Tuesday, December 6, 2011

संवैधानिक निकायमा २६८ को हानाथाप, परिषदद्वारा नियुक्तिको प्रकि्रया सुरु

अख्तियारमा १७७, लोकसेवामा १३१, निर्वाचन आयोगमा १२६ र महालेखामा २४ जनाको आवेदन 
परिषदबाट सूचना मन्त्री गुप्तालाई हटाउन माग 

काठमाडौं, २० मंसिर- संवैधानिक परिषदले चार महत्वपूर्ण संवैधानिक निकायमा लामो समयदेखि रिक्त पदमा नियुक्ति गर्ने प्रकि्रया सुरु गरेको छ । परिषदको मंगलबार अपराह्न बसेको बैठकले नियुक्तिका लागि सार्वजनिक सूचना आह्वान गरी तयार पारेको रोस्टर खोली इच्छुक व्यक्तिहरुमध्येबाट छनौट गर्ने आधार र प्रकि्रया तयार पार्ने निर्णय गरेको छ ।
परिषद बैठकले मुख्यसचिव माधव घिमिरेलाई रोस्टरमा रहेका व्यक्तिहरुमध्येबाट छनौट गर्ने आधार र प्रकि्रया तयार पार्ने जिम्मा दिएको जानकारी प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार घिमिरेले नियुक्तिका आधार र प्रकि्रया तयार गरेपछि बस्ने परिषदको बैठकले संवैधानिक निकायहरुमा नियुक्तिका लागि सिफारिस गर्नेछ । अर्को बैठक कहिले बस्ने भन्ने कुरा भने तय भएको छैन ।
परिषदका अर्का सदस्य एवं सभामुख सुवास नेम्वाङले संवैधानिक अंगमा नियुक्तिबारेमा महत्वपूर्ण र सकारात्मक छलफल भएको जानकारी दिए । उनले अब संवैधानिक निकायको नियुक्तिको आधार र प्रकि्रया तयार पारी पारदर्शी र वस्तुनिष्ठ तरिकाले निर्णय हुने बताए । 'संवैधानिक निकायमा कुन व्यक्ति के कारणले नियुक्त गरिएको हो भन्ने स्पष्ट आधार खुलाएरै परिषदले नियुक्तिको सिफारिस गर्नेछ' नेम्वाङले भने ।
सरकारको आह्वानअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आफूले नियुक्त हुन चाहेको पद त्यसका लागि आफ्नो अनुभव र नियुक्त भएपछि आफूले संवैधानिक निकायलाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउने भन्ने लिखित प्रस्तावसहित आवेदन दिएका छन् । परिषदले ती लिखित प्रस्तावको अध्ययन गरी कसरी छनौट गर्ने भन्ने आधार र प्रकि्रया तयार पार्ने जिम्मा मुख्यसचिवलाई दिएको जानकारी परिषदका एक सदस्यले दिए ।
परिषद बैठकमा कुन निकायमा कसलाई नियुक्ति गर्ने भनेर छलफलको सुरु नै भएन । 'बैठकमा परिषदमा नियुक्तमा हुने व्यक्तिका बारेमा छलफलै भएन' पौडेलले बैठकपछि भने । भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा मुख्य तीन दल माओवादी कांग्रेस र एमालेको हानाथान भएकाले संवैधानिक निकायहरुमा लामो समयदेखि नियुक्ति हुन सकेको छैन ।
अख्तियारमा कांग्रेसले बाबुराम आचार्य माओवादीले रामकुमार श्रेष्ठ र एमालेले उदय नेपाली श्रेष्ठलाई नियुक्त गर्नुपर्ने प्रस्ताव यसअघि नै राखिसकेका छन् । अख्तियारमा प्रमुख आयुक्त र आयुक्त तथा महालेखा परिक्षकको कार्यालयमा प्रमुख पद रिक्त भएको पाँच वर्ष भइसकेको छ । लोकसेवा आयोग र निर्वाचन आयोगमा भने झन्डै दुई वर्षदेखि प्रमुख पद रिक्त छ । भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार र सरकारी हिसाबकिताब केलाउने महालेखा परिक्षक कार्यालयमा प्रमुख नहुँदा सरकारी निकायमा अनियमितता र गैरजिम्मेवारी बढ्दै गएको छ ।
