- प्रधानन्यायाधीशमा अस्वीकृत जोशीद्वारा मिश्रलाई माला लगाई सर्वोच्चमा स्वास्गत
- न्यायालयमा भ्रष्टाचार नियन्त्रण मेरो पहिलो काम : मिश्र
- वरिष्ठतम न्यायाधीश जोशीले आजदेखि कामकाज थाल्ने
काठमाडौं, २५ भदौ– राष्ट्रपति विद्या भण्डारीले कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सोमबार सा“झ प्रधानन्यायाधीश नियुक्त गरेकी छन् । संघीय संसदको सुनुवाइ समितिले सोमबार प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिले सा“झमा उनलाई नियुक्त गरी पद तथा गोपनीयताको सपथग्रहण गराएकी हुन् । मिश्रले सोमबार सा“झ नै सर्वोच्चमा पुगेर पदबहाली गरे ।
मिश्र सर्वोच्चको २८ औं प्रधानन्यायाधीश भएका छन् । न्यायालयले ६ महिनापछि नेतृत्व पाएको हो । जन्ममिति विवादमा परेका तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गत चैत १ मा ६५ वर्ष पूरा भई अनिवार्य अवकास पाएपछि सर्वाेच्च कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको थियो । संवैधानिक परिषदले भदौ ७ मा मिश्रलाई प्रधानन्याधीशमा सिफारिस गरेको थियो । मिश्र सर्वोच्चको वरिष्ठतम न्यायाधीश नभए पनि प्रधानन्यायाधीश हुन पाउने पहिलो भाग्यमानी व्यक्ति हुन् ।