Wednesday, September 28, 2016

प्रभावशाली मन्त्रीहरूको स्वार्थमा ४४ सहसचिवको सरुवा

काठमाडौं, १२ असोज– अनुभव र कार्यदक्षताका आधारमा भन्दा प्रभावशाली मन्त्रीहरूको स्वार्थमा सरकारले विभिन्न मन्त्रालय र निकायका ४४ सहसचिवको सरुवा गरेको छ । प्रभावशाली मन्त्रीहरूले पछिल्लो मन्त्रिपरिषदबाट निर्णय गराई पार्टी निकट र आफ्नो स्वार्थमा काम गर्ने सहसचिवहरूलाई महत्वपूर्ण मन्त्रालयमा ल्याएका छन् भने आफ्नो स्वार्थमा काम गर्न नमान्ने सहसचिवहरूलाई खासै काम नहुने निकायमा सरुवा गरिदिएका छन् । अनुभव र दक्षताका आधारमा सरुवा पाएका सहसचिव अपवादमात्र रहेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको दुई महिना पनि नपुग्दै मन्त्रीहरूको स्वार्थमा सबैजसो मन्त्रालय र निकायका सचिवहरूको सरुवा गरिसकेको सरकारले दोस्रो चरणमा ठूलो मात्रामा सहसचिवहरू चलाएको हो । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रालयबाट हरिशरण पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा र उत्तमनारायण भट्टराईलाई पर्यटन मन्त्रालयमा सारिएको छ ।

प्रधानमन्त्रीद्वारा महानिरीक्षकको गाडी ‘कब्जा’

काठमाडौं, १२ असोज– प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन् । दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढै आएको ‘ल्यान्ड क्रुजर अमाजन’ जिप झिकाएर चढ्न थालेका हुन् ।
यो अमेरिकी दुतावासले प्रहरी महानिरीक्षकको सुरक्षाका लागि निःशुल्क उपहारमा दिएको गाडी हो, त्यतिबेला महानिरीक्षक श्यामभक्त थापा थिए । प्रधानमन्त्री दाहालले आफ्नो ‘ल्यान्ड क्रुजर अमाजन’ लगेर चढेपछि महानिरीक्षक अर्यालले बुलेट प्रुफरहित सामान्य ल्यान्ड क्रुजर गाडी चढ्न थालेका छन् ।

दसैंमा दैनिक २ घन्टामात्र लोडसेडिङ

काठमाडौं, १२ असोज– विद्युत प्राधिकरणले दसैंमा दैनिक ४ घन्टा लोडसेडिङ घटाउने भएको छ । फूलपातीदेखि पूर्णिमासम्म दैनिक २ घन्टामात्र लोडसेडिङ हुने जानकारी प्राधिकरण स्रोतले दिएको छ ।
हाल प्राधिकरणले दैनिक ६ घन्टा लोडसेडिङ गर्दै आएको छ । दसैं बिदामा उद्योगधन्दा तथा सरकारी कार्यालयहरूसमेत बन्द हुने भई विद्युत खपत कम हुने भएकाले दैनिक ४ घन्टासम्म लोडसेडिङ घटाइने जानकारी प्राधिकरणका एक अधिकारीले दिए । उद्योगधन्दाले मात्र ३ सय १५ मेगावाट विद्युत खपत गर्छन् ।

हाल मुलुकमा विद्युतको माग १३ सय मेगावाट छ । मुलुकमा विद्युत उत्पादन ७ सय २० मेगावाट (हिउ“दयाममा मात्र विद्युत उत्पादन गरिने ६० मेगावाटको कुलेखानी पहिलो, ३२ मेगावाटको कुलेखानी दोस्रोबाहेक) को हाराहारीमा छ भने प्राधिकरणले भारतबाट ३ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ । दसैंको बेला प्राधिकरणले भारतबाट बिजुलीको आयातसमेत घटाउने भएको छ ।

