Tuesday, January 8, 2013

नक्कली प्रमाणपत्रधारी डीएसपी थापा निलम्बित

काठमाडौं, २४ पुस– प्रहरी प्रधान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र र नागरिकताका आधारमा सेवा प्रवेश गरेका प्रहरी नायव उपरिक्षक (डीएसपी) बालकृष्ण थापालाई निलम्बन गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा प्रहरी प्रधान कार्यालयले थापालाई सेवाबाट निलम्बन गरेको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार केन्द्रले थापाका बारेमा परेको उजुरीमा छानबिन गर्दा उनले प्रहरी निरीक्षकमा २०४९ सालमा सेवा प्रवेश गर्दा पेस गरेको बीएस्सीको शैक्षिक प्रमाण नक्कली देखिएको र नागरिकतामा समेत कैफियत देखिएको ठहर गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगलाई सिफारिस गरेको थियो ।
केन्द्रमा थापाले नक्कली शैक्षिक प्रमाणपत्र र नागरिकतामा उमेर सच्याई प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरेकाले कानुन बमोजिम कारबाही गरी पाऊ“ भन्ने व्यहोराको उजुरी परेपछि केन्द्रले छानबिन गरेको हो ।
विभिन्न जिल्लामा प्रहरी प्रमुख भएर कार्य गरिसकेका थापा निलम्बन हुनुअघि अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

Friday, January 4, 2013

मन्त्रिपरिषदद्वारा त्रिशुली ३ एको क्षमता बढाउन स्वीकृति

  • क्षमता बढाउ“दा अवधि दुई वर्ष र लागत चार अर्ब बढ्ने
  • सान्जेन कम्पनीले कालो सूचीमा राखेको कम्पनीलाई मन्त्रिपरिषदद्वारा थप दायित्व
  • सन् २०१७  देखि वर्षामा मात्र थप हुने त्रिशूली ३ एको बिजुली पूरै खेर जाने
  • क्षमता बढाउन निर्णय कानुन र इपीसी ठेक्का सम्झौताविपरीत
काठमाडौं, २० पुस– सरकारले निर्माण सुरु भइसकेको २ वर्ष भइसकेको माथिल्लो त्रिशुली ३ एको वर्षायाममा मात्र ३० मेगावाट उत्पादन क्षमता बढाउने गरी आयोजना विकास गर्न चिनिया“ कम्पनी गेजुवालाई अनुमति दिएको छ ।
मन्त्रिपरिषदको बिहीबार अपराह्न बसेको बैठकले ऊर्जामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराईको ठेकेदारको मागबमोजिम उक्त आयोजनाको क्षमता बढाउन अनुमति दिने प्रस्तावलाई अनुमोदन गरेको हो ।
करिब ९ अर्ब रुपैया“ (८९ मिलियन अमेरिकी डलर) मा सिभिलतर्फको ठेक्का लिएको ठेकेदार कम्पनीलाई ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए को वर्षायाममा मात्र ३० मेगावाट क्षमता बढ्ने गरी आयोजना विकास गर्न अनुमति दिएको हो ।
मुलुकले चरम लोडसेडिङको समस्या भोगिरहेका बेला काम सुरु भएको दुई वर्ष भइसकेको ६० मेगावाट क्षमताको उक्त आयोजनाको वर्षायाममा उत्पादन क्षमता ९० मेगावाट बढाउ“दा निर्माण अवधि दुई वर्ष बढ्ने र लागतसमेत करिब ४ अर्ब रुपैया“ थपिने जानकारी प्राधिकरणका अधिकारीले दिए ।
ठेकेदार कम्पनीले उक्त आयोजना वर्षायाममा मात्र थप ३० मेगावाट विद्युत् उत्पादन हुने गरी निर्माण गर्न थप ४३ मिलियन डलर (करिब ४ अर्ब रुपैया“) लागत लाग्ने प्रस्ताव गरेको छ । ठेकेदारले उसले मागेको लागतमा उक्त आयोजनाको क्षमता विस्तार हुने गरी निर्माण गर्न मन्त्रिपरिषदबाट अनुमति पाएको ऊर्जा मन्त्रालयका अधिकारीले बताए ।
 चिनिया“ एक्जिम बैंकले उक्त आयोजना क्षमता विस्तार गर्न लाग्ने थप लागत करिब ४ अर्ब रुपैया“ सहुलियतपूर्ण ऋणस्वरूप दिने लिखित प्रतिबद्धतासमेत व्यक्त गरिसकेको छ । उक्त आयोजना उक्त बैंकको सहयोगमा निर्माण भइरहेको हो ।
गेजुवा विवादास्पद कम्पनी हो । सान्जेन जलविद्युत् कम्पनीले ठेक्का सम्झौताविपरीत शर्त राखेकामा हालै गेजुवालाई कालो सूचीमा राखेको छ । कम्पनीले गेजुवालाई कालो सूचीमा राख्न सरकारलाई लिखित आग्रह गरिसकेका बेला मन्त्रिपरिषदले सोही ठेकेदार कम्पनीलाई उसैको मागबमोजिम माथिल्लो त्रिशुली ३ एको क्षमता बढाउन अनुमति दिएको हो । सान्जेन जलविद्युत् आयोजनाको सिभिलतर्फको कामको ठेक्का पाएको गेजुवाले काम सुरु नगर्दै पूरा गर्नै नसकिने शर्त राखेपछि कम्पनीले उसलाई कालो सूचीमा राखेको हो ।
