Friday, February 1, 2019

भारतले यस वर्ष ११ अर्ब २० करोड सहयोग गर्ने

काठमाडौं, १८ माघ– भारतले नेपाललाई सन् २०१९÷२० मा ११ अर्ब २० करोड रुपैया“ (७ अर्ब भारू) अनुदान सहयोग दिने भएको छ । भारतीय वित्तमन्त्री पियुष गोयलले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०१९÷२० को युनियन बजेटमा नेपाललाई ७ अर्ब भारू सहयोग गर्ने उल्लेख छ ।
बजेटको विदेशी मुलुकलाई दिइने ऋण तथा अनुदानको सूचीमा सहयोग रकम उल्लेख छ ।
भारतले यस वर्ष पनि अघिल्लो वर्ष बराबर नै सहयोग दिन लागेको हो । भारतले दक्षिण एसियाली मुलुकमा सबभन्दा बढी सहयोग भुटानलाई दिने भएको छ । यस वर्ष भारतले भुटानलाई २१ अर्ब १५ करोड भारू सहयोग गर्ने भएको छ । भारतले नेपाललाई हरेक वर्ष बजेटरी सहयोग दिंदै आएको छ । सरकारले बजेटरी सहयोग प्रशासनिकसहित जुनसुकै शीर्षकमा समेत खर्च गर्न सकिन्छ ।

राजदूत शेर्पाद्वारा राजिनामा

‘ममाथिका आरोप मिथ्या’
काठमाडौं, १८ माघ– मानव तस्करीको अभियोग लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् ।  शेर्पामाथि मानव तस्करीको अभियोग लागेपछि परराष्ट्र मन्त्रालयले काठमाडौं झिकाएर उनीमाथि छानबिन गरेको थियो ।
छानबिन प्रतिवेदनपछि सरकारले शेर्पालाई अस्ट्रेलियामा गई बिदाइ भएर आउन निर्देशन दिएको थियो ।  अस्ट्रेलियाबाट फर्कनासाथ उनले राजिनामापत्र बुझाएकी हुन् । शेर्पालाई आफ्नै सवारी चालक वाङु शेर्पाले आफूलाई अस्ट्रेलिया लैजाँदा पैसा असुलेको र आफ्नी श्रीमतीलाई सहयोगीका रूपमा अस्ट्रेलिया ल्याउन मोटो रकम मागेकोलगायतका आरोप लगाएका थिए । राजिनामापछि उनले शुक्रबार वक्तव्य नै जारी गरी आफूमाथि लागेको अभियोग मिथ्या भएको दाबी गरेकी छन् । उनले वक्तव्यमा आफ्नो जीवनको सुरुवात मानव तस्करीविरुद्धको अभियानबाट भएको दाबी गरेकी छन् ।

पूर्व युवराज पारस डिस्चार्ज

काठमाडौं, १८ माघ– पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेसनल हस्पिटलबाट शुक्रबार डिस्चार्ज भएका छन् । तेस्रोपटक हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना भएका शाहलाई लिन बहिनी प्रेरणासहित आफन्तहरू अस्पताल आएका थिए । उनी  निर्मल निवास फर्केका छन् ।
उनको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनी सामान्य खानपिन र हिडडुल गर्न सक्षम भए पनि नियमित रूपमा औषधि सेवन गर्नुपर्ने छ । अस्पतालले उनलाई एक सातापछि फ्लो अपका लागि बोलाएको छ । उनलाई १० वर्षको अवधिमा तीनपटक हृदयाघात भएको हो ।

दुई राप्रपाबीच आज एकता

काठमाडौं, १७ माघ– पशुपतिसमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई राप्रपाबीच शुक्रबार एकताको घोषणा हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच बिहीबार एकीकरणको आधारपत्रमा हस्ताक्षर भएस“गै एकताको टुंगो लागेको हो । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने सहमति बनेको छ । चुनाव चिह्न ’हलो’ हुने भएको छ ।
पार्टी एकता घोषणाका लागि शुक्रबार दिउ“सो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम तय गरिएको छ । एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने, महाधिवेशन नहुञ्जेलसम्मका लागि समान हैसियतमा दुई अध्यक्ष रहने आधारपत्रमा उल्लेख छ ।
मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यले एकीकरण गर्न लागिएको नेताहरूले बताएका छन् । 

नेता नेपाल लाओस प्रस्थान

काठमाडौं, १७ माघ– सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार लाओस प्रस्थान गरेका छन् । उनी लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय टोलीको नेतृत्व गर्दै बुधबार राति लाओस प्रस्थान गरेका छन् ।
टोलीमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्य जयन्ती राई, बिना श्रेष्ठ, विष्णु रिजाल र अलि अख्तर छन् ।
भ्रमणका क्रममा नेकपा र रिभोलुसनरी पार्टी तथा नेपाल र लाओसबीच सम्बन्ध सुधार गर्ने विषयमा छलफल हुने जानकारी उनको स्वकीय सचिवालयले दिएको छ । उनी माघ २२ मा स्वदेश फर्कनेछन् ।

कर्मचारी नेता ५ लाख घुसहित पक्राउ

काठमाडौंं, १७ माघ– सत्तारूढ नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनका नेता भोलानाथ चालिसे बिहीबार ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 
अख्तियारले जिल्ला अदालत काठमाडौंमा कार्यरत नायव सुब्बा चालिसेलाई सवारी ज्यान मुद्दा मिलाइदिने आश्वासन दिएर सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंको भवन परिसर बबरमहलबाट पक्राउ परेका चालिसेलाई हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । उनी नेपाल निजामती कर्मचारी संगठन काठमाडौंका उपाध्यक्ष हुन् । उनी ३ वर्षदेखि काठमाडौं जिल्ला अदालतमा कार्यरत थिए । उच्च अदालत पाटनमा सरुवा भए पनि सत्तारूढ दलको दबाबमा उनी अटेर गरी जिल्ला अदालतमै बसिरहेका थिए ।

२० हजार डलरसहित इजरायली पक्राउ

काठमाडौं, १७ माघ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९ हजार ७ सय अमेरिकी डलरसहित एक जना इजरायलीलाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इजरायली नागरिक राहदानी नं. २१७४०५३८ बहाक ३१ वर्षीय सही वेन मोहा छन् । काठमाडौंबाट थाई लायन एयरको उडानबाट बैंकक जान लागेका इजरायली नागरिकको कम्मरको मनी पर्सबाट उक्त परिमाणमा डलर भेटिएको हो ।
एक्स रे मेसिनमा चेक गर्ने क्रममा अवैध डलर भेटिएको जानकारी विमानस्थल सुरक्षा कार्यालयले दिएको छ । विमानस्थल सुरक्षा कार्यालयले बिहीबार नै इजरायली नागरिकमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागलाई बुझाएको छ ।