Wednesday, February 27, 2019

राँगाको आक्रमणमा परेका नासु श्रेष्ठको मृत्यु

काठमाडौं, १४ फागुन– राँगाको आक्रमणमा परी घाइते भएका नायव सुब्बा कान्छा श्रेष्ठको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका–५ महाँदेवस्थानका ५२ वर्षीय श्रेष्ठ शनिबार चन्द्रागिरि–९ मच्छेगाउँमा राँगाको आक्रमणबाट सख्त घाइते भएका थिए । उनलाई उपचारका लागि त्रिपुरेश्वरस्थित ब्लूक्रस अस्पतालमा भर्ना गरिएको थियो । श्रेष्ठको मंगलबार नै अन्त्येष्टि गरिएको छ ।
राँगाको आक्रमणबाट घाइते भएका चन्द्रागिरि नगरपालिका–४ त्रिभुवन पार्ककी ४५ वर्षीया देवी राना र वडा–९ का ८० वर्षीय काजी महर्जन भने डिस्चार्ज भइसकेका छन् ।
राँगाको आक्रमणमा प्रहरी हवल्दारसहित ६ जना घाइते भएका थिए । राँगाको आक्रमणमा परी ७० वर्षीय मानवीर महर्जनको शनिबार नै मृत्यु भएको थियो । राँगोलाई प्रहरीले दहचोकमा शनिबार नै गोली हानेर मारिसकेको छ ।

कोरम नपुगेर सुनुवाइ समितिको बैठक दोस्रोपटक स्थगित

काठमाडौं, १४ फागुन– गणपुरक संख्या (कोरम) नपुगेपछि संघीय संसदको सुनुवाइ समितिको बैठक दोस्रोपटक स्थगित भएको छ ।
थारू आयोग र मधेसी आयोगको अध्यक्षमा सिफारिस दुई जनामाथि सुनुवाइ गर्न मंगलबारका लागि बोलाइएको बैठक कोरम नपुगेपछि सुरु नै नभई स्थगित भएको हो ।
संवैधानिक परिषदले थारू आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मधेसी आयोगको अध्यक्षका लागि विजयकुमार दत्तको नाम सिफारिस गरेको छ । सुनुवाइमा सहभागी हुन आएका चौधरी र दत्त बैठक नबसेपछि करिब एक घन्टा कुरेर फर्किएका थिए ।
चौधरी र थारूको नाममा सुनुवाइ गर्न आइतबार बोलाइएको बैठकसमेत कोरम नपुगेपछि स्थगित भएको थियो ।
समितिको बैठक बस्न बहुमत सदस्य उपस्थित हुनै पर्ने संघीय संसदको नियमावलीमा व्यवस्था गरिएको छ । १५ सदस्यीय सुनुवाइ समितिको बैठक बस्न ८ सदस्य उपस्थित हुनै पर्छ । मंगलबार समितिका ७ सदस्यमात्र उपस्थित थिए ।

पठायोको सेवा नरोक : सर्वोच्च

काठमाडौं, १४ फागुन– मोटर साइकलमा अन्य व्यक्तिलाई ओसार्ने कामबाट मुलुकको कानुन उल्लंघन भएको दाबीसहित परेको रिटमा सर्वोच्च अदालतले मंगलबार सेवा रोक्न अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र अनिल कुमार सिन्हाको संयुक्त इजलासले रिटमा सुनुवाइ गर्दै पठायोको सेवा रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।
नेपालको कानुनको उल्लंघन गरेको, कर नतिरेको एवं विदेशी लगानीको उद्धेश्यमा दर्ता भएको पठाओ नेपाल प्रा.लि.ले अनुमतिभन्दा बाहिरको काम गरेको भन्दै अधिवक्ता श्यामकुमार श्रेष्ठलगायतले सर्वोच्चमा माघको पहिलो साता रिट दर्ता गरेका थिए ।
मोटरसाइकलमा यात्रुलाई सेवा उपलब्ध गराइरहेको पठाओ नेपाल कम्पनीले नेपालको कानुन उल्लंघन गरेकामा गृह मन्त्रालय, उद्योग मन्त्रालयले समेत झारा टार्ने काम गरेकाले उनीहरूलाई समेत कम्पनीको इजाजत रद्द गर्ने आदेश जारी गर्नुपर्ने मागसहित रिट निवेदन दायर भएको थियो।‘रिटमाथि अन्तिम निर्णय हु“दा नै निक्र्यौल हुने विषय भएकाले अहिले नै सेवा रोक्न आदेश दिन मिल्दैन’ संयुक्त इजलासको निर्णयमा भनिएको छ ।

Tuesday, February 26, 2019

चिनियाँ नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं, १३ फागुन– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चिनियाँ नागरिकविरुद्ध सोमबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । ४ वर्ष अघि चिनियाँ नागरिकबाट बरामद भएको  १ करोड ३० लाख रुपैयाँ अवैध र गैरकानुनी कार्यबाट आर्जन गरिएको पुष्टि भएको उल्लेख गर्दै विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले २०७१ साउनमा बरामद गरेको अवैध रकम चिनियाँ नागरिक ली जिओफेङले नेपालमा गैरकानुनी स्रोतबाट आर्जन गरेको अभियोगपत्रमा उल्लेख छ ।
महानगरीय अपराध महाशाखाले ठमेलमा बस्दै आएका लि र उनकी श्रीमतीलाई अवैध रकम तातोपानी नाका हुँदै चीन पठाउँदै गर्दा नियन्त्रणमा लिएको थियो।
महाशाखाले बरामद रकमसहित थप कारवाहीका लागि २०७१ साउन १९ मा सम्पत्ति शुद्धिकरण विभागमा छानबिनसहित मिसल बुझाएका थिए । पक्राउ परेका चिनियाँ नागरिक धरौटीमा रिहा भएका थिए । सम्पत्ति शुद्धिकरण विभागले आफूमाथि अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक ली फरार भएका छन् ।

सुरक्षा संवेदनशीलतामा ध्यान दिन सरकारलाई आग्रह

काठमाडौं, १३ फागुन– राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई सुरक्षा संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको छ । आयोगका निमित्त सचिव तथा निर्देशक मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी शुक्रबार र शनिबार मुलुकका विभिन्न ठाउ“मा भएका बम विस्फोटका घटनाप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता घटनामा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
विज्ञप्तिमा आयोगले विष्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्थाप गर्नसमेत सरकारस“ग माग गरेको छ ।
शुक्रबार राति नख्खुमा रहेको एनसेलको कार्यालय परिसरमा भएको विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । शुक्रबार राति र शनिबार जाजरकोट, बाग्लुङ, रूपन्देही, कपिलवस्त, पूर्वी नवलपरासी, कास्की, नुवाकोटलगायतका ठाउ“मा पनि बम विष्फोट भएको थियो । विस्फोटको जिम्मा नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाले लिएको छ ।

दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १३ फागुन– अखितयार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताको अभियोगमा दुई कर्मचारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सप्तरी जिल्लाको साविक खोक्सर प्रवाहा गाउँ विकास समितिका तत्कालीन सचिव कृष्णबहादुर दाहालले गाविसको ५ लाख ३३ हजार ८ सय रुपैयाँ हिनामिनाले गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अभियोगपत्रमा अख्तियारले दाहालविरुद्ध बिगोबराबर जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।
अख्तियारले विद्युत क्षमता वृद्धि गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको १५ हजार घुससहित पक्राउ परेका विद्युत प्राधिकरण, बानेश्वर वितरण केन्द्र, पुरानो बानेश्वरको नयाँ दर्ता शाखाका सुपरभाइजर महेन्द्र प्रधानमाथि समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् ।

Monday, February 25, 2019

संवैधानिक परिषद बैठक स्थगित

काठमाडौं, १२ फागुन– प्रधानमन्त्री केपी ओलीको ‘व्यस्तता’ का कारण आइतबार बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले निर्वाचन आयोग र अख्तियारसहित संवैधानिक आयोगहरूमा रिक्त पदमा नियुक्तिको सिफारिस गर्न र मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरिएका समिम मिया“ अन्सारीको नाम फिर्ता लिन बैठक बोलाएका थिए । 
प्रधानमन्त्री ओलीले आइतबार परिषदका सदस्यहरूलाई आफू व्यस्त रहेको मौखिक जानकारी गराई बैठक स्थगित गरेको जानकारी परिषद सचिवालय स्रोतले दिएको छ । अब परिषद बैठक कहिले बस्ने तिथिसमेत तय गरिएको छैन । ‘प्रधानमन्त्रीले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्नु भएको छ’ परिषदका एक सदस्यले भने ।

कोरम नपुगेपछि सुनुवाइ समिति बैठक स्थगित

काठमाडौं, १२ फागुन– कोरम नपुगेपछि संघीय संसदको सुनुवाइ समितिको आइतबार बोलाइएको बैठक स्थगित भएको छ ।
थारू आयोग र मधेसी आयोगमा प्रस्तावित अध्यक्षमाथि सुनुवाइ गर्न बोलाइएको बैठक ५० प्रतिशत सदस्य पनि अनुपस्थित भएपछि स्थगित भएको हो ।
संसदको नियमावलीमा समितिको बैठक सञ्चालनका लागि बहुमत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । १५ सदस्यीय समितिको आइतबारको बैठकमा ७ जनामात्र सदस्य उपस्थित थिए । बैठक सञ्चालनका लागि कम्तीमा ८ सदस्यको उपस्थिति अनिवार्य हुन्छ ।
प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदले ५ आयोगको अध्यक्ष नियुक्तिको सिफारिस गरेको विरोधमा कांग्रेसले सुनुवाइ समितिको बैठक बहिष्कार गर्दै आएको छ । समितिमा कांग्रेसका चार, सत्तारूढ नेकपाका नौ र राष्ट्रिय जनता पार्टी र संघीय फोरमका एक÷एक सदस्य छन् ।
संवैधानिक परिषदले मधेशी आयोगमा विजयकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको छ । समितिको बैठकमा सुनुवाइ सकिएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको नाम अनुमोदन गर्ने कार्यसूचीसमेत थियो । बैठक स्थगित भएकाले दुई जनाको नाम आइतबार पनि अनुमोदन भएन । समितिको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ ।

