Saturday, November 21, 2015

१४ सचिवको सरुवा, गृहमा मलेगो, अर्थमा रेग्मी

प्रशासनिक सचिव राजनीतिक संयन्त्रको सदस्यसचिव 
काठमाडौं, ३ मंसिर– सरकारले गृह र अर्थसहितका महत्वपूर्ण मन्त्रालय र निकायका १४ जना सचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सचिवहरूलाई हालै संशोधित निजामती ऐन तथा नियमावलीअनुसार निजामती सेवामा बनाइएको क्लस्टर (समूह) मा मिलान हुने गरी सरुवा गरेको हो ।
मन्त्रिपरिषद स्रोतका अनुसार गृह सचिव सूर्य सिलवाललाई भूमिसुधार मन्त्रालय, अर्थसचिव सुमन शर्मालाई ऊर्जा मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङलाई जल तथा ऊर्जा आयोग, युवा तथा खेलकुद मन्त्रालयका दीपेन्द्रनाथ शर्मा र अतिरिक्त समूहका रहेका विजय मल्लिकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणगोपाल मलेगोलाई गृह, भूमिसुधारका लोकदर्शन रेग्मीलाई अर्थमा, वन तथा भूसंरक्षणका मधु रेग्मीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र ऊर्जाका राजेन्द्रकिशोर क्षेत्रीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । गृह र अर्थमा सचिवको जिम्मेवारी पाएका क्रमशः मलेगो र रेग्मी दुवै आ–आफ्ना मन्त्रालयका अनुभवी व्यक्ति हुन् ।
यसैगरी सचिवहरू शान्ति तथा पुनर्निर्माणका रमेशकुमार शर्मालाई महालेखा नियन्त्रणको कार्यालयमा, रक्षा मन्त्रालयका ईश्वरीप्रसाद पौडेललाई शान्ति तथा पुननिर्माण मन्त्रालय, अतिरिक्त समूहमा रहेका उदयचन्द्र ठाकुरलाई वन तथा भूसंरक्षणमा, राष्ट्रिय सूचना आयोगका लक्ष्मण मैनालीलाई युवा तथा खेलकुद मन्त्रालय, सुदूर पश्चिमका क्षेत्रीय प्रशासक शरदराज बिष्टलाई सूचना आयोगमा सारिएको छ । 
उपराष्ट्रपति कार्यालयकी निमित्त सचिव जीवनप्रभा लामालाई एमाओवादी अध्यक्ष संयोजक रहेको सत्तारूढ दलहरूको उच्चस्तरीय राजनीतिक समितिको सदस्यसचिवको जिम्मेवारी दिइएको छ । कामु सचिवबाट छ महिना अवधि पुगी सहसचिवमा झरेकी लामालाई सचिवसरहको सुविधा पाउने गरी समितिको सदस्यसचिव बनाइएको जानकारी मन्त्रिपरिषद स्रोतले दिएको छ । राजनीतिक संयन्त्रमा निष्पक्ष रहनुपर्ने सहसचिवलाई सदस्यसचिवको जिम्मेवारी दिनु कानुन र परम्पराविपरीत रहेको प्रशासनिक अधिकारीहरू बताउ“छन् । 

No comments:

Post a Comment