Sunday, December 18, 2011

सार्वजनिक संस्थानलाई राजनीतिक हस्तक्षेपमुक्त राख्न अधिकारससम्पन्न बोर्ड

सबै संस्थानका कार्यकारी प्रमुख खुल्ला प्रतिस्पर्धाबाट छनौट हुने
संस्थानहरु मन्त्रीहरुको हस्तक्षेपमुक्त हुने
कार्यकारी प्रमुख स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने
सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हुनुपर्ने
कुनै दलको सदस्य भएको हुन नहुने

काठमाडौं, ३ पुस- सरकारले सम्पूर्ण सार्वजनिक संस्थानहरुको कार्यकारी प्रमुखको नियुक्ति नीति निर्धारण पुनस्रंरचना अनुगमन तथा मूल्यांकन गर्न अधिकारसम्पन्न 'सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन आदेश' जारी गरेको छ ।
राजनीतिक हस्तक्षेपले सरकारी संस्थानहरु एकपछि अर्को गरी धरासायी हुूदै गएको विश्लेषण गरी सरकारले आदेशअनुसार आफ्नो मातहतका ३८ वटा संस्थान र विशेष ऐनद्वारा गठित प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाई प्रतिस्पर्धी र व्यावसायिक ढंगले साचालन गराउन निष्पक्ष व्यक्तिहरु रहेको शक्तिशाली बोर्ड गठन गर्न लागेको छ ।
मन्त्रिपरिषदद्वारा जारी गठन आदेशअनुसार सरकारले बोर्डका अध्यक्ष तथा सदस्यहरुको नियुक्ति उच्चस्तरीय समितिको सिफारिसमा गरिनेछ । सिफारिस समितिमा लोकसेवा आयोगका अध्यक्ष या निजले तोकेको सदस्य अध्यक्ष तथा मुख्यसचिव लोकसेवाले तोकेको सदस्य र विज्ञ तथा अर्थसचिव सदस्य रहनेछन् ।
सिफारिस समितिले बोर्डको अध्यक्ष तथा सदस्यहरुका लागि योग्यता पुगेका व्यक्तिहरुको रोस्टर खडा गरी प्रतिस्पर्धाका आधारमा उम्मेदवार छनौट गरेर तीन/तीन जनाका दरले सररकारलाई सिफारिस गर्ने तिनैमध्येबाट नियुक्त गरिने आदेशमा उल्लेख छ ।
बोर्डमा सरकारले समितिको सिफारिसमा लोकसेवा आयोगको सदस्य हुन योग्यता पुगेका व्यक्तिहरुबाट सरकारले नियुक्त गरेको अध्यक्ष चार्टर्ड एकान्उन्टेन्सी, अर्थशास्त्र वा कानुन वा विज्ञान वा कृषि वा इन्जिनियरिङजस्ता प्राविधिक विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दस वर्ष काम गरेको व्यक्तिहरुमध्येबाट २ जना सदस्य नियुक्ति हुनेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अर्थमन्त्रालयका सचिव पदेन सदस्य रहनेछन् ।
बोर्ड गठन आदेशमा सार्वजनिक संस्थानहरुमा कार्यकारी प्रमुखहरुको नियुक्ति खुल्ला प्रतिस्पधाबाट गर्ने अनिवार्य व्यवस्था गरिएको छ । छुट्टै ऐनद्वारा गठित संस्थानमा यो आदेश आकर्षित हुने छैन, तर तिनमा कार्यकारी प्रमुखको छनौट खुल्ला प्रतिस्पर्धाबाट गराउनुपर्नेछ । बोर्ड गठन आदेशमा संस्थानका कार्यकारी प्रमुख खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्न लोकसेवा आयोगका अध्यक्ष वा निजले तोकेको लोकसेवाको सदस्य अध्यक्ष रहने सिफारिस समिति व्यवस्था गरिएको छ । समितिमा संस्थान निर्देशन बोर्डको अध्यक्ष लोकसेवा आयोगका सदस्य सम्बन्धित मन्त्रालयको सचिव महालेखा नियन्त्रक लोकसेवाले तोकेको विज्ञ र अर्थसचिव सदस्य रहनेछन् ।
बोर्डलाई सार्वजनिक संस्थानहरुको नीति योजना लगानी संस्थानको पुनस्रंरचना खारेजी विनिवेश तथा क्षमता विकास कार्यकारी प्रमुख तथा साचालकको सिफारिस संस्थानको संगठन तथा जनशक्ति विकास अनुगमन तथा मूल्यांकनलगायतका सम्पूर्ण कार्य गर्ने अधिकार दिइएको छ । सार्वजनिक संस्थानमा तालुकवाला मन्त्रालयका मन्त्री सचिवलगायतको हस्तक्षेपबाट पूर्ण मुक्त गर्न यस्तो व्यवस्था गरिएको दाबी स्रोतको छ । अब संस्थानहरु पूर्णतः आफ्नो तालुकवाला मन्त्रालयको होइन बोर्डको नीतिनिर्देशनमा चल्नेछन् अब तालुकवाला मन्त्रालय सम्पर्क मन्त्रालयका रुपमा मात्र सीमित हुनेछन् ।
