Tuesday, February 25, 2020

चैतभित्रै सामुदायिक विद्यालयमा अपुग शिक्षक दरबन्दी परिपूर्ति भइसक्छ : शिक्षामन्त्री

काठमाडौं, १० फागुन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकभरका सामुदायिक विद्यालयहरूमा आगामी चैतभित्रै अपुग शिक्षक दरबन्दी पदपूर्ति गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजधानीको जनविकास माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा शनिबार बोल्दै मुलुकभर धेरै विद्यालय खुलेकाले ३९ हजार शिक्षक दरबन्दी अभाव रहेको उल्लेख गर्दै अबको एक महिनाभित्रै दरबन्दीअनुसार शिक्षक पदपूर्ति गरिसक्ने बताएका हुन् ।
उनले स्थानीय तहहरूबाट ती अपुग दरबन्दी पदपूर्ति हुने जानकारी दिए । उनले सामुदायिक विद्यालयहरूले निजी विद्यालयस“ग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिनुपर्ने बताए । उनले सामुदायिक विद्यालयमा विद्यार्थी पढ्न आउन तयार रहेकाले वातावरण बनाउनुपर्ने बताए ।
उनले शिक्षकहरूलाई आफ्ना छोराछोरीलाई आफूले पढाउने विद्यालयमा नै पढाउन आग्रह गरे । ‘शिक्षकले नै आफ्ना बालबालिकालाई आफू पढाउने विद्यालयमा लिएर आउ“दैनन्’ उनले भने, ‘शिक्षकले आफ्ना बालबालिका विद्यालयमा ल्याएर पढाउने हो भने स्वतः विद्यालयको शिक्षा परिवर्तन हुन्छ ।’ उनले विद्यालय राम्रो बनाउने काम शिक्षककै भएको बताए ।
उनले विद्यालय तहबाट गणित विषय नहटाइएको, बरु कक्षा १० सम्म गणित अनिवार्य गरिएको बताए । उनले संसारमा पढाइ हुने १० प्रकारका जीवनशैली पद्धतिअनुसारका शिक्षा कक्षा ११ मा सुरु गरिएको जानकारी गराए । उनले शिक्षक अभाव रहेकाले स्वयंसेवी शिक्षक परिचालन गर्न लागिएको जानकारीसमेत दिए । ‘देश चिनौं, माटो चिनौं’ भन्ने अभियानअन्तर्गत स्नातक तहलाई ३० हजार र स्नातकोत्तर तह गरेकालाई ३२ हजार रुपैयाँ भत्ता दिएर स्वयंसेवी शिक्षक परिचालन गरिने बताए ।

No comments:

Post a Comment