Thursday, April 4, 2013

माओवादी नेताको सुरक्षार्थ राखिएका हतियार नबुझाए कारबाही गरी जफत गरिने

मन्त्रिपरिषद बैठक
काठमाडौं, २२ चैत– सरकारले विस्तृत शान्ति सम्झौताअनुसार माओवादीले आफ्ना नेताको सुरक्षार्थ राखेका ३२ थान हतियार वैसाख मसान्तसम्म फिर्ता नगरे गैरकानुनी घोषणा गरी कारबाही गरी जफत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सेना समायोजन विशेष समितिको बुधबार बसेको बैठको सिफारिसअनुसार माओवादी नेताका सुरक्षाका लागि राखिएका र हालसम्म फिर्ता नगरिएका ३२ थान हतियार फिर्ता गर्न वैशाख मसान्तसम्मको म्याद दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
‘बुधबार सेना समायोजन विशेष समितिको बैठकको सिफारिसअनुसार मन्त्रिपरिषदले वैसाख मसान्तसम्म हतियार फिर्ता गर्न म्याद दिने निर्णय गरेको छ । हतियार फिर्ता गर्न म्याद दिई सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय भएको छ । उक्त अवधिभित्र सरकारलाई फिर्ता नबुझाएमा ती हतियारलाई गैरकानुनी घोषणा गरी प्रचलित कानुनबमोजिम हतियारधारीलाई कारबाही गरी जफत गर्ने निर्णय गरिएको छ’ पौडेलले भने ।
एकीकृत माओवादीले आफ्ना नेताको सुरक्षार्थ राखिएका सम्पूर्ण हतियार बुझाइसकेको दाबी गरेको छ । आफ्नो पार्टीबाट फुटेको नेकपा–माओवादीका नेताको सुरक्षार्थ राखिएका ३२ थान हतियारमात्र फिर्ता गर्न बा“की रहेको दाबी उसको छ । सरकारले माओवादीका नेताको सुरक्षार्थ राखिएका हतियार फिर्ता गर्न र लडाकु शिविरमा फर्काउन आग्रह गरेको थियो । सरकारको आग्रहअनुसार एकीकृत माओवादीका नेताले हतियार र लडाकु फिर्ता गरे पनि पछि फुटेर बनेको नेकपा–माओवादीका नेताले भने फिर्ता गरेका थिएनन् ।
तर, नेकपा–माओवादीले आफ्नो पार्टीसित द्वन्द्वकालका हतियार नरहेको दाबी गर्दै फिर्ता नगर्ने संकेत गरेको छ । ‘पार्टी नफुट्दै हामीसित सुरक्षार्थ रहेका हतियार सरकारलाई बुझाइसकेका छौं । हामीलाई लक्ष्यित गरी हतियार फिर्ता गर्ने कुरामा हामीलाई सरोकार छैन’ नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषाललले भनिन् ।
मन्त्रिपरिषद बैठकले शिविरमा रहेका तत्कालीन लडाकु र शिविर व्यवस्थापन कार्यालयमा रहेका सम्बन्धित इलेक्ट्रोनिक डाटा, सर्बर, बन्दोबस्तीका सामग्री, अभिलेखलगायतका सम्पूर्ण लिखतसमेत बुझाउन बा“की रहेकाले ती सबै सरकारलाई फिर्ता गर्न आग्रह गरेको छ ।
बैठकले लडाकु शिविर हस्तान्तरण हु“दासम्म तिर्नुपर्ने बा“की रहेको पानी, बिजुली, मर्मत, स्टेसनरीलगायतको तिर्न बा“की रकम शान्ति मन्त्रालयमार्फत् भुक्तानी गर्ने निर्णयसमेत गरेको छ ।
मन्त्रिपरिषदले माओवादी लडाकुको शिविर रहेको जग्गामध्ये उपयुक्त ठाउ“मा निकट भविष्यमै नेपाली सेनामा स्थापना हुन नया“ महानिर्देशनालय राख्ने र बा“की जग्गालाई कसरी उपयोग गर्ने विषयमा सिफारिस गर्न गृह, रक्षा, शिक्षा, शान्ति, कृषि र वन मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयका सचिवहरू रहेको एउटा समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन दिने जिम्मेवारी दिइएको छ ।
विभिन्न दाताले करिब आठ अर्ब सहयोग गर्ने
बैठकले विश्व जलवायु कोषबाट विश्व बैंकमार्फत् दिन लागेको १५ मिलियन अमेरिकी डलर ऋण र १८ मिलियन अमेरिकी डलर अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरी त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी दिएको छ । विश्व बैंकले कृषि तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्न चार अर्ब दुई करोड रुपैया“ सहायता दिने भएको छ । मन्त्रिपरिषदले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
मुद्रा कोषको सदस्यता शुल्क बुझाउने निर्णय
अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्यताबापत नेपालले थप १५६.९ मिलियन डलर बुझाउने निर्णय गरेको छ । कोषले उक्त रकम बुझाउन सरकारलाई ताकेता गर्दै आएको थियो । मन्त्री पौडेलका अनुसार सरकारले पहिलो चरणमा २१.४ मिलियन डलर नेपाल राष्ट्र बैंकमार्फत् तत्काल बुझाउने भएको छ । बा“की रकम क्रमशः बुझाउ“दै जाने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सरकारले यसअघि कोषमा सदस्यताबापत ५१.३ मिलियन डलर बुझाएको थियो । सदस्यता शुल्क १५६.९ मिलियन डलर बढाएपछि कोषमा नेपालको मताधिकार ०.०३३ बाट बढेर ०.०६१ पुग्नेछ ।
धुन्चेमा ट्राउट माछाको फार्म खोलिने
मन्त्रिपरिषदले रसुवाको धुन्चेमा रहेको कृषि फार्मको जग्गा ५० वर्षका लागि नेपाल कृषि अनुसन्धान परिषद्लाई भोगाधिकार दिने निर्णय गरेको छ । परिषदले उक्त स्थानमा रेन्बो ट्राउट माछाको अनुवांशिक स्रोतका बारेमा अनुसन्धान गर्नेछ ।
फ्रान्सेली दुताबासलाई जग्गा बिक्रीको अनुमति
काठमाडौंस्थित फ्रान्सेली दूतावासको नाममा विशालनगरमा रहेको १० हजार ६३ वर्ग मिटर जग्गामध्ये ४८३ वर्गमिटर जग्गा सडक विस्तारका लागि महानगरपालिकालाई हस्तान्तरण गर्ने र बा“की जग्गा बिक्री गर्नका लागि दूतावासलाई अनुमति दिने निर्णयसमेत बैठकले गरेको छ ।