माथिल्लो त्रिशुली ३ ए आयोजना आगामी तीन वर्षमा सम्पन्न भई विद्युत् उत्पादन सुरु हुन्थ्यो । क्षमता बढाउने अनुमति दिंदा उक्त आयोजना दुई वर्ष ढिलो हुने र त्यही कारण दुई वर्ष थप लोडसेडिङ हुने जानकारीसमेत प्राधिकरणका अधिकारीले दिए ।  उक्त आयोजनाको क्षमता जति नै वढाए पनि यसले सुख्खायाममा उत्पादन गर्ने ऊर्जामा कुनै बढोत्तरी हुने छैन । 
मन्त्रिपरिषदले उक्त आयोजनाको क्षमताविस्तार गर्न अनुमति दिनु सार्वजनिक खरिद ऐन र इपीसी ठेक्का सम्झौताविपरीत भएको ऊर्जा मन्त्रालयका अधिकारी बताउ“छन् । इपीसी ठेक्का सम्झौतामा क्षमता र लागत बढ्ने गरी स्कोप भेरिएसन गर्न नपाइने अन्तर्राष्ट्रिय प्रचलन छ । इपीसी कन्ट्राक्ट भेरिएसन गर्नै नपाइने ठेक्का सम्झौता हो ।
क्षमता बढाउन स्वीकृति दिएका कारण उक्त आयोजना पा“च वर्षपछिमात्र निर्माण सम्पन्न हुने र त्यतिबेला मुलुकमा वर्षायाममा आवश्यकताभन्दा बढी विद्युत् उत्पादन हुने भएकाले माथिल्लो त्रिशुली ३ ए आयोजनाबाट उत्पादित थप बिजुली (३० मेगावाट) पूरै खेर जाने प्राधिकरणका अधिकारी बताउ“छन् ।
हाल निर्माणाधीन जलविद्युत आयोजनाहरू निर्धारित समयमा सम्पन्न भएमा सन् २०१७ बाट वार्षिक ३ अर्ब युनिटभन्दा बढी बिजुली वर्षायाममा खेर जाने प्राधिकरणको प्रक्षेपण छ । प्राधिकरणको विद्यमान विद्युतको औसत खरिद दर (रु ५.४०) मा प्राधिकरणलाई वार्षिक १७ अर्ब रुपैया“ घाटा हुनेछ ।
चार अर्ब रुपैया“ खर्चेर माथिल्लो त्रिशुली ३ ए आयोजनाको क्षमता वृद्धि गर्दा प्राधिकरणको खेर जाने विद्युतको परिमाणमा १५ करोड युनिट थपेर प्राधिकरणलाई वार्षिक ८० करोड रुपैया“ थप घाटा हुनेछ । आयोजनाको उपयोगी जीवन ३० वर्षमात्र मान्दा आयोजनाको कुल जीवनमा माथिल्लो त्रिशूली ३ ए कारणबाट मात्र २४ अर्ब रुपैया“ घाटा पर्नेछ । यो रकमले माथिल्लो त्रिशुली ३ ए जस्तो ३ वटा आयोजना बनाउन सकिने प्राधिकरणका अधिकारी बताउ“छन् ।
यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समितिद्वारा गठित दुई भिन्नभिन्नै प्राविधिक समितिले उक्त आयोजनाको क्षमता बढाउन आर्थिक र प्राविधिक दुवै हिसाबले अनुपयुक्त हुने उल्लेख गर्दै अस्वीकार गरेका थिए । ऊर्जा मन्त्रालयले ती दुई प्रतिवेदनलाई बेवास्ता गरी उक्त आयोजनाको क्षमता बढाउन स्वीकृति दिन सहसचिव मोतीबहादुर कु“वरको संयोजकत्वमा समिति गठन गरिएको र त्यसले मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वको दबाबमा क्षमता बढाउन उपयुक्त हुने सुझाव दिएको जानकारीसमेत एक अधिकारीले दिए । कु“वरको कार्यदलको सुझावअनुसार नै ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले उक्त आयोजनाको क्षमता विस्तारको अनुमति दिएको हो ।
चिनिया“ ठेकेदार कम्पनीले ठेक्का पाएदेखि नै उक्त आयोजनाको क्षमता बढाउन सरकारलाई दबाब दिंदै आएको थियो । तर, यसअघिका ऊर्जामन्त्रीहरू क्रमशः प्रकाशशरण महत, गोकर्ण बिष्ट र पोष्टबहादुर बोगटीको पालामा ठेकेदारको मागलाई ऊर्जा मन्त्रालयले अस्वीकार गर्दै आएका थिए ।
ठेकेदार कम्पनीले ठेक्का सम्झौताविपरीत माथिल्लो त्रिशुली ए को ३० मेगावाट क्षमता बढाउन उक्त आयोजनाको ठेक्का रकम ८९ मिलियन डलरबाट ४३ मिलियन डलर बढाउनुपर्ने माग गरेको छ । ठेक्का सम्झौताअनुसार उक्त आयोजनाको क्षमता बढाउन २२ मिलियन डलर लागत बढाउन प्रस्ताव गर्नुपर्नेमा ४३ मिलियन डलर प्रस्ताव गरेको जानकारी प्राधिकरणका अधिकारीले दिए । गेजुवाले ठेक्का हाल्दा ६० मेगावाटको ८९ मिलियन र ९० मेगावाटको क्षमतामा बनाउन त्यसको २५ प्रतिशत बढीमा निर्माण गर्ने प्रस्ताव हालेको थियो । ८९ मिलियनको २५ प्रतिशतले जम्मा २२ मिलियन डलर हुन्छ ।
