गठन आदेशमा सार्वजनिक संस्थानका कार्यकारी प्रमुखहरुको योग्यता कम्तीमा स्नातकोत्तर गरेका र सम्बन्धित क्षेत्र प्रशासन व्यवस्थापन व्यापार वित्त उत्पादन इन्जिनियरिङ वा कानुनको क्षेत्रमा अधिकृतस्तरमा कम्तीमा दस वर्षको अनुभव प्राप्त गरको व्यक्ति हुनुपर्ने अनिवार्य गरिएको छ । सही पनि गर्न नसकी ल्याप्चे लगाउनुपर्ने मन्त्री या नेताका नातेदार कार्यकर्ता चन्दादाता संस्थानको कार्यकारी प्रमुख हुने व्यवस्थालाई अन्त्य गरी सक्षम व्यक्तिलाई नियुक्त गर्न गठन आदेशमा योग्यता र अनुभवलाई अनिवार्य गरिएको जानकारी सरकारी अधिकारीले दिए ।
सिफारिस समितिले प्रतिस्पर्धीहरुको व्यक्तिगत योग्यता तथा अनुभवलाई २०, व्यावसायिक तथा वित्तीय कार्ययोजनालाई ५०, अन्तरर्वार्तालाई १५ र नेतृत्व क्षमतालाई १५ अंकभार दिई छनौट गरेर एक जना कार्यकारी प्रमुखका लागि तीन जनाको नाम सिफारिस गर्नेछ तीन जनामध्येबाट सरकारले नियुक्त गर्नेछ ।
आदेशअनुसार संस्थानका साचालकहरुको छनौट तथा सिफारिसका लागि बोर्डको अध्यक्ष रहेको अर्थमन्त्रालयको सहसचिव सम्बन्धित क्षेत्र हेर्ने सम्बन्धित मन्त्रालयको सहसचिव बोर्डले छनौट गरेको विज्ञ सदस्य तथा बोर्डको सचिव सदस्यसचिव रहेको समिति गठन गरिनेछ ।
सरकारले संस्थानहरुमा नियुक्त हुने कार्यकारी प्रमुखसूग अनिवार्य रुपमा कार्यसम्पादनमा आधारित सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । बोर्डले हरेक वर्ष संस्थानहरुका कार्यकारी प्रमुखको कार्यसम्पादन मूल्यांकन गर्नेछ । कार्यसम्पादन सन्तोषजनक नभएका कार्यकारी प्रमुखलाई बोर्डको मूल्यांकनका आधारमा अवकास दिन सकिने र कार्यसम्पादनमा आधारित सम्झौताको लक्ष्य शतप्रतिशत प्रगति हासिल गर्नेलाई पुरस्कारसमेत दिने व्यवस्था आदेशमा छ ।
आदेशमा संस्थानको कार्यकारी प्रमुख तथा साचालकको कार्यसम्पादन सन्तोषजनक नभएमा खराब आचरण देखिएमा वा पदीय जिम्मेवारी इमानदारीपूर्वक पालना नगरेको भनी उजुरी परेमा कुनै किसिमले जानकारी पाएमा बोर्डले छानबिन गरी आवश्यक कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने सक्ने व्यवस्था गरिएको छ ।
आदेशले बोर्ड संस्थानका कार्यकारी प्रमुखको नियुक्तको सिफारिस गर्ने समिति संस्थानका कार्यकारी प्रमुख साचालक समितिको अध्यक्ष र सदस्यहरु कुनै राजनीतिक दलको सदस्य नभएको व्यक्ति हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । योग्यता पुगेका व्यक्तिहरुबीच खुल्ला प्रतिस्पर्धाबाट छनौट हुने पदमा दलको सदस्य भएको व्यक्ति योग्यता पुगे पनि उम्मेदवार हुन नपाउने व्यवस्था बहुदलीय व्यवस्थासम्मत नरहेको सरकारी अधिकारीले नै बताए । 'मुलुकमा बहुदलीय लोकतान्त्रिक पद्धतिको अभ्यास भइरहेका बेला योग्यता पुगेको कुनै दलको सदस्यमाथि बोर्ड सिफारिस समिति या संस्थानको कार्यकारी प्रमुख/साचालक पदमा प्रतिस्पर्धा गर्नसमेत प्रतिबन्ध लगाउन मिल्दैन यस्तो प्रतिबन्ध त निर्दलीय व्यवस्था भएको मुलुकमा मात्र लगाइन्छ' ती अधिकारीले भने ।