पाठकमाथि छानबिन सुरु भइसकेको छ : प्रमुख आयुक्त

काठमाडौं, १२ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरणमा परेका अख्तियारका आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान भइरहेको जानकारी संघीय संसदलाई गराएका छन् ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आइतबार बसेको बैठकमा उपस्थित घिमिरेले पाठकमाथि अख्तियारले सुरु गरेको अनुसन्धान केही दिनभित्रै निष्कर्षमा पुग्ने बताए ।
उनले पाठकको घुस काण्डले अख्तियारमाथि गम्भीर प्रश्न उठेको र आफूहरू त्यसमाथि चिन्तित रहेको बताए । ‘पाठकको घुस प्रकरणमाथि अनुसन्धान गर्न सहसचिवको संयोजकत्वमा गठित तीन सदस्य छानबिन कार्यदलले अनुसन्धान सुरु गरिसकेको छ । भ्रष्टाचारमा कसैले पनि उन्मुक्ति पाउँदैन’ उनले भने ।
घिमिरेले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा समेत अनियमितताको अनुसन्धान गर्न अख्तियारद्वारा गठित तीन सदस्यीय छानबिन कार्यदलले काम गरिरहेको जानकारीसमेत गराए ।

विस्फोट विप्लव समूहले गरेको हो : गृहमन्त्री

काठमाडौं, १२ फागुन– गृहमन्त्री रामबहादुर थापाले शुक्रबार मुलुकका २० जिल्लामा निजी मोबाइल सेवा प्रदायक एनसेल कम्पनीका टावर लक्षित गरी नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाले विस्फोट गराएको बताएका छन् ।
उनले आइतबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बम विस्फोट गर्ने तत्वको पहिचान भइसकेको उल्लेख गर्दै नामै किटेर विप्लव समूहले गराएको जानकारी दिएका हुन् ।
‘हालसम्म कसैले विस्फोट गराएको जिम्मेवारी लिएको त छैन । अहिलेसम्म प्राप्त अनुसन्धानको रिपोर्टअनुसार राज्यविरोधी, संविधानविरोधी शक्ति विप्लब समूहले विस्फोट गराएको हो’ उनले भने ।
उनले विप्लब समूहको केन्द्रीय योजना अनुसार देशव्यापी रूपमा आक्रमण गरिएको अनुसन्धान रिपोर्ट आएको बताए । ‘उनीहरू (विप्लब समूह) को भर्खर बसेको बैठकले गरेको निर्णय तथा राज्यलाई प्राप्त डकुमेन्टबाट सत्ता उल्टाउनका लागि लागिपरेको यही समूह हो भन्ने रिपोर्ट आएको छ’ थापाले भने ।

जन्मदिनमा प्रधानमन्त्रीले रोपे आँपको बिरुवा

काठमाडौं, ११ फागुन– प्रधानमन्त्री केपी ओलीले आफ्नो ६८ औं जन्मोत्सवका अवसरमा शनिबार आ“पको विरुवा रोपेका छन् ।
सरकारी निवास बालुवाटार परिसरमा प्रधानमन्त्रीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका ह्न् । प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी छन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।
 प्रधानमन्त्री ओलीलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भारतीय अभिनेत्री जया प्रदालगायतले शुभकामना दिएका छन् । ओली २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मेका हुन् ।

राप्रपाका १४ जनाले पार्टी छाडे

काठमाडौं, ११ फागुन– कमल थापा नेतृत्वको राप्रपाका १४ जना केन्द्रीय नेताले शनिबार पार्टी परित्याग गरेका छन् । राप्रपा संगठन सुदृढीकरणका लागि राष्ट्रिय स्वाभिमान यात्राको तयारीमा जुटिरहेका बेला पूर्वमहामन्त्री जयन्त चन्दसहितका नेताहरूले वक्तव्य जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
चन्द राप्रपाकै वरिष्ठ नेता पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् । चन्दस“गै पार्टी परित्याग गरेका नेतामा सहायक महामन्त्री भरत पाठक, कार्य सम्पादन समितिका सदस्यहरु प्रह्लाद साह, भरत गिरि र दिनेश श्रेष्ठ, पूर्व सहायक महामन्त्री गोविन्द खनिया“
केन्द्रीय सदस्यहरू सानुकाजी हेक्का, चिरागमानसिंह कु“वर, रिता पोखरेल, सुन्दर खडा, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिंह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईं छन् ।

Saturday, February 23, 2019

घुससहित जेलर पक्राउ

काठमाडौं, १० फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्लाको भीमफेदीस्थित क्षेत्रीय कारागारका जेलर (शाखा अधिकृत) मदन अधिकारीलाई शुक्रबारबार घुससहित पक्राउ गरेको छ ।
कारागारका चौकिदार डेनियल लामासित अन्यत्र कारागारमा सरुवा गरिदिने बहानामा लिएको ७५ हजार रुपैयाँ घुससहित अधिकारीलाई निवासबाटै अख्तियारको हेटौंडा कार्यालयको टोलीले पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिका अनुसार अधिकारीलाई हिरासतमा लिई अनुसन्धान भइरहेको छ ।

नेकपाको एकता कार्यदल नै भंग

  • सांगठनिक एकता प्रक्रिया अन्यौलमा
  • कार्यदलको बहुमतले छुट्टै प्रतिवेदन दिने
काठमाडौं, १० फागुन– सत्तारूढ नेकपाको सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने कार्यदल नै भंग भएको छ । नेकपाको सचिवालय बैठकमा संयोजक रामबहादुर थापा र वरिष्ठ सदस्य विष्णु पौडेलले काम गर्न नसक्ने धारणा राखेपछि कार्यदल भंग भएको हो । सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको प्रस्तावमा कार्यदल भंग गरेको हो ।
कार्यदल नै भंग भएपछि नेकपाको सांगठनिक एकता प्रक्रिया झन् जटिल बनेको र कहिले टुंगिने भन्ने नै अनिश्चित भएको छ । ओलीले संयोजक थापा र महासचिव पौडेलले नै काम गर्न सक्तैनौं भनेपछि कार्यदल भंग गर्न प्रस्ताव राखेका थिए । छलफलका क्रममा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेता वामदेव गौतमले भने कार्यदललाई एकता प्रक्रिया टुंग्याउन थप समय दिनुपर्ने धारणा राखेका थिए ।
‘एकता प्रक्रिया चा“डै टुंग्याउनुको विकल्प छैन । कार्यदललाई थप समय दिएर भए पनि एकता प्रक्रिया छिटो टुंग्गाऊ“ । कार्यदलकै बहुमत ५ सदस्यले एकता प्रक्रिया टुंग्याउन थप समय माग्नुभएको छ । कार्यदललाई काम गर्न दिऊ“’ नेपाल, खनाल र गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भने ।
थापा र पौडेलले तीन नेताको भनाइको प्रत्युत्तरमा म्याद थप गरे पनि आफूहरूले काम गर्न नसक्ने धारणा राखेका थिए । ‘जसले जिम्मा लिएको हो । उसले नै काम गर्न सक्तिन भने पछि कार्यदल राखिरहनुको के अर्थ हुन्छ ?’ अध्यक्ष ओलीले सचिवालय बैठकमा यस्तो धारणा राखेपछि कार्यदल भंग गरिएको हो ।

घलेलाई मानार्थ अध्यक्ष नहटाउन आदेश

काठमाडौं, १० फागुन– पाटन उच्च अदालतले टासी घलेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्काललाई नहटाउन अन्तरिम आदेश दिएको छ ।
गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । त्यसको विरुद्ध घलेले उच्च अदालतमा रिट दायर गरेका थिए । मुद्दामा प्रारम्भिक सुनुवाइपछि न्यायाधशि केशवराज जोशीको एकल इजलासले घलेलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको  हो । आदेशमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म घलेलाई पदबाट नहटाउन भनिएको छ ।
माघ ३ मा  एन्फाको कार्य समिति बैठकले टासी घलेलाई मानार्थ अध्यक्षबाट हटाएको थियो । गत वैशाखमा निर्वाचित एन्फाको नेतृत्वले घलेलाई मानार्थ अध्यक्ष नियुक्त गरेको थियो । कर्माछरिङ शेर्पा प्यानललाई एन्फा निर्वाचनमा जिताउन भूमिका निर्वाह गरेका कारण घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको हो ।

समाज कल्याण परिषदका पदाधिकारी बर्खास्त

काठमाडौं, ९ फागुन– सरकारले समाज कल्याण परिषदका ५ पदाधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषदको बैठकले बदनियत र कानुन विपरीत काम गरेकाले उनीहरूलाई बर्खास्त गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाले दिए ।
बा“स्कोटाका अनुसार मन्त्रीपरिषदले परिषदका उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको छ ।
सरकारले परिषदमा भएको अनियमितताबारे थप अनुसन्धान गरी कानुनी कारबाही गर्न त्यससम्बन्धी प्रतिवेदनको प्रलिलिपि अख्तियारमा पठाउने निर्णयसमेत गरेको छ । पदाधिकारीको अनियमिततामाथि छानबिन गर्न सरकारले पूर्वन्यायाधीश मोहनरमण भट्टराईको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले दिएको प्रतिवेदन सरकारले अख्तियारलाई उपलब्ध गराउने छ ।

नेम्वाङले अख्तियारलाई बुझाए पाठकले घुस लिएको भिडियो

काठमाडौं, ९ फागुन– सत्तारूढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई हस्तान्तरण गरेका छन् ।
प्रमुख आयुक्त नवीन घिमिरेले फोन गरी आग्रह गरेपछि नेम्वाङले भिडियो अख्तियारको अनुसन्धान टोलीलाई हस्तान्तरण गरेका हुन् । ‘पाठकलाई महाभियोग लगाउनका लागि राखेको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरें’ नेम्वाङले संवाददाताहरूसित भने, ‘सिंहदरबार आएर उहा“हरूले दुइटा भिडियो लैजानुभयो ।’
नेम्वाङले आफ्नो चस्मा राख्ने बट्टाबाट झिकेर भिडियो भएको पेन ड्राइभ अनुसन्धान अधिकृतलाई बुझाएका थिए । भिडियो सार्वजनिक भएलगत्तै पाठकले महाभियोगबाट बच्न आयुक्त पदबाट राजीनामा दिएका थिए ।
सार्वजनिक संस्थाका रूपमा दर्ता भएको भक्तपुरको चा“गुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजलाई सञ्चालक लम्बोदर न्यौपाने समूहको निजी स्वामित्वको बनाउने गरी मुद्दा मिलाउन पाठकले ७८ लाख रुपैया“ घुस लिएका लिए । उनले घुस लिएको सम्बन्धी समाचार कान्तिपुरसहितका मिडियामा सार्वजनिक भएपछि पाठकले राजिनामा दिएका हुन् ।