प्रधानमन्त्री नै विद्युत् विकासमा बाधक

काठमाडौं, २० पुस– मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला उर्जामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराईले विद्युत् क्षेत्रको विकासमा उल्टो दिशामा काम गर्न थालेका छन् । धमाधम ठूला जलविद्युत् आयोजनाको सुरु गरेर मुलुकलाई छिटोभन्दा छिटो लोडसेडिङ घटाउन युद्धस्तरमा कार्य गर्नुपर्ने बेलामा प्रधानमन्त्री स्वयंले निहित स्वार्थ राखी एकपछि अर्को गैरजिम्मेवार कार्य गर्न थालेका छन् । प्रधानमन्त्रीले जलविद्युत् क्षेत्रमा जस्ता कार्य गर्न थालेका छन्, त्यसले गर्दा मुलुकमा लोडसेडिङको समस्या झन् विकराल हुने स्थिति उत्पन्न भएको छ । प्रधानमन्त्रीकै प्रस्तावमा मन्त्रिपरिषदले बिहीबार चिनिया“ ठेकेदार कम्पनीको मागबमोजिम ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनालाई वर्षायाममा मात्र ३० मेगावाट क्षमता बढ्ने गरी निर्माण गर्नु अनुमति दिने विवादास्पद निर्णय गरेको छ । निर्माण सुरु भएको दुई वर्ष पुगिसकेको उक्त आयोजनाको क्षमता बढाउ“दा निर्माण अवधि दुई वर्ष लम्बिने र लागत चार अर्ब रुपैया“ बढ्नेछ ।
उक्त आयोजनाको निर्माण अवधि दुई वर्ष लम्बिंदा एकातिर मुलुकमा थप दुई वर्ष लोडसेडिङ झन् बढ्नेछ भने अर्कातिर उक्त आयोजना निर्माण सम्पन्न भई सन् २०१७ मा विद्युत् उत्पादन हुन थाल्दा हाल निर्माणाधीन आयोजनाहरू सम्पन्न भई मुलुकमा वर्षायाम वर्षामा बढी बिजुली उत्पादन भई खेर जाने प्रक्षेपण विद्युत् प्राधिकरणको छ । तसर्थ माथिल्लो त्रिशुली ३ ए बाट वर्षामा मात्र थपिने ३० मेगावाट बिजुली पूरै खेर जाने भएकाले मुलुकले त्यसका लागि खर्चने थप करिब चार अर्ब रुपैया“ औचित्यहीन हुन पुग्नेछ । ठेकेदार र प्रधानमन्त्री निकटस्थ प्रभावशाली व्यक्ति र ऊर्जा मन्त्रालयका कतिपय स्वार्थी अधिकारीहरूको मिलोमतोमा उक्त आयोजनाको क्षमता विस्तारको अनुमति दिइएको हो । उक्त आयोजनाको वर्षामा मात्र ३० मेगावाट थप बिजुली उत्पादन गर्न करिब २ अर्ब रुपैया“ खर्च हुने र बा“की २ अर्ब रुपैया“ क्षमता विस्तारको अनुमति दिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिहरूले भागबण्डा गर्ने आशंका प्राधिकरणका अधिकारीहरूको छ । तसर्थ उक्त आयोजनाको क्षमता विस्तार गर्न अनुमति दिने निर्णय आफैंमा भ्रष्टाचारलाई मलजल गर्ने बद्नियतपूर्ण छ । संसदको सार्वजनिक लेखा समिति नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रधानमन्त्री स्वयंले पठाएका माओवादी निकट गणेशराज जोशी सचिव छन् । त्यही मौकाको फाइदा उठाई निर्माण सुरु भएको दुई वर्ष भइसकेको आयोजनाको म्याद थप गर्ने विवादास्पद निर्णय गरिएको हो । जोशी यदि व्यावसायिक र सक्षम सचिव हुन् भने उनले माथिल्लो त्रिशुली ३ एको क्षमता बढाउन दिने बद्नियतपूर्ण निर्णयमाथि छानबिन गरी दोषीमाथि भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गर्ने हिम्मत गर्न पछि पर्नुहुन्न ।
ऊर्जामन्त्रीको हैसियतले प्रधानमन्त्रीले विवादास्पद निर्णय गराएको यो पहिलो निर्णय होइन । प्रधानमन्त्रीले यसअघि नै २ खर्बभन्दा बढी लागत लाग्ने दुई ठूला जलाशययुक्त जलविद्युत् आयोजनाको विकास समितिको अध्यक्षमा जलविद्युत् क्षेत्रमा कुनै अनुभव नभएका व्यक्तिलाई नियुक्त गरिसकेका छन् । ६ सय मेगावाटको बुढी गण्डकीमा लक्ष्मीप्रसाद देवकोटा र ४ सय मेगावाटको नलसिंगाडमा शेरबहादुर शाहीलाई अध्यक्ष नियुक्ति गरिएको छ । अध्यक्ष नियुक्तिमा उनीहरूको योग्यता नै माओवादी समर्थक र प्रधानमन्त्री निकट हुनु हो । प्रधानमन्त्रीले ऊर्जामन्त्रीस्तरीय निर्णय गरी तिनै अनुभवहीन दुई अध्यक्षलाई दुवै आयोजनामा प्रशासनिक तथा आर्थिक अधिकार दिएर कार्यकारी प्रमुख बनाउन विकास समिति गठन आदेश संशोधन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने निर्णय गरेका छन् ।
त्यति ठूला र बढी लगानीका ती दुई आयोजनामा ऊर्जा क्षेत्रमा लामो अनुभव भएका ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग र विद्युत् प्राधिकरणका अधिकारी कोही पनि नरहने गरी विकास समिति बनाउन गठन आदेश संशोधन गर्न लागिएको हो । जबकि यसअघि ऊर्जामन्त्रालयका योजना महाशाखा प्रमुख विकास समितिको सदस्य र खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म मन्त्रालयले तोकेको प्राविधिक सहसचिव कार्यकारी निर्देशक रहने व्यवस्था थियो । अब ती आयोजनामा नियुक्ति हुने कार्यकारी निर्देशकको हैसियत कार्यकारी अध्यक्षको स्वकीयसचिव बढी हैसियत हुने छैन । जलविद्युत् क्षेत्रमा कुनै अनुभव नभएका अध्यक्षलाई बुढी गण्डकी र नलसिंगाडमा कार्यकारी प्रमुख बनाउने निर्णयले ती दुई आयोजना समयमै सम्पन्न हुन नसक्ने प्रायः निश्चित भएको छ ।
प्रधानमन्त्रीको प्रस्ताव मन्त्रिपरिषदले अनुमोदन गरेपछि एकातिर भट्टराईबाट नियुक्त दुवै जना अध्यक्ष दुवै आयोजनामा अधिकारसम्पन्न कार्यकारी प्रमुख हुनेछन् भने उनीहरूमार्फत् दुवै आयोजनामा प्रधानमन्त्रीको प्रत्यक्ष हालीमुहाली चल्नेछ । साथै दुवै आयोजना प्रधानमन्त्रीको राजनीतिक भर्ती केन्द्रमात्र होइन आयोजनाको आर्थिक तथा प्रशासनिक गतिविधिमा समेत उनको प्रत्यक्ष हस्तक्षेप रहनेछ । प्रधानमन्त्रीले आफ्नो निहित स्वार्थ पूरा गर्न जलविद्युत् क्षेत्रमा ठूलो खेलबाड गरेका छन् । यसबाट ऊर्जा क्षेत्रको विकासमा प्रधानमन्त्री स्वयं बाधक बनेको निष्कर्षमा पुग्न सकिन्छ । जसले गर्दा नेपाली जनता थप कैयौं वर्ष अन्धकारमा बस्नुपर्नेछ । प्रधानमन्त्रीको यो निर्णयले तत्काललाई क्षणिक स्वार्थपूर्ति होला, तर दीर्घकालमा उनको राजनीतिक जीवनमा यी निर्णय सबभन्दा दुर्भाग्यपूर्ण हुने यथार्थ बेलैमा बुझ्नु अपरिहार्य भइसकेको छ ।



प्रधानमन्त्रीद्वारा बुढी गण्डकी र नलसिंगाडमा अनुभवहीन अध्यक्षलाई सर्वाधिकार दिन प्रस्ताव

