Saturday, September 28, 2019

कृषि बैंक ह्याकिङ प्रकरणमा थप ३ पक्राउ

काठमाडौं, ११ असोज– कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड रुपैयाँ रकम चोरिएको घटनामा थप ३ जना पक्राउ परेका छन् । पक्राउ परेकामा पर्वतका गणेश बस्याल, मालतीदेवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्ट रहेको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भट्टको खातामा ४५ लाख र मालतीको खातामा २४ लाख रुपैयाँ भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । बस्याललाई भने भारतमा बसेर ह्याकिङको योजना बनाउने पिटरसँग सम्पर्कमा रहेको पाइएकाले नियन्त्रणमा लिइएको हो । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा प्रहरीले यसअघि पटकपटक गरी १३ जनालाई पक्राउ गरिसकेको छ ।

सोमबार खुला दिसामुक्त राष्ट्र घोषणा हुने

काठमाडौं, ११ असोज– सरकारले आगामी सोमबार ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा सोमबार आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिशा मुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको जानकारी खानेपानी मन्त्री विना मगरले दिइन् ।
खानेपानी मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले देशभर निजी तथा सार्वजनिक सौचालय निर्माण र सरसफाइका क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको दाबी गर्दै राष्ट्रिय उत्सवकै रूपमा मुलुकलाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको बताइन् । उनले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्बद्ध पक्ष र सर्वसाधारणलाई समेत आग्रह गरेकी छन् ।
सरकारले सन् २०११ देखि जिल्लाहरूलाई क्रमशः खुला दिशामुक्त घोषणा गर्न थालेको थियो । अहिले सबै जिल्ला खुला दिसामुक्त भइसकेका छन् । मन्त्री मगरले अभियानमा सबै दल, पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूले सहयोग गरेकाले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सकिने अवस्था बनेको बताइन् ।

एनसेलसम्बन्धी फैसला अध्ययन गर्ने निर्णयप्रति प्रधानन्यायाधीशको असन्तुष्टि

काठमाडौं, ११ असोज– प्रधानन्यायाधीश चोलेन्द्रसमसेर जबराले एनसेलको पूँजीगत लाभकरबारे सर्वोच्च अदालतबाट भएको फैसला अध्ययन गर्ने संसदीय समिति र बार एसोसियसनको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन् ।
दसैं, तिहार तथा छठको अवसरमा सर्वोच्च अदालत परिसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जबराले संसदीय समिति र बार एसोसिएसनको नाम नलिईकन अदालतबाट भएका फैसला असम्बद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परिक्षण हुन नसक्ने बताएका हुन् ।
उनले यस्ता कामले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको निर्णयमाथि अनावश्यक प्रश्न उठने चिन्तासमेत व्यक्त गरे । ‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट न्याय सम्पादनको रोहमा भएका फैसला वा आदेशहरूको विधिपूर्वक परिक्षण हुन सक्छ तर, असम्वद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परिक्षण गर्ने कार्य आफैंमा स्वतन्त्र न्यायपालिकाको मूल्यमान्यता र अवधारणाविपरीत हुन जान्छ भन्ने मलाई लाग्छ’ उनले भने ।
एनसेलले लाभकर, ब्याज र जरिवानासहित ६२ अर्ब रुपैयाँ तिर्नुपर्ने ठूला करदाता कार्यालयले गरेको निर्णय बदर गर्ने सर्वोच्चको आदेशप्रति संघीय संसदमा चर्को विरोध हुनुका साथै संसदीय समिति र नेपाल वारले त्यसबारेमा अध्ययन गर्ने निर्णय गरेका छन् ।

आइतबारदेखि १० चक्के गाडीलाई काठमाडौं प्रवेशमा रोक

काठमाडौं, ११ असोज– दसैंका लागि राजधानी आउजाउ गर्ने यात्रुहरूका लागि सडक जाम हुन नदिन यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ ।
दसैमा काठमाडौ बाहिर जाने र आउने यात्रुहरू नागढुंगा–नौबीसे खण्डमा १२ घन्टासम्म जाममा पर्न थालेपछि विभागले शनिबार विज्ञप्ति जारी गरी ठूला मालवाहक सवारी साधनलाई उपत्यकामा प्रवेशमा रोक लगाउने निर्णय गरिएको जनाएको छ । ठूला मालवाहक सवारी साधनलाई रोक लगाइएपछि उक्त खण्डको जाम हटने विश्वास विभागले व्यक्त गरेको छ ।
विभागका अनुसार आइतबारदेखि असोज १८ गतेसम्मका लागि १० चक्के र त्योभन्दा ठूला सवारी साधनलाई काठमाडौं आउजाउमा रोक लगाइएको हो । त्यस्ता ठूला मालवाहक सवारी साधनहरूलाई चितवनको नारायणगढमै रोकिने जानकारी विभागले दिएको छ ।

Friday, September 27, 2019

एसिडपीडित दुई जनालाई तीन/तीन लाख

काठमाडौं, ९ असोज– सरकारले एसिड आक्रमणमा परी घाइते भएका जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च र जीवनयापनका लागि ३/३ लाख रुपैया“ राहत उपलब्ध गराउने भएको छ । 
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुवै जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

८ वटा अतिथिगृह बनाइने

मन्त्रिपरिषदका निर्णय
काठमाडौं, ९ असोज– सरकारले विदेशी मुलुकबाट आउने विशिष्ट अतिथिलाई राख्न ८ वटा राजकीय अतिथिगृह बनाउन गुरुयोजना स्वीकृत गरेको छ । सरकारले यसअघि मन्त्री क्वाटर रहेको ललितपुरको पुल्चोकमा १० वटा अतिथिगृह बनाउने निर्णय गरेको थियो । मन्त्री क्वाटर पुल्चोकबाट सारेर ललितपुरको भैंसेपाटीमा बनाउने सरकारी योजना छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पुल्चोकमा पर्याप्त ठाउ“ नभएकाले ८ वटा मात्रै अतिथिगृह बनाउने गुरुयोजना स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाले दिए ।
पूर्वराष्ट्रपतिलाई उपचार खर्च
मन्त्रिपरिषद्ले पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतको चण्डीगढस्थित अस्पतालमा उपचार गराउ“दा लागेको खर्च उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले नया“दिल्लीस्थित नेपाली दूतावासमार्फत यादवको उपचारमा लागेको खर्च अस्पताललाई भुक्तानी गर्ने व्यवस्था मिलाएको जानकारी बाँस्कोटाले दिए ।

शर्माको पदावधि थप, सेनापति हुने सम्भावना बढ्यो

काठमाडौं, ९ असोज– सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले जंगी अड्डाको सिफारिसमा शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएका छन् ।
पदावधि थप भएसँगै शर्मा नेपाली सेनाको प्रधान सेनापति हुने सम्भावित रोलक्रममा परेका छन् । शर्माको उपरथीको २ वर्षे पदावधि कात्तिकमा सकिंदै थियो । पदावधि थपिएका शर्मा आगामी असारपछि प्रधान सेनापति पूर्णचन्द्र थापापछिका सबभन्दा वरिष्ठ सैनिक अधिकारी हुने छन् । त्यही कारण उनले प्रधानसेनापति थापापछि सेनाको नेतृत्व लिने सम्भावित बाटो खुलेको जानकारी सैनिक स्रोतले दिएको छ ।