुको संख्या बढाएको प्रमाणित भएको छ । अनमिनको भूमिकामाथि हामीले सुरुदेखि नै निष्पक्ष भएन भनेर विरोध गरेका थियौं त्योसमेत प्रमाणित भयो । साँढे पाँच वर्षसम्म बढी देखाइएका लडाकुको मासिक तलब र भरणपोषणबापतको पैसा माओवादीबाट संस्थागत भ्रष्टाचार भएको पाइयो । यसमा दलहरुबीच गम्भीरतापूर्वक छलफल हुनुपर्छ' कोइरालाले भेटवार्तामा भट्टराईसमक्ष राखेको भनाइ उद्धृत गर्दै स्रोतले भने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको 'हाम्रा जम्मा लडाकु ६/७ हजारमात्र भएकामा हामीले बढाएर १९ हजार बढी पुर् यायौं' भन्ने भिडियो रेकर्ड केही समयअघि सार्वजनिक भएको उल्लेख गर्दै कोइरालाले त्यो रेकर्ड र पुनवर्गीकरणका क्रममा देखिएको संख्याले माओवादीले राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा सबैलाई झुक्याएर लडाकुको संख्या बढाएको प्रमाणित भएको उल्लेख गरेका थिए ।
माओवादीले लडाकुको संख्या तीन हजार बढी देखाउँदा साँढे पाँच वर्षमा राज्यको कोषबाट डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छन् । राज्यले लडाकुलाई मासिक तलब ६ हजार ५ सय र भरणपोषणबापत प्रतिमहिना करिब ३ हजार रुपैयाँ दिने गर्छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको अनौपचारिक बैठकमा समेत सदस्यहरुले माओवादीले बढी लडाकु देखाएर संस्थागत भ्रष्टाचार गरेको प्रमाणित भएको र त्यसमा छानबिन हुनुपर्ने धारणा राखेका थिए ।
कोइरालाले माओवादीले स्वेच्छिक अवकासमा जाने लडाकुलाई उसले पाउने एकमुष्ठ रकमको ५० प्रतिशत पार्टीलाई अनिवार्य रुपमा बुझाउन धमाधम कागज गराइरहेको सार्वजनिक भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीसमक्ष यस्तो आपत्तिजनक कार्य किन भइरहेको हो भन्ने प्रश्न गरेका थिए ।
कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा प्रधानमन्त्री भट्टराईले सातबुँदे सहमतिविपरीत सेनामा समायोजन हुने लडाकुको संख्या बढाउनुपर्छ भन्ने अभिव्यक्ति दिन थालेकामा समेत आपत्ति जनाएको छ । कोइरालाले प्रधानमन्त्री भट्टराईलाई शान्ति प्रकि्रया र संविधान निर्माण कार्यलाई निष्कर्षमा पुर् याउन गरिएको प्रमुख तीन दल र मधेशी मोर्चाबीच भएको सहमतिविपरीत समायोजन हुने लडाकुको संख्या बढाउने कुरा नगर्न चेतावनी दिए ।
माओवादी कांग्रेस एमाले र मधेशी मोर्चाबीच भएको सातबुँदे सहमतिमा बढीमा साँढे ६ हजारलाई सेनामा समायोजन गर्ने र बाँकीलाई स्वेच्छिक अवकास र पुनःस्थापनामा पठाउने सहमति भएको थियो । तर माओवादी सेनाको पुनवर्गीकरण गर्दा समायोजनमा जान चाहनेको संख्या वृद्धि भएपछि माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्रीले समायोजन हुने लडाकुको संख्या वृद्धि गर्नुपर्ने बताउँदै आएका छन् ।
'पुनवर्गीकरण सुरु भएपछि तपाईं र तपाईंको पार्टीका अध्यक्ष दाहालबाट सेनामा समायोजन हुने लडाकुको संख्या बढाउने कुरा आउन थालेको छ । सहमतिमा अधिकतम साँढे ६ हजारलाई मात्र समायोजन गर्ने उल्लेख छ । कांग्रेस सहमतिबमोजिम लडाकुलाई सेनामा समायोजन गर्न प्रतिबद्ध छ तर सहमतिविपरीत समायोजना हुने लडाकुको संख्या एक जना पनि बढाउन तयार छैन' कोइरालाले प्रधानमन्त्रीसमक्ष राखेको भनाइ उद्धृत गर्दै कांग्रेस महामन्त्री कृष्ण सिटौलाले भने ।
कोइरालाले समायोजन हुने लडाकुको संख्या बढाउने नाममा सातबुँदे सहमतिलाई ुब्रेकु गर्न थालियो भने सहमति धेरै कुरामा ब्रेक हुने चेतावनी प्रधानमन्त्रीलाई दिए । 'सहमतिलाई ब्रेक गर्दा कसैले मान्दैन' उनको अडान थियो । प्रत्युत्तरमा भट्टराईले पुनर्वर्गीकरण गर्दा समायोजनमा जाने लडाकुको संख्या बढेकाले आफूहरुले त्यस्तो बोलेको स्पष्टीकरण दिएको स्रोतले उल्लेख गरेको छ ।
सभापति कोइराला निवासमा बसेको कांग्रेसको अनौपचारिक बैठकमा कोइरालाले प्रधानमन्त्रीसितको भेटवार्ताको बारेमा जानकारी गराएका थिए । बैठकले सहमतिविपरीत समायोजन हुने लडाकुको संख्या बढाउने माओवादी भनाइलाई पूर्ण रुपमा अस्वीकार गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी कांग्रेस नेता सदस्य अर्जुननरिसंह केसीले दिए ।
कांग्रेस बैठकले राज्य पुनस्रंरचनासम्बन्धी पार्टीको सन्तुलित र व्यावहारिक अवधारणा तयार गर्ने कार्यको संयोजन गर्ने जिम्मा नेता नरहरि आचार्यलाई दिएको छ । कांग्रेसले आचार्यलाई राज्य पुनस्रंरचनासम्बन्धमा पार्टीका समितिहरुले तयार पारेका खाका संविधानसभाको राज्य पुनस्रंरचना तथा अधिकार बाँडफाँड समितिको सामथ्र्य र पहिचानका आधारमा प्रदेश विभाजन गर्ने प्रतिवेदन पार्टीका नेता तथा कार्यकर्ता निकट बुद्धिजीवी र विज्ञहरुसित छलफल गरी सन्तुलित र व्यावहारिक अवधारणा तयार गर्न जिम्मा दिएको हो । सरकारले दुई महिनामा राज्य पुनस्रंरचनाको सिफारिस गर्न हालै ९ सदस्यीय आयोग गठन गरेको छ । समितिलाई पार्टीका तर्फबाट सुझाव दिन कांग्रेसले आफ्नो अवधारणा तयार गर्न लागेको हो ।