Thursday, June 4, 2020

तारागाउँ विकास समितिले फिर्ता माग्यो हायात होटलको जग्गा

समिति भन्छ– ‘कानुन मिचेर होटलका नाममा कायम गरिएको १ सय ५० रोपनी र सम्झौताविपरीत लिजमा दिइएको १ सय ४८ रोपनी दुवै जग्गा फिर्ता गरिदेऊ’
काठमाडौ, २१ जेठ– पर्यटन मन्त्रालय मातहतको तारागाउँ विकास समितिले कानुन मिचेर हायात होटलका नाममा हस्तान्तरण गरिएको आफ्नो १ सय ५० रोपनी जग्गा फिर्ता गरिदिन सरकारलाई पत्राचार गरेको छ ।
समितिले होटल स्थापना गर्दा निजी साझेदार र सरकारबीच भएको सम्झौताविपरीत ४९ वर्षलाई लिजमा दिइएको आफ्नो थप १ सय ४८ रोपनी जग्गासमेत फिर्ता गरिदिन सरकारलाई भनेको छ ।

समितिले पर्यटन मन्त्राललाई पत्राचार गरी प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशनअनुसार हायात होटल सञ्चालन गर्दै आएको हायात होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका साझेदारहरूले चलखेल गरी कानुनविपरीत हत्याएको अर्बौं मूल्य पर्ने जग्गा आफ्ना नाममा ल्याइदिन सरकारलाई गुहारेको हो ।

संकटका बेला पनि राज्यको ढुकुटीमा रजाइँ


  • अनुत्पादक क्षेत्रमा खर्च नगर्ने नीतिविपरीत के केमा कति कति खर्च गरिंदै ?
  • राष्ट्रपति भवनको सजावटमा पौने दुई करोड
  • राष्ट्रपति कार्यालयको बगैंचा हेरचाह गर्न ४२ लाख
  • मन्त्रीहरूलाई ८३ लाखको जिमखाना
  • मन्त्री निवासको मर्मतसम्भारमा २८ लाख 
  • एक जना सहसचिवलाई डेढ करोड र अर्कालाई ५० लाखको गाडी

काठमाडौं, २१ जेठ– सरकारले कोभिड–१९ विरुद्ध लड्नका लागि अत्यावश्यकबाहेक बाँकी सबै क्षेत्रको खर्च कटौती गर्ने आफ्नै निर्णयको खिल्ली उडाउँदै विलाशी भौतिक संरचना निर्माण र महँगा गाडी तथा फर्निचर खरिदमा करोडौं रुपैयाँ खरिद गरिरहेको पाइएको छ ।

सरकारले संक्रमणको रोकथाम र उपचारका लागि बजेट जुटाउन गत चैत २० मा गाडी र फर्निचर खरिदसहित १४ शीर्षकको खर्च रोक्न सबै मन्त्रालय र निकायलाई सर्कुलर गरेको थियो । सर्कुलरको मसी सुक्न नपाउँदै लकडाउनकै बीचमा सरकारले राष्ट्रपति, मन्त्री र उच्च प्रशासनिक अधिकारीको विलाशी र महँगा सौख पूरा गर्न फजुल खर्च गर्दै आइरहेको छ ।

लोकसेवाको परिक्षामा सहभागी हुन कोरोना परिक्षण रिपोर्ट अनिवार्य

काठमाडौं, २१ जेठ– लोकसेवा आयोगद्वारा सञ्चालन हुने परिक्षामा सहभागी हुन उम्मेदवारहरूले अनिवार्य रूपमा कोरोना परिक्षणको पीसीआर रिपोर्ट बुझाउनु पर्ने भएको छ ।
आयोगले मंगलबार सूचना जारी गरी आफ्नो परिक्षामा सहभागी हुन आउने उम्मेदवारहरूलाई कोरोना परिक्षणको रिपोर्ट अनिवार्य रूपमा पेस गर्न भनेको छ ।
आयोगको सोमबार बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को बाँकी परिक्षा लिने निर्णय गरेको छ । आयोगले असार २ गते सहसचिवका लागि अन्तर्वार्ता लिने कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगले सूचनामा काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेदवारले उक्त परिक्षामा सहभागी हुन कोरोनाको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने उल्लेख गरेको छ ।

