Sunday, December 2, 2018

आङ सान सुकी स्वदेश फिर्ता

काठमाडौं, १६ मंसिर– एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकी आइतबार स्वदेश फर्केकी छन् । नेतृ सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका थिए । सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि सु की बिहबिार काठमाडौं आएकी थिइन् ।

कान्तिपुर टेलिभिजन कर्मचारी संघमा नयाँ नेतृत्व

काठमाडौं, १६ मंसिर– कान्तिपुर टेलिभिजन कर्मचारी संघको छैटौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा निर्मला बस्नेत, उपाध्यक्षमा श्याम श्रेष्ठ, महासचिवमा कुमार पौडेल, सचिवमा सुशील गुप्ता, कोषाध्यक्षमा जनक पौडेल निर्वाचित भएका छन् । 
संघको सदस्यमा राजन तामाङ, रवीन्द्रध्वज शाह, प्रकाश थापा, राजेश कटुवाल, पुष्पा घिमिरे र सञ्जीव ढुंगेल चयन भएका छन् ।

प्रधानमन्त्रीको ‘किताब’ विदेशी अतिथिलाई उपहार

काठमाडौं, १६ मंसिर– प्रधानमन्त्री केपी ओलीले आफ्नो पुस्तक ‘माई भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिहरूलाई उपहार दिएका छन् । अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत ओलीले आफ्नो पुस्तक म्यान्मारकी नेतृ आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्रीसहित सात जना विदेशी विशिष्ट पाहुनालाई उपहार दिएको उल्लेख गरेका छन् ।
ओलीले पुस्तकमा हस्ताक्षर गरी विदेशी अतिथिलाई बा“डेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हालै उक्त पुस्तक प्रकाशित गरेको हो । उक्त पुस्तक प्रकाशनमा कति रकम खर्च भएको छ भन्नेबारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उल्लेख गर्न चाहेन ।
पहिलो प्रधानमन्त्रीकालमा समेत ओलीका ६० भाषण समेटिएको पुस्तक ‘सेलेक्टेड स्पिच अफ केपी ओली’ पुस्तक प्रकाशित भएको थियो ।

समिटलाई लिएर नेकपामा तीव्र असन्तुष्टि

काठमाडौं, १६ मंसिर– सत्तारूढ नेकपाभित्र विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको युनिभर्सल पिस फेडरेसनद्वारा आयोजित एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टी प्रत्यक्ष सहभागी र सहयोगी बनेकामा नेताहरूमा असन्तुष्टि बढेको छ । कतिपय नेताले सार्वजनिक रूपमा तीव्र असन्तुष्टि प्रकट गरेका छन् । नेकपाका नेता भीम रावलले ट्वीट गर्दै कुनै व्यक्ति र निजी संस्थाको स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न नहुने बताएका छन् । समिटमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आयोजक र प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार सहआयोजक र सहयोगी बनेकोप्रति रोष प्रकट गर्दै रावलले असन्तुष्टि व्यक्त गरेका हुन् । नेता नेपाल आमन्त्रण समितिको संयोजक रहेको समिटमा नेकपाकै अध्ध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ अनुपस्थित रहे ।
समिटमा सहभागी हुनुअघि राष्ट्रिय हित, कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्नुपर्ने उल्लेख गर्दै उनले शान्तिको नाममा समिट गर्नेहरूले त्यत्रो पैसा कहा“बाट आयो जनतालाई भन्नुपर्ने र नभने सरकारले खोजेर सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु प¥यो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहा“बाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ’ रावलले ट्वीटमा भनेका छन् ।
नेकपाकै नेता घनश्याम भुषालले नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको राष्ट्रिय परेड प्रदर्शन भएको र त्यसको मूल्य मुलुकका सन्तान दरसन्तानले लामो समयसम्म तिनुपर्ने उल्लेख गरेका छन् ।

प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद

काठमाडौं, १६ मंसिर– प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सोमबार संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ मा अनिवार्य अवकास पाउ“छन् । मिश्रले अवकास पाउनुअघि नै प्रधानन्यायाधीशको नियुक्तिको प्रक्रिया पूरा गर्न सोमबार परिषदो बैठक बोलाइएको हो । बैठकले नया“ प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने छ ।
न्यायपरिषदले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रसमसेर राणाको नाम संवैधानिक परिषदलाई बुझाएको छ । प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ । जोशी र राणाबाहेक अरू न्यायाधीशको सर्वोच्चमा तीन वर्ष बहाल भएको योग्यता पुगेको छैन ।
परिषदले संविधानबमोजिम पद रिक्त हुनु एक महिनाअघि नै प्रधानन्यायाधीश सिफारिस गर्न लागेको हो । संविधानको धारा २८४ को उपधारा ३ मा ‘संवैधानिक परिषदले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।

पूर्वमन्त्री बिष्टसहित राप्रपाका नेता–कार्यकर्ता पक्राउ

काठमाडौं, १५ मंसिर– क्रिस्चियन धर्म प्रचारस“ग जोडिएको युनिभर्सल पिस फेडरेसनद्वारा राजधानीमा आयोजित ‘एसिया प्यासिफिक समिट’ को विरोधमा शनिबार प्रदर्शनमा उत्रिएका पूर्वमन्त्री विराज विष्टसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले राजधानीको चाबहिलमा प्रदर्शनमा सहभागी बिष्टसहित राप्रपा (प्रजातान्त्रिक) का सहायकमहामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्ट लगायतका नेता कार्यकर्ता पक्राउ गरेको हो ।
राप्रपा (प्रजातान्त्रिक) ले शनिबार विज्ञप्ति जारी गरी ‘सानानत धर्मावलम्बीहरुको आस्थामा चोट पुग्ने काम गरेर नेकपा नेतृत्वको सरकारले हिन्दुत्व निषेध अभियानमा सक्रिय रहेको सन्देश दिएको’ आरोप लगाएको छ ।

नेता तामाङको शालिक अनावरण

काठमाडौं, १५ मंसिर– कांग्रेसका नेता एवं आदर्शपुरुष स्व. भीमबहादुर तामाङको शालिक शनिबार अनावरण गरिएको छ । तामाङको छैटौं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राजधानीको स्वयम्भुमा निर्मित शालिकको अनावरण गरे ।
तिमल्सिनाले मुलुकको लोकतान्त्रिक आन्दोलनमा स्व. तामाङको महत्वपूर्ण योगदान रहेको बताए । भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्रको सक्रियतामा शालिक निर्माण गरिएको हो । उक्त अवसरमा तामाङको सम्झनामा स्थापना गरिएको छोर्तेन (स्तुपा) समेत उदघाटन गरिएको थियो ।