Wednesday, February 26, 2020

जिल्ला हुलाक प्रमुख र अधिकृतसहित ६ विरुद्ध मुद्दा

काठमाडौं, १३ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, भरतपुरका कम्प्युटर अधिकृत र जिल्ला हुलाक कार्यालय बझाङका निमित्त प्रमुखसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आन्तरिक राजस्व कार्यालय, भरतपुरका कम्प्युटर अधिकृत रामकुमार अधिकारीले विद्युतीय बिजक जारी गर्ने अनुमति(पत्र बनाई दिने क्रममा सेवाग्राहीसँग घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायब सुब्बा शिवराज उपाध्यायले करिब ५ करोड रुपैयाँ सरकारी रकम हिनामिना गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । अभियोगपत्रमा कडायतलाई २ करोड ९४ लाख र उपाध्यायलाई २ करोड रुपैयाँ बिगो कायम गरिएको छ ।
अख्तियारले नक्कली प्रमाणपत्रधारी बेसीसहर नगरपालिकाकी नायव सुब्बा. गीता अधिकारी, विद्युत प्राधिकरणको कालिगण्डकी ए जलविद्युत आयोजनाका सुपरभाइजर चक्रपाणी भट्टराई र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलका नृत्य कलाकार (नासु) अञ्जु रंजितकारविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै ६ जना कर्मचारी सेवाबाट स्वतः निलम्बनमा परेका छन् ।

No comments:

Post a Comment