Wednesday, February 27, 2019

राँगाको आक्रमणमा परेका नासु श्रेष्ठको मृत्यु

काठमाडौं, १४ फागुन– राँगाको आक्रमणमा परी घाइते भएका नायव सुब्बा कान्छा श्रेष्ठको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका–५ महाँदेवस्थानका ५२ वर्षीय श्रेष्ठ शनिबार चन्द्रागिरि–९ मच्छेगाउँमा राँगाको आक्रमणबाट सख्त घाइते भएका थिए । उनलाई उपचारका लागि त्रिपुरेश्वरस्थित ब्लूक्रस अस्पतालमा भर्ना गरिएको थियो । श्रेष्ठको मंगलबार नै अन्त्येष्टि गरिएको छ ।
राँगाको आक्रमणबाट घाइते भएका चन्द्रागिरि नगरपालिका–४ त्रिभुवन पार्ककी ४५ वर्षीया देवी राना र वडा–९ का ८० वर्षीय काजी महर्जन भने डिस्चार्ज भइसकेका छन् ।
राँगाको आक्रमणमा प्रहरी हवल्दारसहित ६ जना घाइते भएका थिए । राँगाको आक्रमणमा परी ७० वर्षीय मानवीर महर्जनको शनिबार नै मृत्यु भएको थियो । राँगोलाई प्रहरीले दहचोकमा शनिबार नै गोली हानेर मारिसकेको छ ।

कोरम नपुगेर सुनुवाइ समितिको बैठक दोस्रोपटक स्थगित

काठमाडौं, १४ फागुन– गणपुरक संख्या (कोरम) नपुगेपछि संघीय संसदको सुनुवाइ समितिको बैठक दोस्रोपटक स्थगित भएको छ ।
थारू आयोग र मधेसी आयोगको अध्यक्षमा सिफारिस दुई जनामाथि सुनुवाइ गर्न मंगलबारका लागि बोलाइएको बैठक कोरम नपुगेपछि सुरु नै नभई स्थगित भएको हो ।
संवैधानिक परिषदले थारू आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मधेसी आयोगको अध्यक्षका लागि विजयकुमार दत्तको नाम सिफारिस गरेको छ । सुनुवाइमा सहभागी हुन आएका चौधरी र दत्त बैठक नबसेपछि करिब एक घन्टा कुरेर फर्किएका थिए ।
चौधरी र थारूको नाममा सुनुवाइ गर्न आइतबार बोलाइएको बैठकसमेत कोरम नपुगेपछि स्थगित भएको थियो ।
समितिको बैठक बस्न बहुमत सदस्य उपस्थित हुनै पर्ने संघीय संसदको नियमावलीमा व्यवस्था गरिएको छ । १५ सदस्यीय सुनुवाइ समितिको बैठक बस्न ८ सदस्य उपस्थित हुनै पर्छ । मंगलबार समितिका ७ सदस्यमात्र उपस्थित थिए ।

पठायोको सेवा नरोक : सर्वोच्च

काठमाडौं, १४ फागुन– मोटर साइकलमा अन्य व्यक्तिलाई ओसार्ने कामबाट मुलुकको कानुन उल्लंघन भएको दाबीसहित परेको रिटमा सर्वोच्च अदालतले मंगलबार सेवा रोक्न अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र अनिल कुमार सिन्हाको संयुक्त इजलासले रिटमा सुनुवाइ गर्दै पठायोको सेवा रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।
नेपालको कानुनको उल्लंघन गरेको, कर नतिरेको एवं विदेशी लगानीको उद्धेश्यमा दर्ता भएको पठाओ नेपाल प्रा.लि.ले अनुमतिभन्दा बाहिरको काम गरेको भन्दै अधिवक्ता श्यामकुमार श्रेष्ठलगायतले सर्वोच्चमा माघको पहिलो साता रिट दर्ता गरेका थिए ।
मोटरसाइकलमा यात्रुलाई सेवा उपलब्ध गराइरहेको पठाओ नेपाल कम्पनीले नेपालको कानुन उल्लंघन गरेकामा गृह मन्त्रालय, उद्योग मन्त्रालयले समेत झारा टार्ने काम गरेकाले उनीहरूलाई समेत कम्पनीको इजाजत रद्द गर्ने आदेश जारी गर्नुपर्ने मागसहित रिट निवेदन दायर भएको थियो।‘रिटमाथि अन्तिम निर्णय हु“दा नै निक्र्यौल हुने विषय भएकाले अहिले नै सेवा रोक्न आदेश दिन मिल्दैन’ संयुक्त इजलासको निर्णयमा भनिएको छ ।