Wednesday, April 3, 2013

वैदेशिक रोजगार विभागको महानिर्देशकमा केसी

काठमाडौं, २१ चैत– श्रम तथा रोजगार मन्त्रालयले सहसचिव विनोद केसीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । सरकारले विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई पर्यटन मन्त्रालयमा सरुवा गरेपछि रिक्त पदमा श्रमले सामान्य प्रशासन मन्त्रालयको सहमति लिई केसीलाई पठाएको हो ।
केसी यसअघि श्रम मन्त्रालयको वैदेशिक रोजगार तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्ध महाशाखा प्रमुख थिए । श्रम मन्त्रालयमा पदस्थापना भएर आएका धनबहादुर श्रेष्ठ र कृष्णहरि पुष्कर कर्णलाई महाशाखा तोकिन बा“की छ । श्रम मन्त्रालयमा वैदेशिक रोजगार तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्ध महाशाखा र सामाजिक कल्याण कोष सचिवालयमा सहसचिव पद रिक्त छ । श्रेष्ठ र कर्णलाई ती ठाउ“को जिम्मेवारी दिइने जानकारी श्रम मन्त्रालय स्रोतले दिएको छ ।


ऊर्जामन्त्री नै प्राधिकरणको अध्यक्ष

काठमाडौं, २१ चैत– ऊर्जामन्त्री उमाकान्त झाले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पद सम्हालेका छन् । मुख्यसचिव लीलामणि पौडेलले प्राधिकरणका अध्यक्षबाट राजिनामा दिएपछि उक्त पद विद्युत् प्राधिकरण ऐनअनुसार ऊर्जामन्त्री झाले सम्हालेका हुन् ।
विद्युत् प्राधिकरण ऐनमा ऊर्जामन्त्री या राज्यमन्त्री या मन्त्रिपरिषदले तोकेको व्यक्ति प्राधिकरणको अध्यक्ष हुने कानुनी व्यवस्था छ । राज्यमन्त्री नभएको, अध्यक्षले राजिनामा दिएको र मन्त्रिपरिषदले अर्को व्यक्ति नतोकेकाले ऊर्जामन्त्री झा कानुनी रूपमा स्वतः अध्यक्ष भएका हुन् ।
मन्त्री झाले सोमबार प्राधिकरण केन्द्रीय कार्यालयको स्थलगत निरीक्षण गरेका थिए । प्राधिकरणका अधिकारीहरूले झालाई ऊर्जामन्त्री एवं सञ्चालक समितिको अध्यक्षका रूपमा प्रस्तुत गरेका थिए । झाले प्राधिकरणका अधिकारीको भनाइको प्रतिवाद नगरी अध्यक्ष पद आफूले सम्हालेको संकेत दिएका थिए ।
‘ऊर्जामन्त्री झाले मन्त्रालयका अधिकारीहरूसित मन्त्रिपरिषदले नियुक्त गरेका अध्यक्षले राजिनामा दिएको, कानुनमा ऊर्जामन्त्री या राज्यमन्त्री वा मन्त्रिपरिषदले तोकेको व्यक्ति प्राधिकरणको अध्यक्ष हुने व्यवस्था रहेकाले राज्यमन्त्री पनि नभएको र मन्त्रिपरिषदले अर्को व्यक्ति नतोकेकाले आफू नै अध्यक्ष भएको बताएको’ जानकारीसमेत ऊर्जामन्त्रालयका एक सहसचिवले दिए ।
झाले समेत कानुनअनुसार आफू स्वतः प्राधिकरणको अध्यक्ष भएको बताए । ‘कानुनले नै ऊर्जामन्त्री अध्यक्ष हुने व्यवस्था गरेकाले म नै प्राधिकरणको अध्यक्ष हो’ उनले भने ।
तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टको पालामा मन्त्रीले अध्यक्ष पद त्यागी ऊर्जा सचिवलाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्न थालिएको थियो । तर, ऊर्जामन्त्रालयको समेत कार्यभार सम्हालेका निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा मन्त्रिरिषदले मुख्यसचिव पौडेललाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । पौडेलले पदबाट दिएको राजिनामा दिएपछि पुनः ऊर्जामन्त्री प्राधिकरणको अध्यक्ष भएको स्रोतले उल्लेख गरेको छ ।


