कसैलाई बचाउन सक्तिन, मैले गल्ती गरें भने म पनि सजायको भागिदार हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं, १९ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले विश्वविद्यालयजस्ता मर्यादित शैक्षिक तथा प्राज्ञिक संस्थामा भ्रष्टाचार भइरहेको सुन्नुपर्दा आफूलाई पीडाको महसुस भइरहेको उल्लेख गर्दै आर्थिक अनियमिततामा संलग्न कसैलाई पनि आफूले बचाउन नसक्ने बताएका छन् ।
अख्तियारले विश्वविद्यालयका पदाधिकारीहरूलाई भ्रष्टाचारको अभियोगमा एकपछि अर्को कारबाही गर्न थालेपछि त्यसबाट बचाइदिन बुधबार सामूहिक रूपमा आफूसमक्ष हारगुहार गर्न आएका विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र सदस्यसचिवसहित विभिन्न विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानका उपकुलपतिहरूलाई प्रधानमन्त्रीले गल्ती गर्ने कसैलाई पनि आफूले बचाउन नसक्ने जवाफ दिएका हुन् ।
कुलपतिसमेत रहेका कोइरालाले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र सदस्यसचिवसहित विभिन्न विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानका उपकुलपतिहरूलाई विश्वविद्यालयहरूको आर्थिक अनियमितता र भ्रष्टाचारको मामलामा कसैले कसैलाई बचाउन नसक्ने यथार्थबोध गर्न निर्देशन दिए । उनले गल्ती गर्ने जोसुकै व्यक्ति पनि सजायको भागिदार बन्नुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।