Sunday, February 22, 2015

महाकालीमा तटबन्ध निर्माण सुरु नै भएन

दार्चुलाको सदरमुकाम नै बग्ने खतरामा 
काठमाडौं, १० फागुन– महाकाली नदीमा आएको भीषण बाढीले जोखिममा परेको दार्चुला जिल्लाको सिंगै सदरमुकाम खलंगाबजारलाई जोगाउन सरकारले झन्डै दुई वर्ष हुन लागिसक्दासमेत तटबन्ध निर्माणको काम सुरु गर्न सकेको छैन ।
मन्सुन सुरु हुन चार महिनाभन्दा कम समय बा“की छ । तर तटबन्ध निर्माणको ठोस काम थालनी नै भएको छैन । खलंगाबासी वर्षायाममा आउने बाढीले सिंगै सदरमुकाम खतरामा पर्ने हो कि भन्ने चिन्ताले झन त्रसित छन् ।
बाढी आएको एक वर्षपछिमात्र सरकारले तटबन्धका लागि बजेट छुट्ट्याएको र गत जेठमा टेन्डर प्रक्रियाबाट छानिएका ठेकेदारले नौ महिनासम्म काम सुरु नगरेकाले निर्माणमा ढिलाइ भएको हो ।

नौ महिनामा ठेकेदारहरूले निर्माण सामग्री संकलन गर्नेबाहेक तटबन्ध निर्माणको काम अघि बढाएका छैनन् । महाकाली नदी नियन्त्रण आयोजना प्रमुख महादेव बडुले भने एक सातादेखि कंक्रिटको तटबन्ध निर्माणको काम सुरु भएको दाबी गरे ।
महाकालीमा २०७० सालमा आएको बाढीले खलंगा बजारमा मात्र एक दर्जन सरकारी कार्यालय भवनसहित ५० भन्दा बढी घर र खेल मैदान बगाउनुका साथै ठूलोमात्रामा जनधनको क्षति भएको थियो । बाढीले सदरमुकामस्थित सडकको समेत धेरै भाग बगाएको थियो । बाढीका कारण नदी किनारानजिकका थुप्रै भवन खतरामा परेका छन् ।
बाढीले बगाएको खलंगाबजारको तल्लो भेगमा पहिला दर्जनौं घर र खेल मैदान भएको ठाउ“मा अहिले नदी बगिरहेको छ । त्यही कारण नदीमा ०७० मा जस्तै भीषण बाढी आएमा सिंगै सदरमुकाम बग्ने खतरा छ । सीमा नदीमा भारतले आफ्नोतर्फ बलियो तटबन्ध निर्माण गरिसकेका कारण समेत नेपालतर्फ जोखिम झन् बढी बढेको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका अधिकारीहरू बताउ“छन् ।
बजेट नभएर महाकालीमा तटबन्ध निर्माण सुरु नभएको होइन । सरकारले दार्चुलाको सदरमुकाम र बाढीको चपेटामा परेका नदी किनाराका अरू नौ गाविसलाई बचाउनका लागि तटबन्ध निर्माण गर्न १ अर्ब ५७ करोड रुपैया“ बजेट छुट्टयाएको छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण विभाग मातहतको महाकाली नदी नियन्त्रण आयोजनाले तटबन्ध निर्माण गर्न २०७१ जेठमा नै ठेक्का सम्झौता गरेको थियो । आयोजनाले छिटो निर्माण गर्न तटबन्ध १३ वटा प्याकेज (टुक्रा) बनाएर गत जेठमा नै १३ वटा ठेकेदार कम्पनी छनौट गरिसकेको छ ।
सम्झौताअनुसार ठेकेदारहरूले निर्माण सामग्री जम्मा गरी गत मंसिरदेखि नै तटबन्ध बनाउन थालिसक्नुपर्ने हो । तर, फागुनको दोस्रो साता भइसक्ता पनि तटबन्ध निर्माणमा देखिने गरी कुनै काम भएको छैन ।
‘ठेकेदारहरूले अहिलेसम्म तारजालीको सामान्य काममात्र गरिरहेका छन् । तटबन्ध निर्माणमा देखिने गरी कुनै काम भइसकेको छैन,’ महाकाली नदी नियन्त्रण आयोजना प्रमुख महादेव बडुले कान्तिपुरसित भने । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक रामानन्द यादवले आयोजना प्रमुख बडुलाई लिखित र मौखिक रूपमा ठेक्का सम्झौताअनुसार मोबिलाइजेसन खर्च (पेश्की रकम) लिए पनि काम सुरु नगर्ने ठेकेदारहरूको बैंक ग्यारेन्टी नै जफत गर्न पटकपटक निर्देशन दिइरहेका छन् । उनले ठेकेदारहरूलाई तत्काल काम सुरु गराउन र नगर्नेको ठेक्का रद्द गर्न आफूले आयोजना प्रमुखलाई निर्देशन दिएको बताए ।