विवादास्पद निर्णय फिर्ता गर

काठमाडौं, २१ चैत– विद्युत् प्राधिकरणको सञ्चालक समितिका तत्कालीन अध्यक्ष मुख्यसचिव लीलामणि पौडेलको अध्यक्षतामा बसेको अन्तिम बैठकले हतारमा थुप्रै विवादास्पद निर्णय गरेको छ । अन्तिम बैठकले गरेका निर्णयले मुलुकको ऊर्जा क्षेत्रमा विदेशी तथा स्वदेशी लगानीलाई निरुत्साहित पारेको छ । आमजनताले भोगिरहेको चरम लोडसेडिङ अन्त्य गर्नमात्र होइन ठूला आयोजना बनाएर भारतमा विद्युत् निर्यात गरी उससितको व्यापार घाटा घटाउन विदेशी तथा स्वदेशी लगानीकर्तालाई आकर्षित गर्न साहसिक कदम चाल्नुपर्नेमा उल्टो निरुत्साहित पार्ने प्राधिकरणको निर्णय आफैंमा दुर्भाग्यपूर्ण छ । अध्यक्षबाट राजिनामा दिने तयारीमा रहेका पौडेलको पालामा प्राधिकरणको हितमा भन्दै मुलुकको ऊर्जा क्षेत्रमा लगानी गर्न उत्सुक विदेशी तथा स्वदेशी प्रवद्र्धकलाई बिदा गर्ने र अरू पनि आउने वातावरण समाप्त पार्ने निर्णय गरेर अक्षम्य गल्ती भएको छ । प्राधिकरणको निर्णयले सबभन्दा बढी मारमा खुल्ला प्रतिस्पर्धाबाट ४५ करोड राजस्व तिरी छवटा आयोजना निर्माण गर्न २ वर्षअघि छनौट भएका प्रवद्र्धकहरूलाई परेको छ । ती प्रवद्र्धकलाई खुल्ला प्रतिस्पर्धा गर्दा नै सरकारले ४९ प्रतिशतसम्म विदेशी लगानी ल्याउन पाउने व्यवस्था गरेको थियो । विदेशी विनिमयको जोखिम प्राधिकरणले नलिने निर्णय गरेर लगानी जुटाई विद्युत् खरिद सम्झौता गर्ने तयारीमा रहेका र दुई अर्ब रुपैया“भन्दा बढी लगानी गरिसकेका ती प्रवद्र्धकलाई विदेशी लगानी खोज्न प्रतिबन्ध नै लागेको छ । भारतले प्रसारण लाइन निर्माणका लागि भारतीय एक्जिम बैंकबाट सहुलियतपूर्ण ऋण दिने अन्तिम तयारी गरे पनि प्राधिकरणले ती आयोजनासम्म प्रसारण लाइन निर्माणका लागि रकम अभाव देखाएर विद्युत् खरिद सम्झौता नगरिदिएर डेढ वर्षदेखि झुलाइरहेको छ । सरकारले प्रसारण लाइन निर्माण गरिदिन्छु भन्ने शर्तमा खुल्ला प्रतिस्पर्धाबाट ती प्रवद्र्धक छनौट भएका हुन् । प्राधिकरणले सरकारको नीतिगत निर्णयलाई लत्याएर चरम लोडसेडिङको मारमा रहेका आमजनतामाथि नै गम्भीर खेलबाड गर्न पुगेको छ ।
मन्त्रिपरिषदले विद्युत् आयोजनाहरू सस्तो निर्माण हुन सकून् भन्ने उद्धेश्यले विदेशी विनिमयको जोखिम प्राधिकरण लिनुपर्ने शर्तमा दाताबाट प्राप्त सहुलियतपूर्ण ऋण आयोजनाहरूलाई सोझै दिने नीतिगत निर्णय गरेको हो । सरकारले यसअघि दाताबाट प्राप्त सहुलितपूर्ण ऋणको विदेशी विनिमयको जोखिम आफैं लिई ८ प्रतिशत ब्याजमा प्राधिकरणलाई दिने गरेको थियो । प्राधिकरणलाई सहुलितयपूर्ण ऋण सोझै दिने निर्णय आफैंमा सकारात्मक थियो । तर, प्राधिकरणले सरकारीमात्र होइन पूर्ण, आधा या आंशिक विदेशी लगानी भएका स्वेदशी या विदेशी लगानीका आयोजनाको विदेशी विनिमयको जोखिमसमेत नलिने निर्णयले एकातिर सरकार आफैंले निर्माण गर्ने आयोजना मह“गा पर्नेछन् भने विदेशी लगानी पूर्ण रूपमा निरुत्साहित हुने खतरा बढेको छ । भोटेकोसी र खिम्तीलगायतका विदेशी लगानीका आयोजनामा विदेशी विनिमयको जोखिम लिनुपर्दा प्राधिकरण चरम घाटामा गएको उदाहरण दिंदै विदेशी विनिमयको जोखिम नलिने निर्णय गरिएको प्राधिकरणको दाबी छ । तर, पछिल्लो समयमा जति विदेशी लगानी ऊर्जा क्षेत्रमा भित्रिएको छ, तिनको बिजुलीको मूल्य खिम्ती र भोटेकोसी आयोजनाको जस्तो मह“गो छैन । त्यस कारण प्राधिकरणको यो निर्णय मुलुकको हितमा छैन । फेरि प्राधिकरणकोलाई मन्त्रिपरिषद्को निर्णयभन्दा बाहिर गएर निर्णय गर्ने अधिकारसमेत छैन ।
प्राधिकरणले भारतमा निर्यात गर्ने उद्धेश्य राखी विदेशी लगानीमा निर्माण हुन लागेका ठूला आयोजनाबाट उत्पादन हुने सुख्खायामको बिजुली मुलुकको आवश्यकताअनुसार खरिद गर्न पाउनुपर्ने निर्णयसमेत गरेको छ । सरकारले विश्वव्यापी प्रतिस्पर्धाबाट माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा प्रवद्र्धक छनौट गरेको हो । ती प्रवद्र्धकले आयोजनाबाट उत्पादित नेपाललाई निःशुल्क उपलब्ध गराउनेबाहेक बा“की पूरै बिजुली भारत निर्यात गर्न पाउने शर्तमा छनौट भएका हुन् । मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला भएको प्राधिकरणको यो निर्णय सस्तो लोकप्रियताका लागि भएको हो, जसले भारत निर्यात गर्ने उद्धेश्यले मुलुकमा भित्रिएका र भित्रिन लागेका विदेशी लगानीकर्तालाई निरुत्साहित पार्नेबाहेक अरू कार्य गर्ने छैन । सुख्खायाममा नेपालको मागलाई पूरा गरेर बचेको बिजुलीमात्र भारतमा निर्यात गर्न पाउने हो भने ती आयोजनाको वर्षायामको मात्र बिजुलीले उचित मूल्य पाउने छैन । उचित प्रतिफल नपाउने हो भने निर्यातमुखी आयोजना निर्माणमा विदेशी लगानीकर्ता आउने छैनन् ।
सञ्चालक समितिले अधिकार क्षेत्रबाहिर गएर ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिंदा अनिवार्य रूपमा प्राधिकरणको सहमति लिनुपर्ने निर्णय गरेको छ । विद्युत् विकास ऐनअनुसार ऊर्जामन्त्रालयलाई जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिने पूर्णाधिकार दिएको छ । कानुनको यो व्यवस्थाविपरीत सञ्चालक समितिले ऊर्जामन्त्रालयले लाइसेन्स दिंदा प्राधिकरणको सहमति लिनुपर्ने निर्णय गर्नु आफैंमा हास्यापद छ । प्राधिकरणले मन्त्रालयका काममा समेत प्रत्यक्ष हस्तक्षेप गर्न खोज्नु कुनै अर्थमा पनि जायज मान्न सकिन्न । प्राधिकरणमा मुख्यसचिव अध्यक्ष भएपछि विद्युत् चोरी कटौती नियन्त्रण, विभाग घटाउने, माथिल्लो त्रिशुली ३ ए को क्षमता वृद्धि गर्ने र मुलुकको अर्थतन्त्रले धान्न नसक्ने थर्मल प्लान्ट स्थापना गर्नेजस्तो निर्णय कार्यान्वयन नगरेर प्रशंसनीय काम भएका छन् । तर, पछिल्ला दुई बैठकबाट मुलुकमा दुरगामी असर पार्ने गम्भीर प्रकृतिका गलत निर्णय भएका छन् । जुन मुलुक र ऊर्जा क्षेत्रका लागि दुर्भाग्यपूण भएकाले प्राधिकरणको नया“ नेतृत्व र ऊर्जा मन्त्रालयले ती गलत निर्णय सच्याउन साहसिक कदम चाल्न ढिलाइ गर्नुहुन्न ।


