Sunday, August 2, 2015

त्रिविमा कार्यरत भारतीय प्राध्यापकलाई उपदान दिइने


  • भारतलाई रिझाउन भएको निर्णयका कारण अब राज्यलाई वर्षेनि ५ देखि ६ अर्ब दायित्व बढ्ने
  • अब करारमा कार्यरत सम्पूर्ण कर्मचारीले उपदान पाउने बाटो खुल्यो

काठमाडौं, १७ साउन– सरकारले कानुनविपरीत त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत भारतीय प्राध्यापकहरूलाई उपदान दिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले करारमा कार्यरत भारतीय प्राध्यापकलाई उपदान दिने निर्णय गरेको छ । 
भारत सरकारको दबाबमा मन्त्रिपरिषदले भारतीय प्राध्यापकलाई उपदान दिने निर्णय गरेको जानकारी स्रोतले दिएका छन् । त्रिविमा करारमा कार्यरत भारतीय प्राध्यापकलाई उपदान दिंदा १२ करोड रुपैया“ खर्च हुने जानकारी मन्त्रिपरिषद सचिवालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार मुलुकमा कुनै पनि कानुनमा करारमा कार्यरत कर्मचारीलाई उपदान दिने व्यवस्था छैन । सरकारले पहिलोपटक करारमा कार्यरत कर्मचारीलाई उपदान दिन लागेको हो । यसअघि सरकारले अस्थायी र करारमा कार्यरत कर्मचारीलाई कहिल्यै पनि उपदान दिएको छैन र दिने कुनै कानुनी व्यवस्था पनि छैन ।

Thursday, July 9, 2015

छानबिनबाट सुवेदीले उमेर किर्ते गरेको प्रमाणित

सुवेदीले तीन वर्षअगावै आगामी असोज १५ मा अवकास पाउने
काठमाडौै, २५ असार– सामान्य प्रशासन मन्त्रालयद्वारा गठित छानबिन समितिले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले किर्ते गरी उमेर सच्याएको प्रमाणित भएको उल्लेख गर्दै निजामती किताबखानाको उनको सिटरोलमा शैक्षिक प्रमाणपत्रअनुसार जन्ममिति कायम गर्न सिफारिस गरेको छ । 
सामान्य प्रशासनका सहसचिव सुरेश अधिकारीको संयोजकत्वमा गठित समितिले निजामती किताबखानाबाट गायब पारिएको सुवेदीको व्यक्तिगत फाइल खोज्दा पनि नभेटिएको उल्लेख गर्दै शैक्ष्ँिक प्रमाणपत्रअनुसारको जन्ममिति कायम गर्न सिफारिस गरी सोमबार मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।

Friday, July 3, 2015

सुवेदीले उमेर सच्याएको प्रमाण फेला पर्यो

काठमाडौै, १८ असार– सामान्य प्रशासन मन्त्रालयले विवादास्पद सहसचिव एवं वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले उमेर सच्याएको प्रमाण फेला पारेको छ । सामान्यले निजामती किताबखानाबाट सुवेदीको व्यक्तिगत एकाएक गायब पारिएको फाइल खोज्ने क्रममा त्यस्तो प्रमाण फेला पारेको जानकारी स्रोतले दिएका छन् ।
सामान्यद्वारा गठित छानबिन समितिले जिल्ला प्रशासन कार्यालय मोरङ, परिक्षा नियन्त्रण कार्यालय र त्रिभुवन विश्वविद्यालयसित सुवेदीको नागरिकता र शैक्षिक प्रमाणपत्र (उमेर खुलेको) को विवरण माग गरेको थियो । जवाफमा परिक्षा नियन्त्रण कार्यालयले सुवेदीको एसएलसीको लब्धांकपत्रमा उनको जन्ममिति २०१४ असोज १५ भएको विवरण प्राप्त भएको जानकारी सामान्य प्रशासन स्रोतले दिएको छ ।

