Friday, November 25, 2016

भारतीय नागरिकविरुद्ध शुद्धीकरण मुद्दा

काठमाडौं, १० मंसिर– सम्पत्ति शुद्धिकरण विभागले चितवनमा बसेर तस्करी गर्दै आएका भारतीय नागरिक नन्दकुमार पटेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । सुनचा“दीका गरगहना अवैध रूपमा पैठारी (तस्करी) गरी गैरकानुनी रूपमा आर्जित नगद राखेको अभियोगमा राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाको प्रतिवेदनबमोजिम विभागले पटेलमाथि छानबिन गरी सम्पत्ति शुद्धीकरण निवारण ऐनबमोजिम मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

Thursday, November 17, 2016

विद्युत उत्पादन कम्पनी खोल्ने प्रक्रिया सुरु

काठमाडौं, २ मंसिर– ऊर्जा मन्त्रालयले २० अर्ब चुक्ता पू“जी राखी विद्युत उत्पादन कम्पनी खोल्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्रालयले ६१ लाख ६० हजार रुपैया“ रजिस्ट्रेसन शुल्क तिरी कम्पनी खोल्न कम्पनी रजिष्टारको कार्यालयमा निवेदन दिएको छ ।

कम्पनी रजिष्टारको कार्यालयले स्वीकृति दिएपछि कम्पनी खुल्नेछ । कम्पनी खुलेपछि सञ्चालक समिति गठन गर्ने र त्यसले खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट गर्ने जानकारी ऊर्जा मन्त्रालयका सहप्रवक्तो गोकर्ण पन्तले दिए । सीईओ नियुक्त भएपछि कम्पनीले विद्युत आयोजना छनौट गरी अध्ययन र निर्माणको काम अघि बढाउनेछ ।

सचिव बढुवा गर्न चार सहसचिवको नाम सिफारिस

काठमाडौं, २ मंसिर– बढुवा समितिले कृषि मन्त्रालय र क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा रिक्त दुई सचिव पदमा पदोन्नति गर्न चार जना सहसचिवको नाम सिफारिस गरेको छ । लोकसेवाका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा बसेको समितिको बैठकले कृषि तथा वन समूह (प्राविधिक क्लस्टर) मा सबभन्दा वरिष्ठ सहसचिव अन्नपूर्णनन्द दासलाई सचिव बढुवा गर्न सिफारिस गरेको छ ।

निजामती ऐनअनुसार प्राविधिक क्लस्टरमा यसपटक सबभन्दा ज्येष्ठबाट बढुवा हुने २० प्रतिशत सिट (एक पद) का लागि बढुवा हुन लागेको हो । २०६४ असोज ३० मा सहसचिव बढुवा भएका दास वन मन्त्रालयमा कार्यरत छन् ।

ऊर्जा क्षेत्रमा गर्नै पर्ने काम

पछिल्ला वर्षहरूमा मुलुकको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रूपमा बढ्दै गएको छ । अबको आठ महिनामै स्वदेशी निजी क्षेत्रले निर्माण गरिरहेका २४ आयोजनाबाट मुलुकको केन्द्रीय विद्युत प्रणालीमा १ सय ८२ मेगावाट बिजुली थपिंदैछ । त्यसबाहेक पनि स्वदेशी निजी क्षेत्रले थप १ हजार मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका छन् । त्योभन्दा बढी क्षमता बराबरका आयोजनाहरूको अध्ययन कार्य अघि बढाइरहेका छन् । स्वदेशी निजी क्षेत्रको तुलनामा ऊर्जा क्षेत्रमा वैदेशिक निजी क्षेत्र आउन सकिरहेको छैन ।
 विदेशी लगानीमा खिम्ती र भोटेकोसी आयोजना बनेको लामो समयसम्म ऊर्जा क्षेत्रमा विदेशी लगानी आउन सकेको थिएन । माथिल्लो मस्र्याङ्दी एमात्रै विदेशी लगानीमा बनेको पछिल्लो आयोजना हो । ऊर्जा क्षेत्रमा वैदेशिक निजी क्षेत्र किन आइरहेका छैन भन्ने कुराको विश्लेषण गरी सरकारले विदेशी लगानी आकर्षित गर्न तत्काल कदम चाल्नु अपरिहार्य भइसकेको छ । पछिल्लो समय विद्युत प्राधिकरणले निर्माण गरिरहेका विभिन्न आयोजनामध्ये माथिल्लो तामाकोसीबाहेक अरूको प्रगति निराशाजनक छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी र मध्य भोटेकोसीको प्रगति भने सन्तोषजनक छ ।

