Sunday, November 4, 2018

वातावरण पत्रकार समूहको अध्यक्षमा विश्वकर्मा

काठमाडौं, १७ कात्तिक– नेपाल वातावरण पत्रकार समूह (नेफेज) को अध्यक्षमा कसमस विश्वकर्मा निर्वाचित भएका छन् । ललितपुरमा शुक्रबार राति सम्पन्न नेफेजको ३३औं वार्षिक साधारणसभाले विश्वकर्माको नेतृत्वमा नया“ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा चन्द्रशेखर कार्की, महासचिवमा निमेष रेग्मी, सचिवमा अम्बिका राजथला, कोषाध्यक्षमा सविन शर्मा, सदस्यमा रविन सायमी र छेटु शेर्पा, महिला सदस्यमा सुजाता कार्की र प्रगति ढकाल, विज्ञ सदस्यमा ज्योति बानिया“, लेखा समिति संयोजकमा गोपाल तिवारी, सदस्यमा रञ्जना पौडेल र सोमनाथ लामिछाने निर्वाचित भएका छन् ।

Friday, November 2, 2018

गैर आवासीय नेपालीलाई पैतृक सम्पत्तिमा हक

अरू सम्पत्तिमा के हुन्छ ?
काठमाडौं, १६ कात्ति– नेपाली नागरिकता त्यागी विदेशी मुलुकको नागरिकता लिइसकेका गैर आवासीय नेपालीको समेत नेपालमा आफ्नो पैतृक सम्पत्तिमाथिको हक लाग्ने व्यवस्था मुलुकी देवानी संहिता २०७४ ले गरेको छ ।
संहिताको दफा ४३३ मा गैर आवासी नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालमा अंश या अपुताली दुवै पाउने व्यवस्था गरिएको छ । गैर आवासी नेपालीले नेपालमा अचल सम्पत्ति खरिद गर्न र बन्धकीमा लिनसमेत पाउने कानुनी व्यवस्था संहिताले गरेको छ ।
‘नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिइसकेको गैर आवासीय नेपालीले समेत नेपालमा रहेको आफ्नो पैतृक सम्पत्तिको अंशियार हुने कानुनी व्यवस्था छ । नेपाली नागरिकता त्याग्दैमा कोही पनि पैतृक सम्पत्ति वा अंशबाट विमुख हु“दैन । पैतृक सम्पत्ति या अंशमाथि वंशको हक लाग्छ’ कानुन मन्त्रालयका एक अधिकारीले कान्तिपुरसित भने ।
संविधानसभाबाट जारी नया“ संविधानले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको ‘गैर आवासीय नागरिकता’ दिने व्यवस्था गरेको छ । सरकारले नागरिकता ऐन संशोधन गर्न संसदमा पेस गरेको विधेयकमा समेत त्यस्ता व्यक्तिलाई ‘गैर आवासीय नेपाली नागरिकता’ दिने र तिनले नेपालमा आफ्नो नाममा लगानी गर्न या सम्पत्ति खरिदबिक्री गर्न पाउने व्यवस्था गरेको छ । विधेयकमा गैरआवासीय नेपालीले राजनीतिक अधिकार भने नपाउने व्यवस्था गरिएको छ ।

दुई चिकित्सकविरुद्ध मुद्दा

काठमाडौं, १६ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइतविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिंह र गोइतले चरम लापरवाही गरी अनुसन्धान कार्यलाई प्रभावित गर्ने किसिमले बलात्कारको शिकार भएकी बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको तथ्य पीडितको सिराहा जिल्ला अस्पतालमा पुनः गरिएको स्वास्थ्य परिक्षण प्रतिवेदनबाट प्रमाणित भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐनको दफा १९ को उपदफा २ बमोजिमको कसुर भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । चिकित्सकद्वय सिंह र गोइतले गत असोज ९ मा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी गलत प्रतिवेदन दिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको चियापानमा एक लाखलाई निम्ता

