Friday, March 8, 2013

करोडौं मूल्यको सरकारी जग्गा व्यक्तिलाई दिने प्रस्ताव मन्त्रिपरिषदमा

टीसीएनको जग्गा बिनाप्रतिस्पर्धा १० वर्षअघिको मूल्यमा बेच्ने तयारी
काठमाडौं, २५ फागुन– बहिगर्मनका क्रममा रहेको प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले काठमाडौं, भक्तपुरसहित विभिन्न जिल्ला सदरमुकामका करौडौं रुपैया“ पर्ने वन क्षेत्र र पर्ति (सरकारी) जग्गा धमाधम व्यक्तिका नाममा दर्ता गर्ने तयारी गरेको छ ।
भूमिसुधारमन्त्री टोपबहादुर रायमाझी, वनमन्त्री यदुवंश झासहित सत्तारूढ एमाओवादीका नेताले करोडौंको रुपैया“को लेनदेनमा मह“गो मूल्य पर्ने विभिन्न ठाउ“का पर्ति जग्गा एकपछि अर्को गरी व्यक्तिका नाममा दर्ता गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन् । कुनै पर्ति जग्गा मोटो रकम लिएर र कुनै पर्ति जग्गा सत्तारूढ माओवादीका कार्यकर्ताको नाममा दर्ता गर्न लागिएको जानकारी एक सरकारी अधिकारीले दिए ।
ती अधिकारीका अनुसार भट्टराई सरकार बहिर्गमन अगावै मन्त्रिपरिषद्बाट निर्णय गराएर करोडौं रुपैया“ मूल्य पर्ने ती वन क्षेत्र र पर्ति जग्गा व्यक्तिका नाममा दर्ता गरिदिने अन्तिम गृहकार्य भइरहेको छ । रायमाझीले कतिपय जग्गाका हकमा आफ्नै मन्त्रालयका सचिव र सहसचिवको जायज र कानुनी रायलाई समेत बेवास्ता गरी पर्ति जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मन्त्रीस्तरीय निर्णय गरी मन्त्रिपरिषदमा एकपछि अर्को प्रस्ताव लगिरहेका छन् ।
रायमाझीले राजधानीको रामकोट गाविसको डा“डापौवामा जग्गा प्लटिङ गरिरहेको बुटवलका तारा ढकालसहित तीन जनाको समूहलाई करिब नौ रोपनी पर्ति जग्गा दिन मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन् । यसमा मोटो रकमको खेल रहेकोसमेत स्रोतले उल्लेख गरेको छ । रायमाझीले उक्त समूहलाई प्लटिङ भइरहेको जग्गासित जोडिएको डा“डापौवामा रहेको कित्ता नं. १२७ को ३० रोपनी पर्ति जग्गामध्येबाट नौ रोपनी दिन मन्त्रिपरिषदमा प्रस्ताव लगेका हुन् ।
उक्त समूहको लालपुर्जामा १९ रोपनी जग्गा भए पनि फिल्डमा आधामात्र छ । उक्त समूहले फिल्डमा आफ्नो जग्गा अपुग रहेको उल्लेख गर्दै पुनः नक्सांकन गरी १९ रोपनी नै जग्गा उपलब्ध गराउन भूमिसुधार मन्त्रालयमा निवेदन दिएको थियो । त्यही निवेदनका आधारमा रायमाझीले मन्त्रीस्तरीय निर्णय गरी पुनः नक्सांकन गरी उक्त समूहलाई पर्ति जग्गा दिई १९ रोपनी जग्गा पु¥याइदिन मन्त्रिपरिषदमा प्रस्ताव लगेका हुन् । लालपुर्जामा भए पनि फिल्डमा अपुग जग्गा सरकारले पर्ति जग्गाबाट दिन कानुनतः मिल्दैन ।
सरकारले आफ्नो पक्षमा निर्णय गरिदिने विश्वासमा उक्त समूहले आफ्नो जग्गास“गै रहेको पर्ति जग्गासमेत आफ्नो हो भन्दै सम्याएर कम्पाउन्डवाल लगाइरहेको छ । रामकोट गाविसको सर्वदलीय बैठकको निर्णयसहित गाविस सचिव बालकृष्ण आचार्यले उक्त पर्ति जग्गा व्यक्तिका नाममा नगर्न माग गर्दै भूमिसुधार मन्त्रालयलाई लिखित आग्रह गरेका छन् । तर, गाविसको आग्रहलाई बेवास्ता गरी सरकारले पुनः नक्सांकनका नाममा पर्ति जग्गा समूहका नाममा दर्ता गरिदिने अन्तिम तयारी गरिरहेको छ ।
रायमाझीले धादिङ जिल्लाको सदरमुकाम धादिङबेंसी बजारस“गै रहेको ८ रोपनी वन क्षेत्रमा पर्ने जग्गासमेत मन्त्रीस्तरीय निर्णय गरी व्यक्तिका नाममा गरिदिने अर्को प्रस्तावसमेत मन्त्रिपरिषदमा लगिसकेका छन् । उनले भूमिसुधार सचिव ज्ञानदर्शन उदासको रायलाई बेवास्ता गरी उक्त वन क्षेत्रको जग्गा स्थानीयबासी गंगामाया रिजालको नाममा गरिदिने प्रस्ताव मन्त्रिपरिषदमा लगेका हुन् ।
रिजालले माओवादीका स्थानीय नेतामार्फत् मन्त्री रायमाझीलाई मिलाएर उक्त वन क्षेत्र आफ्नो छुट जग्गा भएको दाबी गर्दै आफ्नो नाममा गरिदिन प्रक्रिया अघि बढाएपछि स्थानीयबासीले त्यसलाई रोक्न भूमिसुधार मन्त्रालयमा उजुरी दिएका छन् । मन्त्रालयले उक्त जग्गाको स्थलगत अध्ययनसमेत गरेको थियो । स्थलगत अध्ययनमा गएको मन्त्रालयको टोलीले उक्त जग्गा नापीको फिल्डबुकमा बुट्यान (वन क्षेत्र) भन्ने उल्लेख भएको र रिजालले त्यो आफ्नो दर्ता गर्न छुट जग्गा हो भन्ने दाबी गरेको प्रतिवेदन दिएको छ । धादिङबेंसीमा जग्गा नापी भएको ४७ वर्षपछि आएर रिजालले उक्त जग्गा आफ्नो छुट दर्ता भएको भनेर दाबी गर्नु नै शंकास्पद रहेको स्रोतले उल्लेख गरेको छ ।
