Wednesday, July 1, 2020

कुन कुन सचिव छन् मुख्यसचिवको दौडमा ?

पहिलो वरियताका अधिकारी, सापकोटा र बैरागी मुख्यसचिवलाई नियुक्ति दिलाएर मुख्यसचिव हुने दाउमा
दोस्रो वरियताका घिमिरे, ओली र अधिकारी भने रेग्मीलाई पूरै कार्यकाल खान दिएर मुख्यसचिव हुने ताकमा
काठमाडौं, १६ असार– सरकारका वरिष्ठ ६ जना सचिवले निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिव हुन दौडधुप सुरु गरेका छन् । मुख्यसचिव लोकदर्शन रेग्मीको तीनवर्षे कार्यकाल सकिनु साढे तीन महिना बाँकी छँदै निजामती प्रशासनको नेतृत्वदायी आकर्षक पदमा पुग्न ती सचिवले आ–आफ्नो पक्षमा माहोल बनाउन लबिइङ थालेका हुन् ।

सबभन्दा वरिष्ठ ३ सचिव रेग्मीलाई कार्यकाल सकिनुअगाडि नै संवैधानिक आयोग या राजदूत पदमा पठाएर आफूहरू मुख्यसचिव पुग्ने लबिइङमा छन् । दोसो वरियताका अरू तीन सचिव भने रेग्मीलाई पदावधि पूरा गर्न दिएर आफूहरू मुख्यसचिव हुने ताकमा छन् ।