काजी कालु पाण्डेको शालिक अनावरण

काठमाडौं, ९ फागुन–  प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको दहचोकमा काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण गरेका छन् । काजी कालुपाण्डेको समाधिस्थलमा दहचोकमा बिहीबार आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उदघाटन गर्दै प्रधानमन्त्रीले शालिक अनावरण गरेका हुन् ।
प्रधानमन्त्रीले पाण्डको समाधी स्थल नेपालीका लागि तिर्थस्थल भएको बताएका छन् ।
चन्द्रागीरी नगरपालिका १ को दहचोकमा प्रधानमन्त्रीले गत वर्ष पाँचतले भ्यू टावर शिलान्यास गरेका थिए । टावरको दुई तला निर्माण भइसकेको छ । दहचोकमा मनकामना मन्दिरको पुननिर्माण भइसकेको छ भने इन्द्र दहको पुनर्निर्माणको काम भइरहेको छ ।

थप ५ अस्पताल केन्द्र मातहत

काठमाडौं, ९ फागुन– सरकारले थप ५ अस्पताललाई केन्द्र मातहत राख्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले कोसी अञ्चल अस्पताल विराटनगर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगन्ज र डडेलधुरा उपक्षेत्रीय अस्पताललाई केन्द्र मातहत राख्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ती अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्नका लागि केन्द्र मातहत राखी व्यवस्थापन गर्ने निर्णय गरिएको जानकारी दिए । सरकारले यसअघि निर्णय गरी ठूला १३ वटा अस्पताललाई केन्द्र मातहत राखिसकेको छ । अब केन्द्र मातहत रहने अस्पतालको संंख्या १८ वटा पुगेको छ ।
मन्त्री बा“स्कोटाका अनुसार सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत स्थापना गर्न लागिएका तीन मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माण विकास कार्य अघि बढाउन २०७६ असार मसान्तसम्मका लागि अस्थायी संगठन संरचना र राजपत्रांकित श्रेणीका ९ वटा दरबन्दी सिर्जना गरेको छ । सरकारले पा“चथर–इलाम, उदयपुर र डोटीमा एक÷एकवटा मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाएको छ ।

Thursday, February 21, 2019

पराजुली र लोकमानलाई समेत कारबाही गर्न डा. केसीको माग

काठमाडौं, ८ फागुन– डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँगै पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीमाथि समेत कारबाही गर्न माग गरेका छन् ।
अख्तियारले नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैया“ घुस लिएको सार्वजनिक भएपछि आफ्नै पूर्व आयुक्त पाठकमाथि सार्वजनिक पद दुरुपयोगमा कारबाही गर्न छानबिन अघि बढाएको छ ।
केसीले बुधबार विज्ञप्ति जारी गरी सार्वजनिक पदको चरम दुरुपयोग गरेका पराजुली र लोकमानमाथि समेत कानुनअनुसार भ्रष्टाचारको कसुरमा कारबाही गर्न पाठकस“गै छानबिन अघि बढाउन माग गरेका छन् ।
विज्ञप्तिमा चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरेकाले दुई वर्ष अगाडि नै आफूले पराजुली र लोकमानलाई महाभियोग लगाउन माग गरेकोसमेत उल्लेख गरेका छन् । केसीले विज्ञप्तिमा पाठकले घुस लिएको थाहा पाएर पनि प्रधानमन्त्री केपी ओली लामो समयसम्म मौन बस्नु गम्भीर आपत्तिजनक भएको टिप्पणी गरेका छन् । ‘यो विषय बाहिर आएपछिसमेत कारबाही गर्नुको सट्टा राजीनामा दिन लगाएर उन्मुक्ति दिन खोज्नु दण्डहीनताको चरम नमुना हो’ केसीले विज्ञप्तिमा भनेका छन्– ‘एकापट्टि दैनिक भाषणमा सुशासनको चर्को नारा लगाउने अनि अर्कापट्टि देशमा व्याप्त दण्डहीनताको विषयमा मौन बसी प्रश्रय दिनुले प्रधानमन्त्री ओलीको दोहोरो चरित्र उदांग भएको छ ।’

सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल : गृहमन्त्री

काठमाडौं, ८ फागुन– गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति सुरक्षाको स्थिति सुदृढ बनाउन सफल भएको दाबी गरेका छन् । राष्ट्रियसभा बैठकमा बुधबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै गृहमन्त्रीले ९५ प्रतिशत अपराधीलाई प्रहरी प्रशासनले कानुनी कठघरामा ल्याएको दाबी गरे ।
‘अपराधीलाई कानुनी कठघरामा ल्याउन सरकार सफल छ’ उनले भने ‘९५ प्रतिशत अपराधीलाई कानुनको कठघरामा ल्याएका छौं, कतिपय घटनामा अझ पनि सफल हुन सकेका छैनांैं । हामी त्यसमा प्रयत्नरत छौं ।’
उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा भने जति प्रयास गर्दा पनि अहिलेसम्म अपराधी पत्ता लगाउन नसकिएको स्वीकार गरे । ‘निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अपराधीलाई जसरी शीघ्रताको साथमा कानूनको कठघरामा ल्याउनुपथ्र्यो  त्यसमा सफल हुन सकेका छैनौं’ उनले भने ‘अपराधी पत्ता लगाउने प्रयासलाई निरन्तरता दिएका छौं, हामीलाई विश्वास छ छिट्टै अपराधी कानुनी कठघरामा आउनेछन् ।’
सांसदहरूले घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गर्ने प्रहरी अधिकारीहरूलाई प्रमाण लोप गराएको आरोपमा फौजदारी अभियोगमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाउन माग गरेका थिए ।

चालकले टयाक्सीमा छुटेको गरगहना फिर्ता गरे

काठमाडौं, ८ फागुन– ट्याक्सीमा छुटेको गरगहनासहितको सामग्री सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ । गुल्मीकी वसन्ता भुसालले बुधबार बिहान राजधानीको अनामनगरदेखि नैकापसम्म जा“दा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटाएको गरगहनासहितको सामान ट्याक्सी चालक सिमल राईले फिर्ता गरेका हुन् ।
राईले फिर्ता गरेको सामानमा ६ हजार १ सय २३ रुपैयाँ, ठूलो मंगलसूत्र, सानो मंगलसूत्र, चन्द्रमा, तिलहरी, घा“टीमा लगाउने हार, पिजडा टप एक जोडी, बेरुवा रिङ, तीनवटा औंठी र लेडिज पर्स छन् ।
राईले गरगहनासहितको सामान र नगद बुधबार नै महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाएका थिए । प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले वसन्ता भुसालकी बहिनी सोनिया भुसाललाई उक्त सामान जिम्मा लगाएको जानकारी महाशाखाले दिएको छ । महाशाखाले राईले इमानदरीपूर्वक सामान फिर्ता गरी उदाहरणीय काम गरेको जनाएको छ ।

‘नियमावलीमा प्रत्यक्ष र समानुपातिक सांसदबीच भेदभाव’

सदनमै नियमावली च्यातियो
काठमाडौं, ८ फागुन– प्रतिनिधिसभा बैठकमा संविधानले प्रत्यक्ष र समानुपातिक निर्वाचित सांसदको समान अधिकारको व्याख्या गरेको भए पनि सरकारले नियमावलीमा विभेद गरेको आरोप लगाइएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रामबहादुर विष्टले प्रत्यक्ष र समानुपातिक निर्वाचित सांसदको समान हैसियत भए पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी नियमावलीमा सरकारले भेदभाव गरेका गुनासो गर । उनले कोष सञ्चालनसम्बन्धी नियमावलीमा सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद संयोजक र समानुपातिकबाट निर्वाचित सांसद सदस्य हुने व्यवस्थाले विभेद भएको उल्लेख गर्दै त्यसलाई सच्याउन सरकारसित माग गरे ।
कांग्रेसकै सांसदद्वय उमा रेग्मी र लक्ष्मी परियारले पनि दुवै प्रकारका सांसदलाई निर्वाचन आयोगले एकै खाले प्रमाणपत्र दिए पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको नियमावलीमा किन विभेद गरिएको भन्ने प्रश्न गरेका थिइए ।
उनीहरूले नियमावलीले समानुपातिक सांसदलाई दास्रो दर्जाको सांसद बनाएको भन्दै आपत्ति जनाएका थिए ।
नियमावलीअनुसार निर्वाचन क्षेत्रमा चार करोड बा“ड्न आफ्नो सहमति आवश्यक नपर्ने थाहा पाएपछि समानुपातिक सांसदहरूले बैठकमा आक्रोश पोखेका हुन् । सांसद रेग्मीले स्थानीय पूर्वाधार विकास कार्यक्रमसम्बन्धी नियमावली नै च्यातिन् । सरकारले बजेट मार्फत् स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड विनियोजन गरेको छ ।

७ सचिवको सरुवा

काठमाडौं, ८ फागुन– सरकारले ७ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा, खानेपानी तथा सरसफाइ मन्त्रालयका गजेन्द्र ठाकुरलाई ट्रष्टको कार्यालयमा, प्रधानमन्त्री कार्यालयकै दिपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । रक्षा मन्त्रालयका विष्णु लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएको छ । सरकारले कामु सचिव सूर्यप्रसाद गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरेको छ ।

Wednesday, February 20, 2019

मन्त्रीसँग कुरा नमिलेपछि सचिवको सरुवा

काठमाडौं, ७ फागुन– मेलम्ची खानेपानी आयोजनालाई अघि बढाउने विषयमा मन्त्री बिना मगरस“ग मत बाझिएपछि खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको छ ।
आयोजना बीचमै छाडेर हिडेको इटालियन कम्पनी सीएमसीलाई भुक्तानी दिने विषयमा बिना मगरस“ग मतान्तर बढदै गएपछि सचिव ठाकुरको सरुवा भएको हो । मन्त्रिपरिषदको सोमबार बसेका बैठकले ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाई जगेडामा राखेको छ ।
मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना विकास समितिको अध्यक्षसमेत रहेका सचिव ठाकुरलाई ठेकदार कम्पनी सीएमसीलाई २ अर्ब ६० करोड रुपैया“ भुक्तानी दिन दबाब दिंदै आएकी थिइन् ।
सचिव ठाकुरले विवाद समाधान समितिले सीएमसीले दाबी गरेको २ अर्ब ६० करोडका ठाउँमा ३५ करोड रुपैया“मात्र भुक्तानी दिन सिफारिस गरेको र त्योभन्दा बढी दिन नसकिने अडानसहित मन्त्रीको दबाब अस्वीकार गर्दै आएका थिए ।
मन्त्री मगरले ठेक्का कानुनी रूपमा तोडिएपछि पनि २ अर्ब ६० करोड दिएर भए पनि सीएमसीलाई फर्काउन मेलम्ची खानेपानी समितिलाई दबाब दिएकी थिइन् ।