मन्त्रीले उक्त जग्गा रिजालका नाममा गरिदिन मन्त्रिपरिषदमा प्रस्ताव लान दबाब दिएपछि सचिव उदासले स्थलगत अध्ययन प्रतिवेदन र स्थानीयबासीले वन क्षेत्र व्यक्तिको नाममा नगर्न दिएको उजुरीसमेत राखेर मन्त्रिपरिषदमा प्रस्ताव लानुपर्ने रायसहित फाइल उठाएका थिए । सचिवको रायविपरीत स्थलगत प्रतिवेदन र उजुरीलाई नराखी रायमाझीले रिजालका नाममा दर्ता गरिदिने मन्त्रीस्तरीय निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेको स्रोतले उल्लेख ग¥यो ।
‘सचिव उदाससहितका मन्त्रालयका अधिकारीले स्थानीयबासीको उजुरी र स्थलगत प्रतिवेदनसहित मन्त्रिपरिषदमा प्रस्ताव पठाऔं । मन्त्रिपरिषदले रिजालको दाबी, स्थानीयबासीको उजुरी र स्थलगत प्रतिवेदनको अध्ययन गरेर निर्णय गरोस् भनेर त्यहीअनुसार फाइल उठाएका थिए’ स्रोतले भन्यो– ‘मन्त्री रायमाझीले उजुरी र स्थलगत प्रतिवेदनका कारण मन्त्रिपरिषदले रिजालका नाममा जग्गा दर्ता गरिदिने निर्णय नगर्ला भनेर सचिव उदासको रायविपरीत प्रस्ताव लगेका हुन् ।’
मन्त्री रायमाझीले नवलपरासीको सदरमुकाम र पूर्व–पश्चिम लोकमार्गसित जोडिएको विभिन्न ठाउ“को करोडौं रुपैया“ पर्ने दर्जनौं रोपनी पर्ति जग्गा व्यक्तिका नाममा दर्ता गरिदिने प्रक्रियासमेत अघि बढाएका छन् । नवलपरासीका आफ्नो पार्टीका कार्यकर्ताले पर्ति जग्गा आफ्नो छुट जग्गा हो भन्दै दर्ता गर्न दिएको निवेदनमा मन्त्री रायमाझीले तत्काल फाइल उठाउन मन्त्रालयको जग्गा प्रशासन महाशाखालाई निर्देशन दिएका छन् । उनले तत्काल ती जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने प्रस्ताव मन्त्रिपरिषदमा लग्ने तयारी गरेको जानकारीसमेत स्रोतले दियो ।
यस्तै, वनमन्त्री यदुवंश झाले भक्तपुर नगरस्थित टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको नाममा रहेको करोडौं मूल्य पर्ने ५ रोपनी जग्गा कौडीको भाउमा बेच्ने प्रक्रिया अघि बढाएका छन् । वन मन्त्रालयले ०५८÷५९ मा कर्पोरेसनको भक्तपुरकै ८ रोपनी जग्गा बिना प्रतिस्पर्धा सरकारी मूल्यमा बहादुर ताम्राकारलाई बेचेको थियो । मन्त्री झाले ताम्राकारलाई दिएकै पुरानो मूल्यमा बा“की ५ रोपनी जग्गासमेत बेच्न लागेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ सालमै बिनाप्रतिस्पर्धा ताम्राकारलाई वन मन्त्रालयले जग्गा बेच्नु गैरकानुनी भएको उल्लेख गर्दै बा“की जग्गा नबेच्न निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि रोकिएको उक्त जग्गा पुनः राजधानीको नया“ बानेश्वरका तारा सापकोटालाई बेच्न मन्त्री झाले प्रक्रिया अघि बढाएका हुन् । सापकोटा अधिकांश समय मन्त्री झास“गै हुन्छन् र स“गै गाडीमा समेत घुमफिर गर्छन् । कर्पोरेसनको जग्गा बिक्री गर्न लागेकोबारमो मन्त्री झास“ग बुझ्न खोज्दा उनले कान्तिपुरसित भने ‘सापकोटालाई छ महिनादेखि चिन्छु, उनी राम्रा मान्छे हुन् ।’ जग्गा बिक्रीबारे उनले बोल्न चाहेनन् । झाले उक्त जग्गा मिलाइदिन्छु भनेर सापकोटासित मोटो रकम असुलिसकेको उनकै पार्टी माले समाजवादीका एक नेताले बताए ।
वन सचिव कृष्णचन्द्र पौडेलले पुरानै मूल्यमा उक्त जग्गा बिना प्रतिस्पर्धा बेच्न नहुने भन्दै फाइल रोकेका छन् । मन्त्री झाले पौडेललाई उक्त फाइल अघि बढाउन दबाब दिने गरेको जानकारीसमेत स्रोतले दिए ।
मन्त्री झाले कोसीको बाढीपीडितका लागि जग्गा किनबेच गर्न पाइने र त्यसबाट दुवैलाई आर्थिक लाभ हुने आश्वासन दिएर गत असोजमा कोसीटप्पु वन्यजन्तु आरक्षको बाढीपीडित व्यवस्थापन समितिमा अध्यक्ष टेकबहादुर याङ्देललाई नियुक्त गरेका थिए । याङ्देल मन्त्रीलाई दस लाख रुपैया“ दिएर अध्यक्ष नियुक्त भएको उनकै पार्टीका एक नेताको भनाइ छ । जग्गा बिक्री गर्न नपाएपछि याङ्देल आफूले बुझाएको रकम फिर्ता गर्न माग गर्दै मन्त्री भेट्न मन्त्रालय धाइरहेका छन् ।
 