कांग्रेसको सोमबारको बन्द यथावत्

कांग्रेसको  अपील
नेपाल तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेल लगायतका तरुण साथीहरुमाथि बन्दी अवस्थामा योजनावद्ध तवरले सरकारकै संलग्नतामा भएको आक्रमणबाट उपचारका क्रममा शिवप्रसाद पौडेलको मृत्यु भएको घटनाले सिङ्गो पार्टी र मुलुकलाई नै स्तब्ध बनाएको छ। नेपाल महिला संघद्वारा आयोजित तीजको कार्यक्रममा सहभागी रहेका निर्दोष पौडेललाई सोही समयमा अन्यत्र घटित भएको घटनामा मुछि नियोजित रुपमा झुटा मुद्दामा फसाउने र प्रशासनले नै जेलका कोठा खोली हत्या गर्न लगाएको यस घटनाको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ ।
नेपाल तरुण दल, चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको मृत्युले थुप्रै प्रश्नहरु सिर्जना गरेको छ । यो घटना एक्लो शिवप्रसाद पौडेलको मात्र होइन, आम नागरिक र जेल भित्र रहेका सिङ्गो कैदीहरुको सुरक्षासँग पनि गाँसिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको आकस्मिक बैठकले- उक्त घटनाको छानविनको लागि न्यायिक आयोग गठन, दोषीहरुमाथि कडा भन्दा कडा कार्वाही, शिवप्रसाद पौडेललाई शहीद घोषणा र क्षतिपूर्ति, शिवप्रसाद पौडेल र प्रमिश राई लगायतका निर्दोष व्यक्तिहरुमाथिको झुट्ठा अभियोग तत्काल फिर्ता लिइयोस् भनी २०६८ पौष ४ गते देशव्यापी रुपमा शान्तिपूर्ण बन्दको आह्वान गरेको छ । यस बन्दलाई सफल बनाउन लोकतन्त्रवादी सम्पूर्ण जनसमुदायमा उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था, बजार पूर्ण रुपमा बन्द गरी हाम्रो कार्यक्रमलाई समर्थन र ऐक्यवद्धता जनाइदिन नेपाली कांग्रेस सबैमा अपिल गर्दछ। यो पूर्णतः शान्तिपूर्ण बन्दको कार्यक्रम भएकोले उक्त दिन रेडक्रस, एम्वुलेन्स, शव वाहन, स्वास्थ्य सेवाका साधान, फोहर बोक्ने साधान, दुग्ध बोक्ने साधन, पर्यटकीय वाहन, कुटनीतिक नियोगका साधान, प्रेस, मानव अधिकारकर्मीका सवारी साधनलाई कुनै पनि वाधा अवरोध नपुर्‍याउन र कुनै पनि किसिमका तोडफोड नहुन दिन पार्टीका सबै निकाय, भातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ।
जय नेपाल !
वसन्तकुमार गौतम
मुख्य सचिव