१८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ७ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद विकास कोषको रकमबाट विद्युत विस्तारका लागि गरेको खर्चमा १० लाख भ्रष्टाचार गरेकामा सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रायमाझीसहित सल्यानको तत्कालीन जिल्ला विकास समितिका प्रमुख इन्जिनयर जगदीश शर्मा, कृष्ण पण्डित, लेखा अधिकृत प्रकाश केसी, नासु जीवराज केसीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
ग्रामीण विद्युतीकरण शिवरथ उपभोक्ता समितिमार्फत भएको काममा पोलमात्र गाड्ने काम भई अन्य काम फर्जी भएको पाइएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ । उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर भण्डारीसहित समितिका ४ पदाधिकारी र ठेकेदार विनोद केसीलाई समेत भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
उनीहरूले १५ लाख रुपैयाँको योजनामा ५ लाखको मात्र पोल गाडेर १० लाख रुपैया“ लाख रुपैया“ हिनामिना गरेको अख्तियारले उल्लेख गरेको छ । 
तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तयारले जग्गा किनबेचमा राजस्व छलेर अनियमितता गरेको आरोपमा जिल्ला मालपोत कार्यालय सुनसरीका नापी सर्वेक्षक अमरकुमार झा र जग्गाधनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

दुर्घटनामा घाइते सीडीओ भट्टराईको निधन

काठमाडौं, ६ फागुन– बारा जिल्लामा भएको जिप दुर्घटनाका घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।
गत माघ १२ गते वनभोज कार्यक्रम सकेर फर्कने क्रममा भट्टराई चढेको ना १ झ १६३३ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा परी सशस्त्र प्रहरी बल बाराका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । घटनामा भट्टराईसहित ४ जना घाइते भएका थिए ।

शाखा अधिकृतद्वारा ३ करोड ‘अकुत’ आर्जन

काठमाडौं, ६ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
शाखा अधिृकत रिजालले सेवा रह“दा पदीय दुरुपयोग गरी २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी रिजालले अस्वाभाविक उच्च जीवनयापन गरिरहेको पाइएको उल्लेख गरेको छ । अख्तियारले रिजालकी श्रीमती स्वस्थानी रिजाललाई समेत प्रतिवादी कायम गरेको छ ।
अख्तियारले रेडियो प्रसार सेवा विकास समितिका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतरालाई २ लाख ३१ हजार ७ सय १८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा सोमबार नै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बारको नेतृत्वका लागि उम्मेदवारी दर्ता

काठमाडौं, ६ फागुन– कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको केन्द्रीय नेतृत्वका लागि सोमबार मनोनयन दर्ता भएको छ । सत्तारूढ नेकपा निकट कानुन व्यवसायी र प्रमुख प्रतिपक्षी कांग्रेस निकट कानुन व्यवसायीहरुले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् ।
नेकपा निकट कानुन व्यवसायीको संगठन नेपाल लयर्स एसोसिएसन (एनएलए) का तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र कांग्रेस निकट कानुन व्यवसायीहरूको संगठन डेमोक्र्याटिक लयर्स एसोसिएशन (डीलए) का तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
महासचिवमा एनएलएबाट सुरेन्द्रबहादुर थापा र डीएलएबाट लीलामणि पौडेलले उम्मेदवारी दिएका छन् । नेपाल बार एसोसिएसनको नया“ नेतृत्वका लागि आगामी चैत १६ मा चुनाव हु“दैछ ।  बारको केन्द्रीय समितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक÷एक जनासहित ८ जना उपाध्यक्ष तथा १४ जना सदस्यका लागि चुनाव हुनेछ ।

चार राजदूतले सपथ लिए

काठमाडौं, ६ फागुन– राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त चार नेपाली राजदूतलाई सोमबार पद तथा गोपनीयताको सपथ गराएकी छन् । 
शीतल निवासमा सोमबार आयोजित कार्यक्रम राजदूतहरू कृष्णप्रसाद ढकाल (संयुक्त अरब इमिरेट्स), उदयराज पाण्डे (मलेसिया), दुर्गाप्रसाद भण्डारी (कुवेत) र दीपक अधिकारीले (फ्रान्स) सपथग्रहण गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

गौरवका आयोजनाको काम निराशाजनक : संसदीय समिति

समितिले स्थलगत अध्ययन गर्ने
काठमाडौं, ६ फागुन– राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका २१ आयोजनाको प्रगति सन्तोषजनक नभएकामा चिन्ता व्यक्त गरेको छ । समितिको सोमबार बसेको बैठकले ती आयोजनाको काम द्रुत गतिमा अघि बढाउनका लागि आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बैठकले राष्ट्रिय गौरवका आयोजना नै समस्यामा फसेको, वर्षौं वर्षसम्म पनि सम्पन्न हुने अवस्थामा नपुगेकाबारेमा जिम्मेवार मन्त्रालय र अधिकारीहरूलाई जानकारी माग्ने निर्णयसमेत गरेको छ ।
समितिले राष्ट्रिय गौरवका आयोजनाको वास्तविक वस्तुस्थिति बुझेर समस्या पत्ता लगाई समाधानका लागि सरकारलाई थप निर्देशन दिने निर्णयसमेत गरेको छ ।
बैठकमा सदस्यहरूले राष्ट्रिय महत्वका आयोजना सम्पन्न हुन लामो समय लाग्दा लागतसमेत बढेकोतर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।
 समितिका सदस्यले चिन्ता व्यक्त गर्नुभएको थियो । समितिको बैठकले पहिलो चरणमा समितिका सदस्यलाई आयोजनाको स्थलगत अनुगमन गर्न पठाउने निर्णय गरेको छ ।
समितिले गौरवका आयोजनाहरूको स्थलगत अध्ययन गर्न सदस्यहरूलाई जिम्मा दिएको छ । समितिले सदस्यहरू इन्दु कडरियालाई पश्चिम सेती जलविद्युत् आयोजना, रानीजमरा कुलरिया सिंचाइ आयोजना, कोमल वलीलाई सिक्टा सिंचाइ आयोजना र बबई सिँचाइ आयोजना, खिमलाल भट्टराईलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ, लुम्बिनी क्षेत्र विकास कोष आयोजना, खेमराज नेपालीलाई मध्यपहाडी लोकमार्ग र कोशी करिडोरको स्थलगत अनुगमन गर्न खटाएको छ ।

Monday, February 18, 2019

राजस्व छलेको कपडासहित दुई पक्राउ

काठमाडौं, ५ फागुन– महानगरीय प्रहरी परिसर काठमाडौंले भन्सार छलेर ल्याएको कपडासहित दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले वीरगन्जबाट राजधानी आइरहेको ना १ ज ५८८४ नंको टाटा सुमोमा भन्सार छलेर ल्याएको कपडासहित सिन्धुलीका सञ्जीव कार्की र बाराका जैनुदिन अन्सारीलाई शनिबार राति पक्राउ गरेको हो ।
परिसरका अनुसार प्रहरीले उनीहबाट ७९ पिस साडीसहित ९ हजार बराबरको कपडा बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको छ ।

हिन्दु राष्ट्र घोषणाको माग गर्दै राप्रपाद्वारा आन्दोलनको घोषणा

काठमाडौं, ५ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायतका २२ बुँदे माग अघि सारेको गरेको छ । अध्यक्ष कमल थापाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी माग पूरा नभए चैतको पहिलो साताबाट पार्टीले सरकारविरुद्ध सशक्त आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।
राप्रपाले संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न तथा संघीयताबारे जनमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न सरकारसँग माग गरेको छ ।
राप्रपाले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरू अटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने मागसमेत दोहो¥याएको छ ।
थापाले सरकारलाई माग पूरा गर्नका लागि दबाब दिन फागुन ७ देखि पार्टीले जनसंघर्षको कार्यक्रम सुरुवात गर्ने जानकारी दिए ।  थापाले मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाब दिन पार्टीले फागुन १५ देखि चैत १ सम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने जानकारीसमेत दिए ।

न्यायाधीशमाथि छानबिन गर्ने कार्यदलको म्याद एक महिना थप

काठमाडौं, ५ फागुन– न्याय परिषदले ३८ सय किलो सुन तस्करी प्रकरणमा तानिएका विराटनगर उच्च अदालतका तत्कालीन मुख्यन्यायाधीशसहित ८ न्यायाधीशमाथि छानबिन गर्न गठित कार्यदलको म्याद एक महिना थप गरेको छ । सुन तस्करीको आदेश गर्दा न्यायिक विचलन गरेको आरोप लागेका ती न्यायाधीशमाथि थप अध्ययन गरी छानबिन गर्न न्याय परिषदले कार्यदलको म्याद एक महिना थप गरेको हो ।
परिषदले सुन काण्डसहित विभिन्न आरोप लागेका १२ न्यायाधीशमाथि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा र हरिकृष्ण कार्कीको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
उच्च अदालत, विराटनगरका मुख्यन्यायाधीशसहित ८ जना न्यायाधीशले सुन काण्डमा जारी गरेको आदेशका बारेमा थप अध्ययन गर्न आवश्यक देखिएकाले कार्यदलको म्याद फागुन मसान्तसम्मका लागि थप गरिएको जानकारी न्याय परिषद सचिवालय स्रोतले दिएको छ ।
न्याय परिषदले विराटनगर उच्च अदालतबाट ३८ किलो सुन तस्करी प्रकरणमा न्यायिक निरुपणमा गम्भीर त्रुटि र विचलन देखिएपछि मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ८ न्यायाधीशलाई दायित्वविमुख गरी सचिवालयमा तानेर छानबिन सुरु गरेको हो । विराटनगर उच्च अदालतबाट पहिरो चरणमा ५ न्यायाधीश नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल र सारंगा सुवेदी परिषदमा तानिएका थिए ।

