Monday, March 5, 2018

४.६ रेक्टरको भूकम्प

काठमाडौं, २० फागुन– दोलखालाई केन्द्रविन्दु बनाई शुक्रबार ४.६ रेक्टर स्केलको परकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले यसलाई तीन वर्षअघि गोरखालाई केन्द्रविन्दु बनाई गएको शक्तिशाली भूकम्पकै परकम्प भएको जनाएको छ । केन्द्रका अनुसार जिरी नजिकको स्यामा भन्ने स्थानलाई केन्द्रविन्दु बनाई बिहान १० बजेर ५१ मिनेटमा परकम्प गएको हो । 
उक्त कम्पन राजधानी काठमाडौंसम्मै महसुस गरिएको थियो । गत मंगलबारसमेत सोही क्षेत्रलाई केन्द्रविन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो । गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ९१ वटा परकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

Friday, March 2, 2018

प्रधानमन्त्री कार्यालय अब ‘पावरफुल’

  • राष्ट्रिय अनुसन्धान, सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग अब प्रधानमन्त्री मातहतमा
  • प्रधानमन्त्री कार्यालयले नै एनजीओ÷आईएनजीओको कार्य सञ्चालन मापदण्ड बनाउने र अनुगमन गर्ने
  • प्रधानमन्त्री कार्यालयमा ‘थिंक ट्यांक’ राखिने
  • केन्द्र, मन्त्रालय, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रमा नपर्ने सबै काम हेर्ने अवशिष्ट अधिकार प्रधानमन्त्रीलाई 

काठमाडौं, १८ फागुन– प्रधानमन्त्री केपी ओलीले आफनो कार्यालयलाई सर्वाधिकार सम्पन्न बनाउन गृह, अर्थ र समाज कल्याण मन्त्रालयमातहत रहेका ‘पावरफुल’ निकायलाई आफ्नो मातहतमा ल्याएका छन् । ओलीले मन्त्रिपरिषदको बुधबार बसेको बैठकबाट सरकारको कार्यविभाजन नियमावली संशोधन गरी अर्थमन्त्रालय मातहतका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग तथा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याएका छन् ।
मुलुकको प्रमुख इन्टिलिजेन्स निकाय (राष्ट्रिय अनुसन्धान विभाग) र ‘आकर्षक तथा कमाउ अडडा’ समेत मानिने राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरण विभागका कामकारबाही अब प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा मन्त्रिपरिषद कार्यालयले हेर्ने व्यवस्था मिलाइएको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ । 

Wednesday, February 28, 2018

अब औपचारिक रूपमै १८ मन्त्रालय

गाभिएको एउटै मन्त्रालयमा चार सचिव
काठमाडौं, १७ फागुन– सरकारले कार्यविभाजन नियमावली संशोधन गरी ३१ वटा मन्त्रालयलाई गाभेर १८ वटा कायम गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सबै कार्यालयलाई पत्र पठाई सरकारको संशोधित कार्यविभाजन नियमावलीअनुसार १८ मन्त्रालय कायम भएको जानकारी गराउ“दै त्यसैअनुरूप कामकारबाही अघि बढाउन निर्देश गरेको छ ।
छुट्टाछुट्टै अस्तित्वमा रहेका चार मन्त्रालय कृषि, पशुपक्षी, भूमिसुधार र सहकारी तथा गरिबी निवारणलाई गाभेर ‘कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय’ बनाइएको छ । यो मन्त्रालयमा अर्को व्यवस्था नभएसम्मका लागि चार सचिव रहनेछन् । मन्त्रिपरिषदले गाभिएका मन्त्रालयमा अर्को व्यवस्था नभएसम्मका लागि आ–आफ्नो कार्यभार सम्हाल्नेगरी सबै सचिवलाई यथावत् राखेको जानकारी प्रधानमन्त्री कार्यालयका सचिव प्रेम राईले दिए ।
कम्युनिस्ट गठबन्धन सरकारले चारवटा मन्त्रालय गाभ्दा ‘सहकारी तथा गरिबी निवारण मन्त्रालय’ को गरिबी निवारण हेर्ने संयन्त्रलाई भने खारेज गरेको छ ।