Monday, June 1, 2020

राष्ट्रपति भवनलाई सजाउन करोडका गलैंचा

काठमाडौं, १९ जेठ– कोरोना महामारीका कारण मुलुक गम्भीर आर्थिक संकटमा परेका बेला राष्ट्रपति कार्यालय भवनमा करोड खर्चेर महँगा र विलाशी नयाँ गलैंचा राख्न लागिएको छ ।
कोरोना प्रकोपसँगै राष्ट्रपति विद्या भण्डारीले सुविधा सम्पन्न विद्युतीय गाडी खरिद गर्न विनियोजिम रकम सरकारलाई फिर्ता गरेकी थिइन् । सरकारले त्यसलाई बिर्साउने गरी राष्ट्रपति भवनलाई महँगो गलैंचाले सजाउन लागेको हो ।
राष्ट्रिपति कार्यालय परिसरमा करिब साढे तीन वर्षअघि निर्माण गरिएको नयाँ भवनमा राखिएका गलैंचा हटाएर एक करोड रुपैयाँमा नयाँ किनेर फेर्न लागिएको जानकारी स्रोतले दिएका छन् । 

नयाँ भवनमा गलैचा राखेको तीन वर्ष पनि पुगेको छैन । ‘भएका गलैंचा पुराना र काम नलाग्ने भएर फेर्न लागिएको होइन, ती गलैंचा अझै धेरै वर्ष काम लाग्ने खालका छन्’ स्रोतले भन्यो– ‘महँगा र आकर्षक गलैंचा राख्न लागिएको हो ।’ 

जातीय विभेदको घटना छानबिन गर्न मानव अधिकार टोली प्रस्थान

काठमाडौं, १९ जेठ– अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० मा रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको स्थलतगत अनुसन्धान र अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको उच्चस्तरीय टोली आइतबार रुकुम प्रस्थान गरेको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईँको नेतृत्वको टोलीले घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको छानबिन एवं शान्ति सुरक्षाको कार्य सम्बन्धमा अनुसन्धान र अनुगमन गर्ने जनाएको छ । .

गृह मन्त्रालयलाई आयोगको २४ घन्टे स्पष्टीकरण

काठमाडौं, १९ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ का चक्रबहादुर खत्रीलाई सर्वोच्च अदालतको आदेशविपरीत पटकपटक गिरफ्तार गरेकामा गृह मन्त्रालयसित २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गरी खत्रीलाई अपमानपूर्वक पक्राउ गरेर अज्ञात अवस्थामा राखिएको सम्बन्धमा गृह मन्त्रालयलाई २४ घन्टाभित्र जवाफ पेस गर्न स्पस्टीकरण सोधिएको जनाएको छ ।

‘खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निजउपर अपमानजनक व्यवहार गरिएको तथा सर्वोच्चबाट पटकपटक जारी भएका आदेशको बेवास्ता गरिएको सम्बन्धमा चौबीस घण्टाभित्र जवाफ पठाउन आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ’ विज्ञप्तिमा छ ।

बढी जोखिमयुक्त क्षेत्रमा कोरोना कोषको रकम खर्च गर्न सुरु

पहिलोपटक सवा ५ करोड निकासा
काठमाडौं, १९ जेठ– सरकारले ‘कोराना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा भएको रकम जोखिम बढी भएको क्षेत्रमा खर्च गर्न थालेको छ । 
योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल संयोजक रहेको सञ्चालक समितिको निर्णयअनुसार सरकारले कोषबाट कोरोनाको जोखिमयुक्त क्षेत्रका अस्पताल र जिल्ला प्रशासन कार्यालयलाई ५ करोड १७ लाख ७९ हजार रुपैयाँ रकम निकासा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार कोरोना कोषबाट रकम पाउनेमा ८ वटा अस्पताल र स्वास्थ्य संस्था तथा १७ वटा जिल्ला प्रशासन कार्यालय छन् । कोषबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद काठमाडौंलाई १ करोड ३९ लाख ७९ हजार, कोसी अस्पताल विराटनगरलाई १ करोड, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताललाई ६८ करोड, डडेल्धुरा अस्पताललाई ६० लाख, जीपी कोइराला राष्ट्रिय स्वास प्रश्वास केन्द्र तनहुँलाई ३५ लाख र भरतपुर अस्पताललाई २० लाख, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, मकवानपुरलाई ५ लाख रुपैयाँ निकासा गरिएको छ ।