विद्युत् प्राधिकरणद्वारा विदेशी लगानी निरुत्साहित पार्ने विवादास्पद निर्णय

ऊर्जा मन्त्रालयले आयोजनाको लाइसेन्स दिंदा प्राधिकरणको पूर्व स्वीकृति लिनुपर्ने
काठमाडौं, २१ चैत– विद्युत् प्राधिकरणको सञ्चालक समितिको तत्कालीन अध्यक्ष एवं मुख्यसचिव लीलामणि पौडेलको अध्यक्षतामा बसेको अन्तिम बैठकले ऊर्जा क्षेत्रको विकासमा विदेशी लगानीलाई निरुत्साहित पार्ने झन्डै आधा दर्जन विवादास्पद निर्णय गरेको छ ।
स्रोतका अनुसार बैठकले प्राधिकरणले विद्युत् खरिद गर्ने सरकारी तथा निजी क्षेत्रका जलविद्युत् आयोजनामा हुने विदेशी लगानीको फरेन एक्सचेन्ज रिस्क (विदेशी विनियम दरको जोखिम) प्राधिकरणले नलिने निर्णय गरेको छ । प्राधिकरणको निर्णयअनुसार सरकारी तथा निजी क्षेत्रको जलविद्युत् आयोजनामा हुने विदेशी लगानीको विदेशी विनिमयदरको जोखिम सबै सरकारले लिनुपर्नेछ ।
प्राधिकरणको विदेशी विनिमयको जोखिम नलिने निर्णयले चरम लोडसेडिङको समस्या भोगिरहेको मुलुकमा ऊर्जा क्षेत्रको विकासमा विदेशी लगानी प्रत्यक्ष निरुत्साहित हुने चिन्ता सरकारी अधिकारीले बताए ।
भोटेकोसी र खिम्तीलगायतका विदेशी लगानीका आयोजनामा विदेशी विनिमय दरको जोखिम लिनुपर्दा प्राधिकरण चरम घाटामा गएको उल्लेख गर्दै सञ्चालक समितिले अब आइन्दा पूरै, आधाभन्दा बढी या आंशिक विदेशी लगानी भएका निजी आयोजनाको विदेशी विनिमयको जोखिमसमेत नलिने निर्णय गरेको जानकारी एक अधिकारीले दिए । विदेशी लगानीका आयोजनाको अनुमति दिने हो भने तिनमा हुने विदेशी विनिमयको जोखिम सरकारले नै लिनुपर्ने निर्णयसमेत प्राधिकरणको छ । नया“ निर्णयअनुसार विदेशी लगानीबाट कुनै आयोजना बनेर प्राधिकरणले त्यसबाट उत्पादित बिजुली अमेरिकी डलर खरिद गर्नुपर्दा विदेशी विनिमय दरको जोखिम सरकारले बेहोर्नुपर्नेछ । विद्युत् खरिद सम्झौता गर्दा भन्दा पछि डलरको भाउ बढेमा बढेको जति रकमको जोखिम सरकारले बेहोर्नुपर्ने प्राधिकरणको निर्णय हो ।
मन्त्रिपरिषदले डेढ महिनाअघि सरकारी वा कम्पनी स्थापना गरी विद्युत् आयोजना निर्माण गर्दा विदेशी विनिमय दरको जोखिम प्राधिकरणले लिनुपर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार सरकारले जाइका, एडीबीलगायतका दाताबाट प्राप्त ऋण सहयोग विदेशी विनिमय दरको जोखिम प्राधिकरणले लिने गरी सोझै माथिल्लो सेती जलविद्युत् आयोजनालाई उपलब्ध गराएको छ । जोखिम प्राधिकरणले लिने शर्तमा सरकारले कुल सहयोगको एक प्रतिशतमात्र सेवा शुल्क लिई आफूले छुट्टै ब्याज नलिई सहुलियतपूर्ण ऋण सोझै माथिल्लो सेतीलाई उपलब्ध गराउने भएको छ । माथिल्लो सेतीले एडीबी र जाइकाबाट क्रमशः एक र डेढ प्रतिशत ब्याजमा ऋण सहयोग पाउनेछ ।
सरकारले यसअघि दाताबाट प्राप्त सहुलियतपूर्ण ऋण सहयोग ८ प्रतिशत ब्याज लिएर प्राधिकरणलाई ऋण दिने र विदेशी विनिमय दरको जोखिम आफैं लिने गथ्र्यो । सरकारले विदेशी विनिमय दर प्राधिकरणले लिने शर्तमा सहुलियतपूर्ण ऋण सहयोग सोझै आयोजनालाई उपलब्ध गराउने क्रम माथिल्लो सेतीबाट सुरु गर्न लागेको हो ।
तर, प्राधिकरण सञ्चालक समितिले मन्त्रिपरिषदको नीतिगत निर्णयविपरीत विदेशी विनिमय दरको जोखिम आफूले नलिई सरकारले लिनुपर्ने निर्णय गरेको हो । ‘विदेशी विनिमयको जोखिम प्राधिकरणले नलिने सञ्चालक समितिको निर्णयले मन्त्रिपरिषदले नीतिगत निर्णय ठूलो कि सरकारकै मातहतको प्राधिकरण ठूलो भन्ने प्रश्नसमेत उठेको छ, मन्त्रिपरिषदको निर्णय उल्ट्याउने अधिकार प्राधिकरणलाई छैन’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने ।
यो निर्णयबाट प्राधिकरणले विद्युत् खरिद गर्ने स्वदेशी र विदेशी लगानीकर्ताका संयुक्त लगानी या विदेशी लगानीमा निर्माण हुने आयोजनाको विदेशी विनिमयको जोखिम नलिने निर्णयले ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रत्यक्ष रूपमा प्रभावित हुने सरकारी अधिकारी बताउ“छन् ।
सञ्चालक समितिको चैत ६ को निर्णयपछि विदेशी विनिमयको जोखिम सरकार या प्राधिकरण कसले लिने भन्ने अन्यौल उत्पन्न हुने र त्यही कारण मुलुकको ऊर्जा क्षेत्रमा आउन लागेको विदेशी लगानीकर्ता फर्कने र नया“ लगानीसमेत नआउने चिन्ता ती अधिकारीको छ । सुपर सिक्सका रूपमा चिनिने ६ मध्ये लोअर सोलुमा विदेशीको लगानी ल्याउने तयारी छ, लोअर सोलु प्राधिकरणको पछिल्लो निर्णयले प्रभावित हुने पहिलो संयुक्त लगानीको आयोजना हुनेछ । लोअर सोलुमा ४९ प्रतिशत विदेशी लगानी भित्र्याउने तयारी प्रवद्र्धकको छ ।
