Tuesday, December 31, 2019

असारसम्म मेलम्ची ल्याइसक्न समितिको निर्देशन

काठमाडौं, १४ पुस– प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आगामी असार मसान्तभित्रै मेलम्ची आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याइसक्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले पछिल्लो ठेक्का सम्झौताअनुसार तोकिएको अवधिमै आयोजना सम्पन्न गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले आयोजनामा भुक्तानी नपाएका कारण आन्दोलित सामान सप्लायर (नेपाली आपूर्तिकर्ता) को समस्या समाधानका लागि गठित समितिको प्रतिवेदन पेस गर्नसमेत भनेको छ । यसअघिको इटालियन ठेकेदार कम्पनी सीएमसीले भुक्तानी दिन बाँकी रहेका आपूर्तिकर्ताका विषयमा निर्णय गर्न मन्त्रालयका सहसचिवको अध्यक्षतामा गठित समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ ।
समितिले आयोजना निर्माणस्थलका बासिन्दाका लागि सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारको विकास गर्नसमेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

डा. सिंह एआईजीमा सिफारिस

काठमाडौं, १४ पुस– गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
गृहसचिव प्रेमकुमार राई अध्यक्ष तथा महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिको सोमबार बसेको बैठकले सिंहलाई प्रहरी संगठनको स्वास्थ्य उपसमूहतर्फको प्राविधिक एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
उनी स्त्रीरोग विशेषज्ञ हुन्।अब बस्ने मन्त्रिपरिषद् बैठकले बढुवा गरेपछि उनले अस्पतालको नेतृत्व सम्हाल्नेछिन्। गत पुस ३ मा एआईजी एवं अस्पतालकी प्रमुख डा. दुर्गा थापाले अनिवार्य अवकाश पाएपछि पद रिक्त थियो ।

Monday, December 30, 2019

एटीएम फुटाएर रकम चोरी गर्न खोज्ने दुई पक्राउ

काठमाडौं, १३ पुस– बैंकको एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका(७ थानकोटस्थित सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटकोे टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामा चन्द्रागिरी–५ दाउरा डिपो बस्ने मुगु सोरु गाउँपालिका–६ का चित्रबहादुर शाही र नन्दराज धराल छन् । प्रहरीका अनुसार उनीहरूले एटीएम राखेको सटरको ताल्चा र मेसिनसमेत फुटाएका थिए ।

नागरिकतासम्बन्धी संवैधानिक व्यवस्था त्रुटिपूर्ण : अध्यक्ष शर्मा

काठमाडौं, १३ पुस– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानमा नै नागरिकतासम्बन्धी प्रावधानमा पुरुष र महिलाबीच भेदभाव रहेको बताएका छन् ।
राजधानीमा आइतबार ‘राज्यविहीनताविरुद्ध अन्तर्राष्ट्रिय कानुनहरूको संगालो’ विमोचन गर्दै उनले नागरिकतासम्बन्धी विभेद अन्त्य गर्न संविधान संशोधन गर्नु पर्ने बताए ।
‘संविधानमै नागरिकतासम्बन्धी प्रावधान विभेदपूर्ण छ । बाबु नेपाली र आमा विदेशी भयो भने तिनका छोराछोरीका लागि नागरिकतामा कुनै समस्या छैन । बाबु विदेशी र आमा स्वदेशी भयो भने नागरिकता प्राप्तिमा समस्या छ । वंशजको आधार पुरुषबाट सुरु हुने संवैधानिक व्यवस्था नै विभेदपूर्ण छ’ उनले भने ।

Sunday, December 29, 2019

मिडिया बुर्जुवाको हातमा छ : दाहाल

‘सरकारले इमानदारीका साथ काम गरिरहेको छ’
काठमाडौं, १२ पुस– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको मिडिया बुर्जुवा वर्गको हातमा रहेको दाबी गर्दै त्यसप्रति सिंगो पार्टीपंक्ति सजग हुनु पर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित प्रेस संगठन नेपालका पदाधिकारीहरूको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनलाई उल्ट्याउन भइरहेका प्रयासलाई सफल हुन नदिन जनताका पक्षधर सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले राजनीतिक परिवर्तन र उपलब्धिलाई जोगाई राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्नसमेत पार्टी निकट सञ्चारकर्मीलाई आग्रह गरे ।

फेल भएका ७१ जनालाई पैसा लिएर लाइसेन्स

काठमाडौं, १२ पुस– यातायात व्यवस्था कार्यालय, रूपन्देहीमा मोटो रकम असुली गाडी चलाउने ट्रायल परिक्षामा फेल र अनुपस्थित भएका ७१ जनालाई पास गराई लाइसेन्स दिएको पाइएको छ ।
यातायात व्यवस्था कार्यालय रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले अनियमितता गरी लाइसेन्स वितरण गरेको भन्ने उजुरीको छानबिनका क्रममा ट्रायलमा फेल र अनुपस्थित ठूलो संख्याका परिक्षार्थीलाई पास गराएको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले अनियमितता गरी लाइसेन्स वितरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुख एवं परिक्षा समितिका अध्यक्ष (उपसचिव) पोखरेल र तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गोकर्ण रिसोर्टको लिजको म्याद थप गर्ने कानुनसम्मत : प्रधानमन्त्री

‘देउवाका पालामा भएका लिजका निर्णयमाथि छानबिन हुन्छ’
काठमाडौं, १२ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रस्ट मातहत रहेको गोकर्ण रिसोर्ट र त्यसले चर्चेको जग्गा यति समूहलाई थप २५ वर्षका लागि लिजमा दिने सरकारको निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।
सत्तारूढ नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टीनिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको सपथग्रहण कार्यक्रममा शनिबार बोल्दै यति समूहको लिज अवधि ५ वर्ष ८ महिना बाँकी छँदै २५ वर्षलाई म्याद थप गर्ने ‘विवादास्पद’ निर्णयको बचाउ गरेका हुन् ।
्उनले हचुवाका आधारमा नभई स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर लिज अवधि थपिएको दाबीसमेत गरे । ‘पहिला हचुवाको भरमा मूल्य राखेर कौडीको भाउमा लिजमा दिने प्रवृत्ति थियो । अहिले स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर मूल्य तोकी लिजको अवधि थपिएको हो, त्यो निर्णय कानुनसम्मत छ’ उनले दाबी थियो ।
समय बा“की छ“दै किन लिज अवधि थपियो भन्ने प्रश्न उठाइएको उल्लेख गर्दै उनले लिजमा लिने संस्थाले गोकर्ण रिसोर्टमा थप केही संरचना बनाउन समय लाग्ने भएकाले पहिले नै समय थपिएको बताए ।
‘अवधि बाँकी रहँदै कि सरकारले गोकर्ण रिसोर्ट नचलाउने भन्नुप¥यो, कि अरू केही गर्नुप¥यो । जब कसैले लिजमा लिएको छ । उसले थप प्रगति गर्छु भन्छ । आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ भने उसले म्याद थप नपाउने भन्ने हु“दैन’ उनले भने । उनले पहिले नै म्याद थप नगर्ने हो भने लिजमा लिने संस्थाले संरचना निर्माण गर्न नसक्ने दाबीसमेत गरे ।