चार संवैधानिक निकायमा नियुक्त हुन आवेदन दिनेहरुको संख्या अपेक्षा गरेभन्दा बढी रहेको जानकारी परिषदका सदस्यहरुले दिए । चार संवैधानिक निकायका तीन प्रमुख र चार आयुक्त पदका लागि २ सय ६८ जनाले आवेदन दिएका छन् । सरकारले १५ दिने सूचना आह्वान गरेका बेला उनीहरुले संवैधानिक पदमा आवेदन दिएका हुन् ।
परिषदका सदस्य पौडेलका अनुसार चार संवैधानिक निकायमध्ये अख्तियारमा नियुक्तिका चाहना राख्दै सबभन्दा बढीले आवेदन दिएका छन् । अख्तियारमा १ सय ७७, लोकसेवा आयोगमा १ सय ३१, निर्वाचन आयोगमा १ सय २६ र महालेखा परिक्षकमा २४ जनाले आवेदन दिएका छन् । एउटै व्यक्तिले तीनवटासम्म संवैधानिक निकायमा नियुक्त हुन तीनवटा भिन्नभिन्नै आवेदन दिएका छन् । यही कारण कुल आवेदकको संख्या थोरै र चारवटा संवैधानिक अंगका आवेदक बढी देखिएको हो ।
परिषदबाट गुप्तालाई हटाउन माग
यसैबीच भ्रष्टाचार विरुद्धको अभियानको नागरिक दबाब समूहले भ्रष्टाचार मुद्दामा आरोपित सूचना तथा साचार मन्त्री जयप्रकाश गुप्तालाई संवैधानिक परिषदको सदस्यबाट हटाउन प्रधानमन्त्री बाबुराम भट्टराईसित माग गरेका छन् । ुभ्रष्टाचार मुद्दामा आरोपित व्यक्ति नै परिषदको सदस्य हुनु प्राकृतिक न्यायको सिद्धान्त र कानुनी शासनको विपक्षमा छु समूहले प्रधानमन्त्रीलाई मंगलबार बुझाएको ध्यानाकर्षणपत्रमा छ ।
समूहले सर्वोच्च अदालतमा विचाराधीन र सुनुवाइका क्रममा झगडिया झिकाउने आदेश भइसकेको मुद्दामा आरोपित व्यक्ति सम्मिलित परिषदमा सर्वोच्चका प्रमुख प्रधानन्यायाधीश बस्न पटक्कै नमिल्ने उल्लेख गर्दै गुप्तालाई परिषदबाट हटाउन माग गरेका हुन् । दबाब समूहको ध्यानाकर्षणपत्रमा हस्ताक्षर गर्नेमा अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेल पूर्व अर्थसचिव रामेश्वर खनाल चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समिरमणि दीक्षित सन्तोष आचार्य र स्तुति बस्नेत छन् ।
उनीहरुले संवैधानिक नियुक्तिका लागि स्पष्ट मापदण्ड तयार गरी सार्वजनिक गर्न नियुक्ति प्रकि्रयालाई पारदर्शी र निष्पक्ष बनाउन आवेदन दिएका व्यक्तिहरुमध्येबाट योग्य व्यक्तिको सिफारिस गर्न निष्पक्ष र स्वतन्त्र व्यक्तिहरु रहेको समिति बनाउनुपर्ने सुझाव दिएका छन् ।
शिविर छाडिसकेका माओवादी लडाकुका नाममा अबौं रुपैयाँ सरकारी हिनामिना भएकोबारेमा छानबिन गर्न तथा भ्रष्टाचारजन्य गतिविधिमा मुछिएका मन्त्रीहरुलाई तत्काल देखिने गरी कारबाही गर्नसमेत समूहले प्रधानमन्त्रीले समक्ष माग गरेको छ ।



No comments:

Post a Comment