सुपर सिक्समा सरकारले ४९ प्रतिशत विदेशी लगानी ल्याउन पाउने शर्तमा प्रतिस्पर्धा गराई ४५ करोड राजस्व उठाएर प्रवद्र्धक छनौट गरेको हो । सरकारकै नीतिविपरीत प्राधिकरणले विद्युत् खरिद सम्झौताको तयारी गरिरहेका सुपरसिक्सलाई प्रत्यक्ष प्रभावित हुने गरी विदेशी विनिमयको जोखिन नलिने निर्णय गरेको प्राधिकरणका अधिकारी बताउ“छन् ।
सञ्चालक समितिले भारतमा निर्यात गर्ने उद्धेश्य राखी विदेशी लगानीमा निर्माण हुन लागेका ठूला आयोजनाबाट उत्पादन हुने सुख्खायामको बिजुली मुलुकको आवश्यकताअनुसार खरिद गर्न पाउने निर्णयसमेत गरेको छ । सरकारले विश्वव्यापी माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा प्रवद्र्धक छनौट गरेको छ । ती प्रवद्र्धकले आयोजनाबाट उत्पादित नेपाललाई निःशुल्क उपलब्ध गराउनेबाहेक बा“की पूरै बिजुली निर्यात गर्न पाउने शर्तमा छनौट भएका हुन् । मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला भएको सञ्चालक समितिको यो निर्णय सस्तो लोकप्रियताका लागि भएको र यसले विदेशी लगानीकर्ता निरुत्साहित हुने चिन्ता सरकारी अधिकारी नै प्रकट गर्छन् ।
‘सुख्खायाममा नेपालको मागलाई पूरा गरेर बचेको बिजुलीमात्र भारतमा निर्यात गर्न पाउने हो भने ती आयोजनाको वर्षायामको बिजुलीमात्र कसरी बिक्री हुन सक्छन्, बिक्री भएछ भने पनि वर्षायामको बिजुलीको उचित मूल्य कसरी पाउन सक्तैनन् र आयोजनाबाट उचित प्रतिफल पाउन सक्तैनन् । यो निर्णयले निर्यातमुखी आयोजना निर्माणमा विदेशी लगानीकर्तालाई हतोत्साहित बनाउनेछ’ ती अधिकारीले भने । सञ्चालक समितिले भारतीय कम्पनीबाट निर्माण हुन लागेका माथिल्लो कर्णाली र अरुण तेस्रोलगायतका आयोजनाबाट उत्पादन हुने हिउ“दयामको बिजुली नेपाललाई माग भएको जतिको परिमाणमा खरिद गर्ने उद्धेश्यले यो निर्णय गरेको स्रोतले उल्लेख गरेको छ ।
समितिको बैठकले ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिंदा अनिवार्य रूपमा प्राधिकरणको सहमति लिनुपर्ने निर्णय गरेको छ । प्राधिकरणले ऊर्जा मन्त्रालयलाई पत्र पठाई विद्युत् आयोजनाको लाइसेन्स दिंदा प्राधिकरणको सहमति लिनुपर्ने व्यवस्थालाई कार्यान्वयन ल्याउन आग्रह गरेको छ ।
विद्युत् विकास ऐनअनुसार ऊर्जामन्त्रालयलाई जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिने पूर्णाधिकार दिएको छ । कानुनको यो व्यवस्थाविपरीत सञ्चालक समितिले ऊर्जालाई लाइसेन्स दिंदा प्राधिकरणको सहमति लिनुपर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रसारण लाइन नभएका ठाउ“मा जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिंदा प्रवद्र्धकहरूको लगानी डुब्ने र विद्युत् खरिद सम्झौता गर्नसमेत अप्ठ्यारो पर्ने तर्क गर्दै प्राधिकरणसित पूर्व सहमति लिनुपर्ने निर्णय गरेको जानकारी मन्त्रालयका अधिकारीले दिए । सञ्चालक समितिका सदस्य डम्बरबहादुर नेपालीले ऊर्जामन्त्रालयले प्रसारण लाइनको सम्भाव्यता भए÷नभएको हेरी भटाभट विद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स दिने र प्राधिकरणलाई विद्युत् खरिद सम्झौताका लागि दबाब दिंदा प्राधिकरणले धान्न नसक्ने स्थिति उत्पन्न भएको उल्लेख गर्दै ऊर्जा मन्त्रालयल लाइसेन्स दिंदा प्राधिकरणसित अनिवार्य रूपमा परामर्श लिनुपर्ने निर्णय गरिएको दाबी गरे ।
सञ्चालक समितिले सरकारले प्राधिकरणलाई भारतलाई बिजुली बेच्ने पावर ट्रेडिङ कम्पनीको समेत काम गर्न दिनुपर्ने निर्णय गरेको छ । निर्यातमुखी उद्धेश्यले निर्माणाधीन र भविष्यमा निर्माण हुने मझौला आयोजनाले भारतमा बिजुली निर्यात गर्न आफैं प्रसारण लाइन निर्माण गर्न नसक्ने उल्लेख गर्दै सञ्चालक समितिले भारतसित पावर ट्रेडिङको जिम्मा आफूलाई दिनुपर्ने निर्णय गरेको हो । सञ्चालक समितिले त्यस्ता आयोजनालाई लगानीको उचित प्रतिफलसहितको विद्युत्को मूल्य दिएर प्राधिकरणले खरिद गर्ने र ट्रेडिङ कम्पनीका रूपमा आफूले भारतमा बेच्न पाउनुपर्ने निर्णय गरी त्यसका लागि अनुमति दिन सरकारसमक्ष आग्रह गरेको जानकारी स्रोतले दिए ।