काठमाडौं, २० पुस– उर्जामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराईले विस्तृत इन्जिनियरिङ अध्ययनका क्रममा रहेका निर्माणाधीन दुई ठूला जलाशययुक्त जलविद्युत् आयोजना बुढी गण्डकी र नलसिंगाडमा आफ्नो प्रत्यक्ष हस्तक्षेप रहने गरी विकास समितिका अध्यक्षलाई सम्पूर्ण आर्थिक तथा प्रशासनिक अधिकार दिने भएका छन् ।
प्रधानमन्त्री भट्टराईले ऊर्जामन्त्रीस्तरीय निर्णयबाट दुई खर्बभन्दा बढी लागतका यी दुइ आयोजनामा आपूmले नियुक्त गरेका अध्यक्षलाई सम्पूर्ण कार्यकारी अधिकारी दिन विकास समिति गठन आदेश संशोधन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने निर्णय गरेका छन् । बुढी गण्डकी ६ सय र नलसिंगाड ४ सय मेगावाट क्ष्ँमताका आयोजना हुन । अध्यक्ष कार्यकारी हुने गरि संसोधन गर्न लागिएको प्रस्तावलाइ प्रधानमन्त्रीले नै सम्हालेको कानुन मन्त्रालयले सहमति दिइसकेको छ ।
प्रधानमन्त्रीले ऊर्जामन्त्रीको हैसियतबाट ती दुई आयोजनामा विद्युत् आयोजनाको विकासको लामो अनुभव भएका ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग र विद्युत् प्राधिकरणका अधिकारी कोही पनि नरहने गरी विकास समिति बनाउन गठन आदेश संशोधनको प्रस्ताव गरेको उर्जा स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार मन्त्रिपरिषदले ऊर्जामन्त्रीको प्रस्ताव अनुमोदन गरेपछि दुवै आयोजनाका विकास समितिमा नियुक्त अध्यक्ष क्रमशः बुढी गण्डकीका लक्ष्मीप्रसाद देवकोटा र नलसिंगाडका शेरबहादुर शाही अधिकार सम्पन्न अध्यक्ष तथा कार्यकारी निर्देशक हुनेछन् । सिंह जलविद्युत्स“ग सरोकारवाला व्यक्ति नै होइनन् भने देवकोटा होइड्रोलिक इन्जिनियर भए पनि एक मेगावाटको विद्युत् आयोजना बनाएको पनि अनुभव छैन ।
देवकोटा प्रधानमन्त्रीको गृह जिल्ला गोरखाबासी हुने भने शाही माओवादीको स्थानीय नेता हुन् । माओवादी सत्तारूढ हु“दा देवकोटा यसअघि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अध्यक्ष र योजना आयोगको सदस्यसमेत नियुक्त भएका थिए ।
विकास समितिका अनुभवहीन अध्यक्षलाई कार्यकारी निर्देशकको समेत अधिकार दिने र मन्त्रालय, विभाग तथा प्राधिकरणका अनुभवी अधिकारी दायित्व विमुख बनाउने हो भने भने दुवै आयोजना निर्माण हुनेमा आशंका उब्जिएको सम्बन्धित अधिकारी वताउछन । ।
प्रधानमन्त्रीद्वारा प्रस्तावित गठन आदेशमा ऊर्जामन्त्रालयका अधिकारी विकास समितिमा नरहने प्रस्ताव गरिएको छ । समितिमा विद्युत् आयोजना बनााएका अनुभवी व्यक्ति नभई अध्यक्षले सिफारिस गरेका व्यक्ति नियुक्त हुने प्रस्ताव गरिएको छ ।
जबकि यसअघि ऊर्जामन्त्रालयका योजना महाशाखा प्रमुख विकास समितिको सदस्य र खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म मन्त्रालयले तोकेको प्राविधिक सहसचिव कार्यकारी निर्देशक रहने व्यवस्था थियो । दुवै आयोजनाको विकास समिति गठन आदेशमा विकास समितिका अध्यक्षसहित सदस्यलाई नीतिगत निर्णय गर्ने र आयोजनाका कार्यकारी निर्देशकलाई सम्पूर्ण प्रशासनिक तथा आर्थिक अधिकार रहने व्यवस्था गरिएको थियो ।
गठन आदेशमा दुवै आयोजनामा सुरुमा मन्त्रालयका सहसचिव कार्यकारी निर्देशक रहने र पछि खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (कार्यकारी निर्देशक) नियुक्त गर्ने व्यवस्था गरिएको थियो । प्रधानमन्त्रीद्वारा प्रस्तावित गठन आदेशमा अध्यक्षले प्रस्ताव गरेका व्यक्ति विकास समितिको सदस्य रहने र मन्त्रालयका प्राविधिक सहसचिव कार्यकारी निर्देशक नरहने प्रस्ताव गरिएको छ । अध्यक्षलाई कार्यालयमा पूर्ण समय रही आयोजनामा कर्मचारी नियुक्त गर्ने, चेक काट्नेसहितको सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्ताव गरिएको छ ।
यसअघि दुवै आयोजनाको विकास समितिमा बैठकको अध्यक्षता गर्नमात्र अध्यक्ष नियुक्त गरिएको थियो । प्रधानमन्त्रीले दुवै अध्यक्षलाई आयोजनाको अध्यक्ष तथा कार्यकारी निर्देशक बनाउन विकास समिति गठन आदेश संशोधन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने निर्णय गरेका हुन् ।

‘प्रधानमन्त्री एवं ऊर्जामन्त्रीको प्रस्ताव मन्त्रिपरिषदले अनुमोदन गरेपछि एकातिर भट्टराईबाट नियुक्त दुवै जना अध्यक्ष दुवै आयोजनामा अधिकारसम्पन्न अध्यक्ष तथा कार्यकारी निर्देशक हुनेछन् भने उनीहरूमार्फत् दुवै आयोजनामा प्रधानमन्त्रीको प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा हालीमुहाली चल्नेछ भने दुवै आयोजना प्रधानमन्त्री भट्टराईको राजनीतिक भर्ती केन्द्रमात्र होइन आयोजनाको आर्थिक तथा प्रशासनिक गतिविधिमा समेत भट्टराईको प्रत्यक्ष हस्तक्षेप रहनेछ, मन्त्रालय र प्राधिकरणका अधिकारीको कुनै अधिकार रहने छैन’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने ।
ती अधिकारीका अनुसार यसअघि विकास समिति बनाएर आयोजना बनाउ“दा समितिले नीतिगत निर्णय गर्ने कार्यमात्र गथ्र्यो । तर, प्रधानमन्त्रीले प्रचलित व्यवस्थाविपरीत दुई ठूला आयोजना निर्माणमा ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई पूर्ण रूपमा विमुख बनाई राजनीतिक रूपमा नियुक्त विकास समितिलाई मात्र सर्वाधिकार दिने प्रस्ताव गरेर स्थापित परम्पराको मात्र उल्लंघन गरेको स्रोतले वतायो ।
कानुन मन्त्रालयले ऊर्जाको विकास समितिको अध्यक्षलाई सर्वाधिकार बनाउने प्रस्तावमा सहमति दिइसकेको छ । कानुनमन्त्री प्रधानमन्त्री स्वयं भएकाले मन्त्रालयले सहमति दिएको ऊर्जाका अधिकारी बताउ“छन् । कानुन मन्त्रालयले अवैतनिक अध्यक्षलाई वैतनिक बनाउन अर्थ मन्त्रालयको सहमति लिन ऊर्जालाई आग्रह गरेको छ । कानुन मन्त्रालयले घुमाउरो भाषामा आर्थिक तथा प्रशासनिक अधिकार अध्यक्षलाई भन्दा कार्यकारी निर्देशकलाई हुनुपर्ने रायसमेत दिएको छ ।