टेलिकमको भवनबाट खसेर कामदारको मृत्यु

काठमाडौं, ५ फागुन– राजधानींको बबरमहलस्थित नेपाल टेलिकमको भवनको सातौं तलाबाट खसेर एक जना कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टेलिकममा करारमा कार्यरत भारतको उत्तर प्रदेश घर भएका वसन्त राठौर छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार आइतबार दिउ“सो टेलिकमको टावर मर्मत गर्ने क्रममा उनी खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
 राठौरको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ । धनगढीमा रहेका राठौरका आफन्त आएपछि पोष्टमार्टम हुनेछ । पोष्टमार्टमका लागि परिवारले जाहेरी दिनुपर्ने कानुनी व्यवस्था छ।

प्रस्तावित दुई अध्यक्षमाथि मंगलबार सुनुवाइ

काठमाडौं, ५ फागुन– संघीय संसदको सुनुवाइ समितिले मंगलबार प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीमाथि मंगलबार सुनुवाइ गर्ने भएको छ ।
समितिको आइतबार बसेको बैठकले चार संवैधानिक आयोगमा सिफारिस ५ अध्यक्षमध्ये मंगलबार दुई जनामाथि सुनुवाइ गर्ने निर्णय गरेको हो ।
समितिले पौडेल र सुवेदीपछि मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित क्रमशः विजयकुमार दत्त, विष्णुप्रसाद चौधरी र समिम अन्सारीका नाममा सुनुवाइ गर्नेछ ।
 समितिले अध्यक्षमा सिफारिस ५ अध्यक्षविरुद्ध परेका उजुरीका बारेमा समेत छलफल गरेको थियो । मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध ४ वटा उजुरी परेका छन् भने अरू चार अध्यक्षका बारेमा कुनै पनि उजुरी परेको छैन ।

घुससहित तीन जना पक्राउ

काठमाडौं, ५ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार कञ्चनपुर बेलौरी नगरपालिकाका इन्जिनियर हृदयराज बजगाईंलाई ६० हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
बेलौरी नगरपालिकामा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फरफारक गर्ने क्रममा लिएको घुससहित इन्जिनियर बजगाईंलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले जिल्ला मालपोत कार्यालय सप्तरीका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहलाई समेत आइतबार नै घुससहित पक्राउ गरेको छ । मोही जग्गाको बाँडफाँट गरी स्रेस्ता कायम गराइदिन लिएको घुससहित शर्मा र साह पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सरकारी चिकित्सकद्वारा सामूहिक राजीनामाको चेतावनी

काठमाडौं, ५ फागुन– सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन विधेयकविरुद्ध सामूहिक राजीनामा दिनेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । स्वास्थ्य मन्त्रालयमा विशिष्ट श्रेणीका चिकित्सकमध्येबाटै सचिव बढुवा हुने व्यवस्था गर्न र आफूहरूको वृत्तिविकास रोकिने गरी समायोजन विधेयक सच्याउन माग गर्दै सरकारी चिकित्सकहरूले आइताबर दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
सरकारी चिकित्सक संघ (गोदान) ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी विधेयक परिमार्जन गर्न सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिनेलगायतका एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
संघका अध्यक्ष दिपेन्द्र पाण्डेले घोषित कार्यक्रममा विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनास“ग एकपटक आग्रह गर्ने र त्यसो नभए आकस्मिकबाहेकका सबै सेवामा काम ठप्प पारी गरी मुलुकभर अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरिएको जानकारी दिए ।
सप्रतिनिधिसभाबाट आफूहरूको मागलाई सम्बोधन नगरी विधेयक पारित भएको भन्दै संघले सोमबार मुलुकभरका चिकित्सकहरूले विधेयक सच्याउन सरकारलाई दबाब दिंदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने जनाएको छ ।

Sunday, February 17, 2019

कर्णालीलाई छिट्टै सुगम बनाउछौं : प्रधानमन्त्री

काठमाडौं, ४ फागुन– प्रधानमन्त्री केपी ओलीले सरकारले भौतिक पूर्वाधार विकास पु¥याएर डोल्पासहित सिंगै कर्णाली अञ्चललाई छिट्टै सुगम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डोल्पो समाजले शनिबार राजधानीमा ल्होसार पर्वको साँस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सुर्खेतको छिन्चुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्नति गरी डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए ।
‘डोल्पामात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ’ उनले भने । प्रधानमन्त्रीले कर्णालीमा रहेको पातलो बसोबासलाई सरकारले एकीकृत बस्तीका रूपमा विकास गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
‘पातला बस्तीमा भौतिक सुविधा पु¥याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाई स्थानान्तरण गरेर एकीकृत बस्तीका रूपमा विकास गरेर विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभुत सुविधा सबैलाई उपलब्ध गराइनेछ’ उनले भने– ‘त्यसपछि कर्णालीको परिचय बदलिनेछ । कर्णाली सुगम हुनेछ ।’

लागू औषधसहित तीन जना पक्राउ

काठमाडौं, ४ फागुन– महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले नागढुंगामा शनिबार चेकजा“चका क्रममा लागुऔषधसहित साजन थापा, विनोद खडगी र सुन्दर खडकालाई पक्राउ गरेको हो ।
प्रहरीले थापा र खडगीबाट तीन ग्राम खैरो हिरोइन र ३७ ट्याब्लेट नाइट्राभेट तथा खडकाबाट १७ एम्पुल नुर्फिन, १७ एम्पुल फेनार्गन र १७ एम्पुल डाइजेल्याब बरामद गरेको छ ।
वीरगन्जबाट काठमाडौं आइरहेको ना ५ ख २९७ नं. को यात्रुवाहक बसमा थापा र खडगी तथा हेटौंडाबाट आऐको ना ४ ख ७४३५ नंको बसबाट खडकालाई पक्राउ गरिएको जानकारी प्रभागले दिएको छ । तीनै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।

Saturday, February 16, 2019

मेलम्चीले धरौटीबापतको डेढ अर्ब पाउने बाटो खुल्यो

काठमाडौैं, ३ फागुन– मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिडेको चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे ग्रुप अफ कम्पनीबाट बैंक धरौटीबापतको १ अर्ब ५१ करोड रुपैयाँ पाउने भएको छ ।
चाइना रेल्वले सन् २००९ मा मेलम्चीको सुरुङ निर्माणको ठेक्का लिंदा हिमालयन बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ धरौटी राखेको थियो । चाइना रेल्वेका तर्फबाट चाइना कन्सट्रक्सन बैंक काउन्टर ग्यारेन्टी बसेको थियो । चाइना कन्सट्रक्सन बैंकको काउन्टर ग्यारेन्टी पत्रका आधारमा दुई नेपाली बैंक सहायक ग्यारेन्टी बसेका हुन् ।
चिनिया“ सर्वोच्च अदालतले बुधबार चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको रकम नेपाली बैंकलाई तिर्न आदेश दिएको जानकारी मेलम्ची आयोजनाका एक अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार त्यही आदेशका कारण मेलम्चीले चाइना रेल्वेको धरौटीबापतको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम पाउने बाटो खुलेको हो ।
मेलम्ची खानेपानी विकास समितिले सन् २०१३ मा ठेक्का तोडिएपछि चाइना रेल्वेको धरौटी जफत गर्ने निर्णय गरी  बैंक अफ काठमाडौं र हिमालयन बैंकलाई रकम दिन पत्र लेखेको थियो । तर, काउन्टर ग्यारेन्टी बसेको चिनियाँ बैंकले रकम नदिएको भन्दै दुई नेपाली बैंकले मेलम्चीलाई चाइना रेल्वेको धरौटी दिन आलटाल गर्दै आएका थिए । मेलम्चीको धेरैपटकको दबाबपछि दुई बैंक अदातलमा गएका थिए । अदालतले  चिनियाँ बैंकबाट रकम नआएसम्म धरौटी दिनका लागि दबाब नदिन मेलम्चीलाई अन्तरिम आदेश दिएको थियो ।
 चाइना कन्सट्रक्सन बैंकले आफ्नो प्रदेशस्तरीय अदालतले काउन्टर ग्यारेन्टी रकम नतिर्न आदेश दिएको भन्दै दुई बैंकलाई रकम निकासा गर्न अस्वीकार गर्दै आएको थियो । ठेक्का तोडिएको झन्डै ६ वर्षपछि  चिनिया“ सर्वोच्च अदालतले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाडौं र हिमालयन बैंकलाई तिर्न आदेश दिएको छ । 
आदेशपछि हिमालयन बैंक र बैंक अफ काठमाडौंले चाइना कन्सट्रक्सन बैंकबाट चाइना रेल्वेको धरौटी रकम १ अर्ब ५१ करोड रुपैयाँ पाउने भएका छन् । चाइना कन्सट्रक्सन बैंकले अदालतको आदेशबमोजिम अब रकम निकासा दिने जानकारीसमेत मेलम्चीका अधिकारीले दिए । मुद्दाको अन्तिम सुनुवाइमा नेपाली दुवै बैंकका तर्फबाट वकिलसमेत सहभागी थिए ।

७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ३ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा कृषि विकास कार्यालयका लेखापाल डिल्लीप्रसाद आचार्य र नायव सुब्बा दुर्गाप्रसाद पौडेल छन् ।
कार्यालयले अलैंचीको बिरुवा खरीद गरी कृषकलाई वितरण गर्ने क्रममा कमिसन दिने व्यक्तिलाई मात्र दिई १० लाख ८६ हजार ७ सय २५ रुपैयाँ भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।  अभियोगपत्रमा उनीहरूले इलामबाट बिरुवा ल्याउँदा र सम्बन्धित क्षेत्रमा पु¥याउँदा गाडी भाडासमेत घोटाला गरेको दाबी अख्तियारले गरेको छ ।
अख्तियारले भाडाका सवारी साधन नियम विपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपु¥याई अनियमितता गरेकामा यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखराका तत्कालीन शाखा अधिकृत बाबुराम लामिछाने र नायब सुब्बा ऋषिराम ढकालविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।
सवारी दर्ता ढडडामा बदनियतपूर्वक विभिन्न मितिमा सवारी दर्ता गरिएका ठाउ“मा पछि सरकारी कागजात सच्याई सवारी दर्ता गरेको देखिएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