क्लबद्वारा वन विभागको जग्गा कर्मचारी युनियनलाई दिएकामा विरोध

काठमाडौं, २५ माघ– राजधानीको थापाथली कुरियागाउ“स्थित कुमारी क्लब र मन्दिर संरक्षण समितिले बासिन्दाले लिच्छविकालमा पोखरी र कुमारी मन्दिर रहेको बबरमहलस्थित वन विभागपछाडिको जमिन कर्मचारी संगठनहरूलाई कार्यालय भवन बनाउन भोगाधिकार दिएकामा बिहीबार विरोध जनाएका छन् ।
कुमारी मन्दिर संरक्षण समिति र कुमारी क्लबका पदाधिकारीले डोजर लगेर बिहीबार पोखरी र मन्दिरको जीर्णोद्धारका लागि कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन दिइएको जग्गा सम्याउने कार्य सुरु गरेर विरोध जनाएका हुन् ।
सरकारले सरकारी जग्गामा जबर्जस्ती डोजर ल्याएर सम्याउने कार्य गरिरहेका व्यक्तिहरूलाई प्रहरी पठाएर क्लब र समितिका पदाधिकारीलाई प्रहरी पठाएर पक्राउ गरेको छ । प्रहरी परिचालनपछि सम्याउने कार्य रोकिएको छ ।
समिति र क्लबका पदाधिकारीले मन्दिर र पोखरीको जीर्णोद्धार गर्न तथा त्यहा“ ऐतिहासिक स्थल मासेर कर्मचारी युनियनलाई भवन बनाउन नदिन माग गर्दै सरकारलाई ज्ञापनपत्र दिने भएका छन् । उनीहरूले त्यहा“ कर्मचारी युनियनहरूलाई दिइएको जग्गाको भोगाधिकार फिर्ता गरी ऐतिहासिक पोखरी र मन्दिरलाई जीर्णोद्धार गर्न माग गरेका छन् ।
समिति र क्लबका पदाधिकारीले उक्त ठाउ“मा लिच्छविकालीन पोखरी, कुमारी मन्दिर र सिमसार रहेको दाबीसमेत गरेका छन् । ती ऐतिहासिक सम्पदालाई जीर्णोद्धार गरी स्थानीयबासीलाई कुमारी मन्दिरमा निर्वाध पूजाआजा गर्न पाउने व्यवस्था गर्नसमेत माग गरेका छन् ।
उक्त ठाउ“मा सरकारले कांग्रेस सम्बद्ध निजामती कर्मचारी युनियन र सत्तारूढ मधेसी मोर्चा निकट मधेसी कर्मचारी मञ्चलाई कार्यालय भवन बनाउन वन विभागको नाममा रहेको एक÷एक रोपनी जग्गाको भोगाधिकार दिएको छ । मञ्चले भवन निर्माण कार्य सुरु गरिसकेको छ भने युनियनले पार्टी सभापति सुशील कोइरालालाई लगेर कार्यालय भवन शिलान्याश गरी कम्पाउन्डवाल र गेट निर्माण गरिरहेको छ ।
युनियनका अध्यक्ष सुवोध देवकोटाले स्थानीयबासीले नभई कुरियागाउ“का केही व्यक्तिले क्लब बनाएर सरकारी जग्गा अतिक्रमण गर्न डोजर ल्याएर सम्याएको र रातारात कुमारी मन्दिर निर्माण गरेको दाबी गरेका छन् । उनले क्लबका नाममा जग्गा अतिक्रमण गर्ने चलखेल रोक्न आफूहरूले पहल जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई आग्रह गर्ने जानकारी दिए ।