Tuesday, November 15, 2016

असार मसान्तसम्म २७७ मेगावाट बिजुली थपिने


  • सरकारी आयोजनाबाट ४४ मेगावाट
  • स्वदेशी निजी क्षेत्रका आयोजनाबाट १८३ मेगावाट
  • विदेशी लगानीको आयोजनाबाट ५० मेगावाट

काठमाडौं, ३० कार्तिक– चालू आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्ममा मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा २ सय ७७ मेगावाट बिजुली थपिने भएको छ । स्वदेशी निजी क्षेत्रका २४, विदेशी लगानीको १ र सरकारी दुई आयोजनाबाट त्यति परिमाणमा बिजुली थपिन लागेको हो ।
मुलुकमा हाल कुल विद्युत उत्पादन क्षमता ५३.४ मेगावाट तापीय (थर्मल) सहित ८ सय ३८ मेगावाट छ । ती २७ आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि आगामी असार मसान्तसम्म मुलुकको केन्द्रीय  प्रणालीमा कुल विद्युत उत्पादन क्षमता ११ सय १५ मेगावाट पुग्ने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।

यी आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि मुलुकमा आगामी वर्षायाममा लोडसेडिङ नहुने जानकारी प्राधिकरणका एक अधिकारीले जानकारी दिए । गत वर्षायाममा मुलुकमा लोडसेडिङ थियो । आगामी वर्षायाममा मुलुकमा बिजुलीको माग करिब १५ सय मेगावाटको हाराहारीमा पुग्नेछ । प्राधिकरणले हाल भारतबाट ३ सय ३५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ भने मुलुकको आन्तरिक उत्पादनले आगामी वर्षायाममा बिजुलीको माग करिब(करिब धान्नेछ ।

Monday, November 14, 2016

कोइरालालाई ५० लाख उपचार खर्च

मन्त्रिपरिषदबाट उपचार खर्चसम्बन्धी कार्यविधि र अर्थ समितिको निर्देशन उल्लंघन
काठमाडौं, २९ कात्तिक– सरकारले राजधानीमा करोडौंको महल र विलाशी गाडी भएकी कांग्रेस नेतृ सुजाता कोइरालालाई राज्यको ढुकुटीबाट एकमुष्ठ ५० लाख रुपैया“ उपचार खर्च दिने निर्णय गरेको छ । कोइराला आइतबार नै उपचारका लागि सिंगापुर प्रस्थान गरेकी छन् ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पूर्व तथा वर्तमान पदाधिकारी तथा नागरिकलाई स्वास्थ्य उपचार सहायतासम्बन्धी कार्यविधि र संसदको अर्थ समितिको निर्णयलाई उल्लंघन गर्दै कोइरालालाई विदेशमा गएर उपचार गर्न ५० लाख दिने निर्णय गरेको हो ।

तालुवावाला स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्यमन्त्री गगन थापाले पेस गर्न नमानेपछि गृहमन्त्री बिमलेन्द्र निधिको ठाडो प्रस्तावमा मन्त्रिपरिषदले कोइरालालाई विदेशमा गई स्तन क्यान्सरको उपचार गराउन  दिने निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । 

Tuesday, November 8, 2016

उपत्यकालाई तत्काल लोडसेडिङमुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

सम्भव छैन : ऊर्जा मन्त्रालयका अधिकारी
काठमाडौं, २३ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बिहान बालुवाटार बोलाएर काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउन निर्देशन दिएका छन् । प्राधिकरणले चरम लोडसेडिङ हुने बेलामा मात्र चलाउनुपर्ने कुलेखानी जलाशययुक्त आयोजना दसैंदेखि लगातार चलाएर उपत्यकामा बढी समय बिजुली दिइरहेको छ । प्रधानमन्त्रीले राजधानीमा बढी समय बिजुली बलिरहेको मौका छोपी घिसिङलाई बोलाएर ‘काठमाडौं उपत्यका’ लाई लोडसेडिङमुक्त बनाउन ‘पपुलिस्ट’ निर्देशन दिएको जानकारी स्रोतले दिएको छ ।
स्रोतका अनुसार प्राधिकरणले सकेसम्म वर्षभर सन्तुलित तबरमा विद्युत वितरण गर्नुपर्ने कुरालाई बेवास्ता गरी कुलेखानी पहिलो र दोस्रो जलविद्युत आयोजना दैनिक चलाएर उपत्यकालाई ‘लोडसेडिङमुक्त’ बनाउने प्रयास गरिरहेको छ ।