Thursday, October 31, 2019

१७१ मृतक कामदारका परिवारलाई ७/७ लाख

काठमाडौं, १३ कात्तिक– चालु आर्थिक वर्षको तीन महिना अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ सय ७१ कामदारका परिवारलाई सरकारले राहतस्वरूप आर्थिक सहायता गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले साउनमा ६०, भदौमा ६४ र असोजमा ४७ मृतक कामदारका परिवारलाई ७/७ लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराएको हो ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वर्षभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई ७ लाखका दरले आर्थिक सहायता दिने गरेको छ । तीन महिना अवधिमा बोर्डले वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ९८ कामदारका परिवारलाई आर्थिक सहायता गरेको छ । बोर्डका अनुसार कामदारको परिवारका सात जनालाई औषधोपचार सहयोग उपलब्ध गराइएको थियो ।

उम्मेदवार छान्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौं, १३ कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंसिर १४ गते हुने उपचुनावका लागि पार्टीका उम्मेदवारहरूको नाम टुंगो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।
पदाधिकारी बैठकमा जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टी समितिहरूले सिफारिस गरेका नामावलीमाथि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने पदाधिकारी बैठकमा उपचुनाव हुने प्रदेश र जिल्लामा पार्टीको जागरण अभियानमा खटिएका प्रतिनिधिहरूसमेत सहभागी हुनेछन् ।
बैठकमा समसामयिक राजनीति, उपचुनावमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत एजेन्डामा समेत छलफल हुनेछ । पदाधिकारी तहको छलफलमा हुने सहमतिका विषयमा निर्णय गर्न कांग्रेसले शुक्रबार दिउ“सो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

Sunday, October 27, 2019

सरकार लोकतन्त्र कमजोर पार्ने षड्यन्त्रमा : देउवा

काठमाडौं, ९ कात्तिक– कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संविधानको मर्मविपरीत अनुदार विधेयक ल्याएर जनताको अधिकार कुण्ठित गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । नेकपा नेतृत्वको सरकार लोकतान्त्रिक उपलब्धिलाई कामजोर पार्ने खेलमा लागेको भन्दै उनले त्यसको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताए ।
‘सरकारले अनुदार विधेयक ल्याएर लोकतान्त्रिक अधिकार र मूल्यमान्यतामाथि एकपछि अर्को आक्रमण गरिरहेको छ,’ कांग्रेसको काठमाडौं क्षेत्र नं. ६ कार्यसमितिद्वारा राजधानीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘सरकारको षड्यन्त्र परास्त गरी लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट र सुदृढ हुनैपर्छ ।’

Saturday, October 26, 2019

‘एक्सन रुमको कार्यक्रममा प्रधानमन्त्रीपत्नी सहभागी हुनु अस्वभाविक’

काठमाडौं, ७ कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘एक्सन रुम’ मा बुधबार आयोजित सरकारी औपचारिक कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य उपस्थित हुनु अस्वभाविक भएको जानाकारहरूले बताएका छन् । सार्वजनिक ओहोदामा भएका व्यक्तिमात्र सरकारी कार्यक्रममा सहभागी हुने कानुनी व्यवस्था र परम्पराविपरीत शाक्य एक्सन रुममा आयोजित कार्यक्रममा सहभागी हुनुलाई सामान्य भन्न नमिल्ने टिप्पणी पूर्वमुख्यसचिव बिमल कोइरालाले गरेका छन् ।
उनले सरकारी कामको गोपनीयताको दृष्टिकोणले समेत सार्वजनिक (सरकारी) ओहोदामा नरहेकी शाक्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय होस् या कुनै पनि सरकारी औपचारिक कार्यक्रममा सहभागी हुन नमिल्ने बताउँछन् । प्रधानमन्त्रीसँग प्रधानमन्त्रीपत्नी भ्रमणमा जानु सामान्य हो । तर, सरकारी कार्यक्रममा प्रधानमन्त्री पत्नी उपस्थित हुन मिल्दैन । यो बढ्तै भयो’ कोइरालाले भने ।

सुवेदी सचिवमा बढुवा

काठमाडौं, ७ कात्तिक– सरकारले गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा बसेको बढुवा समितिको सिफारिसमा सुवेदीलाई सचिवमा बढुवा गरेको हो ।
बढृवा समितिले निजामती सेवाको सामान्य प्रशासन क्लस्टरमा रिक्त एक जना सचिव पदोन्नतिका लागि सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषदले पहिलो वरियताका सुवेदीलाई विशिष्ट श्रेणीमा बढुवा गरेको हो । सुवेदीको पदस्थापन भने हुन बाँकी छ ।

नेवारी भाइटिकाका दिन १३ गते बिदा

काठमाडौं, ७ कात्तिक– सरकारले नेवारी समुदायको भाइटिकाका दिन कात्तिक १३ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेवार समुदायको मागबमोजिम गृह मन्त्रालयको प्रस्तावमा कात्तिक १३ मा सार्वजनिक बिदा दिएको हो । सरकारले पहिलोपटक नेवारी समुदायको भाइटिका (किजा पूजा) का दिन बिदा दिएको हो ।
नेवारी भाइटिका थपिएपछि यसपटक तिहारमा चार दिन सार्वजनिक बिदा हुनेछ । तिथिअनुसार नेवार समुदायको भाइटिका (किजा पूजा) कात्तिक १३ गते परेकाले उक्त दिन सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था र शिक्षण संस्थामा बिदा दिइएको जानकारी गृह मन्त्रालयले दिएको छ ।

Thursday, October 24, 2019

सैन्य भर्ना अनियमिततामा २७ जनामाथि छानबिन

काठमाडौं, ६ कात्तिक– नेपाली सेनाले सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गरेका ४ सैनिक र २३ गैरसैनिकमाथि अनुसन्धान अघि बढाएको छ । किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा उनीहरूलाई सैनिक निगरानीमा राखी अनुसन्धान सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सेनाले ४० भर्ना केन्द्रबाट रिक्त ५ हजार ८ सय दरबन्दीमा सैन्य छनोट प्रक्रिया अघि बढाएको थियो । नेपाली सेनाको भर्ना केन्द्र श्री उत्तर–पश्चिम पृतना हेडक्वार्टर, सुर्खेतमा नक्कली परिचयपत्र बनाई किर्ते गरेकामा तीन सैनिक, श्री ५ नं. बाहिनी अड्डा भर्ना केन्द्र कैलालीमा आर्थिक लेनदेन गरेको आशंकामा एक सैनिकलाई निगरानीमा राखी अनुसन्धान अघि बढाइएको निर्देशनालयले उल्लेख गरेको छ । सुर्खेत भर्ना केन्द्रमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन पठाउने ६ उम्मेदवार र ९ नक्कली परीक्षार्थीलाई जिल्ला प्रशासन कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान अघि बढाएकोसमेत निर्देशनालयले जनाएको छ ।