Friday, September 23, 2016

सातै प्रदेशमा उच्च सरकारी वकिलको कार्यालय

काठमाडौं, ७ असोज– सरकारले सातै प्रदेशमा उच्च सरकारी वकिलको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सात प्रदेशका उच्च अदालत स्थापना भइसकेका ठाउ“मा एक÷एकवटा उच्च सरकारी वकिलको कार्यालय खोल्ने निर्णय गरेको हो ।
उच्च सरकारी कार्यालय खोल्ने निर्णयस“गै पुनरावेदन सरकारी वकिलको कार्यालय स्वतः खारेज भएका छन् । उच्च सरकारी वकिलको कार्यालय १ नं. प्रदेशको विराटनगर, २ नं. प्रदेशको जनकपुर, ३ नं. प्रदेशको पाटन, ४ नं. प्रदेशको पोखरा, ५ नं. तुलसीपुर, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको दिपायलमा खोलिनेछ । एक÷दुई दिनभित्रै उच्च सरकारी वकिलको कार्यालय खोलिने जानकारी सर्वोच्च महान्यायाधिवक्ता कार्यालय स्रोतले दिएका छन् ।

सरकार सीईओ ज्ञवालीको कामप्रति असन्तुष्ट

काठमाडौं, ७ असोज– मन्त्रिपरिषद बैठकले पुनर्निर्माण प्राधिकरण र त्यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीको कामकारबाहीप्रति असन्तुष्टि प्रकट गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकमा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र सरकारी भवनहरूको पुननिर्माण र पीडितहरूलाई घर पुननिर्माण अनुदान वितरणमा ढिलासुस्ती भएको र त्यसमा ज्ञवालीको असक्षमता जिम्मेवार रहेकोबारेमा छलफल भएको जानकारी रक्षामन्त्री बालकृष्ण खा“डले जानकारी दिए ।
‘मन्त्रिपरिषदमा पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीको असमक्षताका कारण यति लामो भइसक्ता पनि पीडितहरू सबैलाई घर पुननिर्माण अनुदान वितरण गर्न नसकिएको र क्षतिग्रस्त सांस्कृतिक सम्पदा र अरू भौतिक संरचनाको पुननिर्माण सुरु नै हुन नसक्ता सरकारप्रति आमजनतामा असन्तुष्टि बढिरहेकाबारेमा छलफल भयो’ खा“डले कान्तिपुरसित भने– ‘प्रधानमन्त्रीज्यूले यो गम्भीर विषय हो । म छिट्टै पुनर्निर्माण प्राधिकरण र सीईओको बारेमा छलफल गर्न निर्देशक समितिको बैठक बोलाएर छलफल गर्छु भन्नुभएको छ ।’

विश्व बैंकको सल्लाहकारमा उपाध्याय

काठमाडौं, ७ असोज– सरकारले अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय सहायता शाखाका उपसचिव दीननाथ उपाध्यायलाई विश्व बैंकको कार्यकारी निर्देशकको सल्लाहकारमा पठाउने निर्णय गरेको छ । उनले विश्व बैंकको खासगरी दक्षिणपूर्वी शाखामा बसेर कार्यकारी निर्देशकको सल्लाहकारका रूपमा कार्य गर्नेछन् । 
यसैगरी मन्त्रिपरिषदले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को कृषि केन्द्र ढाकामा वरिष्ठ कृषि अर्थ विशेषज्ञ डा प्रद्युम्नकुमार पाण्डेलाई काजमा पठाउने निर्णय गरेको छ । 

मधेस आन्दोलनका घाइतेलाई १ करोड ४० लाख उपचार खर्च

काठमाडौं, ७ असोज– सरकारले तराई–मधेस आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्चबापत मधेसी दललाई एक मुष्ठ १ करोड ४० लाख रुपैया“ दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले घाइतेहरूको उपचार खर्चबापत विभिन्न अस्पतालको बिलका आधारमा १ करोड ४० लाख दिने निर्णय गरेको जानकारी सञ्चार मन्त्री सुरेन्द्र कार्कीले दिए ।

मधेसी दलहरूले घाइते आन्दोलनकारीहरूको उपचारका क्रममा अस्पताललाई तिर्न बा“की बिलबापतको रकम र पार्टी नेताहरूले उपचारमा गरेको खर्चको सोधभर्नाबापत १ करोड ७८ लाख रुपैया“ सरकारसित माग गर्दै आएका थिए । गृह मन्त्रालयले विभिन्न अस्पतालको बिलका आधारमा १ करोड ४० लाख रुपैया“ दिन सिफारिस गरेको र सोहीअनुसार मन्त्रिपरिषदले निर्णय गरेको जानकारी कार्कीले दिए ।