एसपी उप्रेतीको राजिनामा स्वीकृत

काठमाडौं, ३ फागुन– गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा प्रहरी उपरिक्षक (एसपी) नरेन्द्र उप्रेतीको राजीनामा शुक्रबार स्वीकृत गरेको छ ।
उप्रेतीले एसएसपी बढुवामा आफूभन्दा कनिष्ठ सिफारिस भए पनि आफ्नो नाम नपरेकामा असन्तुष्टि व्यक्त गर्दै आइतबार प्रहरी प्रधान कार्यालयमा राजिनामा दिएका थिए ।
बढुवा समितिले गत शनिबार १४ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवामा सिफारिस भएकामा श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल छन् ।
एसएसपीमा बढुवा भएकामा भीमप्रसाद ढकाल, दीपक थापा, टेकबहादुर तामाङ उप्रेतीभन्दा जुनियर हुन् । एसपी उप्रेती महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत थिए ।

Friday, February 15, 2019

चितवन निकुञ्जभित्र सडक नबनाउन सर्वोच्चको आदेश

काठमाडौं, २ फागुन– सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्रबाट हुलाकी लोकमार्ग नबनाउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय. आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको इजलासले निकुञ्जभित्रबाट सडक निर्माणसम्बन्धी कुनै पनि काम नगर्न परमादेश जारी गरेको हो । ‘हुलाकी लोकमार्गको ठोरी–माडी–भरतपुर सडक खण्डले चितवन राष्ट्रिय निकुञ्जको जैविक एवं वातावरणीय क्षेत्रमा उल्लेखनीय रूपमा पार्ने प्रतिकुल प्रभावलाई दृष्टिगत गरी सम्भावित अतिक्रमणबाट निकुञ्जको सम्पदालाई जोगाउनु समस्त नेपालीको संवैधानिक एवं कानूनी दायित्व हुने देखिन्छ’ सर्वोच्चको आदेशमा भनिएको छ ।
हुलाकी लोकमार्गको ठोरी–माडी–भरतपुर खण्डले निकुञ्ज अतिक्रमण हुने भएकाले रोक्न माग गर्दै अधिवक्ता रामकृष्ण सिम्खडासमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको सार्वजनिक सरोकारको रिटमा सर्वोच्चले परमादेश जारी गरेको हो ।

प्रशासकीय अधिकृत श्रेष्ठ घुससहित पक्राउ

काठमाडौं, २ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई बिहीबार २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाइदिन सेवाग्राहीसँग .लिएको घुससहित भक्तपुर दरवार स्क्वायर नजिक स्विट होम रेस्टुरेन्ट एन्ड क्याफेबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनलाई हिरासतमा राखी थप छानबिन भइरहेकोसमेत जनाएको छ । उनी नेकपा निकट निजामती कर्मचारी संगठनको गृह मन्त्रालयस्तरीय कमिटीका अध्यक्षसमेत हुन् ।

मालपोतका दुई कर्मचारीसहित तीन जना भ्रष्टाचारी ठहर

काठमाडौ, २ फागुन– विशेष अदालतले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बासहित तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।
घुस लिएको प्रकरणमा दोषी ठहर भएकामा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतू रहेको जानकारी विशेष अदालत स्रोतले दिएको छ ।
अख्तियारले मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीस“ग लिएको ६ लाख १४ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनीहरू विरुद्ध २०७३ फागुन १ मा अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र  न्यायाधीशहरू प्रमोदकुमार उपाध्याय वैद्य र नारायणप्रसाद रेग्मीको इजलासले तीनै जनलाई दोषी ठहर गरी बिगोबराबर जरिवाना भराउने फैसला सुनाएको छ ।

पुल उचालेर भए पनि पानीजहाज चलाउँछौं : प्रधानमन्त्री

काठमाडौं, २ फागुन– प्रधानमन्त्री केपी ओलीले मुलुक अब पानी जहाज युगमा प्रवेश गरेको बताएका छन् । ललितपुरको एकान्तकुनामा बिहीबार ‘नेपाल पानीजहाज कार्यालय’ उदघाटन गर्दै उनले मुलुकमा रेलभन्दा पहिले पानी जहाज सञ्चालनमा आउने बताए ।
‘गंगासम्म पानीजहाज आउन सक्छ भने नेपालमा पनि आउँछ । पानी जहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन । सानो डुंगाजस्तो पनि होइन । ठिक्कको पानीजहाज आउँछ र ल्याएर चलाउँछौ’ ओलीले भने ।
प्रधानमन्त्रीले मुलुकका नदीको आकार र गहिराइअनुसार पानी जहाज ल्याएर चलाइने बताए ।
‘कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन् । पानी जहाजको आकार हेरेर होइन नदीको क्षमताअनुसार पानी जहाज बनाउन र चलाउन सकिन्छ’ उनले भने, ‘गहिराइ नचाहिने गरी फिजिएको पानी जहाज बनाउन सकिन्छ ।’
उनले मुलुकका नदीबाट समुद्रसम्म पानी जहाज चल्न थालेपछि नेपाल भुपरिवेष्ठित राष्ट्र नरहने दाबी गरे ।
‘मुलुकमा जहाज त उडेका थिए । अब भुइँ नछोई नेपालका नदी भएर पानीमाथिबाटै संसार घुम्न सकिन्छ’ उनले भने । उनले नेपालमा पानी जहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने थालिसकेको बताए ।

लगानी भित्र्याउन र निर्यात बढाउन प्रयास गर्छौं : नवनियुक्त तीन राजदूत

काठमाडौं, २ फागुन– तीन मित्र राष्ट्रका लागि नवनियुक्त नेपाली राजदूतले कूटनीतिक सम्बन्धलाई मजबुत बनाई वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन आफूहरूले प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले कूटनीतिक पहल गरी मित्र राष्ट्रहरूबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनसमेत सक्दो प्रयास गर्ने बताए ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा सहभागी भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) का लागि नवनियुक्त नेपाली राजतदूतले नेपालको व्यापार घाटा न्यूनीकरणका लागि नेपाली उत्पादनको प्रचार गरी निर्यात प्रवद्र्धन गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले निर्यात प्रवद्र्धनमा देखिएका कानुनी र व्यावहारिक झन्झट हटाउन आफूले पहल गर्ने बताए । ‘निर्यातको परिमाण र विविधता बढाउन आवश्यक छ । दुई देशको संयुक्त लगानीमा उद्योग कलकारखाना सञ्चालन गरेर निर्यात बढाउन सकिन्छ । यसतर्फ म पहल गर्छु’ उनले भने ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाली सरकारस“ग असल श्रम सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मलेसियालगायत फिलिपिन्स, ब्रुनाई र इन्डोनेसियाबाट समेत वैदेशिक लगानी भित्र्याउन पहल गर्ने बताए ।

Thursday, February 14, 2019

न्यायाधीश बानियाँमाथि छानबिन गर्न न्याय परिषदलाई अख्तियारको पत्र

काठमाडौं, १ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि घुस प्रकरणमा अनुसन्धान गरी कारबाही गर्न न्याय परिषद सचिवालयलाई पत्र पठाएको छ ।
सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग लिएको घुससहित पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले न्यायाधीश बानियाँकै सल्लाह र सहमतिमा घुस लिएको बयान दिएपछि अख्तियारले न्याय परिषदलाई पत्र पठाएको हो ।
अख्तियारद्वारा जारी विज्ञप्तिमा बानिया“माथि अनुसन्धान गर्न आफूले प्राप्त गरेका प्रमाण र कागजातसहित न्यायपरिषदमा पत्र पठाइएको उल्लेख छ । संविधान र कानुनअनुसार न्यायाधीशमाथि अनुसन्धान गर्न आयोगको क्षेत्राधिकार नभएकाले बानियाँमाथि  छानबिन गरी कारबाही गर्न न्यायपरिषदमा पत्र पठाइएको अख्तियारले जनाएको छ ।
‘नासु चालिसेले अनुसन्धानको क्रममा बयान गर्दा उक्त बरामद भएको ५ लाख काठमाडौं जिल्ला अदालतका न्यायाधीश बानिया“को इजलाशमा विचाराधीन रहेको सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गरी दिने भनी न्यायाधीश बानियाँको सल्लाह र सहमतिमा लिएको भनी उल्लेख गरेको हुँदा बानियाँको हकमा अनुसन्धान गर्न प्राप्त प्रमाण कागजातसहित न्याय परिषदमा लेखि पठाइएको छ’ अख्तियारको वक्तव्यमा छ ।

साढे सात करोड राजस्व चुहावट गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौं, १ फागुन–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे सात करोडभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा भन्सार अधिकृतसहित ८ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आपसी मिलेमतोमा भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी ७ करोड ५९ लाख ६३ हजार १ सय ९० रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्यितारले जनाएको छ।
मुद्दा दायर गरिएकामा रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खडका, नायब सुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेसनल ट्रेडर्सका प्रोपाइटर सुमन श्रेष्ठ र रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ, नेपाल बंगलादेश बैंकको गाडी नामसारी गर्न पत्राचार गर्ने आकाश श्रेष्ठ, गाडी जिम्मा लिएका व्यक्ति निरञ्जन त्रिपाठी र चालक डम्बरबहादुर श्रेष्ठ छन् ।
अख्तियारले उनीहरूविरुद्ध जनही ७ करोड ५९ लाख ६३ हजार १ सय ९० रुपैयाँ बिगो बराबर जरिवाना र जेल सजाय गर्न मागदाबी गरिेको छ ।

मुस्लिम आयोगमा प्रस्तावित अध्यक्षविरुद्द दुई उजुरी


काठमाडौं, १ फागुन– मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै संघीय संसदको संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।
 ‘अन्सारीको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हो, नक्कली प्रमाणपत्रधारीलाई नियुक्त गर्न नहुने जिकिर गर्दै उजुरी परेको छ’ संसद सचिवालय स्रोतले भन्यो ।
त्रिभुवन विश्वविद्यालयले अन्सारीको भारतीय कलेजको शैक्षिक प्रमाणपत्रलाई मान्यता दिएको छ । संवैधानिक परिषदले समितिमा पठाएको पत्रमा अन्सारीको प्रमाणपत्रलाई त्रिविले समकक्षता प्रदान गरेको पत्रसमेत पठाएको छ । अन्सारीविरुद्ध विगतका गतिविधिले उनी संवैधानिक आयोगको अध्यक्ष हुने हैसियत नराख्ने व्यक्ति भएको जिकिर गर्दै अर्को उजुरीसमेत परेको छ ।
माघ ६ मा संवैधानिक परिषदले मुस्लिम आयोगसहित विभिन्न ५ संवैधानिक आयोगको अध्यक्षको नियुक्त गर्न नाम सिफारिस गरी सुनुवाइका लागि समितिमा पठाएको थियो ।पा“चै आयोगका प्रस्तावित अध्यक्षविरुद्ध सुनुवाइ समितिले १० दिने सूचना निकालेर उजुरी आह्वान गरेको थियो । उजुरी दिने समयावधि बुधवार सकिएको छ । संवैधानिक आयोगका अध्यक्षहरूविरुद्ध जम्मा ४ वटा उजुरी परेको जानकारी सचिवालय स्रोतले दिएको छ ।