Friday, December 16, 2011

अझै गाडी फिर्ता नगर्ने दर्जनौं नेता

काठमाडौं, १ पुस- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषदको तजबिजी निर्णयबाट पूर्व प्रधानमन्त्रीसहित विभिन्न पदाधिकारीलाई दिइएको गाडीलगायतको सुविधा तत्काल फिर्ता गर्न सरकारलाई ताकेता गरेको छ । अख्तियारले सर्वोच्च अदालतको निर्णयबमोजिम कानुनमा उल्लेख भएबाहेकका सुविधा तत्काल फिर्ता गर्न सरकारलाई पत्र पठाई ताकेता गरेको हो । सर्वोच्चले आफ्नो आदेशमा नै कानुनविपरीतको सुविधा फिर्ता भए÷नभएको अनुगमन गर्न अख्तियारलाई निर्देश गरेकाले उसले सरकारलाई पत्र पठाई ताकेता गरेको हो ।
अख्तियारले ताकेता गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका अधिकारीले मन्त्रिपरिषदको तजबिजी निर्णयबाट विभिन्न व्यक्तिले लिइरहेको गाडीलगायतको सुविधा तत्काल फिर्ता गर्न गृह मन्त्रालय संघीय मामिला मन्त्रालय संसद सचिवालयलाई आग्रह गरेका छन् ।
सर्वोच्चको आदेशपछि पूर्व प्रधानमन्त्री पूर्व उपप्रधानमन्त्री पूर्व गृह मन्त्रीहरु सबैजसोले गाडी फिर्ता गरेका छन् । तर मन्त्रिपरिषदको तजबिजी निर्णयबाट सभासदहरुले लिएको मन्त्री तथा राज्यमन्त्रीसरहको पारिश्रमिक चालक इन्धनसहितको गाडी पारिश्रमिकलगायतको सुविधा भने फिर्ता नगरेको स्रोतले उल्लेख गरेको छ ।
मन्त्रिपरिषद र गृह मन्त्रालयबाट सुविधा लिएकामध्ये पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द सूर्यबहादुर थापा शेरबहादुर देउवा पुष्पकमल दाहाल माधव नेपाल र झलनाथ खनाल तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी पूर्व गृह मन्त्रीहरु केपी ओली, वामदेव गौतम, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, भीम रावल र पूर्व सांसद अमरेशकुमार िसंहसहितले गाडी सुविधा फिर्ता गरिसकेका छन् ।
तर मन्त्रिपरिषदको निर्णयअनुसार गाडी सुविधा पाएका पूर्व प्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराई, गृह मन्त्रालयबाट गाडी लिएका एमाले महासचिव ईश्वर पोखरेल र कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको भने सुविधा फिर्ता भएको छैन । स्व। भट्टराईको नाममा लगिएको गाडी उनकी सहयोगी अमिता कपाली तथा पोखरेल र कर्माचार्यले लगेको गाडी भने आफैंले चढ्दै आएका छन् । पोखरेलले भने आफूले गाडी सेना समायोजन विशेष समितिलाई दिएको दाबी गर्दै आएका छन् तर गाडी भने पोखरेलले नै प्रयोग गर्दै आएको गृह स्रोतको दाबी छ ।
मन्त्रिपरिषदको तजबिजी निर्णयबाट सरकारी गाडी र बढी तलबसुविधा लिने विभिन्न दलका प्रमुख सचेतक सचेतक र दलका नेताहरु २० जनाभन्दा बढी रहेको स्रोतले उल्लेख गरेको छ । एमालेका नेता माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदको निर्णयअनुसार अनधिकृत रुपमा दिइएको गाडी सुविधा ती सभासदले फिर्ता नगरी उपभोग गरिरहेको संसद सचिवालय स्रोतले उल्लेख गरेको छ । तत्कालीन मन्त्रिपरिषदले कानुनमा उल्लेख नभए पनि तजबिजी निर्णयबाट दलका नेता प्रमुख सचेतक र सचेतक र सभासदहरुलाई मन्त्री र राज्यमन्त्री सरहको तलब र गाडी सुविधा दिएको स्रोतले उल्लेख गरेको छ ।
