Sunday, February 5, 2017

सत्य निरुपण र बेपत्ता आयोगको म्याद सकिंदै

काठमाडौं (कास)– सशस्त्र द्वन्द्वकालीन मानव अधिकार उल्लंघनका मुद्दाको निरुपण गरी पीडकलाई कारबाही र पीडितलाई न्याय दिलाउन सरकारद्वारा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको दुई वर्षे म्याद बिहीबार सकिंदै छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले सर्वोच्च अदालतका पूर्व न्यायाधीश लोकेन्द्र मल्लिकको अध्यक्षतामा गठित बेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप्न मन्त्रिपरिषदमा प्रस्ताव लगिसकेको छ । 

‘अड्को फुकाउन प्रधानमन्त्रीले आँट गर्नुपर्छ’

संविधानसभाबाट जारी संविधानको सफल कार्यान्वयनका लागि आगामी वर्ष माघ ७ भित्र स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गराइसक्नुपर्छ । तर, माघ ७ आउन ११ महिना मात्र बाँकी रहँदा स्थानीय तहको चुनाव गराउने वातावरणसमेत बनेको छैन । सरकारले जेठ १५ भित्र स्थानीय तहको चुनाव गराउने भन्दै आए पनि दलहरुबीच सहमतिको वातावरण निर्माण गर्न सकिरहेको छैन । सरकार मधेस केन्द्रित दलहरुको संविधानको संशोधनबिना चुनाव बहिष्कार गर्ने र एमालेसहित प्रतिपक्षी दलहरुको संविधान संशोधन हुनै नदिने अडानको चेपुवामा परेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेससहित सबै ठूला दलको सत्ता स्वार्थले चुनावको वातावरण बन्न नसकेको बताउँछन् । उनी माघ ७ भित्र तीनै तहको चुनाव हुन सकेन भने संविधानसभाबाट जारी संविधान मात्र होइन, लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशिताजस्ता उपलब्धि खतरामा पर्ने चिन्ता व्यक्त गर्छन् । यी उपलब्धिलाई संस्थागत गर्न पनि माघ ७ भित्र तीनवटै चुनाव गराउनुबाहेकको विकल्प नरहेको पौडेलको निष्कर्ष छ । त्यो कसरी गर्न सकिन्छ भन्नेबारे नेता पौडेलसित बलराम बानियाँ र कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :

आचार्य एक वर्षपछि सार्वजनिक कार्यक्रममा

काठमाडौं, २३ माघ– कांग्रेस केन्द्रीय सदस्य एवं सांसद नरहरि आचार्य स्वास्थ्यमा सुधार आएपछि सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् । उनी बुधबार संसदको बैठकमा सहभागी भएका थिए । त्यसअघि उनी पहिलोपटक मंगलबार सहीद गंगालाल हृदय रोग केन्द्रमा आयोजित कार्यक्रममा सहभागि भएका थिए । स्वास्थ्य उपचारको एक बर्षपछि आचार्यले पहिलोपटक विहीबार कान्तिपुरको ‘टफ टक’ कार्यक्रममा अन्र्तबार्ता दिएका थिए ।  
गत वर्ष माघ २६ मा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जलि दिने क्रममा आचार्यलाई मष्तिकघात भएको थियो । उनको सहीद गंगालाल र न्यूरो अस्पतालमा उपचार गराइएको थियो । स्वास्थ्यमा धेरै सुधार आएपनि आचार्य पूर्वावस्थामै भने फर्कीसकेका छैनन् ।

भूकम्पका कारण जोखिमयुक्त बस्ती सार्न समिति गठन

काठमाडौं, २३ माघ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले जोखिम बढाएका विभिन्न जिल्लाका बस्ती स्थानान्तरण गर्न समिति गठन गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा. डा गोविन्दराज पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने सम्बन्धमा प्रतिवेदन तयार पार्न कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरेको हो । 
शर्माको संयोजकत्वमा गठित समितिमा प्राधिकरणका विभागीय प्रमुख, सहरी विकास, भूमिसुधार तथा व्यवस्था र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित ९ सदस्य छन् । समिति गठनपछि भूकम्प गएको २२ महिनापछि जोखिममा परेका बस्ती सार्ने प्रक्रिया सुरु हुने भएको छ । समितिलाई एक साताभित्र बस्ती स्थानान्तरणसम्बन्धी प्रतिवेदन पेस गर्ने समय तोकिएको छ । 

तीन स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति सिफारिस

काठमाडौं, २३ माघ– तीन स्वास्थ्य प्रतिष्ठानमा रिक्त उपकुलपति छनोट गर्न गठित सर्च कमिटीले प्रत्येक प्रतिष्ठानका लागि तीन÷तीन जनाको नाम सिफारिस गरेको छ । कमिटीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा भरत यादव, डा गोपी अर्याल र डा रूपा सिंह, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा. बुद्धिबहादुर थापा, डा. निलाम्बर झा र डा डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा अमिरबाबु श्रेष्ठ, डा गेहनाथ बराल र डा राजेन्द्र वाग्लेको नाम सिफारिस गरेको छ ।
उपकुलपतिका लागि तीन÷तीन जना नाम सिफारिस गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उपे्रती र योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य रहेको सर्च कमिटी गठन गरिएको थियो । 

दुई सचिव बढुवा

काठमाडौं, २३ माघ– सरकारले दुई वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बढुवा समितिको सिफारिसमा भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानालाई सचिवमा पदोन्नति गरेको छ । मन्त्रिपरिषदले उद्योग मन्त्रालयकी सहसचिव यामकुमार खतिवडालाई कायममुकायम सचिवमा बढुवा गरेको छ । 
खतिवडासमेत लगातार दुईपटक सचिव बढुवाको सिफारिसमा परेकी थिइन् । ६५ जना विशिष्ट श्रेणी (सचिव) मा खतिवडा एक्ली महिला हुन् । ढुंगानालाई क्षेत्रीय प्रशासन कार्यालय, दिपायल र खतिवडालाई क्षेत्रीय प्रशासन कार्यालय पोखराको क्षेत्रीय प्रशासकमा पदस्थापन गरिएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले दिए ।

मोबाइलबाटै विद्युत महसुल तिर्ने व्यवस्था गर्न निर्देशन

काठमाडौं, २३ माघ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ऊर्जा मन्त्रालयमार्फत् विद्युत प्राधिकरणलाई मोबाइल र बैंकबाट बिजुलीको महसुल तिर्ने सहज ब्यवस्था गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तर्फबाट मुख्यसचिव सोमलाल सुवेदीले उर्जासचिव अनुपकुमार उपाध्यायलाई बिहीबार पत्र लेखी दुरदराजका नागरिकले विलुलीको महसुल तिर्न ठूलो सास्ती खेपिरहेकाले त्यसलाई सम्बोधन हुने गरी मोबाइलबाट बुझाउन सकिनेलगायतका वैकल्पिक सहज व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयले ल्याएएको कार्ययोजनामा घुम्ती महशुल संकलन केन्द्र राख्ने र थप महसुल केन्द्र खोल्ने उल्लेख भए पनि त्यसअनुरूपको काम नभएको भन्दै वैकल्पिक व्यवस्था गर्न ध्यानाकर्षण गराएको हो । पत्रको बोधार्थ प्राधिकरणका कार्यकारी निर्देश्क कुलमान घिसिङलाई समेत दिइएको छ ।