प्रहरी प्रतिष्ठानलाई फराकिलो ठाउँमा सार्न लागिएको हो : प्रधानमन्त्री

काठमाडौं, २९ माघ– प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय प्रहरी प्रतिष्ठानका लागि महाराजगञ्जमा ठाउँ साँघुरो भएकाले फराकिलो ठाउँ पनौतीमा स्थानान्तरण गर्न लागिएको बताएका छन् ।
‘धेरै वर्ष अगाडिदेखि यो ठाउँ साँघुरो भयो भन्ने वास्तविक आभास थियो, यहाँबाट पनौती लाने भनेर जमीन खरीद गरिएको र दशौं वर्षअघि भारतले समेत एकेडेमी बनाउने भनेको थियो, अहिले यसमा कतिपय हल्ला गर्न रुचाउने सेलेब्रेटी स्वभावले अनुचित खालका टिप्पणी गरे’ उनले प्रहरी निरीक्षक आधारभूत तालिमको १७८ औं समूहको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै भने ।
उनले प्रहरी प्रतिष्ठानका सबै क्रियाकलाप एकै ठाउ“मा गर्नका लागि फराकिलो ठाउ“मा सार्न खोज्दा राष्ट्रपतिलाई अनावश्यक विवादमा पार्न खोजिएको बताए ।
‘कतिपयले सम्माननीय राष्ट्रपतिज्यूले यहा“बाट लखेट्न खोज्या हो कि जस्तो गरेर प्रचार गरी असभ्यता देखाए, पूर्वप्रहरी अधिकृतले आफ्नो समयमा त्यही कुरा गर्ने अनि अहिले आएर विरुद्धमा वक्तव्यबाजी र टिप्पणी गरेको पनि सुनियो, फराकिलो ठाउँमा सार्न लागेको राम्रो कुरालाई अन्यथा नलिन आग्रह गर्छु’ उनले भने । प्रतिष्ठानका लागि पनौतमिा ८ सय २२ रोपनी जग्गा लिइसकिएको छ ।

Tuesday, February 12, 2019

प्रजातन्त्र दिवस मनाउन समिति गठन

 काठमाडौंं, २८ माघ– सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ मा भव्यताका साथ मनाउने निर्णय गरेको छ । सरकारले प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।
समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुख सदस्य छन् ।
फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि र उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रूपमा सहभागी हुने छन् । प्रधानमन्त्री ओली समारोहलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

अब भ्रष्टाचार लुक्दैन : प्रधानमन्त्री

काठमाडौं, २८ माघ– प्रधानमन्त्री केपी ओलीले सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेको दाबी गर्दै अब कसैले पनि भ्रष्टाचार लुकाउन सम्भव नहुने बताएका छन् ।
‘हामी भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेका छौं, अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैन । त्यसैले अब भ्रष्टाचार भ्रष्टका लागि पनि शत्रु नै हो’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले कारबाही गरेर दण्ड विधिबाट भन्दा नियन्त्रणको विधिबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए । ‘ऋषिमुनी, सन्त र महात्माहरुको देश र त्यस्ताका सन्तति हामीले नगरे कसरी हुन्छ भ्रष्टाचार ?’ उनले भने ‘हरेकले भ्रष्टाचार नगर्ने प्रतीज्ञा गर्ने हो भने भ्रष्टाचार नै हु“दैन ।’
उनले भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिलाई  अन्त्य गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त राख्न आफूले अख्तियारलाई सहयोग गर्ने बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले सार्वजनिक सेवा, खरिद र निर्माण कानुनअनुसार भएमा भ्रष्टाचार निवारण हुने बताए । उनले अख्तियार विकास निर्माणको बाधक नभई सहयोगी रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा भएका विकृति अन्त्य गर्ने कोसिसमात्र गरिने बताए ।

एसपी उप्रेतीद्वारा राजिनामा

बढुवा सिफारिसप्रति असन्तुष्टि
काठमाडौं, २७ माघ– प्रहरी वरिष्ठ उपरिक्षक नरेन्द्र उप्रेतीले नेपाल प्रहरीको बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै आइतबार राजीनामा दिएका छन् । उनले आफूभन्दा जुनियरको बढुवा सिफारिस भए पनि आफ्नो नभएकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । उनले आइतबार नै प्रहरी प्रधान कार्यालयमा राजिनामापत्र बुझाएका छन् ।
एसपी उप्रेती महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत छन् । बढुवा समितिले शनिबार १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरी सूची प्रकाशित गरेको छ । बढुवा समितिमा लोकसेवा आयोगका सदस्य, गृह सचिव र प्रहरी महानिरीक्षक छन् ।
एसएसपीमा बढुवा सिफारिस भएका भीम ढकाल, दीपक थापा, टेकबहादुर तामाङ उप्रेतीभन्दा जुनियर हुन् ।
एसएसपी बढुवाको सिफारिस भएका एसपीमा सन्दीप भभण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली,  गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कु“वर र भीमप्रसाद ढकाल छन् ।

१ लाख ५१ हजार नक्कली नोटसहित पक्राउ

काठमाडौं, २७ माघ– नेपाल प्रहरीले राजधानीको गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।
कुँवरबाट १ सय ५१ थान हजार दरका नोट बरामद भएका छन् ।
प्रहरी स्रोतका अनुसार विशेष सूचनाका आधारमा प्रभागको टोलीले गोंगबुको गणेशथानस्थित ह्याप्पी होम टोलमा पुगेर छापा मार्दा ओमबहादुरको कोठामा रहेको दराजबाट १ सय ४१ वटा हजार दरका नक्कली नोट भेटिएको थियो । नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि थप १० थान नक्कली नोट भेटिएको थियो ।
हिक्मत भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ओमबहादुर र हिक्मतको कोठाबाट ५० थान पासपोर्टसमेत बरामद भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट प्रहरीले उनीहरू दुवै जना म्यानपावर एजेन्ट भएको अनुमान गरेको छ । उनीहरूले ती नोट कलर प्रिन्टरबाट फोटोकपी गरेको जस्तो देखिन्छ ।

वीपी उद्यानको जग्गा नमास्न कांग्रेसको खवरदारी

काठमाडौं, २७ माघ– प्रमुख प्रतिपक्षी कांग्रेसले वीरगन्जमा वीपी उद्यानका लागि छुट्याइएको जग्गामा प्रदेश सरकारले सहिद स्मृति पार्क बनाउन लागेकामा आपत्ति जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको माघ २४ मा बसेको बैठकले वीरगन्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० विघा जग्गामा अरू प्रयोजनका लागि नदिन सरकारसमक्ष माग गरेको छ ।
वीपी उद्यानका लागि छुट्टयाइएको जग्गा अरू प्रयोजनका लागि दिइए आन्दोलनमा उत्रने चेतावनीसमेत कांग्रेसले दिएको छ ।
वीरगन्ज महानगरको स्वामित्वमा रहेको उक्त जग्गामा गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद स्मृति पार्क निर्माणको शिलान्यास गरेका थिए ।
कांग्रेसले प्रदेश सरकारको निर्णय सच्याउनका लागि केन्द्र सरकारको पनि खबरदारी गर्दै वीपी उद्यान नै निर्माण गर्न आग्रह गरेको हो । ‘सरकारको शैली जुन प्रकारको देखियो, त्यो बदल्नुपर्छ, यसमा केन्द्रीय सरकारले गम्भीरता देखाओस्, प्रदेश सरकार पनि गम्भीर बनोस् ।

Saturday, February 9, 2019

अब एक पटकमात्र आरक्षण सुविधा

पहिलोपटक थारू र मुस्लिमलाई निजामती सेवामा छुट्टै आरक्षण
विधेयकले एउटै व्यक्तिले आरक्षणका नाममा असीमित सुविधा पाउने व्यवस्थालाई अन्त्य गर्न एक पटकमात्र आरक्षण सुविधा लिन पाउने व्यवस्था गर्न लागिएको हो : सामान्य प्रशासन मन्त्रालय
काठमाडौं, २६ माघ– निजामती सेवामा शाखा अधिकृतमा प्रवेश गर्नेले सेवा अवधिभर एक पटकमात्र आरक्षण सुविधा पाउने भएका छन् । सरकारले संघीय संसद्मा पेस गरेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा नासु र खरिदारमा प्रवेश गर्नेले पनि राजपत्र अनंकित पदमा एक पटकमात्र आरक्षण सुविधा पाउने व्यवस्था छ । तर राजपत्र अनंकितले अधिकृतस्तरमा सेवा प्रवेश गर्दा थप एक पटक आरक्षण सुविधा पाउनेछन् । राजपत्र अनंकित कर्मचारी अधिकृतस्तरमा बढुवा हुन सक्ने व्यवस्था नभएकाले उनीहरूलाई अधिकृतस्तरमा प्रवेश गर्ने अर्को एकपटक आरक्षण दिन लागिएको जानकारी सामान्य प्रशासन मन्त्रालय स्रोतले दिएको छ ।
विधेयकमा महिला, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछडिएको क्षेत्र वा अपांगता भएका व्यक्तिलाई सेवाप्रवेश वा बढुवामा एक पटकमात्र आरक्षण प्रस्ताव गरिएको छ । खुलातर्फबाट प्रवेश गर्नेले भने उपसचिव वा सहसचिव बढुवा हुन एक पटक आरक्षण सुविधा पाउनेछन् ।
जति पटक पनि आरक्षण हुने व्यवस्थाले एउटै व्यक्ति महिला कोटाबाट शाखा अधिकृत, आदिवासी जनजाति कोटाबाट उपसचिव र मधेसी कोटाबाट सहसचिव भएका उदाहरणसमेत छन् । तिनै व्यक्ति सहसचिव भएको चार वर्ष पूरा हुनासाथ सचिव बढुवा हुन योग्य हुने व्यवस्थासमेत छ । विधेयकले एउटै व्यक्तिले आरक्षणका नाममा असीमित सुविधा पाउने व्यवस्था अन्त्य गर्न एक पटकमात्र आरक्षण सुविधा लिन पाउने व्यवस्था गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयका अधिकारीले जानकारी दिए । पहिलोपटक थारू र मुस्लिम समुदायलाई निजामती सेवा प्रवेशमा छुट्टै आरक्षण दिन लागिएको छ ।