मन्त्रिपरिषदको ०६६ साउन ८ को निर्णयअनुसार कांग्रेस एमाले र मधेशी जनअधिकार फोरमका प्रमुख सचेतक क्रमशः लक्ष्मण घिमिरे भीम आचार्य र रामजनम चौधरीलाई मन्त्री सरहको पारिश्रमिक र गाडी सुविधा दिइएको छ जबकि कानुनमा सत्तारुढ एउटा दलको प्रमुख सचेतक र सचेतक तथा विपक्षी दलको प्रमुख सचेतकले मात्र राज्यमन्त्री सरहको सुविधा पाउने उल्लेख छ । आचार्य र चौधरीको सबै सुविधा अवैध ठहरिएको छ भने माओवादीका देव गुरुङ र कांग्रेसका घिमिरेले मन्त्री सरह पाएको सुविधासमेत गैरकानुनी ठहरिएको छ । गुरुङ र घिमिरेले कानुनतः राज्यमन्त्री सरहको पारिश्रमिकमात्र पाउँछन् । उनीहरुलाई मन्त्री सरहको पारिश्रमिक चालक मासिक २ सय लिटर पेट्रोल मोबिल र मर्मत खर्च दिइएको छ ।
संसदका पदाधिकारी सेवा शर्त र सुविधा सम्बन्धी ऐनअनुसार एमाले र सोभन्दा साना दलका कुनै पनि सभासदले दलको नेता या सचेतकका नाममा मन्त्री या राज्यमन्त्री सरहको पारिश्रमिक र गाडी सुविधा पाउँदैनन् । जबकि मन्त्रिपरिषदको निर्णयका नाममा कानुनविपरीत एक जनामात्र सभासद भएका दलका नेतालाई समेत राज्यमन्त्री सरहको पारिश्रमिक र गाडी सुविधा दिइएको उदाहरण थुप्रै छन् । सर्वोच्चको फैसलाअनुसार मन्त्रिपरिषदको तजबिजी निर्णयबाट कांग्रेसकी सचेतक कमला पन्त र एमालेकी सचेतक थममाया थापालाई दिइएको राज्यमन्त्रीसरहको पारिश्रमिक र गाडी सुविधा अनधिकृत रहेको स्रोतले उल्लेख गरेको छ ।
अनधिकृत रुपमा राज्यमन्त्री सरहको पारिश्रमिक र गाडी सुविधा पाएका विभिन्न दलका सचेतकहरुमा कल्पना राणा नेकपा संयुक्त, जनककुमारी चालिसे माले, जयराम यादव फोरम, प्रतिभा राणा राप्रपा, रामनरेश राय सद्भावना छन् । उनीहरुलाई राज्यमन्त्री सरहको पारिश्रमिक चालक १ सय ५० लिटर पेट्रोल मोबिल र मर्मत खर्च दिइएको छ ।
हालै मन्त्रिपरिषदबाट फोरम गणतान्त्रिक र तमलोपा यादव समूह का सचेतकलाई राज्यमन्त्रीसरहको सुविधा र गाडी सुविधा दिने निर्णय भएको थियो तर सर्वोच्चको फैसलाबाट उनीहरुले सुविधा नपाउँदै सर्वोच्चको फैसलाले सुविधा खोसिएको छ । दलको नेता या पदाधिकारीको नाताले गाडी सुविधा लिनेमा मालेका सीपी मैनाली, राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ, जनशत्ति पार्टीका अर्जुन राई, तमलोपाका अरविन्द साह, परिवार दलका एकनाथ ढकाल, नेकपा संयुक्त चन्द्रदेव जोशी, राष्ट्रिय जनमुक्ति पार्टीका मालवरिसंह थापा, नेपाल लोकतान्त्रिक समाजवादी दलका लक्ष्मीलाल चौधरी र दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान छन् । उनीहरुलाई चालक १ सय ५० लिटर पेट्रोल मोबिल र मर्मत खर्च दिइएको छ ।