मन्त्रिपरिषद्द्वारा दाहाललाई विशिष्ट श्रेणीमा बढुवा

काठमाडांै, २० पुस– सरकारले वरिष्ठ सहसचिव हरि दाहाललाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सहसचिवमा १५ वर्ष सेवा अवधि पूरा गरेका र ५८ वर्ष उमेर पुगी अवकाश पाउन एक महिना बा“की रहेका दाहाललाई निजामती ऐनअनुसार विशिष्ट श्रेणीमा बढुवा गरेको हो ।
निजामती सेवा ऐनमा सहसचिवमा १५ वर्ष पूरा गरेका र अवकाश पाउन एक महिना बा“की रहेकालाई मन्त्रिपरिषद्ले  विशिष्ट श्रेणीमा बढुवा गर्ने व्यवस्था छ । २०५४ साउन ३० मा सहसचिवमा बढुवा भएका दाहालले ५८ वर्ष उमेर पुगी आगामी माघ २३ मा ५८ वर्ष उमेर पुगी अनिवार्य अवकाश पाउ“दैछन् ।

Tuesday, January 1, 2013

अनियमिततामा संलग्न प्राधिकरणका १० कर्मचारी अतिरिक्त समूहमा

सञ्चालक समितिद्वारा ६० दिनभित्र महसुल नतिर्नेको लाइन काट्न निर्देशन
काठमाडौं, १७ पुस– विद्युत् प्राधिकरणको व्यवस्थापनले विद्युत् चुहावट र महसुल हिनामिनामा संलग्न रहेको आशंकामा आफ्ना १० जना कर्मचारीलाई प्रारम्भिक कारबाहीस्वरूप दायित्वविमुख गरी अतिरिक्त समूहमा राखेको छ ।
प्राधिकरण सञ्चालक समितिको निर्देशनमा व्यवस्थापनले महसुल संकलनमा ढिलाइ, ग्राहकको मिटर चेकिङमा लापर्बाही गरेको र महसुल उठ्तीको रेकर्डलाई तलमाथि गरी प्राधिकरणलाई घाटा पु¥याएको पाइएकाले ती कर्मचारीलाई अतिरिक्त समूहमा तानिएको जानकारी प्राधिकरणका एक अधिकारीले सदस्यले दिए ।
अतिरिक्त समूहमा तानिएका कर्मचारीमा काठमाडौं क्षेत्रीय कार्यालयका प्रमुख जुजुकाजी रञ्जित, भक्तपुर डिभिजन सेन्टरका प्रमुख राजु केसी, लेखा प्रमुख वसन्त ढुंगाना, सहायक इन्जिनियर सूर्यभक्त श्रेष्ठ, सुपरभाइजरद्वय नारायण सापकोटा र धर्मेन्द्र राव तथा महाराजगन्ज वितरण केन्द्रका प्रमुख तारानाथ शर्मा, लेखा प्रमुख नारायण शर्मा, इन्जिनियर नन्दकिशोर मण्डल छन् ।
गत साता प्राधिकरण सञ्चालक समितिका अध्यक्ष लीलामणि पौडेलले व्यवस्थापनलाई समिति गठन गरी विद्युत् चुहावट र महसुल हिनामिनामा संलग्न कर्मचारीहरूमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका थिए ।
प्राधिकरणको प्रशासन विभागका नायव महाप्रबन्धक बद्रीनाथ रोक्काले ती कर्मचारीलाई उनीहरूको हालको दायित्वबाट हटाइएको प्राधिकरणको सचिवालयमा ल्याइएको जानकारी दिए । ‘उनीहरूमाथि कारबाही गर्न थप छानबिन गरिनेछ’ उनले भने ।
रोक्काले आरोपित कर्मचारीमध्ये निर्दोष पाइएमा उनीहरूलाई पुरानै दायित्वमा फर्काइने र दोषी पाइएमा कारबाही गरिने जानकारी दिए । प्राधिकरणको व्यवथापनद्वारा गठित समितिले कर्मचारीहरूबाट देशभर यस्ता प्रकृतिका अनियमितता भए÷नभएकोबारेमा व्यापक रूपमा अनुसन्धान गरिरहेको छ ।
प्राधिकरण सञ्चालक समितिको बैठकमा अध्यक्ष पौडेलले व्यवस्थापनलाई महसुल वक्यौता राख्ने जुनसुकै ग्राहकको विद्युत् लाइन काट्न निर्देशन दिएका छन् । पौडेलले महसुल नतिर्ने सरकारी कार्यालय, संस्थान, होटल, उद्योगधन्दा र सर्वसाधारण ग्राहक जोसुकैको लाइन काट्न निर्देशन दिएको जानकारी सञ्चालक समितिका एक सदस्यले दिए । पौडेलले प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गरी बिल दिएको ६० दिनभित्र महसुल नतिर्ने सम्पूर्ण ग्राहकको लाइन काट्न निर्देशन दिएको जानकारी सञ्चालक समितिका एक सदस्यले दिए ।
सञ्चालक समितिले विद्युत्का ठूला ग्राहकहरूले कर्मचारीसितको मिलेमतोमा महसुल हिनामिना गरेको हुन सक्ने आशंकामा छानबिन गर्न निर्देशन दिएको छ । व्यवस्थापनले सञ्चालक समितिको बैठकमा ठूला सय ग्राहकको नाम प्रस्तुत गरेको थिए । ती ग्राहकको विद्युत् उपभोगको दर हेर्दा कतिपयले कर्मचारीसितको मिलेमतोमा व्यापक रूपमा विद्युत् महसुल चुहावट गरेको पाइएकाले सञ्चालक समितिले छानबिन गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री आफैं कुशासनका संवाहक

