Sunday, May 6, 2012

विभिन्न मन्त्रालय गाभ्दा र छुट्ट्याउँदा कामकारबाहीमा अन्यौल

दुई सचिव दायित्वविहीन भए
काठमाडौं, २४ वैसाख- सरकारले हतारमा दुई मन्त्रालय फुटाउने र दुइटा जोड्ने निर्णय गरेपछि नयाँ र जोडिएका मन्त्रालयका कर्मचारी वृत्तमा कसरी कामकारबाही गर्ने भन्ने अन्यौल उत्पन्न भएको छ । दुइटा जोडेर एउटा बनाइएको र एउटा फुटाएर तीन मन्त्रालयमा मिलाइएपछि दुई जना सचिव दायित्वविहीन भएका छन् ।
विज्ञान तथा प्रविधि र वातावरण मन्त्रालय गाभिएपछि विज्ञानका सचिव केशव भट्टराई र वातावरण सचिव कृष्ण ज्ञवालीमध्ये नयाँ मन्त्रालयको सचिव को हुने भन्ने अन्यौलसमेत उत्पन्न भएको छ ।
संघीय मामिला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयलाई फुटाएर तीनवटा मन्त्रालयमा जोडिएपछि त्यसका सचिव ताना गौतमसमेत मन्त्रालय र दायित्वविहीन भएका छन् । संघीय मामिलालाई स्थानीय विकासमा, संस्कृतिलाई पर्यटन मन्त्रालयमा र संविधानसभा तथा संसदीय व्यवस्थालाई कानुन मन्त्रालयमा गाभिएको छ ।
दुइटा नयाँ सहरी विकास र सहकारी तथा गरिबी निवारण मन्त्रालय स्थापना गरिएको छ । कृषि तथा सहकारी मन्त्रालयलाई फुटाएर सहकारी तथा गरिबी निवारण तथा भौतिक योजना र स्थानीय विकासलाई फुटाएर सहरी विकास मन्त्रालय बनाइएको छ । भौतिक योजनाबाट खानेपानी र सहरी विकास तथा भवन विभाग तथा स्थानीय विकास मन्त्रालयबाट ५८ वटा नगरपालिका र फोहोरमैला व्यवस्थापन केन्द्र छुट्ट्याएर सहरी विकास मन्त्रालय बनाइएको छ । सहरी विकाससँग सम्बन्धित सबै काम यो नयाँ मन्त्रालयको दायित्वभित्र ल्याइएको छ । यो मन्त्रालय ठूला मन्त्रालयमध्येमा पर्नेछ । भौतिक योजनाले हेर्दै आएको ग्रामीण विकास काम भने स्थानीय विकास मन्त्रालयलाई दिइएको जानकारी सरकारी अधिकारीले दिए । सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई गरीबी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई नियमन गर्ने दायित्वसमेत दिइएको जानकारी भौतिक योजना निर्माणमन्त्रीले जानकारी दिए ।
श्रम तथा यातायात मन्त्रालयबाट यातायात विभाग र मातहतका कार्यालय भौतिक योजना तथा निर्माण मन्त्रालय मातहत ल्याइएको छ । सडक निर्माण र यातायात साचालनको जिम्मा एउटै मन्त्रालयलाई दिन भौतिक योजना तथा निर्माणमा यातायात जोडिएको हो ।
सरकारको कार्यविभाजन हेरफेरले स्थानीय विकास र श्रम मन्त्रालयको दायित्व घटेको छ । यातायात भौतिक योजनामा लगिएपछि श्रम तथा रोजगार मन्त्रालय बनाइएको छ । नयाँ दुई मन्त्रालयलाई कहाँ राख्ने भन्ने समस्यासमेत उत्पन्न भएको छ । विघटन भएको
संघीय मामिला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयको सानो भवन ठूला मन्त्रालय अट्ने खालको छैन भने विज्ञान तथा प्रविधि र वातावरण मन्त्रालय जोडिए पनि भवन एउटै भएकाले दुई नयाँ मन्त्रालय राख्ने ठाउँको अभाव भएको हो ।

No comments:

Post a Comment