अझै गाडी फिर्ता नगर्नेहरु
पूर्व प्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराईकी सहयोगी अमिता कपाली
एमाले महासचिव ईश्वर पोखरेल
कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य
कमला पन्त सचेतक कांग्रेस
भीम आचार्य प्रमुख सचेतक एमाले
थममाया थापा सचेतक एमाले
जयराम यादव सचेतक फोरम
रामजनम चौधरी प्रमुख सचेतक फोरम लोकतान्त्रिक
कल्पना राणा नेकपा संयुक्त
जनककुमारी चालिसे माले
प्रतिभा राणा राप्रपा
रामनरेश राय सद्भावना
अर्जुन राई जनशक्ति पार्टी
अरविन्द साह तमलोपा
एकनाथ ढकाल परिवार दल
चन्द्रदेव जोशी नेकपा संयुक्त
सीपी मैनाली माले
चन्द्रबहादुर गुरुङ राप्रपा नेपाल
मालवरिसंह थापा जनमुक्ति पार्टी
लक्ष्मीलाल चौधरी लोकतान्त्रिक समाजवादी दल
विश्वेन्द्र पासवान दलित जनजाति पार्टी









भ्रष्टाचारको आरोप लागेका गुप्ताद्वारा संवैधानिक परिषदबाट राजिनामा

काठमाडौं, १ पुस- सूचना तथा साचारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले संवैधानिक परिषदको सदस्यबाट शुक्रबार राजिनामा दिएका छन । भ्रष्टाचारको अभियोगमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका गुप्ता परिषदमा रहन नहुने आवाज उठेपछि उनले परिषदको मर्यादा तथा यसका सम्मानित सदस्यहरुको सहभागिता विवादरहित होस भन्ने अभिप्रायबाट आफूले राजिनामा दिएको उल्लेख गरेका छन ।
उनले वरिष्ठ मन्त्रीका नाताले परिषदमा रहनु आफनो अधिकार भए पनि आफनाविरुद्ध अनावश्यक विरोध र प्रश्न उठाइएकाले राजिनामा दिएको उल्लेख गरेका छन । गुप्ताले प्रधानमन्त्री एवं परिषदका अध्यक्ष बाबुराम भट्टराईलाई शुक्रबार दिएको राजीनामामा आफूलाई परिषदको सदस्यमा मनोनित गरेकामा धन्यवाद िदंदै मुलुकको विद्यमान संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदमा सहभागी दलका वरिष्ठ मन्त्रीमध्येबाट नियुक्त हुने प्रावधानअनुसार मौजुदा मन्त्रिपरिषदमा आफू वरिष्ठता क्रममा चौथो रहेको कारणबाट पनि मनोनीत भएको उल्लेख गरेका छन ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनाल अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले भ्रष्टाचारको मुद्दा खेपिरहेका मन्त्री गुप्तालाई परिषदमा राख्न नहुने भनी सार्वजनिक वक्तव्यका साथ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । परिषदले प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र सदस्यहरुको नियुक्तिको सिफारिस गर्छ । यस्तो महत्वपूर्ण निकाय परिषदमा भ्रष्टाचारको मुद्दा खेपिरहेका व्यक्ति बस्न नहुने प्रश्न अख्तियारका पूर्व प्रमुख आयुक्तसहितका अधिकारीहरुले उठाएका थिए ।
यसअघि पुष्पकमल दाहालको प्रधानमन्त्रीत्वकालमा पनि संवैधानिक परिषदको सदस्यको रुपमा आफनो सहभागितासमेतबाट तत्कालीन प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस भएको उल्लेख गर्दै गुप्ताले एक निर्वाचित सभासदका रुपमा र सभासदकै आधारमा संविधानअनुसार नै मन्त्री पदमा रहेको राजीनामामा उल्लेख गरेका छन ।
'उपर्युक्त दुवै नियुक्तिमा मेरो समान अवस्था रहेको छ तर यसपटक म संवैधानिक परिषदमा मनोनित भएको यसका औपचारिक बैठकमा सहभागी भएपछि र परिषदले रिक्त संवैधानिक पदहरुको परिपूर्तिको मार्गप्रशस्त गरेपछि परिषदमा मेरो मनोनयनको विषयमा परिषद बाहिरबाट प्रश्न उठाइएको छ' राजिनामापत्रमा छ ।
'इतिहासको कालरात्रिका रुपमा आएको पछिल्लो शाही सत्ताको समयमा तत्कालीन राजाको प्रत्यक्ष निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुखले लगभग १६ वटा विषयमा म उपर छानबिन गराएका थिए' भन्दै उनले राजीनामामा कुनै पनि विषयमा आफूलाई फसाउन नसकेपछि कान्तिपुर टेलिभिजनलाई इजाजत दिइएको विषयमा भ्रष्टाचारको मुद्दा चलाइएको उल्लेख गरेका छन । उनले सो मुद्दामा एक लाख धरौटीमा रिहा भएपछि पुनः उनै अख्तियार प्रमुखको निर्देशनमा आयभन्दा बढी सम्पत्तिबारे भ्रष्टाचारको अर्को मुद्दा चलाइएको दाबी गर्दै विशेष अदालतबाट उक्त दुवै मुद्दामा आफूले सफाइ पाएकोसमेत उल्लेख गरेका छन ।
गुप्ताले संवैधानिक परिषद एक गुरुत्तर दायित्व निर्वाह गर्नुपर्ने प्रधानन्यायाधीश सभामुखसमेतको उपस्थिति रहने निकाय हो यसको निष्पक्षता एवम गरिमा अक्ष्ाण रहनुपर्छ भन्ने आफनो मान्यता हो भन्दै त्यहाँ आफनो उपस्थितिका कारणबाट मुलुककै सम्मानित निकायको कार्यसम्पादन उपर प्रश्न नउठोस भन्नेमा आफू सचेत र स्पष्ट रहेको उल्लेख गरेका छन ।
उनले राजीनामामा आफू उपर हुँदै आएका अन्याय एवं प्रहारलाई मनमै राखेर परिषदको मर्यादा तथा यसका सदस्यहरुको सहभागिता विवादरहित होस भन्ने अभिप्रायबाट आफूले संवैधानिक परिषदको सदस्यबाट राजीनामा गरेको उल्लेख गरेका छन ।

Thursday, December 15, 2011

निजामती प्रशासनको टिके बढुवा खारेज हुने

स्वतः बढुवा भइसकेका १८ हजारलाई दरबन्दी सिर्जना गरी समायोजन गरिने
निजामती प्रशासनमा ज्येष्ठताका आधारमा समेत बढुवा गरिने
डिभिजनका आधारमा कम र बढी अंक पाउने व्यवस्था खारेज हुने

