Wednesday, February 12, 2020

वुहानका नेपालीलाई फागुन ३ मा फर्काइने

काठमाडौं, २८ माघ– सरकारले नोवेल कोरोना भाइरसको संक्रमणबाट प्रभावित चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश फिर्ता ल्याउने भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले चीनमा रहेका नेपालीलाई फागुन ३ मा फर्काउने मिति तय गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
स्रोतका अनुसार सरकारले नेपाली विद्यार्थी फिर्ता ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाइने भएको छ । वुहानमा रहेका १ सय ८० नेपाली विद्यार्थीले आफूहरूलाई नेपाल फर्काउनका लागि सरकारसमक्ष अनुरोध गर्दै आइरहेका छन् । उनीहरूले स्वदेश फर्काइदिन माग गर्दै बेइजिङस्थित नेपाली दुतावासमा अनलाइन आवेदनसमेत दिइसकेका छन् ।
वुहानमा रहेका नेपालीलाई फिर्ता ल्याउन ढिलाइ गरेकामा विद्यार्थीका अभिभावकले सरकारको विरोध गर्दै आएका छन् । संघीय संसदमा समेत सांसदहरूले वुहानमा रहेका नेपालीलाई छिटो फर्काउन आवाज उठाउँदै आएका छन् ।
चीनबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिने जानकारीसमेत स्रोतले दिएको छ । खरिपाटीका स्थानीयले भने घनाबस्ती रहेको ठाउँमा चीनबाट फर्काइने नेपालीलाई नराख्न विरोध गर्दै आएका थिए ।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, भक्तपुर तथा तीनवटै सुरक्षा निकाय र स्थानीयबासीबीच मंगलबार भएको छलफलबाट खरिपाटीमा नेपालीलाई राख्न दिने सहमति भएको दाबी सरकारी अधिकारीले गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले चीनबाट फर्काइने नेपालीबाट भाइरसको संक्रमण वरपर नसर्ने व्यवस्था मिलाइने प्रत्याभूति दिएपछि स्थानीयले विरोध नगर्ने प्रतिबद्धता जनाएको दाबीसमेत ती अधिकारीले गरेका छन् ।
चीनबाट फर्काइने नेपालीलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वास्थ्य मन्त्रालयको सहकार्यमा प्राधिकरणको तालिम केन्द्रमा होस्टलमा राखिने छ । त्यहा“ राख्न भौतिक, चिकित्सकीय र सुरक्षालगायतको सबै तयारी भइसकेकोसमेत स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याइने नेपालीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मीलाई विशेष तालिमसमेत दिइसकिएको जनाएको छ ।

No comments:

Post a Comment