काठमाडौं, ९ जेठ– अख्तियार दुरुपयोग अनुन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई (तरकारी जोन) का प्रमुख वीरेन्द्रप्रसाद सिन्हासहित ७ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
फर्जी बिल र समिति बनाएको तथा किसानको अनुदान र सुविधा कटौती गरेर डेढ लाख रुपैया“भन्दा बढी भ्रष्टाचार गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर गरिएकामा सिन्हासहित लेखापाल सत्यनारायण सहनी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई पर्साका सञ्चालक समिति अध्यक्ष रामेश्वर महतो कोइरी, राकेशकुमार महतो, नितु कन्स्ट्रक्सनका प्रोपाइटर निर्माण व्यवसायी रामलाल राउत कुर्मी र निर्माण व्यवसायी सन्नी यादव छन् । उनीहरूविरुद्ध बिगोबराबर जरिवानाका अतिरिक्त जेलसजाय मागदाबी गरिएको छ ।
यसैबीच अख्तियारले बाग्लुङ जिल्ला बडीगाड गाउँपालिका–७ को श्री माझखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापक विजयबहादुर थापाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयमा अध्यापन गराउने अस्थायी शिक्षिका चन्दा थापा २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित भई जापान गएकामा थापा र मतियार आकाश थापाले शिक्षिकाको नाममा २०७३ फागुनसम्मको तलबभत्ता खाई भ्रष्टाचार गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर अख्तियारले जनाएको छ ।
No comments:
Post a Comment