काठमाडौं, २९ मंसिर- सरकारले निजामती प्रशासनमा विकृतिका रुपमा देखा परेको स्वतः बढुवाको व्यवस्थालाई खारेज गर्न तत्काल निजामती ऐन संशोधन गर्ने भएको छ । २०६३ सालदेखि सुरु स्वतः बढुवाका कारण निजामती कर्मचारीको व्यवस्थापनमा उत्पन्न समस्या समाधान गर्न मन्त्रिपरिषदको पछिल्लो बैठकले त्यस्तो बढुवाको व्यवस्था नै खारेज गर्न ऐन संशोधन गर्न संसदमा विधेयक लाने निर्णय गरेको छ । सरकारले यसै साता संशोधन विधेयक संसदमा पेस गर्ने भएको छ ।
लोकतन्त्र बहाली भएपछि युनियनहरुको दबाबमा २०६३ सालमा ऐन संशोधन गरी स्वतः बढुवा गर्ने व्यवस्था गरिएपछि ७८ हजार कर्मचारी रहेको निजामती प्रशासनमा पाँच वर्षमा १८ हजारभन्दा बढीले स्वतः बढुवा पाइसकेका छन् । निश्चित अवधि पुगेर स्वतः बढुवा भएका त्यति ठूलो संख्याका कर्मचारीले पाँच वर्षदेखि तल्लो पदको काम नगरी बढुवा भएको माथिल्लै पदको काम दिन माग गर्दै कहिले ज्ञापनपत्र त कहिले आन्दोलन गर्न थालेपछि प्रशासनमा अराजकता र विकृति बढ्दै गएको छ ।
मन्त्रिपरिषदद्वारा अनुमोदित संशोधन विधेयकमा स्वतः बढुवा भइसकेका कर्मचारीलाई १८ हजार पुल दरबन्दी सिर्जना गरी पदोन्नति भएकै पदमा समायोजन गर्ने र अब त्यस्तो बढुवाको व्यवस्था नै नरहने प्रस्ताव गरिएको छ । स्वतः बढुवावाला कर्मचारीको समायोजन भएपछि उनीहरु पदोन्नति हुनुअघिको पद स्वतः खारेज हुने प्रावधान विधेयकमा छ । संशोधन विधेयक संसदबाट पारित भएपछि स्वतः बढुवाको प्रावधान खारेज हुने र एक महिनामा स्वतः बढुवावालालाई समायोजन गरिसकिने जानकारी सामान्य प्रशासनका एक अधिकारीले दिए ।
सरकारले निजामती प्रशासनमा ज्येष्ठता बढी सेवा अवधि का आधारमा बढुवा हुने नयाँ व्यवस्था गर्न लागेको छ । विधेयकमा विभिन्न पदको रिक्त दरबन्दीको १० देखि ४० प्रतिशत सिटमा ज्येष्ठताका आधारमा बढुवा गर्ने प्रस्ताव गरिएको छ । ज्येष्ठता अर्थात् सेवा अवधि सबभन्दा धेरै भएका आधारमा बढुवा हुन कार्यसम्पादन मूल्यांकनमा भने औसतमा ९५ प्रतिशत नम्बर प्राप्त गर्नुपर्ने अनिवार्य गरिएको छ ।
यो व्यवस्थाले कनिष्ठ कर्मचारी बढुवा हुने तर सोही पदमा सबभन्दा लामो समयसम्म कार्य गरेको व्यक्ति बढुवा नहुने प्रवृत्तिलाई अन्त्य गर्नेछ । खरिदारमा १०, नायव सुब्बामा ४०, शाखा अधिकृतमा ३०, उपसचिवमा ३५, सहसचिवमा ३५ प्रतिशत सिटमा ज्येष्ठतामा आधारमा बढुवा गर्ने प्रस्ताव गरिएको छ ।
अहिले सहसचिवसम्म खुला प्रतियोगिता आन्तरिक प्रतिस्पर्धाबाट र कार्यक्षमताको मूल्यांकन फाइल बढुवा बाट मात्र पदपूर्ति गर्ने व्यवस्था छ । विधेयकमा ज्येष्ठताका आधारमा बढुवा हुने व्यवस्था थप्न प्रस्ताव गरिएको हो । विशिष्ट श्रेणी सचिव मा समेत २० प्रतिशत पदमा ज्येष्ठताका आधारमा बढुवा गरिने भएको छ । विधेयकमा सचिवको रिक्त पदमध्ये २० प्रतिशतमा कार्यसम्पादन मूल्यांकनमा ९५ प्रतिशत या सोभन्दा बढी अंक प्राप्त गरेका सहसचिवमा सबभन्दा बढी सेवा अवधि भएका सम्भाव्य उम्मेदवारलाई बढुवा समितिले मन्त्रिपरिषदसमक्ष पदोन्नतिका लागि सिफारिस गर्ने प्रावधान राखिएको छ ।
सचिवको बाँकी ८० प्रतिशत सिटमा पदोन्नतिका लागि बढुवा समितिले कार्यसम्पादन मूल्यांकनका आधारमा सबभन्दा बढी अंक प्राप्त गरेका र पाँच वर्ष सेवा अवधि पूरा भई सम्भाव्य उम्मेदवार भएका सहसचिवहरुमध्येबाट रिक्त पदको तेब्बर संख्यामा सिफारिस गर्नेछ सरकारले सिफारिसमा परेकामध्ये जोसुकैलाई सचिवमा बढुवा गर्न सक्नेछ ।
पहिलोपटक सचिवमा ज्येष्ठताका आधारमा बढुवा गर्न लागिएको हो । कार्यसम्पादन मूल्यांकनका आधारमा सचिव बढुवा गर्दा सहसचिव भएको १५ वर्षसम्म भएका कर्मचारीको बढुवा नहुने तर आरक्षणवालाको चार र अरुको पाँच वर्ष सेवा अवधि पुग्नासाथ पदोन्नति भएका थुप्रै उदाहरण छन् विधेयकमा प्रस्तावित नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि कनिष्ठको बढुवा हुने तर वरिष्ठको बढुवा नहुने प्रवृत्तिको अन्त्य हुनेछ ।
सरकारले कर्मचारीहरुलाई शैक्षिक योग्यताको डिभिजनका आधारमा बढी र कम अंक दिने व्यवस्थालाई खारेज गर्ने भएको छ । हाल तेस्रो श्रेणीमा उत्तीर्णलाई भन्दा द्वितीय श्रेणीवालालाई दशमलव २५ र प्रथम श्रेणीलाई दशमलव ५ अंक बढी दिने व्यवस्था छ । सेवा प्रवेशको समान परिक्षामा प्रतिस्पर्धा गरी उत्तीर्णलाई शैक्षिक योग्यताको डिभिजनका आधारमा भेदभाव गर्नु औचित्यहीन भएकाले यो व्यवस्था हटाउन विधेयकमा प्रस्ताव गरिएको स्रोतले उल्लेख गरेको छ । सेवा प्रवेश गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यताभन्दा माथिको सेवा समूहसँग मिल्दो विषयमा माथिल्लो शैक्षिक योग्यता प्राप्त गरेकालाई भने थप तीन अंक दिने व्यवस्था राखिएको छ ।
'निजामती कर्मचारीहरुलाई शैक्षिक योग्यताको अंक िदंदा निजामती सेवाको कुनै पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबापतको एकमुष्ठ नौ अंक र सेवा प्रवेशका निम्ति तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिको सेवा समूहसँग सम्बन्धित विषयको एक अतिरिक्त शैक्षिक उपाधिबापत एकमुष्ठ तीन अंक दिइनेछ' विधेयकमा छ ।