Tuesday, March 5, 2013

महानिर्देशक झालाई किर्ते नागरिकतामा कारबाही गर्न अख्तियारलाई पत्राचार

प्रधानमन्त्रीको संरक्षणमा झाको पुरानो नागरिकताको कपी सबै निकायबाट गायब
काठमाडौं, २२ फागुन– गृह मन्त्रालयले नापी विभागका विवादास्पद महानिर्देशक नागेन्द्र झाले किर्ते गरी दुई वर्ष उमेर घटाएर दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएको पाइएको उल्लेख गर्दै उनी आवश्यक अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित आग्रह गरेको छ ।
गृहले मन्त्रालयस्तरीय निर्णय गरी झाले निजामती किताबखानामा सेवा प्रवेश गर्दा भरेको सिटरोल र पछि बुझाएको नागरिकता प्रमाणपत्रमा किर्ते गरी उमेर दुई वर्षको फरक पारेको देखिएको उल्लेख गर्दै उनीमाथि किर्ते गरी नागरिकता लिएकोसम्बन्धमा छानबिन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाई आग्रह गरेको जानकारी स्रोतले दिए ।
सत्तारूढ माओवादीका नेता एवं पूर्वभूमिसुधारमन्त्री प्रभु साहमार्फत् प्रधानमन्त्री बाबुराम भट्टराईको संरक्षणमा रहेको झाले लोकसेवा आयोग, नापी विभाग, भूमिसुधार मन्त्रालय, सञ्चय कोष, नागरिक लगानी कोष, निजामती किताबखानालगायतमा पेस गरेको पुरानो नागरिकता प्रमाणपत्रको छायाकपी तिनै निकायका कर्मचारीलाई प्रभाव र प्रलोभनमा पारी गायब पार्न सफल भइसकेको जानकारी गृह मन्त्रालय स्रोतले दिएका छन् । झाले प्रधानमन्त्री भट्टराई र नेता साहको प्रभाव देखाएर ती सबै निकायबाट आफ्नो पुरानो नागरिकताको छायाकपी सबै ठाउ“बाट गायब बनाएकोसमेत स्रोतले उल्लेख गरेको छ ।
विश्व हिन्दू युवा संघ पर्साका काशी तिवारीको हत्याको अभियोग लागेका आफ्ना तत्कालीन तालुकवाला भूमिसुधारमन्त्री साहलाई बचाउनका लागि झाले पीडित बबितादेवीलाई ८ लाख रुपैया“ घूस दिएका थिए । झाले तिवारीकी पत्नी बबितादेवीलाई प्रलोभन दिई हत्यामा साहलाई नपोल्न घूस दिएका हुन् । घूस दिएकामा कारबाहीमा पर्नुपर्ने विवादास्पद झालाई प्रधानमन्त्रीकै दबाबमा नापीजस्तो महत्वपूर्ण र संवेदनशील विभागको महानिर्देशक बनाइएको हो ।  पर्सामा प्रजिअसमेत हु“दा झाले विवादास्पद कार्य गरेका थिए । प्रजिअ हु“दा झालाई वीरगन्जमा भन्सार छलीको गाडीसहित स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।
आफ्नो पक्षका नेता साहलाई बचाउन सहयोग गरेको गुन तिर्न प्रधानमन्त्रीले झालाई संरक्षण दिएकाले नै झाले विभिन्न निकायमा रहेको आफ्नो नागरिकताको कपी गायब पार्न र त्यसको सट्टा २ वर्ष उमेर घटाएको पछिल्लो नागरिकताको कपी पेस गर्नेलगायतका हरकत गर्न सफल भएको सरकारी अधिकारी बताउ“छन् ।
‘हामीले झाको गृह जिल्ला सर्लाहीको जिल्ला प्रशासन कार्यालयमा बुझ्दा आगलागीबाट सम्पूर्ण अभिलेख जलेकाले पहिला उनले लिएको पहिलो नागरिकताको रेकर्ड भेटिएन । सेवा प्रवेश गर्दा जुन जुन निकायमा उनले नागरिकताको छायाकपी बुझाएका थिए, सबै ठाउ“बाट कपी गायब पारिएको छ । निजामती किताबखानाको सिटरोलमा उमेर दुई वर्ष फरक देखिएकाले उनले दोस्रो नागरिकता झूटो विवरण दिई निकालेको हुनाले हामीले मन्त्रालयस्तरीय निर्णय गरी उनीमाथि अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई लिखित आग्रह गरेका हौं’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने ।
झा किर्ते नागरिकतामा समेत प्रधानमन्त्रीकै प्रभावमा अख्तियारबाट बच्ने सक्ने सम्भावना रहेको सरकारी अधिकारी बताउ“छन् । प्रधानमन्त्री भट्टराई अख्तियारमा आफ्नो पार्टी समर्थक सचिव गणेशराज जोशीलाई लगेर सेटिङ मिलाएका छन् ।
झाले उमेर सच्याउन निजामती किताबखानामा आफूले २०६३ सालमा किर्ते गरी दुई वर्ष उमेर घटाई सर्लाहीबाट लिएको दोस्रो नागरिकता प्रमाणपत्रको छायाकपी बुझाइसकेका छन् । मधेस आन्दोलनपछि झाले आङ्खनो पुरानो नागरिकता छ“दाछ“दै उमेर सच्याई सर्लाहीबाट दोस्रोपटक नागरिकताको प्रमाण्ँपत्र लिएका छन् । पछिल्लो नागरिकता प्रमाण्ँपत्रमा उनले आङ्खनो उमेर ठ्याक्कै दुई वर्È घटाएर जन्ममिति २०१७ साल पुस २६ (सन् १९६१ जनवरी १०) कायम गराएका छन् । मधेस आन्दोलनका क्रममा सर्लाहीमा नागरिकताका सबै लगत जलेका थिए, सोही मौकाको फाइदा उठाई झाले आफू पर्साको प्रमुख जिल्ला अधिकारी हु“दा झूटो विवरण्ँ भरी सर्लाहीबाट नागरिकता लिएका हुन् ।
राजपत्र अनंकित प्रथम श्रेण्ँीको सर्वेÔक पदमा २०४४ सालमा स्थायी नियुक्तिपछि झा आफैंले हस्ताÔर गरी निजामती किताबखानामा बुझाएको सिटरोल र नागरिकता प्रमाण्ँपत्रको प्रतिलिपिमा जन्ममिति २०१५ साल पुस २६ (सन् १९५९ जनवरी १०) उल्लेख छ । उनको कर्मचारी संकेत नं. ११२२६९ र नागरिकता नं. ०६३६००६८, जिल्ला सर्लाही हो । तर, ०४४ सालमा किताबखानामा बुझाएको नागरिकताको कपी अहिले झाले गायब पार्न लगाइसकेका छन् ।







