Sunday, June 2, 2019

उपराष्ट्रपति पुन स्वदेश फिर्ता

काठमाडौं, १८ जेठ– उपराष्ट्रपति नन्दबहादुर पुन अस्ट्रियाको ८ दिने भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्केका छन् । उनी अस्ट्रियाको भियनामा आयोजित जलवायुसम्बन्धी आर–२० अस्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी भई फर्केका हुन् ।
पुनले भियनामा रह“दा अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान दर बेलेनसित भेटवार्ता गरेका थिए ।
भेटवार्ताका क्रममा उनले युरोपियन युनियनले नेपाल वायु सेवा निगमको युरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । जेठ १४ गते भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अस्ट्रियन विश्व शिखर सम्मेलनको उच्चतम सत्रमा बोल्दै उपराष्ट्रपति पुनले जलवायु परिवर्तनको विश्वव्यापी प्रभावबाट नेपालले भोगिरहेको समस्या र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि नेपालले गरिरहेको पहलका बारेमा विश्व समुदायलाई जानकारी गराएका थिए ।

वडा सदस्य घुससहित पक्राउ, फरेस्टरविरुद्ध मुद्दा

काठमाडौं, १८ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय (यादव) लाई घुस रकमसहित पक्राउ गरेको छ ।
गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराइदिन सेवाग्राहीसँग ३६ हजार रुपैया“ घुससहित वडा सदस्य राय शुक्रबार पक्राउ परेको अख्तियारले जनाएको छ । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
अख्तियारले सव–डिभिजन वन कार्यालय, चौरजहारी, रुकुम (पश्चिम) का फरेस्टर महेन्द्र बीसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बीसीले कु–काठ कटान आदेशको काममा सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण

छोरीले बाबुलाई दिइन् कलेजो
अब नियमित प्रत्यारोपण गर्न सकिनेछ : अस्पताल
काठमाडौं, १८ जेठ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलोपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन एवं प्राध्यापक डा. रमेशसिंह भण्डारीको टिमले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो ।
शुक्रबार बिहान ८ बजे सुरु गरिएको प्रत्यारोपण १६ घण्टापछि शनिबार बिहान १२ बजे सकिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि ५८ वर्षीय बाबुलाई ३३ वर्षीय छोरीले कलेजो दिएकी थिइन् ।
शल्यक्रियामा डाक्टर नर्स र स्वास्थ्यकर्मीसहितको ५० जनाको टोली र सर्जरीमा डा. भण्डरीको नेतृत्वमा १२ चिकित्सक सहभागी थिए । यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भए पनि शिक्षण अस्पतालमा पहिलोपटक भएको हो । भक्तपुरमा कलेजो प्रत्यारोपण निरन्तर छैन ।

अब दाहाल प्रधानमन्त्री हुनु हुन्छ : गजुरेल

काठमाडौं, १८ जेठ– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद हरिबोल गजुरेलले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आलोपालो पार्टी र सरकार चलाउने कुरा पुरानो सहमति भएको स्पष्ट पारेका छन् ।
‘यो कुरा त पहिलेदेखि नै मिडियामा आइरहेकै कुरा हो । उहा“हरू दुवैले मिलेर नै पार्टी र सरकार चलाउनु हुन्छ । आलोपालोमा सहमति भइसकेको छ’ राजधानीमा शनिबार आयोजित कार्यक्रममा दाहाल निकट नेता गजुरेलले भने । उनले आलोपालोको सहमतिअनुसार अब दाहाल प्रधानमन्त्री बन्ने बताए ।
दुई पार्टीबीच एकता गराउन दुवै अध्यक्षको अहम् भूमिका रहेको उल्लेख गर्दै उनले भने– ‘अब पार्टीभित्र कार्यविभाजन पनि छिट्टै टुंगो लाग्छ, हामीलाई दुवै अध्यक्षमाथि विश्वास छ ।’
उनले मुलुकको कम्युनिस्ट आन्दोलनलाई संकटबाट जोगाउनका लागि समेत एकता महत्वपूर्ण रहेको बताए । उनले मुलुकको राजनीतिमा अविश्वास उत्पन्न हुन नदिन नेपाली नेताहरूले अब बोल्ने तरिका बदल्नुपर्ने बताए । ‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ । मुलुकको विकास र समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य हुनु पर्छ’ उनको भनाइ थियो ।

Saturday, June 1, 2019

अब इदको दिन सार्वजनिक बिदा

काठमाडौं, १५ जेठ– सरकारले मुस्लिम धर्मावलम्बीहरूको चाड इद उल फित्रका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मुस्लिम समुदायको मागबमोजिम इद उल फित्रका दिन सार्वजनिक दिन निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिए ।
इद उल फित्रका दिन सार्वजनिक बिदा कटौती गरेकामा मुस्लिम समुदायले विरोध गर्दै आएका थिए । मुस्लिम समुदायले सातै प्रदेशका मुख्यमन्त्रीलाई इदका दिन सार्वजनिक बिदाको व्यवस्थाका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाएका थिए । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नै इद उल फित्रका दिन सार्वजनिक बिदा कटौती गरी सम्बन्धित समुदायलाई मात्र बिदा दिने परम्परा सुरु गरेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार अब इदका दिन मुलुकभर सार्वजनिक बिदा हुनेछ ।

कर्मचारीको कसको तलब कति पुग्यो ?

काठमाडौं, १५ जेठ– सरकारले राष्ट्रसेवक कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत सरकारले करिब साढे ५ लाख हाराहारी संख्यामा रहेका कर्मचारीको तलब साउन १ देखि लागू हुने गरी बढाएको हो । कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको छ ।
झन्डै साढे दुई लाख हाराहारी रहेका सेवानिवृत्त राष्ट्रसेवकहरूको पेन्सनसमेत वृद्धि भएको छ । पूर्वराष्ट्रसेवकहरूको पेन्सनमा जुन पदबाट सेवानिवृत्त भएको हो, त्यही पदको बहालवाला कर्मचारीको बढेको तलबको ६६ प्रतिशतका दरले वृद्धि हुनेछ ।
सबभन्दा तल्लो तहको कर्मचारी कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० बाट ३ हजार २ सय ४६ बढेर १९ हजार ४ सय ७६ रुपैया“ पुगेको छ । सबभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ५५ हजार २ सयबाट ९ हजार ९ सय ३६ बढेर ६५ हजार १ सय ३५ रुपैया“ पुगेको छ । खरिदारको तलब २२ हजार १ सय ७० बाट ४ हजार ४ सय ३४ बढेर २६ हजार ६ सय ४ रुपैया“ पुगेको छ ।

१० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १५ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा भन्सार कार्यालयका अधिकृत मानप्रसाद विकसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिलेमतोमा एउटै प्रज्ञापनपत्र तथा एउटै राजस्व बुझाएको बैंक रसिद प्रयोग गरी दुई अलगअलग मालवाहक ट्रक भन्सार कार्यालयबाट जा“चपास गराई ५३ लाख ९४ हजार रुपैयाँ सरकारलाई हानिनोक्सानी पु¥याएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा अधिकृतसहित भन्सार कार्यालयका खरिदार अतुलकुमार शर्मा, नासुद्वय शिशिरविक्रम शाह र रामचन्द्र भट्ट, भन्सार एजेन्ट जगतराज दाहाल र मालसामान धनी राजनप्रसाद तिमल्सिना छन् । अख्तियारले यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, वीरगन्ज, पर्साका नासु बद्रीप्रसाद दाहालसहित तीन जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनले दाहाल, लेखापढी व्यवसायी रोशनकुमार रौनियार र सुनीलकुमार यादवले ३१ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।