सचिव गौतमलाई मातृशोक

काठमाडौ, २९ मंसिर- विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव ताना गौतमलाई मातृ शोक परेको छ । गौतमकी आमा दोमाया गौतमको ७९ वर्षको उमेरमा निधन भएको हो । दोमाया दमको रोगबाट पीडित हुनुहुन्थ्यो । स्व। दोमायाका पाँच छोरा र तीन छोरी छन्

Wednesday, December 14, 2011

लगानी बोर्ड प्रमुखको तलब साँढे दुई लाख

काठमाडौं, २८ मंसिर- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत राधेश पन्तलाई मासिक तलबभत्ताबापत २ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले मुलुकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी बढाउन गठित बोर्डको प्रमुखको तलबभत्ता मासिक साढे दुई लाख तय गरेको जानकारी स्रोतले दिए ।
बैंक अफ काठमाडौं र कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा पन्तले मासिक १२ लाख रुपैयाँसम्म तलबभत्ता लिएका थिए । सरकारले विद्युत् प्राधिकरणमा खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका तत्कालीन कार्यकारी निर्देशक दीपेन्द्रनाथ शर्मालाई समेत सरकारले मासिक तलबभत्ता २ लाख रुपैयाँ दिएको थियो ।
पन्त खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत छनौट भएका हुन् । उनले सोमबारदेखि कार्यभार सम्हालेका छन् । बाहिर कार्यालय भवन नपाइन्जेलसम्मका लागि पन्तलाई अस्थायी रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयमा कार्यालय दिइएको छ ।