Sunday, March 3, 2013

पुरानो प्रक्रियाका नाममा बढी मूल्यमा दुई जहाज किन्ने तयारी

कानुनविपरीत बिनाप्रतिस्पर्धा खरिद प्रक्रिया अघि बढाइने
काठमाडौं, २० फागुन– सरकारले अन्तर्राष्ट्रिय उडानका लागि पुरानो टेन्डर प्रक्रियामा तय गरिएकोभन्दा बढी मूल्यमा एयरबस कम्पनीसित सार्वजनिक खरिद ऐनविपरीत बिनाप्रतिस्पर्धा न्यारो बडीका दुइटा जहाज खरिद गर्ने निर्णय गरेको छ ।
सरकारले एअरबससित बिनाप्रतिस्पर्धा सोझे पुरानो टेन्डर प्रक्रियामा तय भएभन्दा बढी अर्थात् चार वर्षपछिको निर्माण लागतका आधारमा दुइटा न्यारो बडी जहाज खरिद गर्ने निर्णय गरेको जानकारी सरकारी अधिकारीले दिए ।
तर, नागरिक तथा उड्डयन मन्त्रालय र निगमका अधिकारीले भने एअरबसले पुरानै टेन्डर प्रक्रियाअनुसार पुरानै मूल्यमा खरिद गर्ने भनेर ढा“ट्दै आएका थिए । केही समयअघि आएका एअरबसका अधिकारीले भने निगमका अधिकारीसितको वार्ताका क्रममा उत्पादन मूल्य बढिसकेकाले चार वर्षपछिको निर्माण लागतका आधारमा दिन सक्ने प्रस्ताव गरेका थिए ।
मन्त्रिपरिषदको तीन साताअघिको बैठकले वायु सेवा निगमलाई उसको सञ्चालक समितिको विवादापद निर्णयलाई स्वीकृत गरी एयर बस कम्पनीसित वार्ताका आधारमा सोझै दुइटा जहाज खरिद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । सरकारले निगमका लागि जहाज खरिद गर्न विभिन्न बैंकसित ऋण लिन जमानी बसिदिने निर्णयसमेत गरेको छ ।
मन्त्रिपरिषदले ‘नेपाल वायु सेवा ऐन २०१९ को दफा ७ बमोजिम खरिद प्रक्रिया अघि बढाउन निगमलाई निर्देशन दिने’ निर्णयमा उल्लेख गरेको छ । निगमले चार वर्षअघि टेन्डर प्रक्रियामा तय भएकोभन्दा बढी ‘म्यानुफ्याक्चरिङ प्राइस इस्कालेसन’ (चार वर्षपछिको बढेको उत्पादन मूल्य) मा बिक्री गर्न सक्ने एयरबस कम्पनीस“ग भएको वार्तासमेतका आधारमा विगतमा सुरु गरिएको प्रक्रियालाई निरन्तरता दिई दुइटा न्यारो बडीका ए ३२०–२०० जहाज वायु सेवा ऐनको दफा ७ बमोजिम खरिद गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषदले निगमको यही विवादास्पद निर्णयलाई अनुमोदन गरी जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
बिनाप्रतिस्पर्धा सोझै वार्ताबाट खरिद गर्दा मोटो रकम कमिसन आउने भएकाले सरकारका उच्च राजनीतिक तथा प्रशासनिक पदाधिकारी र निगमका उच्च पदस्थ अधिकारीको मिलेमतोबाट खुला प्रतिस्पर्धा नगराई सोझै जहाज खरिद गर्ने निर्णय मन्त्रिपरिषदले गरेको जानकारी स्रोतले दिए ।
स्रोतका अनुसार कानुनसम्मत ढंगले खुला प्रतिस्पर्धा गराई खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिनुपर्ने प्रधानमन्त्री बाबुराम भट्टराईले सार्वजनिक रूपमा पटकपटक सोझै छिटो जहाज किन्न निगमलाई दबाब दिनुले नै यसमा ठूलो चलखेल रहेको पुष्टि हुने सरकारी अधिकारी बताउ“छन् ।
एउटा कम्पनीसित मात्र वार्ता गरी खरिद प्रक्रिया अघि बढाउनुको सट्टा टेन्डर आह्वान गर्ने हो विश्वव्यापी हवाई उड्डयन बजारमा चर्को प्रतिस्पर्धा गरिरहेका एअरबस र बोइङको प्रतिस्पर्धाले जहाज धेरै सस्तो पर्ने जानकारी दिंदै निगमका एक अधिकारीले यसरी खरिद गर्दा खासै कमिसन नआउने भएकाले यसतर्फ कसैले चासो नदिएको बताउ“छन् ।
एअरबसले चार वर्षअघिको टेन्डर प्रक्रियाका क्रममा न्यारो बडीको जहाज ४१.२८ मिलियन अमेरिकी डलर (साढे तीन अर्ब रुपैया“) मा दिने प्रस्ताव गरेको थियो । त्यसमा चार वर्षपछिको लागत मूल्य जोड्दा उक्त जहाजका लागि एक अर्बभन्दा थप मूल्य तिनुपर्ने निगमका अधिकारी बताउ“छन् । दुइटा न्यारो बडीका जहाज बिनाप्रतिस्पर्धा खरिद गर्दा चार वर्षपछि उत्पादन लागत मूल्यको नाममा निगमले चर्को मूल्यमा खरिद गर्नुपर्ने र त्यसका नाउ“मा उच्च राजनीतिक तथा प्रशासनिक पदाधिकारी र निगमका उच्च अधिकारीले ठूलो कमिसन पाउने स्रोतले उल्लेख गरेको छ ।
सार्वजनिक खरिद ऐनअनुसार खुल्ला प्रतिस्पर्धाबिना सोझै वार्ताका माध्यमबाट खरिद गर्नु कानुनविपरीत हुन्छ । चार वर्षअघिको त्यो पनि कानुनतः रद्द भइसकेको एउटामात्र जहाज खरिदको टेन्डर प्रक्रिया र थप वार्ताका आधारमा दुइटा जहाज खरिद गर्नु वायु सेवा ऐन २०१९ र सार्वजनिक खरिद ऐनविपरीत हुने सरकारी अधिकरी बताउ“छन् । वायु सेवा ऐन २०१९ को दफा ७ मा समेत निगमले खुला प्रतिस्पर्धाबाट मात्र जहाज खरिद गर्न सक्ने व्यवस्था छ । जुन वर्ष टेन्डर प्रक्रिया सुरु भएको हो, सोही वर्ष खरिद नगरे टेन्डर स्वतः रद्द हुने कानुनी व्यवस्था छ ।
सरकारले एउटामात्र न्यारो बडी जहाजका लागि चार वर्षअघि गरेको टेन्डर प्रक्रिया सार्वजनिक खरिद ऐनअनुसार स्वतः रद्द भइसकेको छ । निगमको एउटा न्यारो बडीको जहाज खरिदको रद्द भइसकेको टेन्डर प्रक्रिया र थप वार्ताका आधारमा दुइटा न्यारो बडी जहाज खरिद गर्न मन्त्रिपरिषदले स्वीकृति दिई खरिद प्रक्रिया अघि बढाउन दिएको निर्देशनबाट सार्वजनिक खरिद ऐन र वायु सेवा ऐनको खरिदसम्बन्धी व्यवस्थाको ठाडो उल्लंघन भएको स्रोतले दिए ।