Tuesday, February 26, 2019

चिनियाँ नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं, १३ फागुन– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चिनियाँ नागरिकविरुद्ध सोमबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । ४ वर्ष अघि चिनियाँ नागरिकबाट बरामद भएको  १ करोड ३० लाख रुपैयाँ अवैध र गैरकानुनी कार्यबाट आर्जन गरिएको पुष्टि भएको उल्लेख गर्दै विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले २०७१ साउनमा बरामद गरेको अवैध रकम चिनियाँ नागरिक ली जिओफेङले नेपालमा गैरकानुनी स्रोतबाट आर्जन गरेको अभियोगपत्रमा उल्लेख छ ।
महानगरीय अपराध महाशाखाले ठमेलमा बस्दै आएका लि र उनकी श्रीमतीलाई अवैध रकम तातोपानी नाका हुँदै चीन पठाउँदै गर्दा नियन्त्रणमा लिएको थियो।
महाशाखाले बरामद रकमसहित थप कारवाहीका लागि २०७१ साउन १९ मा सम्पत्ति शुद्धिकरण विभागमा छानबिनसहित मिसल बुझाएका थिए । पक्राउ परेका चिनियाँ नागरिक धरौटीमा रिहा भएका थिए । सम्पत्ति शुद्धिकरण विभागले आफूमाथि अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक ली फरार भएका छन् ।

सुरक्षा संवेदनशीलतामा ध्यान दिन सरकारलाई आग्रह

काठमाडौं, १३ फागुन– राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई सुरक्षा संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको छ । आयोगका निमित्त सचिव तथा निर्देशक मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी शुक्रबार र शनिबार मुलुकका विभिन्न ठाउ“मा भएका बम विस्फोटका घटनाप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता घटनामा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
विज्ञप्तिमा आयोगले विष्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्थाप गर्नसमेत सरकारस“ग माग गरेको छ ।
शुक्रबार राति नख्खुमा रहेको एनसेलको कार्यालय परिसरमा भएको विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । शुक्रबार राति र शनिबार जाजरकोट, बाग्लुङ, रूपन्देही, कपिलवस्त, पूर्वी नवलपरासी, कास्की, नुवाकोटलगायतका ठाउ“मा पनि बम विष्फोट भएको थियो । विस्फोटको जिम्मा नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाले लिएको छ ।

दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १३ फागुन– अखितयार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताको अभियोगमा दुई कर्मचारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सप्तरी जिल्लाको साविक खोक्सर प्रवाहा गाउँ विकास समितिका तत्कालीन सचिव कृष्णबहादुर दाहालले गाविसको ५ लाख ३३ हजार ८ सय रुपैयाँ हिनामिनाले गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अभियोगपत्रमा अख्तियारले दाहालविरुद्ध बिगोबराबर जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।
अख्तियारले विद्युत क्षमता वृद्धि गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको १५ हजार घुससहित पक्राउ परेका विद्युत प्राधिकरण, बानेश्वर वितरण केन्द्र, पुरानो बानेश्वरको नयाँ दर्ता शाखाका सुपरभाइजर महेन्द्र प्रधानमाथि समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् ।

Monday, February 25, 2019

संवैधानिक परिषद बैठक स्थगित

काठमाडौं, १२ फागुन– प्रधानमन्त्री केपी ओलीको ‘व्यस्तता’ का कारण आइतबार बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले निर्वाचन आयोग र अख्तियारसहित संवैधानिक आयोगहरूमा रिक्त पदमा नियुक्तिको सिफारिस गर्न र मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरिएका समिम मिया“ अन्सारीको नाम फिर्ता लिन बैठक बोलाएका थिए । 
प्रधानमन्त्री ओलीले आइतबार परिषदका सदस्यहरूलाई आफू व्यस्त रहेको मौखिक जानकारी गराई बैठक स्थगित गरेको जानकारी परिषद सचिवालय स्रोतले दिएको छ । अब परिषद बैठक कहिले बस्ने तिथिसमेत तय गरिएको छैन । ‘प्रधानमन्त्रीले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्नु भएको छ’ परिषदका एक सदस्यले भने ।