२८ सहसचिवको सरुवा, ४२ को पदस्थापना

काठमाडौं, २० चैत– सरकारले नया“ बढुवा भएकासहित ६० जना सहसचिवलाई विभिन्न मन्त्रालयमा पदस्थापना तथा सरुवा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २८ सहसचिवको सरुवा र ४२ जनाको पदस्थापना गर्ने निर्णय गरेको थियो । सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रिपरिषदको निर्णयअनुसार ती सहसचिवलाई पत्र दिई पदस्थापना र सरुवा भएको ठाउ“मा पठाएको छ । नया“ बढुवा भएका सहसचिवमध्ये झन्डै आधालाई गृहमन्त्रालयमा पदस्थापन गरिएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई पर्यटन मन्त्रालयमा, बा“केका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज पोखरेललाई अर्थमन्त्रालय, बाराका प्रजिअ कृष्णहरि पुष्कर कर्णलाई श्रम मन्त्रालयमा, महोत्तरीका प्रजिअ मधुसुदन बुर्लाकोटीलाई शान्ति मन्त्रालय, वन मन्त्रालयका एकनारायण अर्याललाई गृह, सार्वजनिक खरिद अनुगमन कार्यालयका मुकुन्द्र प्रकाश घिमिरेलाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।
वैदेशिक रोजगार विभागमा नया“ महानिर्देशक भने तोकिएको छैन । सरुवा र पदस्थापनाका क्रममा अर्थ मन्त्रालयमा चार जना नया“ लगिएको छ भने दुई सहसचिव बाहिरिएका छन् । गृहका तीन प्रजिअसहित चार जना बाहिरिएका छन्, झन्डै दुई दर्जन नया“ सहसचिव भित्रिएका छन् ।
सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले दिएको जानकारीअनुसार महालेखा नियन्त्रकको कार्यालयका सहसचिवद्वय सुरेश प्रधानलाई गरिबी निवारण मन्त्रालयमा, राजेन्द्र बज्राचार्यलाई लोकसेवा आयोगमा, सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका अनिलकुमार ठाकुरलाई गृहमा, भूमिसुधारका जितबहादुर थापा र गृहका चेतनाथ भट्टराईलाई उद्योग मन्त्रालय, गृहकै सुरेश अधिकारीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, सामान्य प्रशासन मन्त्रालयका वीरबहादुर राईलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाउन लागेका र विदेशमा अध्ययनरत केही सहसचिवलाई सामान्य प्रशासनको अतिरिक्त समूहमा सारिएको छ ।
हालै बढुवा भएका सहसचिवहरू केशवराव घिमिरेलाई गृह, मुकुन्दराज पन्थीलाई सामान्य,
उमाकान्त पराजुलीलाई सञ्चार, शंकरप्रसाद खरेललाई गृह, बालकृष्ण पन्थीलाई गृह, मोहनबहादुर चापागाईंलाई सामान्य प्रशासनको अतिरिक्त समूहमा, विनोदप्रकाश सिंहलाई वाणिज्य, गोपालकृष्ण खनाललाई सामान्य प्रशासनको अतिरिक्त समूहमा, कृष्णप्रसाद पोखरेललाई अर्थ, भवानीप्रसाद पराजुलीलाई सूचना आयोग, रोहितकुमार भट्टराईलाई भूमिसुधार, एकमणि नेपाललाई गृह, जीवनप्रसाद ओलीलाई गृह, दिलबहादुर घिमिरेलाई गृह, दुर्गाप्रसाद पोखरेललाई गृह, प्रेमनारायण शर्मालाई लोकसेवा आयोग, नरेशकुमार चापागाईंलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, सूर्यकान्त पन्थीलाई रक्षा, विश्वनाथ शर्मा ढकाललाई रक्षा, डिल्लीप्रसाद शिवाकोटीलाई अर्थ, जीवराज कोइरालालाई वाणिज्य मन्त्रालय, गणेशप्रसाद ज्ञवालीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएको छ ।
त्यसैगरी नया“ सहसचिवहरू परशुराम अर्याललाई गृह, चिरञ्जीवी भण्डारीलाई नेपाल ट्रष्टको कार्यालय, दिवाकर बा“स्तोलालाई लोकसेवा आयोग, लक्ष्मीशरण घिमिरेलाई शान्ति, रामाधीन यादवलाई गृह, कपिल डंगोललाई भूमिसुधार, धनबहादुर श्रेष्ठलाई श्रम, किरण शर्मालाई ऊर्जा, डिल्लीप्रसाद शर्मालाई शिक्षा, रामेश्वर दंगाललाई गृह, राजकुमार श्रेष्ठलाई गृह, हरिप्रसाद मैनालीलाई गृह, दीपक काफ्लेलाई गृह, डिल्ली घिमिरेलाई गृह, राधिका अर्याललाई विज्ञान, नारायणप्रसाद दवाडीलाई लोकसेवा आयोग, मुकुन्द निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा, घनश्याम उपाध्यायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र रविलाल पन्तलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।

