Friday, January 3, 2020

चाकरीस्वरूप मुख्यसचिवको घरमा सशस्त्रको ट्यांकरबाट पानी

काठमाडौँ, १७ पुस— सशस्त्र प्रहरी बलले आफ्नो ट्यांकरमार्फत् मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियमित रूपमा खानेपानी आपूर्ति गरिदिने गरेको पाइएको छ । सशस्त्रले साताको एकपटक राजधानीको कोटेश्वरस्थित रेग्मीको घरमा एक ट्यांकर पानी आपूर्ति गरिदिने गरेको स्रोतले उल्लेख गरेको छ ।
रेग्मीले सरकारी निकायको ट्यांकरबाट आउने पानी र ढुवानी शुल्क केही तिर्नु पर्दैन। सशस्त्रले निःशुल्क रूपमा उनलाई अनधिकृत रूपमा यस्तो सुविधा उपलब्ध गराएको हो। मुख्यसचिव या कुनै पनि प्रशासनिक अधिकारीले सरकारी निकायबाट निःशुल्क रूपमा खानेपानी या अरू सुविधा लिनु आफैंमा कानुन विपरीत हो । ‘कुनै पनि सरकारी अधिकारीले मातहतको या आफ्नो पहुँच भएको कार्यालयबाट अनधिकृत कुनै पनि सुविधा लिन मिल्दैन’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
‘रेग्मी २०७३ भदौ १९ देखि २०७४ कात्तिक ७ सम्म गृह सचिव हुँदा सशस्त्रका तत्कालीन नेतृत्वले चाकरी स्वरूप साताको एकपटक ट्यांकरबाट पानी लगिदिन थालेको हो। रेग्मी मुख्यसचिवमा बढुवा भएपछि पनि यो चाकरी गर्दै ट्यांकरबाट पानी पुर्‍याउने सेवाको क्रम जारी छ’ सशस्त्रको एक अधिकारीले भने ।

Thursday, January 2, 2020

नक्कली लाइसेन्स र परिचयपत्र बनाउने गिरोह पक्राउ

काठमाडौं, १६ पुस– स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाई बिक्री गरेको आरोपमा बुधबार पाँच जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरूलाई राजधानीबाट पक्राउ गरेको हो । पक्राउ परेकामा सर्लाहीका दीपक ब्लोन, वुद्धिबहादुर रोक्का, काठमाडौं बौद्धका अशोक कार्की, काठमाडौंको लाजिम्पाटका कुमार तण्डुकार र बारा सिमराका मोहन यादव छन् ।
पुतलीसडकबाट दीपक ब्लोनसँग मंगलबार नक्कली स्मार्ट लाइसेन्स फेला पारी सोधपुछ गर्ने क्रममा गिरोह नै पक्राउ परेको प्रहरीले जनाएको छ । अर्का अभियुक्त रोक्काले न्युरोडस्थित आफ्नो आशिष स्टुडियोमा डिजाइन गरी न्यूरोडकै फोटो कन्सर्न प्रालिबाट नक्कली सवारी लाइसेन्स प्रिन्ट गर्ने गरेको पाइएकोसमेत प्रहरीले उल्लेख गरेको छ ।

नगर विकास समितिका अध्यक्षविरुद्ध मुद्दा

काठमाडौं, १६ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर विष्टसहित चार जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनबाट विष्टले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अध्यक्ष नियुक्त भएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले श्रीराम राइस मिलका सञ्चालक सियाकिशोर साह, कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका स्टोर किपर रामबाबु महतो र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका खरिदार त्रिलोचना पोखरेलविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

सूचना प्रविधि विधेयक सच्याऊ ः मानव अधिकार आयोग

काठमाडौं, १६ पुस– राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट पारित सूचना प्रविधिसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने भन्दै चिन्ता व्यक्त गरेको छ।आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा आयोगले अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित गर्न बनेको विधेयक नै त्यसको प्रतिकूल रहेको टिप्पणी गर्दै त्यसलाई सच्याउन सरकार र संघीय संसद्लाई आग्रह गरेको छ।
आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन अनुकूल हुने गरी विधेयकलाई परिमार्जन गर्नुपर्ने धारणा राखेको छ । आयोगले सरोकारवालास“ग पर्याप्त छलफल गरेर प्रत्येक व्यक्तिले अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने गरी कानुन निर्माण गर्नसमेत सबै पक्षलाई आग्रह गरेको छ । ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता संविधान प्रदत्त मौलिक हक हो । अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउ“दा त्यसले प्राप्त गर्न खोजेको उद्देश्यस“ग औचित्यपूर्ण सम्बन्ध रहेको हुनुपर्छ भन्ने सर्वोच्च अदालतको ०७४ वैशाख ६ को फैसलालाई समेत आयोग स्मरण गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

Wednesday, January 1, 2020

बाटो निजी बनाउनेविरुद्ध मुद्दा

काठमाडौं, १५ पुस– नापी तथा मालपोत कार्यालयका प्रमुख र जग्गाधनीको मिलेमतोमा राजधानीमै सरकारी बाटोको जग्गा व्यक्तिगत बनाई अनियमितता गरेको भेटिएको छ । जग्गाधनी अरुणकुमार रञ्जितकारले ३ नम्बर नापी गोश्वारा, काठमाडौं र मालपोत कार्यालय, डिल्लीबजारका प्रमुखहरूलाई अनुचित प्रभावमा पारी सरकारी बाटोको ३ सय ११ वर्गमिटर जग्गा आफ्नो नाममा बनाउन सफल भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका क्रममा काठमाडौं महानगरको कित्ता नम्बर २३७ को २०५२÷५३ मा नयाँ नापी हुँदा सँगै रहेको सार्वजनिक बाटोको ९ आनाभन्दा बढी जग्गा घुसाई कित्ता नम्बर र क्षेत्रफल कायम गरेको भेटेको हो । अख्तियारले सरकारी बाटोको जग्गा व्यक्तिको नाममा कायम गर्ने ३ नम्बर नापी गोश्वारा, काठमाडौंका तत्कालीन प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मा र मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत विष्णुकुमार राईविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तीन दिन हिमपात र वर्षाको सम्भावना

काठमाडौं, १५ पुस– जल तथा मौसम विज्ञान विभागले मंगलबार रातिदेखि तीन दिनसम्म देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जनाएको छ।
जम्मु–कश्मीरबाट माथिबाट नेपाल प्रवेश गरेको न्यून चापीय प्रणाली बुधबार सा“झसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । बुधबार र बिहीबार देशैभर बदली भई तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार विशेष बुलेटिन जारी मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार रातिदेखि बिहीबारसम्म तराई र पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकोसमेत उल्लेख गरेको छ ।

सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्छ : महासंघ

काठमाडौं, १५ पुस– नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सूचना प्रविधि विधेयक अघि बढाइएकामा आपत्ति प्रकट गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरी लेखेकै आधारमा ५ वर्ष जेल र १५ लाख रुपैया“ जरिवाना वा दुवै सजायसहितको कठोर दण्ड व्यवस्था गरिएको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने चिन्ता व्यक्त गरेको छ ।
महासंघले सरोकारवालास“ग छलफल र सहमति गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सम्मान हुने गरी सूचना प्रविधिसम्बन्धी विधेयक अघि बढाउन माग गरेको छ । महासंघले सूचना प्रविधिसम्बन्धी विधेयकका कतिपय प्रावधान आमसञ्चारको क्षेत्रलाई नियन्त्रण गर्न दुरुपयोग हुन सक्ने गम्भीर खतरा देखिएकोसमेत औंल्याएको छ ।