रेग्मीलाई पदावधि सकिनुअगावै सम्मानजनक बहिर्गमनमा पठाएर मुख्यसचिव हुने दौडमा लागेका तीन वरिष्ठ सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा र परराष्ट्र मन्त्रालयका शंकरदास बैरागी छन् । 
मुख्यसचिवको प्रतिस्पर्धामा रहेका ६ जना नै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शक्ति केन्द्रलाई रिझाउन आ–आफ्ना किसिमले दौडधूपमा  लागेका छन् । प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकारका रूपमा कार्य गर्नु पर्ने मुख्यसचिव कसलाई बनाउने भन्ने निर्णय प्रधानमन्त्री स्वयंले नै गर्ने प्रचलन छ ।  त्यही कारण मुख्यसचिवका दाबेदारहरू प्रधानमन्त्री, उनी निकटका मन्त्री, नेता तथा सल्लाहकारकहाँ धाउने क्रम बढेको छ । 
रेग्मीले आगामी ३ कात्तिकमा तीनवर्षे कार्यकाल पूरा गरी अवकाश पाउँदै छन् । त्यसअघि नै अधिकारी, सापकोटा र बैरागी सचिवको ५ वर्षे कार्यकाल पूरा गरी २२ असोजमा अवकास पाउने छन् । त्यही कारण उनीहरू रेग्मीलाई पदावधि सकिनुअघि नै आकर्षक पदमा पठाई आफूहरू मुख्यसचिव हुने ताकमा छन् । अधिकारी, सापकोटा र बैरागी एकै दिन २०७२ असोज २२ मा सचिव बढुवा भएका हुन् । 
तीन जनामा पनि बैरागी र अधिकारी सापकोटाभन्दा बढी नै दौडधुपमा लागेका छन् । उनीहरूले प्रधानमन्त्री, प्रभावशाली मन्त्री र सत्तारूढ दलभित्रका शक्ति केन्द्रहरूलाई भेटेर आफू मुख्यसचिवका लागि सबभन्दा योग्य भएको दाबी गरिरहेका छन् । उनीहरूले रेग्मीलाई रिक्त कुनै संवैधानिक आयोगको प्रमुख या आकर्षक देशको राजदूत बनाएर पठाउन र आफूलाई मुख्यसचिव पद दिन आग्रह गरेको जानकारी स्रोतले दिएका छन् । 
अझ बैरागीले मुख्यसचिव हुनकै लागि आफू न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोगमा स्थायी प्रतिनिधि भएर नगएको भनेर आफूलाई ठूलो दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन् । यसअघिका परराष्ट्र सचिवहरू एक÷दुई वर्ष सचिव भएपछि राजदूत नियुक्त भएर जाने गरेका थिए ।
अधिकारीले समेत प्रधानमन्त्रीसहित सबै शक्ति केन्द्रमा  कार्यक्षमताका हिसाबमा आफू सबभन्दा अब्बल सचिव भएको दाबी गर्दै मुख्यसचिव दाबेदारी गरिरहेका छन् । 
सापकोटाले मुख्यसचिवका लागि दाबेदारी गरे पनि दौडमा भने उनी अधिकारी र बैरागीभन्दा पछाडि रहेको स्रोतले उल्लेख गरेको छ । सत्तारूढ दलका प्रभावशाली नेता र मन्त्रीको आशिर्वाद नपाएका कारण सार्वजनिक खरिद अनुगमन कार्यालयमा बस्न बाध्य सापकोटामा आफू मुख्यसचिव हुन पाउँछु भन्ने आत्मविश्वाससमेत कम छ ।
रेग्मीले मुख्यसचिवको कार्यकाल पूरा गरे भने त्यसअगाडि नै अवकास भइसक्ने अधिकारी, सापकोटा र बैरागी मुख्यसचिवको दौडबाट स्वतः बाहिरिने छन् । त्यसपछि दोस्रो वरियताका तीन सचिवहरू उद्योग मन्त्रालयका चन्द्रकुमार घिमिरे, वन तथा वातावरण मन्त्रालयका विश्वनाथ ओली र सहरी विकास मन्त्रालयका मधुसूदन अधिकारी मुख्यसचिवका प्रमुख दाबेदार हुने छन् । किनकि रेग्मी अवकास हुँदा यिनै तीन जना सचिव सबभन्दा वरिष्ठ हुने छन् । घिमिरे २०७२ माघ ८, ओली २०७३ वैशाख ७ र अधिकारी २०७३ वैशाख २४ मा सचिवमा बढुवा भएका हुन् । 
यी तीन जना सचिव रेग्मीलाई कार्यकाल पूरा गर्न दिनु पर्ने लबिइङमा छन् । उनीहरूले प्रधानमन्त्री र प्रभावशाली मन्त्रीहरूसमक्ष मुख्यसचिव पदलाई अस्थिर बनाउन नहुने र पूरै कार्यकाल काम गर्न दिनु पर्ने लबिइङमा छन् ।
मन्त्रिपरिषदले सबभन्दा वरिष्ठ ब्याचका सचिवमध्येबाट मुख्यसचिव बढुवा गर्ने अभ्यास छ । तसर्थ ब्याचका हिसाबले सबभन्दा वरिष्ठ घिमिरे भएकाले उनी नै स्वभाविक रूपमा बलियो दाबेदार हुने दाबी प्रशासनिक अधिकारीहरूको छ । तर, निजामती सेवा ऐनमा बहालवाला सचिवहरूमध्येबाट सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने प्रावधान छ । यही प्रावधानका कारण मन्त्रिपरिषदले मुख्यसचिव बढुवा गर्दा यी तीन वरिष्ठ सचिवमध्येबाट एकलाई रोज्न सक्ने तर्कसमेत प्रशासनिक अधिकारी छ ।
पहिलो वरियताका तीन जना या दोस्रो वरियताका तीन जना सचिवमध्ये को मुख्यसचिव हुने भन्ने कुरा बढी रेग्मीको हातमा निर्भर छ । उनी २०७४ कात्तिक ४ मा मुख्यसचिवमा बढुवा भएका उनी २०७७ कात्तिक ४ गते तीन वर्षे पदावधि पुरा गर्दैछन् । 
तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले एसियाली विकास बैंकमा डाइरेक्टर पदमा नियुक्ति लिएर गएका कारण अपेक्षा नै नगरेका सचिव राजेन्द्रकिशोर क्षेत्रीले यसअघि मुख्यसचिव हुने मौका पाएका थिए । रेग्मी सुवेदीकै बाटामा गएमात्र पहिलो वरियताका तीन सचिवमध्येबाट मुख्यसचिव हुने ढोका खुल्ने छ ।
मन्त्रिपरिषदमा प्रधानमन्त्री र मन्त्रीहरूसँग निकट सम्बन्ध र समन्वय राखेर काम गर्नु पर्ने पद भएकाले मुख्यसचिव पद आकर्षकमात्र मानिंदैन कि सत्तारूढ दलको विश्वासपात्रसमेत हुनु पर्ने ती अधिकारी उल्लेख गर्छन् । 

No comments:

Post a Comment