काठमाडौं, १५ कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेसले दसैं, तिहार, नेपाल संवत, छठलगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाखलाई निम्ता दिइएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले शुक्रबार उपत्यकामा ललितपुर सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्ला सदरमुकाममा अपराह्न १ देखि सा“झ ५ बजेसम्म चियापान कार्यक्रम राखेको छ ।
वि.सं २०३३ सालमा कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि कांग्रेस हरेक वर्ष शुभकामना आदानप्रदान गर्न चियापान आयोजना गर्दै आएको छ ।
चियापन कार्यक्रममा सहभागी हुने कांग्रेसले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उपप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकारी, सुरक्षा निकायका कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मीलगायतलाई आमन्त्रण गरेको छ ।

१६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १५ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रायसहितले परिषदबाट रंगभूमि मैदान, गंगासागर र तिरहुतिया गाछी संरक्षणलगायतका आठवटा ठेक्कामा सवा ७६ लाख रुपैया“ भ्रष्टाचार गरेको जिकिर गर्दै अख्तियारले बिहीबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा रायका अतिरिक्त तत्कालीन कार्यकारी निर्देशकहरू सूर्यदेव साह, राजेशकुमार साह, गोपाल झा, नायव सुब्बा उषा मिश्र, लेखापाल उत्तमराज ढकाल, तत्कालीन सब–इन्जिनियर परशुराम साह, तत्कालीन प्रोजेक्ट इन्जिनियर उपेन्द्र झा, ठेकेदारद्वय विष्णुबहादुर राउत र प्रदीपनारायण साह छन् ।
उनीहरूले मिलेमतो गरी पा“चवटा ठेक्काको मूल्यांकन गर्दा लागत अनुमानभन्दा ३० प्रतिशत बढी बढेको कारण देखाई ७६ लाख २८ हजार ५ सय २ रुपैया“ भ्रष्टाचार गरेको उल्लेख गर्दै अख्तियारले अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐनबमोजिम सबैलाई एक वर्ष जेल सजाय र बिगो बराबरको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।

Thursday, November 1, 2018

‘सम्बन्ध सुधार्न राष्ट्रपतिको कतार भ्रमण’

काठमाडौं, १४ कात्तिक– राष्ट्रपति विद्या भण्डारी खाडी मुलुक कतारसित द्विपक्षीय सम्बन्ध सुमधुर बनाउन औपचारिक भ्रमण गएको दाबी परराष्ट्र मन्त्रालयका अधिकारीले गरेका छन् । ती अधिकारीले सरकारले दोस्रो बढी नेपाली कामदार रहेको कतारसितको सम्बन्धमा न्यानोपन ल्याउनका लागि राष्ट्राध्यक्षस्तरमै भ्रमण गराएको उल्लेख गरेका छन् ।
आफ्नो छुट्टै स्वतन्त्र विदेश नीति अख्तियार गरेकामा साउदी अरब र यूएईलगायत ६ मुलुकले ५ जुन २०१७ देखि छिमेकी कतारसित कूटनीतिक सम्बन्ध अन्त्य गरी नाकाबन्दी लगाएका छन् । राष्ट्रपति भण्डारीले एक वर्षअगाडि यूएईको औपचारिक भ्रमण गरेपछि कतार चिढिएको अधिकारीहरू बताउ“छन् ।
‘राष्ट्रपतिले अघिल्लो वर्ष यूएईको भ्रमण गरेपछि कतारसितको सम्बन्धमा नकारात्मक असर परेको थियो । खाडी राष्ट्रमध्ये साउदी अरबपछि दोस्रो बढी नेपाली कामदार रहेको मुलुकसित सम्बन्ध सुधार गर्न र कूटनीतिक सन्तुलनका लागि सरकारले यसपटक राष्ट्राध्यक्षलाई कतार भ्रमणमा पठाएको हो,’ परराष्ट्रका अधिकारीले भने, ‘यो भ्रमणले नेपाल कतार र बा“की खाडी मुलुकस“ग सन्तुलित सम्बन्ध राख्न चाहन्छ भन्ने सन्देश दिएको छ ।’

उपाध्यायलाई नहटाउन आदेश

काठमाडौं, १४ कात्तिक– सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बुधबार उपाध्यायलाई पदबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको हो ।
मन्त्रिपरिषद्ले आइतबार उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको थियो । सरकारले यसअघि पनि उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको थियो तर सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उपाध्याय जिम्मेवारीमा फर्केका थिए । उपाध्याय तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा २०७४ मंसिर २५ मा चार वर्षका लागि नियुक्त भएका थिए ।