चार निजामती कर्मचारी संगठनको आन्दोलन स्थगित

काठमाडौं, २० चैत– अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको आग्रहमा आन्दोलनरत चार निजामती कर्मचारी संगठनले आइतबारदेखि एक साताका लागि विरोध कार्यक्रम स्थगित गरेका छन् ।
रेग्मीले केही निर्वाचनसम्बन्धी ऐनस“गै निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐनलाई समेत संशोधन गर्न अध्यादेश ल्याउने आश्वासन दिएपछि ती संगठनले जारी विरोधका कार्यक्रम एक साताका लागि स्थगित गरेका हुन् ।
रेग्मीले आइतबार बिहान चार कर्मचारी संगठनका दुई/दुई जना प्रतिनिधिसित सामान्य प्रशासनमन्त्री मन्त्री माधव पौडेल, सचिव दुर्गानिधि शर्मा, मुख्यसचिव माधव पौडेलको उपस्थितिमा वार्ता गरी सरकार संविधानसभा चुनाव गराउने अभियानमा रहेको उल्लख गर्दै आन्दोलन स्थगित गरेर सहयोग गर्न आह्वान गरेका थिए ।
निजामती सेवामा स्वतः बढुवा भएका १३ हजार कर्मचारीलाई पदोन्नति भएकै पदमा समायोजन गर्न तथा स्वास्थ्य सेवा ऐनलाई समावेशी बनाउनका लागि दुई अध्यादेश जारी गर्न माग गर्दै राष्ट्रिय निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, निजामती कर्मचारी संगठन र मधेसी कर्मचारी मञ्च विरोधमा उत्रिएका थिए । ती संगठनले दिनको एक घन्टाका दरले काम बन्दको क्रमलाई बढाउ“दै पूरै दिन काम ठप्पसम्मको कार्यक्रम अघि सारेका थिए ।
चार संगठनसित बिहान भएको वार्तापछि सरकारका तर्फबाट सामान्य प्रशासन सचिव दुर्गानिधि शर्माले मन्त्रालयमा पत्रकार सम्मेलन गरी निजामती कर्मचारीलाई आन्दोलन स्थगित गर्न औपचारिक आह्वान गरेका थिए । चार संगठनले सरकारको आह्वानको लगत्तै संयुक्त विज्ञप्ति जारी एक साताका लागि आन्दोलन स्थगित गरेका हुन् । एक सातामा आफूहरूको मागबमोजिम अध्यादेश जारी नभएमा पुनः आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत चार संगठनले दिएका छन् ।