Friday, December 7, 2018

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २० मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएको अभियोगमा डोटीको अरुणोदय निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज जोशीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जोशीले भारतीय नक्कली प्रमाणपत्र पेस गरी बढुवा भएर सरकारी तलबभत्ता लिई भ्रष्टाचार गरेको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । नक्कली प्रमाणपत्रका आधारमा बढुवा भएपछि लिएको तलबभत्ता जोशीबाट भराउन र त्यत्ति नै रकम जरिवाना गर्नसमेत अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।

सचिव उपाध्यायद्वारा राजिनामा

काठमाडौं, २० मंसिर– उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राजिनामा दिएका छन् । सचिवको पा“चवर्षे पदावधि सकिनु तीन महिना ११ दिन अगाडि उनले पदबाट राजिनामा दिएका छन् । उनी २०७० चैत २ मा सचिवमा बढुवा भएका थिए ।
मन्त्रिपरिषदले बिहीबारदेखि लागू हुने गरी उपाध्यायको राजिनामा स्वीकृत गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
सिंचाइ सचिव सञ्जय शर्माले अब उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पूरैको जिम्मेवारी सम्हाल्ने छन् । स्रोतका अनुसार उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष नियुक्त राजिनामा दिएका हुन् । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उपाध्यायलाई अध्यक्ष नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी गरेको जानकारीसमेत स्रोतले दिएको छ ।

कांग्रेसद्वारा राजदूत शेर्पामाथि छानबिनको माग

काठमाडौं, १९ मंसिर– प्रमुख प्रतिपक्षी कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न माग गरेको छ । कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी शेर्पामाथि ’मानव तस्करीमा संलग्न’ भनी लागेको आरोपलाई गम्भीर रूपमा लिई छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसले छानबिनका क्रममा मानव तस्करीमा दोषी भेटिए शेर्पालाई बर्खास्त गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
 ‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी भएकाले राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्यतथ्य निरुपण गर्ने कर्तव्य सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं’ प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा भनेका छन् ।
केही दिनअघि एक टेलिभिजन कार्यक्रममा राजदूत शर्पाका पूर्व चालक ओङछु शेर्पाले राजदूत शेर्पा मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । अष्ट्रेलियास्थित दूतावासले ओङछुको आरोप गलत रहेको जनाएको छ ।

चार राजदूतको सुनुवाइ मंसिर २३ मा

काठमाडौं, १९ मंसिर– संघीय संसदको संसदीय सुनुवाइ समितिले भारतसहित चार देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ मंसिर २३ मा (आइतबार) गर्ने भएको छ । समितिको बुधबार बसेको बैठकले चार प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीको अध्ययन गरी सुनुवाइको मिति तय गरेको हो ।
सरकारले निलाम्बर आचार्य (भारत), उदयराज पाण्डे (मलेसिया), कृष्णप्रसाद ढकाल (यूएई) र अञ्जान शाक्य (इजरायल) का लागि राजदूत सिफारिस गरेको छ । समितिले सुनुवाइअगाडि शुक्रबार उजुरीकर्तास“ग छलफल गर्नेछ । एक जना उजुरीकर्ताले ७६ देखि ३६ वर्षका व्यक्तिलाई राजदूत सिफारिस गर्नुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने उल्लेख गरेका छन् । उनले उजुरीमा राजदूत सिफारिस गर्दा समावेशितालाई किन ख्याल नगरिएको भन्ने प्रश्नसमेत गरेको जानकारी संसद सचिवालय स्रोतले दिए ।

Wednesday, December 5, 2018

प्रधानमन्त्रीको पुरस्कारबाट कोष खडा गर्ने निर्णय

काठमाडौं, १८ मंसिर– सरकारले प्रधानमन्त्री केपी ओलीको एक लाख अमेरिकी डलर पुरस्कारमा त्यत्ति नै रकम थप गरी कोष खडा गर्ने भएको छ।मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको ओलीको प्रस्तावमा युवा तथा बालबालिकाको हितका लागि काम गर्ने कोष खडा गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिए।
‘कोषमा प्रधानमन्त्रीले पाएको एक लाख डलर पुरस्कार रकम राखिनेछ । सरकारले एक लाख डलर बराबर रकम थप गर्नेछ, कोषको सञ्चालन सरकारले नै गर्नेछ’ निर्णयबारे जानकारी दिंदै स्रोतले भने।
इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा एसिया प्यासिफिक समिटको समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ दिएको थियो । कार्यक्रममै प्रधानमन्त्री ओलीले पुरस्कार रकम युवा तथा बालबालिकाका लागि काम गर्ने कोष खडा गरी जम्मा गर्ने बताएका थिए।

प्रधानन्यायाधीशको नाम सिफारिस भएन, भदौ २२ मा निर्णय हुने

काठमाडौं, १७ मंसिर– भावी प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सोमबार बसेको संवैधानिक परिषदको बैठक एजेन्डामा प्रवेश गरे पनि निर्णय नगरी स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण परिषद बैठक कुनै निर्णय गरी स्थगन भएको जानकारी स्रोतले दिए ।
देउवा आफ्नो पार्टीको केन्द्रीय समिति बैठक रहेको भन्दै परिषदबाट बाहिरिएका थिए । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न मंसिर २२ मा अर्को बैठक बोलाएको जानकारी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले दिएका छन् ।
ओलीले परिषद बैठकमा न्याय परिषदबाट प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वाेच्च अदालतका दुई वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रसमसेर राणाको नाम आएको जानकारी गराएका थिए । सर्वोच्चमा तीन वर्ष काम गरेको न्यायाधीशमात्र प्रधानन्यायाधीशका लागि योग्य संवैधानिक व्यवस्था छ ।

अवार्डबाट प्रधानमन्त्री पदकै मर्यादाको उपहास : प्रशासनविद

काठमाडौं, १७ मंसिर– प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडरेसनको अवार्ड लिंदा संवैधानिक तथा कानुनी व्यवस्थाको मात्र नभई सरकार प्रमुखको मर्यादाको समेत उपाहास भएको टिप्पणी प्रशासनविदहरूले गरेका छन् ।
संविधान, सुशासन ऐन तथा नियमावली र विभुषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले विदेशी पुरस्कार, उपाधि, विभूषण लिंदा मन्त्रिपरिषदको पूर्वस्वीकृति लिनुपर्ने प्रस्ट व्यवस्था छ । तर, प्रधानमन्त्री ओलीले युनिभर्सल पिस फेडरेसनको १ लाख अमेरिकी डलर राशिको ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ लिंदा आफू नेतृत्वको मन्त्रिपरिषदलाई पूर्व जानकारीसमेत नदिएको स्रोतले उल्लेख गरेको छ ।
जबकि पछिल्लो मन्त्रिपरिषद बैठकले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई अम्बेडकर पुरस्कार लिन भारत जानका लागि पूर्वसहमति दिएको छ । उक्त बैठकमा प्रधानमन्त्रीले पाउने त्यति ठूलो राशिको पुरस्कारका बारेमा कुनै जानकारी नगराइएको मन्त्रिपरिषद स्रोतले दिएको छ ।
युनिभर्सल पिस फेडरेसनद्वारा राजधानीमा आयोजित ‘एसिया प्यासिफिक समिट’ को समापन समारोहका क्रममा युनिफिकेसन चर्चकी प्रमुख हक जा हन मुनको हातबाट ओलीले पुरस्कार ग्रहण गरेका थिए ।