निगमले २०६६ सालमा खरिदका लागि टेन्डर प्रक्रियाबाट खुला प्रतिस्पर्धा गर्दा बोइङभन्दा एअरबसको १५० सिट क्षमताको एउटा न्यारो बडीको जहाज सस्तो परेकाले छनौटमा परेको थियो, तर २७५ सिट क्षमताको एउडा वाइड बडीको जहाजमा भने प्रतिस्पर्धा नभएकाले ३७ करोड रुपैया“ बढी मूल्य पर्ने प्रतिवेदन निगमले नै नियुक्त गरेको कन्सल्ट्यान सेन्टर फर एसिया प्यासिफिक इन्डिया प्रालि (कापा) ले दिएपछि बोइङसितको खरिद प्रक्रिया विवादमा परेको थियो । विवादका कारण खरिद प्रक्रिया अघि बढ्न नसकी था“ती रहन पुगेको हो ।

कानुनविपरीत चार सहकारीलाई गाडी आयातमा भन्सार छुट

काठमाडौं, २० फागुन– सरकारले कानुनविपरीत नाफामूलक चारवटा कृषि सहकारी संस्थालाई गाडी आयातमा भारी कर छुट दिएको हो । आर्थिक ऐनको गैरनाफामूलक संस्थालाई छुट दिन सक्ने व्यवस्थाको अपव्याखा गर्दै माओवादी नेतृत्वको सरकारले आफ्ना पार्टी कार्यकर्ताको हावी रहेका चार सहकारी संस्थालाई भारतमा निर्मित गाडी आयात गर्दा ५० प्रतिशत भन्सार छुट दिएको छ ।
गैरकानुनी रूपमा दिइएको भन्सार छुटका कारण सरकारले राज्यको ढुकुटीमा आउने ५० लाख रुपैया“भन्दा बढी गुमाएको छ । गाडी खरिदमा ७६ प्रतिशत भन्सार महसुल लाग्छ । गाडी खरिदको खुद मूल्यमा भन्सार महसुल जोडेपछि हुने कुल रकममा मूल्य अभिवृद्धि कर, वातावरण शुल्क, अन्तः शुल्कलगायतका कर तिराउने गर्छ । भन्सार महसुल आधा छुट पाएपछि अरू तीनवटै करसमेत कम पर्ने भएकाले गाडी आयातमा लाग्ने २ सय प्रतिशतको करमा ती चार संस्थाले झन्डै १ सय प्रतिशत छुट पाएका छन् ।
भन्सार छुटको सुविधा पाएकामा प्रधानमन्त्रीको गृह जिल्ला गोरखाको नमुना कृषि उत्पादक सहकारी संस्था छोप्राक, कास्कीको देवीस्थान कृषि सहकारी संस्था लिमिटेड हेम्जा, कास्कीकै टारीभूमि कृषि सहकारी संस्था लिमिटेड घाचोक र स्याङ्जाको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लिमिटेड, अर्जुनचौपारी छन् ।
टारीभूमि सहकारीलाई ४ लाख ७२ हजार मूल्य पर्ने महिन्द्रा बोलेरो क्याम्पर, ग्रामीण स्वावलम्बन सहकारीलाई ४ लाख ६१ हजार रुपैया“ पर्ने महिन्द्रा बोलेरो क्याम्पर, देवीस्थान सहकारीलाई ६ लाख ८० हजार रुपैया“ पर्ने टाटा एसएफसी तथा नमुना कृषि सहकारीलाई ४ लाख ६१ हजार रुपैया“ महिन्द्रा बोलेरो क्यापर गाडी आयात गर्दा भन्सार महसुल ५० प्रतिशत छुट दिइएको हो । यी चारवटै संस्था नाफा कमाउने उद्धेश्यले खोलिएका हुन् ।

