Sunday, May 5, 2019

१७ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गर्न आदेश

भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले २०२१ सालको नापीदेखि खोलो÷सरकारी जनिएको जग्गा व्यक्तिका नाममा गर्न आदेश दिएका हुन्
  •  २०२१ सालको नापीदेखि खोलो÷सरकारी जनिएको जग्गा
  •  २०५३/१/२३ मा आफ्नो भएको जिकिर गर्दै छुट जग्गा दर्ता गर्न मागदाबी
  •  मालपोत कार्यालय भक्तपुरद्वारा २०६०/६/७ र २०७३/४/१८ मा थापाका नाममा जग्गा छुट दर्ता गर्न नमिल्ने निर्णय
  •  जिल्ला अदालत भक्तपुरद्वारा २०७५/९/२६ मा थापाका नाममा छुट दर्ता गर्न आदेश
  •  मागदाबी १६ रोपनी, अदालतद्वारा १७ रोपनी छुट दर्ता गर्न आदेश
काठमाडौं, २२ वैशाख– भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि–१६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ ।
भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दाया“–बाया“को १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन् । नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नं. ४२४ को उक्त जग्गा ‘खोलो÷सरकारी’ उल्लेख छ ।
आजादले २०२१ सालको नापीदेखि फिल्डबुकमा नेपाल सरकारका नाममा दर्ता कायम भएको र २०५३ सालसम्म कसैले आफ्नो हो भन्ने दाबी नगरेको जग्गा ठोस प्रमाण र आधारबिनै व्यक्तिका नाममा छुट दर्ता गर्न आदेश दिएका हुन् । साविक दिव्यश्वरी गाविस र हाल मध्यपुर थिमि–१६ मा पर्ने कित्ता नं. ४२४ मा ६७ रोपनी ८ आना २ दाम जग्गा छ । आजादले १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा भने पनि पूरै कित्ता अर्थात् ६७ रोपनी ८ आना २ दाम नै थापाका नाममा छुट दर्ता हुने आशयको फैसला गरेका छन् ।

Friday, May 3, 2019

बालुवाटारको ११७ रोपनी जग्गा जफत गर्ने तयारी

जग्गा पहिचानको काम अन्तिम चरणमा पुगिसकेको छ, अब सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गर्छौं : भूमि व्यवस्था सचिव
मुलुकभर अधिग्रहण गरिएको जग्गाको अतिक्रमण छानबिन गर्न आयोग गठनको प्रक्रिया सुरु
काठमाडौं, १९ वैशाख– सरकारले बालुवाटारस्थित अतिक्रमित ११७ रोपनी सरकारी जग्गा आफ्नो नाममा ल्याउने (जफत गर्ने) प्रक्रिया अघि बढाउने तयारी गरेको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसमा सरकारले ललिता निवासको ११७ रोपनी जग्गा जफत गरी आफ्नो नाममा फिर्ता ल्याउने प्रक्रिया सुरु गर्न लागेको हो ।
त्रिताल आयोगको प्रतिवेदन आउनासाथ बसेको मन्त्रिपरिषद बैठकले अतिक्रमित सबै सरकारी जग्गा रोक्का राखी जफत गर्ने प्रक्रिया सुरु गर्न भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयका सचिव गोपी मैनालीले मन्त्रिपरिषदको निर्देशनअनुसार बालुवाटारको अतिक्रमित जग्गा पूर्ववत अवस्थामा फर्काउने (सरकारको नाममा ल्याउने) गृहकार्य सुरु भएको जानकारी दिए । मैनालीका अनुसार सरकारको नाममा ल्याउन अतिक्रमित जग्गा कुन कुन कित्ता हो र कसकसको नाममा छ भन्ने पहिचान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ‘अतिक्रमित जग्गामध्ये ४०३ कित्ता पहिचान भइसकेको छ । अतिक्रमित जग्गा पहिचान गर्ने काम झन्डै ९८ प्रतिशत सकिइसकेको छ । बा“की जग्गासमेत पहिचान भइसकेपछि सरकारको नाममा ल्याउने प्रक्रिया सुरु हुन्छ’ मैनालीले कान्तिपुरसित भने ।

बालुवाटार जग्गा प्रकरणमा कसैलाई नजोगाइयोस् : निधि

काठमाडौं, १९ वैसाख– कांग्रेस उपसभापति बिमलेन्द्र निधिले कुनै पनि बहाना बनाएर बालुवाटारको अतिक्रमित सरकारी जग्गा किन्नेलाई नजोगाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेसन सेन्टर (जेटीयूसीसी) द्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले सरकार बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउनेलाई जोगाउन लागिपरेको आरोप लगाए । निधिले प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायतको सरकारी आवासभित्र र वरपरको जग्गा कब्जा गर्ने जोकोही भए पनि कारबाही दायरामा ल्याउन आग्रह गरे ।
‘ललिता निवास (बालुवाटारको जग्गा) काण्डमा दोषीलाई जोगाउने खेल भइरहेको छ’, उनले भने, ‘झारा टार्ने काम नहोस्, जोसुकै संलग्न भए पनि वा जसले भ्रष्टाचार गरे पनि कारबाही होस् ।’

