- चार विकल्प
- १. कान्ति लोकपथ – फराकिलो बन्दै । कात्तिकदेखि विकल्पका रूपमा प्रयोग गर्न सकिने, अर्को असारमा पूर्ण तयार हुने ।
- २. त्रिभुवन लोकपथ – धेरै लामो र फराकिलो बनाउन कठिन ।
- ३. बीपी लोकमार्ग – मोडहरू सानो, ठूला गाडीलाई समस्या ।
- ४. दक्षिणकाली–कुलेखानी–हेटौंडा – सा“घुरो भएकाले ठूला गाडीलाई समस्या । यो सडक चौडा बनाउन सुरुङ नै बनाउनुपर्ने
काठमाडौं, २० असार– राजधानीको ‘लाइफ लाइन’ का रूपमा रहेको नारायणगढ–काठमाडौंं सडकको मुग्लिन–नारायणगढ खण्डमा वर्षायामका बेला छिन–छिनमा पहिरो गएर हरेक दिनजसो हजारौं यात्रुले सास्ती भोग्नुपरिरहेको छ । सातायता मात्रै केहीले ज्यान गुमाएका छन् । सडक चौडा पार्ने क्रममा रहेको उक्त खण्डमा वर्षा नभएका बेला समेत सुक्खा पहिरो जाने गरेकाले यात्रु मात्र हैरान छैनन् कि खाद्यान्नलगायत ओसारपसारमा समेत समस्या भइरहेको छ ।
के मुग्लिन–नारायणगढ सडक खण्डको विकल्प छैन त ? ‘विकल्पमा मुलुकको पूर्वी भागमा जान बीपी लोकमार्ग, त्रिभुवन लोकपथ (बाइरोड) र दक्षिणकाली–कुलेखानी–हेटौंडा गरी तीनवटा सडक छन्,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने, ‘तर, यी तीनवटै सडक सा“घुरा र मोडसमेत नपुग्ने भएकाले ठूला गाडी ओहोरदोहोर गर्न सक्दैनन् ।’ यी सडक मोटरसाइकल, साना यात्रुवाहक गाडी (माइक्रो र जिप) र निजी सवारी साधनका लागि मात्र विकल्प बनिरहेका छन् । ‘ठूला गाडीका लागि तत्काल कुनै विकल्प छैन,’ उनले भने, ‘आपतकालीन अवस्थामा पश्चिमी नेपालका लागि पृथ्वी लोकमार्ग (काठमाडौं–पोखरा) हु“दै सिद्धार्थ लोकमार्ग (पोखरा–बुटवल) उपयुक्त विकल्प हुन सक्छ ।’ तर यो मार्ग मुग्लिन–नारायणगढभन्दा बढी दूरीको छ ।