आर्थिक  ऐन २०६८ दफा १८ को सरकारले गैरनाफामूलक संस्थालाई प्रचलित कानुनबमोजिम लगाइएका दस्तुर, शुल्क, महसुल र करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल र कर आंशिक वा पूर्णरूपमा छुट दिन सक्ने व्यवस्थाको दुरुपयोग गरी नाफामूलक कृषि सहकारीलाई गाडी आयातमा भन्सार महसुल छुट दिइएको हो । कर छुट दिइएको विवरण अनिवार्य रूपमा संसदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । संसद नभएको मौका पारी माओवादी नेतृत्वको सरकारले आफ्ना कार्यकर्तालाई फाइदा पुग्ने गरी कृषि सहकारीलाई प्रवद्र्धन गर्ने नाउ“मा भन्सार महसुल दिएको हो । ती संस्थालाई दिइएको भन्सार छुटको विवरण राजपत्रमा प्रकाशित गरिएको छ ।

कानुनतः सहकारी ऐन, २०४८ बमोजिम दर्ता भई ग्रामीण क्षेत्रमा सञ्चालित कृषि वा वन
पैदावार, जटिबुटी उत्पादन, प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरापालन, मत्स्यपालन
रबर खेती, कवुलियती वन, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, पशुआहारा, दाना, कीटनाशक औषधि, मल तथा कृषि औजार (यान्त्रिक शक्तिबाट चल्नेबाहेक) को कारोबार गर्ने सहकारी संस्था तथा बचत तथा ऋण सहकारी संस्थाले मात्र आयकरमात्र छुट पाउने व्यवस्था छ । तर, त्यस्ता सहकारीलाइृ गाडी आयातमा भन्सार छुट दिन सकिने कुनै कानुनी व्यवस्था छैन ।
कानुनमा कर तथा भन्सार छुट पाउनेमा नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था, सामाजिक वा खेलकुदसम्बन्धी सुविधा प्रवद्र्धन गर्ने उद्देश्यले सदस्यहरूले लाभ नलिने गरी गठन भएको
अव्यवसायी (एमेच्योर) खेलकुद संस्था, राजनीतिक दल, विदेशी सहयोगमा सञ्चालित आयोजना र सरकारी कार्यालयलाई मात्र गाडीलगायतको सामग्रीको आयातमा भन्सारलगायतका कर छुट दिन सकिने व्यवस्था छ । नाफा नकमाउने उद्देश्यले स्थापना भएको कुनै पनि निकायले कर छुट नपाउने प्रस्ट व्यवस्था छ ।
अर्थमन्त्रालयका राजस्व महाशाखा प्रमुख राजन खनालले भने कृषि सहकारीलाई प्रवद्र्धन गर्न आर्थिक ऐनको दफा १८ को कर छुट दिन सक्ने व्यवस्थाअनुसार ती चार सहकारीलाई गाडी आयातमा भन्सार महसुल ५० प्रतिशत छुट दिइएको दाबी गरे । ‘सरकारको कर छुट दिनेसम्बन्धी नीति छ, त्यसै आधारमा कृषि सहकारी प्रवद्र्धन गर्न गाडी आयात भन्सार महसुल ५० प्रतिशत छुट दिइएको हो’ उनले भने ।



Friday, March 1, 2013

प्रेस काउन्सिलको अध्यक्षमा कार्की

जापानद्वारा माथिल्लो सेतीलाई १४ अर्ब
काठमाडौं, १८ फागुन– सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कार्कीलाई काउन्सिलको सम्मानित पदमा नियुक्त गरेको हो ।
यसअघि अध्यक्ष नियुक्त सर्वोच्चका पूर्वन्यायाधीश अवदेशकुमार यादवको नियुक्ति संविधानविपरीत भएकाले कार्कीलाई नियुक्ति गरिएको जानकारी मन्त्रिपरिषदले स्रोतले दिएको छ ।
जापानले १४० मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत् (तनहु“ हाइड्रो) जलाशययुक्त आयोजनाका लागि जापानी येन १५ अर्ब १३ करोड (करिब १४ अर्ब ७ करोड ७४ लाख रुपैया“) सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ ।
उक्त सहुलियतपूर्ण ऋणको ब्याज ०.१ प्रतिशत छ । मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त सहयोग स्वीकार गर्ने निर्णय गरी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ ।
यस्तै, मन्त्रिपरिषद्ले महालेखा परीक्षकको कार्यालयका कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । बैठकले राष्ट्रिय खेलकुद परिषद्को रिक्त सदस्यमा ऋषिबहादुर बस्नेत र नारायणप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सरकारी कार्यालयमा अब स्वदेशी उत्पादनमात्र !

