Sunday, December 2, 2018

कांग्रेस संघीयताविरोधी अभियानमा : दाहाल

काठमाडौं, १५ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाएका छन् ।
वामपन्थी नेता वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति ः सम्भावना र चुनौती’ पुस्तकको शनिबार राजधानीमा विमोचना गर्दै उनले कांग्रेस ऐतिहासिक परिर्वतनलाई भत्काउन लागिपरेको दाबी गरे ।
उनले राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्यारा आउनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसैलाई बहाना बनाएर कांग्रेस संघीयता विरोधी बाटोमा हिडेको दाबी गरे । कांग्रेसले संघीयताको विरोधमा के गरिरहेको छ भन्ने चाहि“ उनले उल्लेख गरेनन् ।
राजसंस्था फर्काउन लागेकाहरूको दुस्साहस आफूहरूका लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले त्यसतर्फ पनि सजग हुनुपर्ने बताए । उनले अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाइनमा काम भइरहेको दाबीसमेत गरे ।

कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं, १५ मंसिर– एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन शनिबार स्वदेश फर्केका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले हुने सेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका थिए ।
सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन बिहीबार काठमाडौं आएका थिए । बिहीबारदेखि सुरु भएको सम्मेलन सोमबारसम्म चल्नेछ ।

पुनलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं, १५ मंसिर– राष्ट्रपति विद्या भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई शनिबार कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिएकी छन् ।्
पोल्यान्डमा हुने जलवायु सम्बन्धी सम्मेलन (कोप २४) मा सहभागी हुन प्रस्थान गर्नुअघि भण्डारीले आफ्नो अनुपस्थितिमा पुनलाई संविधानबमोजिम राष्ट्राध्यक्षको कार्य सम्हाल्ने जिम्मेवारी दिएकी हुन् ।
राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा २ बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गर्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ ।

Saturday, December 1, 2018

क्यानडा पठाइदिन्छु भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

काठमाडौं, १४ मंसिर– क्यानडा पठाइदिने प्रलोभनमा पारी ६ जना युवाबाट एक करोड ३७ लाख रुपैयाँ ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ की संगिता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङस“ग २९ लाख र धिरेन्द्रकुमार पुलामीस“ग २२ लाख, दोलखाका सुदीन खडकास“ग २७ लाख २० हजार तथा भक्तपुरका रामकृष्ण सुवालस“ग १९ लाख ९० हजार र डेकराज कार्कीस“ग रु १९ लाख तथा जयराम सुकुभुटुसँग २० लाख रुपैया“ उठाएकी थिइन् । अधिकारीलाई वैदेशिक रोजगार कसुर मुद्दामा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

गम्भीर घाइते दुवैको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं, १४ मंसिर– न्युरोड गेट नजिक अनियन्त्रित कारको ठक्करबाट बिहीबार गम्भीर घाइते भएका एक विदेशीसहित दुई जनाको स्वाथ्य अवस्था खतरामुक्त रहेको छ ।
बा १८ च ४८७३ नं को कारका चालक भेषबहादुर पौडेलले बिहीबार नेपाल वायुसेवा निगम भवनको पार्किङबाट बाहिर निकाल्ने क्रममा गाडी अनियन्त्रित भई ठक्कर दिंदा सडक पेटीमा बस कुरिरहेका १३ सार्वसाधारण घाइते भएका थिए । घाइतेमध्ये ११ जना सामान्य उपचारपछि घर फर्केका थिए, दुई जना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएकी फिलिपिन्सकी नागरिक कोसिआको थापाथलीस्थित नर्भिक अस्पताल र गंगामाया राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

म्यान्मारसित व्यापार र लगानीसम्बन्धी सम्झौता

काठमाडौं, १४ असार– नेपाल र म्यान्मारबीच शुक्रबार व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओली र नेपाल भ्रमणमा रहेकी म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सु कीबीचको भेटवार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मारका तर्फबाट अन्तर्राष्ट्रय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका छन् ।
सम्झौताले दुई देशबीच खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि बाटो खोलेको छ ।  दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको जानकारी प्रधानमन्त्री निकट स्रोतले दिएको छ ।

सैनिक भर्नामा अनियमितता, ३ अधिकृतसहित ११ बर्खास्त

नयाँ भर्ना भएका १ सय १ जनाको पनि जागिर गयो
काठमाडौं, १३ मंसिर– नेपाली सेनाको भर्ना प्रक्रियामा अनियमितता गर्ने ३ अधिकृतसहित ११ जना बर्खास्त भएका छन् । अन्य १६ अधिकृतसहित १६२ जना पनि दोषी ठहर भएका छन् । २०७३ देखि ०७५ सम्म विभिन्न पदमा भर्नाका क्रममा अनियमितता गरेको भन्दै २३ अधिकृतसहित १ सय ८७ जनाविरुद्ध कोर्ट मार्सल सुरु गरेकामा सैनिक अदालतले उनीहरूलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठरिहने गरी कारबाही गरेको हो । ४ अधिकृतसहित १४ जनाले भने सफाइ पाएका छन् ।
मापदण्डविपरीत भर्ना गरिएका १ सय १ जनासमेत बर्खास्तमा परेका छन् । अदालतले उनीहरू भविष्यमा सरकारी सेवामा अयोग्य नहुने जनाएको छ । घूस लेनदेन गरी शारीरिक तथा अन्य मापदण्ड नपुगेका उनीहरूलाई सेनाका विभिन्न पदमा भर्ना गरिएको आदालतको ठहर छ । भर्नाका क्रममा ३ करोड २२ लाख ७५  हजार रुपैया“ घूस लेनदेन भएको ठहर गरी १ सय ७३ जनाबाट उक्त रकम असुलउपर गरी राजस्व दाखिला गराउन अदालतको आदेश छ ।