Sunday, February 9, 2020

दुई वर्ष अगाडि नै कृषि सचिव जीसीद्वारा राजिनामा

काठमाडौं, २५ माघ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले पदावधि दुई वर्ष बाँकी छँदै पदबाट राजिनामा दिएका छन् । विदेशमा आकर्षक रोजगारीमा जान सचिवको ५ वर्षे पदावधि पूरा हुनु दुई वर्ष अगाडि नै जीसीले राजिनामा दिएका हुन् ।
जीसी विश्व खाद्य कार्यक्रमको बैंककस्थित एसिया तथा प्यासिक क्षत्रीय कार्यालयमा आकर्षक रोजगारीमा छनौट भइसकेको र एक महिनापछि नै बैंकक जान लागेको जानकारीसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले दिएको छ । स्रोतका अनुसार माघ मसान्तदेखि लागू हुने गरी जीसीले दिएको राजिनामापत्र मन्त्रिपरिषदमा पेस भई स्वीकृतिको क्रममा रहेको छ ।
खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका जीसी २०७३ माघ ६ मा सचिवमा बढुवा भएको थिए । उनको पदावधि २०७८ माघ ५ सम्म छ । राजिनामा दिए पनि जीसीको पेन्सन या उपदानका लागि सेवा अवधि भने बढ्ने छैन । सचिवको ५ वर्षे पदावधि पूरा गर्दा पनि पेन्सन नपाक्ने भएकाले जीसीले २ वर्ष अगावै सेवाबाट बिदा भएर अर्को जागिरमा जान लागेको जानकारी कृषि मन्त्रालय स्रोतले दिएको छ ।
२० वर्ष सेवा अवधि नपुग्ने भएकाले उनले सरकारबाट पेन्सन पाउने छैनन् । उनले १६ वर्ष सेवा गरेबापत सरकारबाट उपदान पाउने छन् । खुल्ला प्रतिस्पर्धाबाट उनले निजामती सेवाको कृषि समूहमा सहसचिवमा सेवा प्रवेश गरेका हुन् । सचिव हुनुअघि उनी कृषि विभागका महानिर्देशक थिए । यसअघि सोझै सहसचिवमा सेवा प्रवेश गरी सचिवबाट अवकास भएका दीपेन्द्रविक्रम, थापा, कृषि समूहकै उत्तम भट्टराई र नरबहादुर रजवारसमेत २० वर्षभन्दा कम सेवा अवधिमात्र पुगेकाले बिना पेन्सन उपदान लिएर अवकास भएका थिए । खुल्ला प्रतिस्पर्धाबाट ४५ वर्षसम्ममा सोझै सहसचिवमा सेवा प्रवेश गर्न पाइने व्यवस्था छ । सहसचिवमा ३८ वर्षमा प्रवेश गरेको व्यक्तिले मात्र २० वर्ष सेवा अवधि पूरा गरी पेन्सन पाउन सक्छन् । त्योभन्दा बढी उमेरमा सेवा प्रवेश गरेका व्यक्तिले भने २० वर्ष नपुग्ने भएकाले पेन्सन पाउँदैनन् ।

No comments:

Post a Comment