काठमाडौं, १३ कात्तिक– मन्त्रीहरूले कानुनविपरीत तजबिजी निर्णयबाट कार्यकर्ताहरूलाई धमाधम सल्लाहकार र विज्ञका नाममा नियुक्ति गर्न थालेका छन् । सुशासन ऐन र नियमावलीमा निजामती सेवाका कर्मचारीबाट हुन नसक्ने काम गर्नमात्र सल्लाहकार र विज्ञ राख्न पाइने व्यवस्थाको खिल्ली उडाउ“दै सबैजसो मन्त्रीहरूले आफू निकटका व्यक्तिहरूलाई तलब र गाडी सुविधा पोस्न धमाधम नियुक्ति दिन थालेका हुन् ।
सुशासन नियमावलीको दफा २२ मा ‘नियुक्ति गर्नुअगाडि मन्त्रालयले सल्लाहकारहरूको कार्यविवरणसहित मन्त्रिपरिषदबाट अनिवार्य रूपमा स्वीकृत गराउनुपर्ने’ प्रावधानको समेत मन्त्रीहरूले उल्लंघन गरेका छन् । कुनै पनि मन्त्रीले सल्लाहकार र विज्ञ राख्दा सुशासन ऐन र नियमावलीअनुसार मन्त्रिपरिषदबाट स्वीकृत नगराएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले दिए ।