Saturday, June 27, 2015

सुविधासम्बन्धी विधेयक फिर्ता गर

काठमाडौं, १२ असार– वैशाख १२ को महाभूकम्प र त्यसपछि पटकपटक आएका पराकम्पका कारण जनधनको ठूलो क्षति भएपछि मुलुकको अर्थतन्त्र थङथिलो भएको छ । यस्तो गम्भीर परिस्थितिमा सिंगै मुलुकको ध्यान भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक तथा व्यक्तिगत भौतिक संरचनाहरूको पुननिर्माण र पीडितहरूको पुनःस्थापनामा केन्द्रित हुनुपर्ने हो । तर, मुलुक भूकम्पबाट आहत छ भन्ने यथार्थलाई बिर्सेर कोइराला सरकारले यही बेलामा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशदेखि पूर्वसभामुखसम्मलाई आजीवन आवास, विलाशी गाडी, इन्धन, चालक, सचिवालय, उपचार खर्चलगायतको आकर्षक सुविधा दिन ‘विशिष्ट व्यक्ति तथा पूर्व पदाधिकारीलाई सुरक्षा र सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक’ संसदमा पेस गरेको छ । सरकारले १५ हजार रुपैया“ राहतसम्म दिन नसकेकाले भूकम्प गएको दुई महिना बितिसक्ता पनि घर पूर्ण रूपमा क्षति भएका लाखौं परिवारले वर्षामा ओत लाग्ने अस्थायी टहरासमेत बनाउन सकेका छैनन् । 

Tuesday, June 23, 2015

पूर्वराष्ट्रपतिदेखि पूर्व सभामुखसम्मलाई आजीवन आवास, गाडी र सचिवालय सुविधा

पूर्वगृहमन्त्रीहरूलाई ‘सुरक्षा थ्रेट’ का नाममा चालक, इन्धनसहितको गाडी सुविधा
काठमाडौं, ८ असार– भूकम्पपीडितहरूलाई अस्थायी टहरा बनाउन १५ हजार रुपैया“ राहत दिन मुस्किल परिरहेका बेला सरकारले पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मका पूर्व विशिष्ट पदाधिकारीहरूलाई आजीवन विलाशी गाडी, सरकारी आवास तथा सचिवालयसहितको सुविधा दिने कानुनी व्यवस्था गर्न संसदमा विधेयक दर्ता गरेको छ ।
‘विशिष्ट व्यक्ति तथा पूर्व पदाधिकारीलाई सुरक्षा र सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक’ संसदबाट पारित भएपछि पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख, राष्ट्रियसभाका अध्यक्षहरूले सरकारबाट आजीवन गाडी, आवास, सचिवालय सुविधा पाउन थाल्नेछ । पूर्व गृह मन्त्रीहरूलाई समेत ‘सुरक्षा थ्रेट’ का नाममा आजीवन गाडी, इन्धन र मर्मत खर्च दिने प्रस्ताव विधेयकमा गरिएको छ ।

सुवेदीको नागरिकता र शैक्षिक प्रमाणपत्र खोज्न छानबिन समिति

काठमाडौं, ७ असार– सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानाबाट विवादास्पद सहसचिव भरतराज सुवेदीको व्यक्तिगत फाइल एकाएक गायब भएपछि उनको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र खोज्न छानबिन समिति गठन गरेको छ ।
कान्तिपुरमा वैदेशिक रोजगार विभागका महानिर्देशकसमेत रहेका ‘सुवेदीस“ग दुइटा नागरिकता’ शीर्षकमा समाचार प्रकाशित भएपछि सरकारले उनको व्यक्तिगत फाइल बुझ्दा गायब रहेको पाइएपछि सामान्य प्रशासनले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको हो । सामान्य प्रशासनका सहसचिव सुरेश अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिमा सामान्यका उपसचिव नन्दराज ज्ञवाली र कानुन अधिकृत बाबुराम पाण्डे छन् ।

विवादास्पद सहसचिव सुवेदीसँग दुइटा नागरिकता

जागिर अवधि तीन वर्ष लम्ब्याउन किर्ते गरी दोस्रो नागरिकता
नागरिकतामा किर्ते गर्नेलाई कारबाही हुन्छ : गृह प्रवक्ता 
काठमाडौं, ६ असार– वैदेशिक रोगजार विभागका महानिर्देशक भरतराज सुवेदीले कानुनविपरीत किर्ते गरी तीन वर्ष उमेर घटाएर दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएको पाइएको छ । 
नेपाल नागरिकता ऐन २०६३ को उल्लंघन गरी तीन वर्ष जागिर अवधि बढाउन उनले जन्ममिति सच्याई दोस्रो नागरिकता प्रमाणपत्र लिएका हुन् । निजामती प्रशासनमा प्रायःजसो विवाद र चर्चामा आइरहने विवादास्पद सहसचिव सुवेदीले गैरकानुनी रूपमा दुवै नागरिकता प्रमाणपत्र प्रयोग गरिरहेकोसमेत पाइएको छ ।
दुवै नागरिकतामा उनको जन्मस्थान र बाबुआमाको नाम एउटै छ । उनले निजामती किताबखानामा जागिर प्रयोजनका लागि उमेर घटाएको नागरिकता पेस गरेका छन् । किताबखाना सम्पूर्ण निजामती कर्मचारीको सेवा प्रवेश, उमेर, पदोन्नति र अवकास मितिसहितको सबै विवरण राख्ने कार्यालय हो ।