Wednesday, May 1, 2019

पौडेलको बचाउमा प्रधानमन्त्री ओली

पौडेलले राजाको शासनका बेला जग्गा किन्नुभएको हो, हडप्नु भएको होइन, उहाँले पदीय दुरुपयोग गर्नुभएको छैन : ओली
काठमाडौं, १७ वैशाख– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा पार्टी महासचिव विष्णु पौडेलले सरकारी जग्गा नहडपेको दाबी गरेका छन् । संघीय संसद् भवनमा मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा ओलीले बालुवाटारको जग्गालाई लिएर सिंगो नेकपाविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै महासचिव पौडेलको बचाउ गरेका हुन् ।
ओलीले बालुवाटारको जग्गा किन्न महासचिव पौडेलले पदीय दुरुपयोग नगरेको दाबीसमेत गरे । ‘पार्टी र सरकारलाई कमजोर बनाउन बालुवाटारमा जग्गा छ भनेर महासचिव पौडेलमाथि आक्रमण भइरहेको छ,’ उनले भने, ‘उहा“ले राजाको निरंकुश शासन भएका बेला २०६१ सालमा बालुवाटारको दक्षिण कुनामा ८ आना जग्गा किन्नुभएको हो ।’ ओलीले महासचिव पौडेलमाथि आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजिएकाले त्यसतर्फ सतर्क हुनुपर्ने पनि बताए ।
ओलीले महासचिव पौडेलको जग्गा सरकारी हो कि अतिक्रमित भन्ने विषय पछि थाहा हुने बताए । ‘हतारो गर्नु पर्दैन । सरकारी जग्गा व्यक्तिका नाममा गर्नेहरूको खोजी भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जहा“सुकैको भए पनि अतिक्रमित जग्गा फिर्ता ल्याउ“छौं ।’

नेकपा बैठकमा बालुवाटार जग्गाको चर्चा

  • ‘पार्टीलाई बदनाम गर्ने दुष्प्रयास हुँदैछ’
  • ‘जग्गा प्रकरणमा पौडेल एक्लै पर्नुभयो,प्रस्ट भएर हामीले बोल्नुप¥यो।पार्टीलाई बदनाम हुन दिनुभएन : पोखरेल
  • छानबिन हुँदैछ, महासचिवले जग्गा किनेको विषयमा यथार्थ कुरा आएपछि सरकार र पार्टीले बोल्छ : ओली
काठमाडौं, १६ वैशाख– सत्तारूढ नेकपा सचिवालयको अनौपचारिक बैठकमा बालुवाटारको सरकारी जग्गा अतिक्रमणबारे चर्चा भएको छ । सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न सोमबार बसेको बैठकमा सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गासमेत व्यक्तिको नाममा छ भनी सार्वजनिक भइरहेको सत्य हो कि होइन भनी प्रश्न गरेका थिए ।
उनले बालुवाटार जग्गा प्रकरणमा पार्टी महासचिव विष्णु पौडेलको समेत नाम मुछिएको र यसैमा जोडेर नेकपालाई बदनाम गर्ने प्रयास भइरहेको बताएका थिए । ‘जग्गा प्रकरणमा उहाँ (पौडेल) एक्लै पर्नुभयो, हामी यसमा बोलेका छैनौं,’ पोखरेलको भनाइ उद्धृत गर्दै बैठकका सहभागी एक नेताले भने, ‘के भएको हो, यथार्थ बाहिर आउनुप¥यो । पार्टी प्रस्ट भएर हामीले बोल्नुप¥यो । पार्टीलाई बदनाम हुन दिनुभएन ।’

वडाध्यक्ष घुससहित पक्राउ

काठमाडौं, १६ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी जिल्लाको सुरुंगा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मिया“लाई आइतबार घुस रकमसहित पक्राउ गरेको छ ।
वडाध्यक्ष मिया“ जग्गामा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीस“ग लिएको २५ हजार रुपैया“ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । अख्तियारको हिरासतमा राखी मिया“माथि अनुसन्धान भइरहेको छ ।

गोयन्कालाई मातृशोक

काठमाडौं, १६ वैशाख– कान्तिपुर पब्लिकेसन्सका संस्थापक प्रबन्ध निर्देशक श्याम गोयन्कालाई मातृ शोक परेको छ । गोयन्काकी आमा शारदादेवी गोयन्काको वैसाख ९ गते सोमबार निधन भएको हो । उनको ८१ वर्षको उमेरमा मुम्बईमा निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।
उनका दुई छोरा र ५ छोरी छन् । शारदादेवीका कान्छा छोरा रवि गोयन्का कान्तिपुर पब्लिकेसन्सको संस्थापक निर्देशक थिए । शारदादेवीको जन्म १९९४ सालको चैतमा जन्म भएको थियो ।