काठमाडौं, १७ पुस– माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री हुनासाथ मितव्ययिताका नाममा मुलुकभित्रै एसेम्बल्ड गरिएको सस्तो स्वदेशी मुस्ताङ गाडी चढे । प्रधानमन्त्रीले पहिलोपटक सस्तो, त्यो पनि स्वदेशी गाडी चढेको भनेर मुलुकभर प्रशंसा भयो । तर, सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीले चढेको मुस्ताङ म्याक्स गाडीबाटै मुलुकमा कुशासनको सुरुआत गरेको कसैले भेउसम्म पाउन सकेका छैनन् । मुलुकमा १० लाख रुपैया“भन्दा बढी मूल्य पर्ने कुनै पनि सामान खरिद गर्दा टेन्डर आह्वान गरी खुला प्रतिस्पर्धा गर्नुपर्छ । तर, प्रधानमन्त्रीले १२ लाख रुपैया“ पर्ने सामान्य सुविधा भएको मुस्ताङ म्याक्स गाडीमात्र बिना प्रतिस्पर्धा किनेनन् कि विभिन्न सुविधा भएको १८ लाख रुपैया“ अर्को विलाशी मुस्ताङ गाडीसमेत बिनाप्रतिस्पर्धा खरिद गरे । सार्वजनिक खरिद ऐनअनुसार १० लाख रुपैया“भन्दा बढीको सामान खरिद गर्दा खुल्ला प्रतिस्पर्धा गराउनुपर्छ । प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेर पदमा बहाल भएको पहिलो दिनदेखि सुशासनको खिल्ली उडाए, तर सुरुमा सुशासनको खिल्ली उडेको कसैले थाहा पाएन ।
प्रधानमन्त्रीले पदमा बहाल भएको केही दिनपछि नै आफ्नो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गर्ने घोषणा गरेका थिए, तर उनी नेतृत्वको मन्त्रिपरिषदबाट भएका निर्णय र नियुक्ति नियाल्ने हो भने हरेकमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिको खिल्ली उडाइएको छ । भट्टराईको माओवादी पार्टीको केन्द्रीय समिति र संसदीय दल कुनैमा पनि बहुमत थिएन । उनको पार्टीमा पकडका हिसाबले प्रधानमन्त्री हुने कुनै सम्भावना थिएन । भट्टराई छिमेकी मुलुक भारतको आशिर्वाद र मधेसी दलको समर्थनमा मात्र प्रधानमन्त्री भएका हुन् । उनले मितव्ययिताका नाममा सुशासनको कार्ययोजना कार्यान्वयन गरी मन्त्रीसम्मका पदाधिकारीका लागि २५ लाख रुपैया“भन्दा बढीको गाडी खरिद गर्न नपाइने नीति अख्तियार गरेका छन् । २५ लाख रुपैया“सम्ममा भारतमा निर्मित गाडीमात्र खरिद गर्न सकिन्छ, अरू मुलुकमा निर्मित गाडी २५ लाख रुपैया“भन्दा बढी पर्ने भएकाले खरिद गर्न सकिन्न । भट्टराईले आफू जुन मुलुकको आशिर्वादमा प्रधानमन्त्री बनेका हुन्, त्यसको गुन तिर्न उनले प्रधानमन्त्री हुनासाथ भारतको मात्र गाडी किन्ने व्यवस्था गरेका हुन् । आमजनतालाई मितव्ययिताकाको गुलियो नारा दिएर भट्टराईले घुमाउरो भाषामा  भारतलाई ठूलो गुन लगाएका छन् ।
भट्टराई प्रधानमन्त्री भएपछि मन्त्रालयका सचिवहरूको सरुवा र पदस्थापनाको फेहरिस्त हेर्ने हो भने पनि उनको पालामा मुलुकमा सुशासन होइन कुशासनको अभ्यास भइरहेको अनुभूति गर्न सकिन्छ । ऊर्जा र जलस्रोत क्षेत्रमा दख्खल राख्ने सचिव शीतलबाबु रेग्मीलाई सुरुमा स्थानीय विकास र हाल राष्ट्रपति कार्यालयमा लगेर थन्क्याइएको छ । कर्मचारीका भरमा चलाइएका स्थानीय निकायहरूमा चरम भ्रष्टाचार भइरहेको दिनहु“ समाचार आइरहेका छन् । जिल्ला विकास अधिकारी र नगरपालिकाका कार्यकारी अधिकृतमा भ्रष्टाचारलाई बढावा दिने खालका कर्मचारीलाई सरुवा गर्न नमानेकामा सचिव रेग्मीलाई दण्डस्वरूप राष्ट्रपति कार्यालयमा लगेर थन्क्याइएको हो । स्थानीय निकायमा हुने भ्रष्टाचारलाई केही हदसम्म नियन्त्रण गर्न खोजेकै कारण रेग्मी कोपभाजना परेका हुन् । जबकि रेग्मी प्रधानमन्त्री भट्टराईकै गृह जिल्ला गोरखाबासी सचिव हुन् ।
मुलुकले चरम लोडसेडिङको समस्या भोगिरहेका बेला ऊर्जास“ग कुनै साइनो नभएका र सम्बन्धित क्षेत्रको कुनै अनुभव नभएका हरिराम कोइरालालाई ऊर्जा मन्त्रालयको सचिव बनाइएको छ । यसबाटै प्रष्ट हुन्छ प्रधानमन्त्री मुलुकमा ऊर्जा संकट समाधान गर्न होइन ऊर्जा मन्त्रालयमार्फत् आफ्नो निहित स्वार्थ पूरा गर्न चाहन्छन् । त्यसको ज्वलन्त उदाहरण माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजना बनेको छ । ६० मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सुरु भएको दुई वर्ष पुगिसकेको छ । प्रधानमन्त्री भट्टराईकै दबाबमा वर्षायाममा मात्र ३० मेगावाट क्षमता बढ्ने गरी उक्त आयोजनाको विकास गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पु¥याइएको छ । मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला चिनिया“ ठेकेदार कम्पनी गेजुवाको मागबमोजिम उक्त आयोजनाको क्षमता बढाउन दिने हो भने उक्त आयोजनाको निर्माण कार्य दुई वर्ष ढिलो हुनेमात्र होइन लागतसमेत चार अर्ब रुपैया“ बढ्नेछ । निर्माणाधीन सबै आयोजना सम्पन्न भइसक्ता सन् २०१७ मा मुलुकमा वर्षायाममा बढी विद्युत् उत्पादन भई बिजुली खेर जाने प्रक्षेपण विद्युत् प्राधिकरणको छ । माथिल्लो त्रिशुली ३ एको क्षमता बढाउन दिने हो भने त्यसबाट वर्षायाममा मात्र थपिने ३० मेगावाट बिजुली पूरै खेर जानेछ । आयोजना दुई वर्ष ढिलो सम्पन्न गरेर र चार अर्ब रुपैया“ खर्च गरेर खेर जाने बिजुली उत्पादन गर्न प्रधानमन्त्री किन लागिरहेका छन्, यसबाट उनको नियत के रहेछ प्रस्ट हुन्छ ।