काठमाडौं, १८ फागुन– सरकारले स्वदेशी उद्योगहरूको प्रवद्र्धन र संरक्षण गर्न सम्पूर्ण सरकारी कार्यालयमा स्वदेशमा उपलब्ध भएसम्म स्वदेशी वस्तु या सेवा अनिवार्य रूपमा उपयोग गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
स्वदेशी उद्योगी तथा व्यवसायीलाई प्रोत्साहन गरी मुलुकमा औद्योगिक विकास गर्न सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०६९’ जारी गरेको छ ।
सरकारले निर्देशिकामा स्वदेशमा उपलब्ध भएसम्म सम्पूर्ण सरकारी कार्यालयमा फर्निचर, साजसज्जाका सामान, स्टेसनरी, सभासम्मेलनमा प्रयोग हुने झोला, ब्याग, ब्याच, औषधि, बिस्कुट, दूध, छपाइसम्बन्धी, सिमेन्ट, छड, इ“ट्टा, बिजुलीका सामग्री, ट्रान्सफर्मर, खाद्य तथा पेय पदार्थ, कृषि उपकरणलगायतका सामान स्वदेशमा उत्पादितमात्र अनिवार्य रूपमा उपयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।
निर्देशिकामा स्वदेशी वस्तुको परिभाषासमेत गरिएको छ । निर्देशिकामा स्वदेशमा उत्पादित वा स्वेदशी या विदेशी कच्चा पदार्थको प्रयोग गरी कम्तीमा ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि भएको स्वदेशमा निर्माण, जडान वा उत्पादन भएको मालसामान वा वस्तुलाई मात्र स्वदेशी वस्तु मानिने उल्लेख छ ।
सरकारले सार्वजनिक निकायलाई विनियोजित बजेटको अधीनमा रही आफूले उपयोग गर्ने मालसामान वा वस्तुमध्ये कम्तीमा ५० प्रतिशत स्वदेशी वस्तु प्रयोग गर्न अनिवार्य गरेको छ ।
पचास प्रतिशतभन्दा बढी स्वदेशी वस्तुको उपयोग गर्ने सार्वजनिक निकायलाई अर्थमन्त्रालयले त्यस्ता निकायको पू“जीगत बजेटमा १० प्रतिशतसम्म थप रकम दिएर प्रोत्साहितसमेत गर्ने भएको छ ।
निर्देशिकामा सेना, प्रहरी, निजामती, शिक्षा सेवा शिक्षक, विकास समिति, स्थानीय निकायमा कार्य गर्ने झन्डै ५ लाख कर्मचारीले पोशाकभत्ताबापतको रकमबाट कार्यालय पोशाकका लागि स्वेदशी वस्तुबाट उत्पादित पोशाक प्रयोग गर्नुपर्ने अनिवार्य गरिएको छ ।
सरकारले सार्वजनिक निकायमा स्वदेशी उत्पादनको उपयोगलाई प्रोत्साहित गर्न स्वदेशी वस्तुको अधिकतम उपयोग गर्ने जिल्लास्तरीय र केन्द्रीय सार्वजनिक निकायमध्ये प्रत्येक वर्ष कम्तीमा पा“चवटा कार्यालयलाई पुरस्कृत गर्ने भएको छ ।

सरकारले सार्वजनिक निकाय र त्यसका कर्मचारीले कार्यालय पोशाकमा स्वेदशी वस्तु उपयोग गरे÷नगरेको सम्बन्धमा स्थानीयस्तरमा प्रमुख जिल्ला अधिकारी र केन्द्रमा सम्बन्धित मन्त्रालयले अनिवार्य रूपमा अनुगमन गरी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
सरकारले सार्वजनिक निकायहरूले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने शर्त राखी टेन्डर आह्वान गरी खरिद गर्नुपर्ने व्यवस्था गरेको छ ।
स्वदेशी वस्तु उपलब्ध गराउन चाहने उत्पादकले सार्वजनिक निकायमा उत्पादनको प्रमाणपत्र, गुणस्तर, मापदण्डसहितको विवरण संलग्न राखी आफ्नो नाम सूचीकृत गराउनुपर्ने व्यवस्थासमेत गरिएको छ ।
स्वदेशी वस्तुको हकमा सूचीकृत उत्पादकहरूबीचमात्र प्रतिस्पर्धा गराई खरिद गर्ने व्यवस्थासमेत निर्देशिकामा गरिएको छ ।
निर्देशिकामा सार्वजनिक निकायले स्वदेशी वस्तु सोझै खरिद गर्दा उत्पादकले पूरा गर्नुपर्ने शर्तसमेत निर्देशिकामा उल्लेख गरिएको छ । उत्पादकले आफ्नो उत्पादनको खुद्रा तथा डिलर बिक्रीको मूल्य राष्ट्रियस्तरको समाचारपत्रमा प्रकाशन गर्नुपर्ने र सार्वजनिक निकायले सोझै खरिद गर्दा उत्पादकले डिलरलाई दिएर सरहको छुट दिनुपर्ने शर्त राखिएको छ ।