Saturday, February 15, 2020

मेलम्चीको पानी असारसम्ममा ल्याउने गरी श्वेतपत्र जारी

काठमाडौं, १ फागुन– खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची आयोजनाबाट असारभित्रै काठमाडौं उपत्यकामा खानेपानी ल्याइसक्ने दाबी गर्दै बिहीबार श्वेतपत्र जारी गरेको छ ।
मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले श्वेतपत्र जारी गरी मेलम्चीका बाँकी काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गरी उपत्यकामा पानी ल्याइसक्ने समयसिमा तोकेकी हुन् ।
उनले मन्त्रालयको कार्यतालिकाअनुसार नै मेलम्ची आयोजनाको निर्माणको काम तीव्र गतिमा भइरहेको दाबी गरिन् । १५ महिनामा मेलम्चीको बाँकी कामको निर्माण सम्पन्न गर्ने गरी सरकारले गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको थियो ।
‘सिनो हाइड्रोले दु्रतगतिमा काम गरिरहेको छ । अब असारभित्रै मेलम्चीबाट पानी आइसक्ने छ’ मन्त्री मगरले भनिन् । खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्चीका बारेमा राजधानीबासीमा रहेको भ्रम हटाउन श्वेतपत्र जारी गरिएको बताए । उनले मेलम्ची आयोजनाका विषयमा फरक–फरक धारणा आइरहेकाले एउटै कुरा जानकारी गराउन मन्त्रालयले श्वेतपत्र जारी गरेको बताए ।
उनले सिनो हाइड्रोले ठेक्का सम्झौतामा तोकिएको अवधिभन्दा अगावै काम सम्पन्न गर्ने र असार मसान्तसम्म पानी आइसक्ने बताए ।
मेलम्ची खोलामा बाँध निर्माणको काम असारमै नसकिए पनि उपत्यकावासीले त्यही समयदेखि खानेपानी पाउने दाबी गरे । ‘मेलम्ची खोलामा अस्थायी बाँध बनाएर पानी ल्याउने काम भइरहेको छ’ उनले भने ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत भइसकेको दाबी गरे । ‘आयोजनाका १४ वटा गेटमध्ये नौवटा सम्पन्न भइसकेका छन् भने मुख्य सुरुङको अन्तिम काम (फिनिसिङ) ६० प्रतिशत सकिएको छ’ उनले भने– ‘असार मसान्तसम्म सुरुङको परीक्षण गरिसकेर खानेपानी ल्याउन थाल्ने छौं ।’
खत्रीका अनुसार खानेपानी काठमाडौँ उपत्यकामा वितरण गर्नु अगाडि सुन्दरीजलमा प्रशोधन हुनेछ । पानी प्रशोधनका लागि दुइटा प्रशोधन प्लान्टको निर्माण सकिइसकेको छ ।
उनका अनुसार सिनो हाइड्रोले आयोजनाको बा“की काम असारभित्रै सम्पन्न गर्ने गरी नियमित रूपमा पर्याप्त जनशक्ति र उपकरण परिचालन गरेर काम गरिरहेको छ । सिनो हाइड्रोले चाँडो काम सम्पन्न गर्दा कुल ठेक्का रकमको प्रतिदिन ०.१५ प्रतिशतका दरले लाभांश पाउने सम्झौतामा उल्लेख छ । जति दिन अगाडि सक्यो, त्यति धेरै लाभांश पाउने छ ।् सरकारको राष्ट्रिय गौरवको आयोजना मेलम्ची सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ ।

No comments:

Post a Comment