विद्युत् प्राधिकरणका दुइटा प्राविधिक समितिले उक्त आयोजनाको क्षमता विस्तार गर्नु प्राविधिक र आर्थिक दुवै हिसाबले अनुपयुक्त हुने प्रतिवेदन दिएका छन् । त्यसलाई बेवास्ता गरी प्रधानमन्त्रीले नै ऊर्जा मन्त्रालयका सहसचिव मोतीबहादुर कु“वरको संयोकत्वमा गठित कार्यदललाई दबाब दिई उक्त आयोजनाको क्षमता विस्तार उपयुक्त हुने सिफारिस गर्न लगाएका हुन् । ऊर्जामन्त्रीको हैसियतले प्रधानमन्त्री आफैंले उक्त आयोजनाको क्षमता विस्तार गर्न ठेकेदारलाई अनुमति दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेका छन् । माथिल्लो त्रिशुली ३ ए आयोजना इपीसी कन्ट्राक्टमा बनिरहेको आयोजना हो । इपीसी कन्ट्राक्टमा क्षमता या लागत बढाउने गरी भेरिएसन गर्नु कानुनविपरीत हुन्छ । तर, प्रधानमन्त्री स्वयं कानुनविपरीत उक्त आयोजनाको क्षमता विस्तार गर्न लाग्नुले त्यसमा उनको आर्थिक लोभ रहेको प्रस्ट हुन्छ । चिनिया“ ठेकेदार कम्पनी गेजुवाले उक्त आयोजनाको वर्षायाममा ३० मेगावाट बढ्ने गरी आयोजना निर्माण गर्न ४३ मिलियन अमेरिकी डलर (करिब चार अर्ब रुपैया“) लागत बढाउनुपर्ने प्रस्ताव गरेको छ । विद्युत् प्राधिकरणका अधिकारीहरूले उक्त आयोजनाको क्षमता विस्तार गर्न २ अर्ब लाग्ने र बा“की २ अर्ब भ्रष्टाचार हुने बताउ“छन्, यसबाटै क्षमता विस्तारमा प्रधानमन्त्रीको भित्री नियत प्रस्ट हुन्छ ।
मन्त्रिपरिषद्बाट दुई महिनाअघि भएको अर्थमन्त्रालयका सचिव कृष्णहरि बा“स्कोटालगायतका अधिकारीहरूको सरुवासमेत कुशासनको अर्को ज्वलन्त उदाहरण हो । भट्टराई सरकारले आन्तरिक उडानका लागि चीनमा निर्मित ४ जहाज खरिद गर्ने र दुई जहाज अनुदानमा लिने निर्णय गरेको छ । मुलुकमा विद्यमान कानुनअनुसार कुनै पनि सामान खुल्ला प्रतिस्पर्धाबिना खरिद गर्न पाइ“दैन । चिनिया“ जहाज किन्न जसरी खरिद प्रक्रिया अघि बढाइएको छ, त्यो सोझै कानुनविपरीत छ । अर्को कुरा चिनिया“ जहाज अरू मुलुकमा निर्मित विमानको तुलनामा व्यावसायिक उडानका लागि विश्वासिला मानिंदैनन् । तत्कालीन अर्थसचिव बा“स्कोटाले चिनिया“ जहाज खरिद गर्न तथा सर्वोच्च अदालतको आदेश उल्लंघन हुने गरी अयोग्य लडाकुलाई २÷२ लाख रुपैया“का दरले रकम बा“ड्न सहमति नदिएको आक्रोशमा प्रधानमन्त्रीले उनीलगायतका अर्थका अधिकारीहरूको सरुवा गरिदिएका हुन् । बा“स्कोटापछि अर्थसचिव भएका शान्तराज सुवेदीले चिनिया“ जहाज खरिद गर्न र अयोग्य लडाकुलाई २÷२ लाख रुपैया“ बा“ड्न सहमति दिएका छन् । मुलुकमा अर्थसचिव सरुवा भएको उदाहरण पाइ“दैन । कि त तत्कालीन अर्थसचिवद्वय देवेन्द्रराज पाण्डे र रामेश्वर खनालले तत्कालीन सरकारको आदेश नमान्दा राजिनामा दिए कि त अर्थसचिवहरू पूरै अवधि टिकेका छन् । बा“स्कोटामात्र अर्थमन्त्रालयबाट सरुवा हुने, तर राजिनामा नदिने एक्ला सचिव भएका छन् ।
भट्टराई नेतृत्वको सरकारबाट भएका नियुक्तिका निर्णय आफैंमा सुशासनका खिलाफमा छन् । दूर सञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झाको नियुक्ति प्रकरण विवादास्पद नियुक्तिको एउटा नमुना उदाहरण हो । दूर सञ्चार प्राधिकरण ऐनमा प्राधिकरणको अध्यक्षमा नियुक्तिका लागि दूर सञ्चार क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव प्राप्त र सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त हुनुपर्ने अनिवार्य व्यवस्था छ, तर सरकारले दूर सञ्चार क्षेत्रमा कुनै अनुभव नभएको र योग्यतासमेत नपुगेका झालाई प्राधिकरणको अध्यक्ष नियुक्ति गरेर कानुनको ठाडो उल्लंघन गरेको छ । मुख्यसचिव लीलामणि पौडेलले कानुनविपरीत हुने भन्दै झालाई नियुक्ति गर्न नहुने अडान लिएका थिए । तर, पौडेलको अडानको बेवास्ता गर्दै प्रधानमन्त्रीले मधेसी मोर्चाका सूचनामन्त्री राजकिशोर यादवलाई खुसी पार्न झालाई नियुक्ति गराइछाडे । सर्वोच्च अदालतले सोमबार झाको नियुक्ति कानुनविपरीत भएकाले उनको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
