Monday, February 25, 2019

कोरम नपुगेपछि सुनुवाइ समिति बैठक स्थगित

काठमाडौं, १२ फागुन– कोरम नपुगेपछि संघीय संसदको सुनुवाइ समितिको आइतबार बोलाइएको बैठक स्थगित भएको छ ।
थारू आयोग र मधेसी आयोगमा प्रस्तावित अध्यक्षमाथि सुनुवाइ गर्न बोलाइएको बैठक ५० प्रतिशत सदस्य पनि अनुपस्थित भएपछि स्थगित भएको हो ।
संसदको नियमावलीमा समितिको बैठक सञ्चालनका लागि बहुमत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । १५ सदस्यीय समितिको आइतबारको बैठकमा ७ जनामात्र सदस्य उपस्थित थिए । बैठक सञ्चालनका लागि कम्तीमा ८ सदस्यको उपस्थिति अनिवार्य हुन्छ ।
प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदले ५ आयोगको अध्यक्ष नियुक्तिको सिफारिस गरेको विरोधमा कांग्रेसले सुनुवाइ समितिको बैठक बहिष्कार गर्दै आएको छ । समितिमा कांग्रेसका चार, सत्तारूढ नेकपाका नौ र राष्ट्रिय जनता पार्टी र संघीय फोरमका एक÷एक सदस्य छन् ।
संवैधानिक परिषदले मधेशी आयोगमा विजयकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको छ । समितिको बैठकमा सुनुवाइ सकिएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको नाम अनुमोदन गर्ने कार्यसूचीसमेत थियो । बैठक स्थगित भएकाले दुई जनाको नाम आइतबार पनि अनुमोदन भएन । समितिको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ ।
समितिले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम मियाँ अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली रहेको तथा राजनीतिक दलको सदस्यतासम्बन्धी प्रश्न उठेकाले कागजपत्र मगाएर छानबिन गरिरहेको छ।
परिषदले माघ ६ मा प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारू आयोग, मुस्लिम आयोग र मधेसी आयोगको अध्यक्षमा नाम सिफारिस गरेको थियो।

No comments:

Post a Comment