Monday, February 26, 2018

होटल, अस्पताल र उद्योग कारबाहीमा

वातावरणीय कानुन उल्लंघन गरेकामा ५० हजारदेखि १ लाखसम्म जरिवाना
काठमाडौं, १४ फागुन– जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय कानुनको उल्लंघन गरिरहेका ५ तारे होटल द्वारिकाज, अस्पताल र उद्योगसहित ११ व्यापारिक संस्थालाई कारबाही गरेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी संरचना निर्माण गरेका र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) को आवश्यक मापदण्ड पूरा नगरेका कारण ती व्यापारिक संस्थालाई  कारबाही गरिएको जानकारी वातावरण मन्त्रालयकी सहसचिव लक्ष्मी बस्नेतले दिइन् ।
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मन्त्रालयस्तरीय निर्णय गराई वातावरणीय कानुनको पालना गराउन ईआईए र आईई नगरी निर्माण गरी सेवा सुरु गरेका चार होटल, चार अस्पतालसहितलाई जरिवानासहितको कारबाही गरेका हुन् ।

Sunday, February 25, 2018

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं, १३ फागुन–  ‘सोलिडयारिटी फर गोविन्द केसी एलाइन्स’ ले शनिबार राजधानीको माइतीघरमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै प्रदर्शन गरेको छ । प्रदर्शनकारीले दिउ“सो एक घण्टा धर्ना दिई पराजुलीविरुद्ध नाराबाजी लगाएका थिए । 
प्रदर्शनकारीले ‘माफियालाई कर छुट, गोपाल श्रीमानको ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ, न्याय भयो चिटिङ’ जस्ता नारा अंकित प्ले कार्डसमेत बोकेका थिए । प्रदर्शनको अन्त्यमा डा. गोविन्द केसीले प्रदर्शनकारीलाई सम्बोधन गर्दै जनताको आस्थाको केन्द्र अदालत नै भ्रष्टाचारको चंगुलमा परेकाले प्रधानन्यायाधीश पराजुलीविरुद्ध आन्दोलनमा उत्रनुपरेको बताए । उनले पराजुलीलाई समय सीमाभन्दा पहिले नै पद छाड्न बाध्य पार्नुपर्ने बताए ।

Saturday, February 24, 2018

अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौं, १३ फागुन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एमाले अध्यक्ष केपी ओलीलाई नेपालको प्रधानमन्त्री भएकामा हार्दिक बधाई दिएका छन् । ट्रम्पले शुक्रबार ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा सराहना व्यक्त गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासन पद्धतिप्रतिको निष्ठा मुखरित भएको उल्लेख गरेका छन् । 
अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीस“ग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासको लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको उल्लेख गरेका छन् ।

राष्ट्रियसभामा मनोनयनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १३ फागुन– राष्ट्रियसभा सदस्यका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट सिफारिसमा परेका, तर मनोनयनमा नपरेका तीन जनाले राष्ट्रपति विद्या भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालत गुहारेका छन् । तत्कालीन देउवा सरकारले राष्ट्रियसभा सदस्यका लागि चा“दनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेललाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले उनीहरूको सिफारिस प्रधानमन्त्रीमा केपी ओली नियुक्त नभएसम्मका लागि थन्क्याएर राखेकी थिइन् ।
ओलीले प्रधानमन्त्री हुनासाथ उनीहरू तीनै जनाको नाम फिर्ता लिई नया“ नाम सिफारिस गरेका थिए । ओली सरकारको सिफारिसमा राष्ट्रपतिले युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई राष्ट्रयसभा सदस्य मनोनयन गरेकी छन् ।