चुहावट चार प्रतिशतले घटेको दाबी
काठमाडौं, २३ चैत– विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङमुक्त गर्न यस आर्थिक वर्षमा भारतबाट करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने जनाएको छ । प्राधिकरणले चालू वर्षको ९ महिनामा ९ अर्ब ६ करोड ८४ लाख रुपैयाँ बराबरको विद्युत् आयात गरिसकेको छ । बा“की तीन महिनामा थप ६ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने प्रक्षेपण प्राधिकरणको छ ।
प्राधिकरणमा मंगलबार पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट चालू आवमा गत आवभन्दा एक अर्ब रुपैयँँ बढीको मात्र बिजुली आयात हुने जानकारी दिए । उनका अनुसार प्राधिकरणले गत वर्ष १३ अर्ब ९७ करोड २२ लाख रुपैयाँ मूल्यको बिजुली आयात गरेको थियो । यस वर्ष अघिल्लो वर्षभन्दा एक अर्ब बढीको मात्रै विद्युत आयात हुनेछ । प्राधिकरणले हाल भारतबाट ५ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ ।
यस वर्ष प्राधिकरणले १ अर्ब ९७ करोड २० लाख युनिट बिजुली भारतबाट आयात गर्नेछ । अघिल्लो वर्ष प्राधिकरणले १ अर्ब ७३ करोड ९ लाख युनिट बिजुली आयात गरेको थियो । प्राधिकरणका अनुसार यस वर्ष चैतमा समेत राम्रो वर्षा भइरहेकाले नदीको प्रवाहमा आधारित विद्युत आयोजनामा बिजुलीको उत्पादन बढेको छ भने यस वर्ष आधा दर्जन आयोजना सम्पन्न भई मुलुकको विद्युत प्रणालीमा १ सय ५ मेगावाट बिजुली थपिएको छ । भूकम्पबाट क्षतिग्रस्त भोटेकोसी आयोजनाको पुनर्निर्माण सकिन लागेको र त्यसबाट छिट्टै विद्युत प्रणालीमा ४५ मेगावाट बिजुली थप हुनेछ ।
घिसिङले मुलुकको ऊर्जा संकटलाई समाधान गर्नमात्रै तत्कालका लागि विद्युत् आयात गरिएको र निर्माणाधीन आयोजना सम्पन्न भएपछि प्राधिकरण आफैंले विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउने जानकारी दिए । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी बनेपछि वर्षायाममा बढी हुने बिजुली भारतलाई बेच्नुपर्ने अवस्था आउने जानकारी प्राधिकरणका अधिकारीले दिए ।
घिसिङले माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षायाममा बिजुली बढी भई खेर जाने अवस्था आउने भएकाले मुलुकभित्रै बिजुलीको खपत कसरी बढाउने र भारतमा निर्यात गर्ने भन्ने विकल्पमा छलफल भइरहेको जानकारी दिए ।
घिसिङका अनुसार यस आर्थिक वर्षमा प्राधिकरणको आम्दानी अघिल्लो वर्षभन्दा १२ अर्ब बढी हुनेछ । गत वर्ष ३२ अर्ब आम्दानी गरेको प्राधिकरणले चालू वर्ष १२ अर्ब बढी अर्थात ४४ अर्ब रुपैया“ आम्दानी गर्ने भएको छ । गत वर्ष ५ हजार गिगावाट आवर विद्युत् उपलब्ध भएकामा यस वर्ष ६ हजार गिगावाट आवर विद्युत् उत्पादन भएकाले प्राधिकरणको आम्दानी बढेको हो । प्राधिकरणले हाल सा“झको समयमा ९ सय २० मेगावाटसम्म बिजुली वितरण गर्दै आइरहेको छ ।
प्राधिकरणले देशव्यापी अभियानका रूपमा अघि बढाइएको विद्युत् चुहावट तथा चोरी नियन्त्रण अभियानका कारण करिब चार प्रतिशतले चुहावट र चोरीमा कमी आएको दाबी गरेको छ । त्यसबाट प्राधिकरणलाई थप १ अर्ब २० करोड रुपैया“ बराबरको आम्दानी भएको जानकारी घिसिङले दिए । उनले चालू आर्थिक वर्षको अन्त्यसम्म विद्युत चुहावट करिब ५ प्रतिशतले कम गर्ने गरी अभियान अगाडि बढाइएको बताए ।
No comments:
Post a Comment