ती ठेकेदारले साढे दुई वर्षमा तटबन्ध निर्माण गरिसक्ने शर्तमा ठेक्का लिएका हुन् । ठेक्का सम्झौता भएको नौ महिनासम्म धेरैजसो ठेकेदारले पूर्वाधार निर्माणको कामै सुरु गरेका छैनन् । आयोजना प्रमुख बडुका अनुसार ठेकेदारहरूले निर्माण सामग्री संकलन गरिररहेका छन् । कंक्रिटको रिटेनिङ वाल निर्माणको काम भने सुरु भइसकेको छैन । तारजालीको काममात्र सुरु भएको छ ।
जोखिममा परेको सिंगै सदरमुकामलाई जोगाउन महाकाली नदी किनारामा खलंगाको लास्कुखोलादेखि नमस्कार मन्दिरसम्म साढे चार किलोमिटर लामो क्रंकिटको आरसीसी रिटेनिङ वाल निर्माण गर्ने योजना सरकारको छ । तर, क्रंकिटको तटबन्ध निर्माणमा ठोस काम सुरु भइसकेको छैन । १३ मध्ये आठवटा प्याकेजको काम जटिल अर्थात् नदीबाट बस्तीलाई बचाउन कंक्रिट वाल नै बनाउनुपर्ने अवस्था छ, यी आठवटा जटिल काम सदरमुकामको मुख्य बजार भागमा पर्छन् । मोटरबाटो बगाएको ठाउ“मा समेत तलैबाट आरसीसी रिटेनिङ वाल निर्माण गरी सडक पुनर्निर्माण गरिनेछ ।
बडुका अनुसार पहिला बजार रहेको ठाउ“मा अहिले नदी बगिरहेको छ भने पहिला जिल्ला अस्पताल रहेको ठाउ“ अहिले महाकाली नदी पारी पर्छ । नदीलाई बाढी आउनुअघिकै बहाव भएको ठाउ“मा फर्काएर पहिला बजार, खेल मैदान र जिल्ला अस्पताल रहेको भूभागलाई उकास्ने योजना भने नरहेको जानकारी आयोजना प्रमुख बडुले दिए ।
‘तटबन्ध निर्माणको उद्देश्य बा“की रहेको भूभागलाई जोगाउने हो,’ बडुले भने– ‘केही ठाउ“मा भने नदी बगिरहेको ठाउ“मा परेको भूभाग फिलिङ गरेर लिने प्रयास गरिनेछ । त्योभन्दा बढ्ता गर्न सम्भव छैन । नदीलाई पुरानै ठाउ“मा लान गाह्रो छ ।’
आयोजना प्रमुख बडुले जटिल आठमध्ये ५ वटामा हालैमात्र कंक्रिटको आरसीसी रिटेनिङ वाल निर्माणको काम सुरु भएको दाबी गरे । ‘कंक्रिटको काम सुरु भएको एक सातामात्र भएको छ,’ उनले भने– ‘तीनवटा प्याकेजमा भने कंक्रिटको काम सुरु हुन बा“की नै छ ।’ अरू प्याकेजमा तारजालीमा ढुंगा भरेर तटबन्ध निर्माणको काम अघि बढन थालेको दाबी गरे ।
आयोजना प्रमुख बडुले ठेक्का सम्झौताअनुसार २०७३ असोजसम्ममा तटबन्ध निर्माणको काम सक्ने लक्ष्य रहेको जानकारी दिए । उनले निर्माण सामग्री संकलन गरिसकेकाले अब ठेकेदारहरूले तीव्र गतिमा काम अघि बढाउने दाबीसमेत गरे । काम सुरु गर्न बा“की रहेका ठेकेदारले समेत अब छिट्टै तटबन्ध निर्माण सुरु गर्ने दाबीसमेत बडुको छ ।
उनका अनुसार मन्सुन सुरु हुने बेला अर्थात् जेठको अन्तिम सातासम्ममा तटबन्ध निर्माणको ३० देखि ४० प्रतिशत कार्य सक्ने लक्ष्य राखेर काम अघि बढाइने बताए । आयोजनाको लक्ष्यअनुसार मन्सुन सुरु हुने बेलासम्म तटबन्ध निर्माणको ३० देखि ४० प्रतिशत काम भए पनि २०७० मा जस्तै ठूलो बाढी आएमा सदरमुकामलाई जोगाउन गाह्रो हुने जल उत्पन्न प्रकोप नियन्त्रण विभागकै अधिकारीहरू बताउ“छन् ।
खलंगाबाहेक नदी किनारामा पर्ने दार्चुला जिल्लाका नौवटा गाविस महाकालीको बाढीको चपेटामा परेका थिए । ती गाविसमा भने तारजालीमा ढुंगा भरेर साढे नौ किमी लामो तटबन्ध निर्माण गरिनेछ । तारजालीमा ढुंगा भरेर बनाइने तटबन्ध सजिलो काम भएकाले ०७३ असोजसम्ममा सम्पन्न हुने जानकारी बडुले दिए । ती गाविसमा तटबन्धको निर्माणको काम अघि बढिरहेको छ । ती नौ गाविसमा तटबन्ध निर्माण गर्न ६ करोड रुपैया“ खर्च हुनेछ ।







No comments:

Post a Comment