एक महिनाअघि प्रधानमन्त्रीले भ्रष्टाचार निवारण दिवसका दिन शिक्षा, ऊर्जा, स्वास्थ्य, वैदेशिक रोजगार, भूमिसुधार र विकासे कार्यालयमा सबभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले जुन जुन क्षेत्रमा सबभन्दा बढी भ्रष्टाचार भएको बताएका छन्, ती क्षेत्र हेर्ने मन्त्रालयमध्ये धेरैजसो उनी आफैंले सम्हालेका छन्, बा“की मन्त्रालय उनकै पार्टीका सहयोगीले चलाएका छन् । प्रधानमन्त्रीले बढी भ्रष्टाचार हुने भनेका विकासे मन्त्रालयमध्ये ऊर्जा, सहरी विकास र कृषि मन्त्रालय उनी आफैंले सम्हालेका छन् । स्थानीय विकास, भूमिसुधार, शिक्षा र श्रम मन्त्रालयमा उनकै पार्टीका मन्त्री छन् । उनले बढी भ्रष्टाचार हुने भनेका भौतिक योजना र स्वास्थ्यमन्त्रालयमा मात्र मधेसी मन्त्री छन् ।
उनी या माओवादी पार्टीका नेता मन्त्री भएका मन्त्रालयमा कसरी बढी भ्रष्टाचार भइरहेका छन् भन्ने हेर्न दुइटा निर्णय हेरे पुग्छ । प्रधानमन्त्रीले सम्हालेको सहरी विकास मन्त्रालयमातहतको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को नियुक्ति कुशासनको सबभन्दा ज्वलन्त उदाहरण हो । केयूकेएलको अध्यक्षमा नांगो नाच नाचेर प्रधानमन्त्रीकी जेठी सासु तिमिला यमीलाई नियुक्ति गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर नगर तथा सहरी विकास मन्त्रालयका प्रतिनिधि जबर्जस्ती फेर्न लगाएर बहुमत पु¥याई चार वर्षका लागि अध्यक्ष निर्वाचित केयूकेएलका अध्यक्ष प्रयागराज जोशीलाई हटाएर तिमिलालाई नियुक्ति गरिएको हो । प्रधानमन्त्री र स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले पदको चरम दुरुपयोग गरेर विभिन्न नगरपालिका र सहरी विकास मन्त्रालयबाट विधिवत छानिएका प्रतिनिधिहरूलाई जबर्जस्ती फेरी नया“ प्रतिनिधि पठाएर तिमिलाको पक्षमा बहुमत पु¥याएका हुन् ।
भूमिसुधार मन्त्रालयमा प्रधानमन्त्री निकटस्थ नेता टोपबहादुर रायमाझी मन्त्री छन् । भूमिसुधार प्रधानमन्त्रीले बढी भ्रष्टाचार हुने भनेको मन्त्रालय हो । भूमिसुधारमा बढी भ्रष्टाचार हुनुमा मन्त्री जति बढी कारक छन्, त्योभन्दा बढी प्रधानमन्त्री जिम्मेवार छन् । भूमिसुधारमा नागेन्द्र झा आर्थिक विवादमा कहलिएका सहसचिव हुन् । उनले २५ महिनाअघि आफ्ना तालुकवाला तत्कालीन भूमिसुधारमन्त्री प्रभु साहलाई विश्व हिन्दू युवा संघ पर्साका अध्यक्ष काशी तिवारीको हत्याको अभियोगबाट बचाउन ८ लाख रुपैया“ पीडितलाई घूस दिएका थिए । पक्राउ परेका अभियुक्तहरूले तिवारी हत्याको मुख्य योजनाकार साह भएको साविती बयान दिएपछि झाले तिवारीकी पत्नी बबितादेवीलाई राजधानीमा बोलाएर साहलाई नपोल्न ८ लाख रुपैया“ घूस दिएका हुन् । बबितादेवीले साहलाई हत्यामा संलग्न रहेको भनी नपोल्न झाले आफूलाई घूस दिएको नोटको बिटासहित सार्वजनिक गरेकी थिइन् । घूस दिएकामा सरकार या अख्तियारबाट कारबाहीको भागिदार हुनुपर्ने झालाई प्रधानमन्त्री स्वयंले नापीजस्तो संवेदनशील र महत्वपूर्ण विभागको महानिर्देशक बनाएर पुरस्कृत गरेका । जति गैरकानुनी कार्य गर्दै आए पनि पुरस्कृत हु“दै आएका झाले किर्तेमा समेत कीर्तिमान कायम गरेका छन् । उनले आफ्नो जागिर अवधि बढाउन झूटो विवरण दिई किर्ते गरेर उमेर दुई वर्ष घटाएर दोस्रो नागरिकता लिएका छन् । पछिल्लो नागरिकता प्रमाणपत्रमा उनले आफ्नो उमेर ठ्याक्कै दुई वर्ष घटाएर जन्ममिति २०१७ साल पुस २६ (सन् १९६१ जनवरी १०) कायम गराएका छन् । जबकि उनको पहिलो नागरिकताअनुसारको जन्ममिति २०१५ साल पुस २६ हो ।
नागरिता  ऐनअनुसार कुनै पनि व्यक्तिले झूटो विवरण दिई दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएमा किर्ते गरेको अभियोगमा एकदेखि पा“च वर्षसम्म कैद र एक लाख रुपैया“सम्म जरिवाना हुने र नागरिकता स्वतः रद्द हुने व्यवस्था छ । निजामती कर्मचारीले किर्ते गरी नागरिकता लिएको प्रमाणित भएमा सेवाबाटै अवकास पाउने जानकारी सरकारी अधिकारीले दिए । किर्ते गरी नागरिकता प्रमाणपत्र लिएको अभियोगमा सरकारले झालाई निलम्बन गरी छानबिन गर्नुपर्नेमा उल्टै महानिर्देशकमा हालीमुहाली गर्न दिइरहेको छ । सरकार आफैंले गैरकानुनी र भ्रष्टाचारजन्य कार्य गर्ने र विवादास्पद व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिने प्रवृत्तिका कारण भट्टराईको कार्यकालमा मुलुकमा कुशासन बढ्दै गइरहेको छ । कुशासनमा डुबेको भट्टराई मन्त्रिपरिषदले कुनै पनि मन्त्री या विवादास्पद व्यक्ति कारबाहीमा नपरुन् भनेर माओवादीको आशिर्वादमा विशिष्ट श्रेणीमा बढुवा भएका र निर्णय क्षमतासमेत नभएका कमजोर सचिव गणेशराज जोशीलाई अख्तियारको सचिव बनाएका छन् ।