घुस प्रकरणमा न्यायाधीश बानियाँ तानिए

काठमाडौं, २५ माघ– न्याय परिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई ‘घुस प्रकरण’ मा छानबिन गर्न आफ्नो सचिवालयमा तानेको छ ।
सेवाग्राहीसँग लिएको ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले आफूले न्यायाधीश बानिया“को आग्रहमै पैसा बुझेको बयान दिएका छन् । चालिसे बानियाँकै इजलाशमा कार्यरत नासु हुन् ।
न्यायाधीश बानियाँमाथि गम्भीर आरोप लागेकाले उनीमाथि छानबिन गर्न न्याय परिषद सचिवालयमा तानिएको जानकारी स्रोतले दिएका छन् ।
काठमाडौं जिल्ला अदालतमा रहेको सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीस“ग लिएको ५ लाख रुपैयाँ घूससहित अख्तियारले नायब सुब्बा चालिसेलाई माघ १७ मा पक्राउ गरेको थियो ।
चालिसेले अख्तियारको छानबिन टोलीसितको बयानका क्रममा बानियाँकै आग्रहमा आफूले सेवाग्राहीस“ग घुस लिएको बताएको जानकारी आयोग स्रोतले दिएको छ ।
अख्तियारका एक आयुक्तले न्यायाधीश बानियाँ घूस प्रकरणमा जोडिएको प्रमाणसहितको जानकारी प्रधानन्यायाधीश चोलेन्द्रसमसेर राणा गराएका थिए । राणाले तत्काल बानिया“लाई न्यायपरिषदमा तानी अख्तियारलाई घुस प्रकरणमा थप प्रमाण जुटाउनसमेत निर्देशन दिएको जानकारी सर्वोच्च अदालत स्रोतले दिएको छ ।

Friday, February 8, 2019

मेलम्चीको ठेक्का तोडियो, धरौटी जफत हुने

काठमाडौं, २४ माघ– सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवक्र्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीस“ग ठेक्का तोडेको छ । पत्र पठाई काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले सीएमसीसितको ठेक्का तोडेको हो ।
मेलच्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसितको ठेक्का तोडी उसले राखेको बैंक धरौटी जफत गर्ने निर्णय गरेको छ ।
सीएमसीले ठक्का सम्झौता गर्दा झन्डै साढे दुई अर्ब रुपैया“ धरौटी राखेको छ । समितिले शुक्रबार नै बैंकलाई पत्र पठाई उक्त रकम जफत गर्नेछ ।
सरकारले गत माघ ६ मा दुई साताभित्र काममा फर्कन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) सीएमसीलाई पठाएको थियो । अन्तिम म्याद सकिंदासम्म सीएमसीले कुनै प्रत्युत्तर नदिएपछि ठेक्का तोडने निर्णय गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

Thursday, February 7, 2019

स्थलगत अध्ययन गर्न संसदीय समिति गठन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विवाद
काठमाडौं, २३ माघ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न समस्या तत्काल समाधानका लागि स्थलगत अध्ययन गर्न पूर्व स्वास्थ्यमन्त्री एवं सांसद खगराज अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । समितिको बुधबार बसेको बैठकले पा“च सदस्यीय उपसमिति गठन गरेको हो ।
समितिमा सांसदहरू अन्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल मिया“ र नमिताकुमारी चौंधरी सदस्य छन् । समितिले उपसमितिलाई काम सुरु गरेको मितिले १५ दिनभित्र प्रतिष्ठानको समस्या समाधान हुने गरी स्थलगत अध्ययन गरेर प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले जथाभावी कर्मचारी हटाउने, नयाँ नियुक्त गर्ने काम हुन थालेपछि अस्पतालमा कार्यरत चिकित्सकलगायतका कर्मचारीहरू आन्दोलित हुँदा उपचार गर्न आएका बिरामीहरु मारमा परेका छन् ।

सहायक रजिष्ट्रार पन्थीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २३ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालयका सहायक रजिष्ट्रार (उपसचिव) गीताकुमारी पन्थीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको बोर्डिङ स्कुलले कर तिर्ने क्रममा राजश्व रकम कम गरिदिने आश्वासन दिई सेवाग्राहीस“ग लिएको १ लाख रुपैया“ घुससहित पक्राउ परेकी पन्थीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।,
अख्तियारले भ्रष्टाचार निवारण ऐनबमोजिम बिगो बराबर जरिवाना र कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

अन्तरिम आदेशबाट श्रमजीवीको मर्म र भावनामाथि आघात : महासंघ

काठमाडौं, २३ माघ– नेपाल पत्रकार महासघंले सर्वोच्च अदालतबाट न्यूनतम पारिश्रमिकबारे जारी अन्तरिम आदेशले सञ्चार प्रतिष्ठानहरूमा कार्यरत श्रमजीवीको मर्म र भावनामाथि आघात पुगेको टिप्पणी गरेको छ ।
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा सर्वोच्चबाट जारी अन्तरिम आदेशप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै महासंघले पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी आदेश यथासमयमै प्रक्रियाबमोजिम न्यायालयबाट पुनर्विचार भई आवश्यक भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरेको छ ।
महासंघका तर्फबाट महासचिव रमेश विष्टद्वारा बुधबार जारी विज्ञप्तिमा मुलुकी फौजदारीसंहिता ऐनका प्रेस स्वतन्त्रतामाथि आघात पु¥याउने विभिन्न प्रावधानमाथि संशोधनका लागि सरकारद्वारा गठित कार्यदलको सुझावअनुरूप अविलम्ब संशोधन प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
महासंघले विज्ञापन नियमन गर्न संसदमा पेस भएको विधेयकका कतिपय प्रावधान अभियक्ति स्वतन्त्रताको मूल्य मान्यतास“ग मेल नखाने देखिएको उल्लेख गर्दै त्यसलाई सच्याउन सरकारसित माग गरेको छ ।

Wednesday, February 6, 2019

१९ हजारभन्दा बढीलाई कारबाही गर्न सिफारिस

काठमाडौं, २२ माघ– राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पद धारण गरेका १९ हजारभन्दा बढी सार्वजनिक पदधारी तथा कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।
केन्द्रले अघिल्लो आर्थिक वर्षमा १९ हजार १ सय ३४ जना सार्वजनिक पद धारण गरेका व्यक्ति र सरकारी कर्मचारीले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएकाले उनीहरूलाई कारबाही गर्न सिफारिस गरेको हो ।
केन्द्रले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी र कर्मचारीको नामसहितको विवरण अख्तियारलाई पठाइएको जनाएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनमा सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी र कर्मचारीलाई ५ हजार रुपैया“ जरिवाना गर्ने व्यवस्था छ । अख्तियारले कानुनलाई अटेर गर्ने सार्वजनिक पदधारी र कर्मचारीको सम्पत्तिमाथि छानबिन गरी अकुत आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा दायर गर्न सक्ने कानुनी व्यवस्थासमेत छ ।
प्रतिवेदनअनुसार संघीय संसद र प्रदेशसभा सदस्य, मन्त्रिपरिषदका सदस्य, निजामती कर्मचारी, शिक्षकसहित सबै सेवाका गरी साढे ५ लाख सार्वजनिक पदधारी र राष्ट्रसेवकमध्ये १९ हजार १ सय ३४ जनाले सम्पत्ति विवरण नबुझाएका हुन् ।

अन्ना हजारेको सत्याग्रहलाई समर्थन गर्दै डा. केसीको पत्र

‘सत्याग्रह अपराजित छ’
काठमाडौं, २१ माघ– चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले भारतमा अनसनरत सत्याग्रही अन्ना हजारेलाई पत्र लेखी उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । १६ औं अनसन फिर्ता लिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत केसीले भारतमा भ्रष्टाचार नियन्त्रण गर्न ल्याइएको लोकपाल ऐनअनुसार केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकायुक्त नियुक्त गर्नुपर्ने माग गर्दै माघ १६ देखि हजारेले सुरु गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।
केसीले पत्रमा भ्रष्टाचारविरुद्धको लडाइ“का लागि हजारेको माग धेरै महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाली नागरिकका लागि पनि उनको लडाइ“ अनुकरणीय रहेको टिप्पणी गरेका छन् । केसीले आफू पनि ७ वर्षदेखि भ्रष्टाचार र कुशासनविरुद्ध लडिरहेको उल्लेख गर्दै त्यसको सुरुआत चिकित्सा शिक्षा र सेवा क्षेत्रमा रहेको विकृति हटाउन केन्द्रित गरेको जनाएका छन् । उनले आफ्नो अभियान निरन्तर जारी रहने उल्लेख गरेका छन् ।

सांंसद थापाद्वारा बमजनबारे प्रतिनिधिसभामा गृहमन्त्रीको जवाफ माग

काठमाडौं, २१ माघ– प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले तपस्वीको भेष धारण गरेका रामबहादुर बमजनले आफ्ना आश्रमहरूमा बस्ने आनी र चेलीहरूमाथि चलाएको यौनजन्य हिंसा, बलात्कार र हत्याको घटनाबारे सरकारको धारणा माग्दै प्रतिनिधिसभामा प्रश्न दर्ता गराएका छन् ।
उनले सोमबार इमेलमार्फत प्रश्न दर्ता गरी गृहमन्त्री रामबहादुर थापालाई प्रतिनिधिसभामार्फत् यसबारे उत्तर दिन लिखित माग गरेका हुन् । प्रतिनिधिसभाको नियमावलीमा सांसदले दर्ता गरेका प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले १० दिनभित्र दिनुपर्ने व्यवस्था छ ।
उनले विभिन्न सञ्चार माध्यममा बमजन बलात्कार, यौनजन्य हिंसा र हत्याजस्तो गम्भीर अपराधमा संलग्न रहेको तथ्य सार्वजनिक भइरहेको उल्लेख गर्दै सरकारको धारणा र अनुसन्धान प्रक्रियाबारे जानकारी दिन माग गरेका छन् ।

राष्ट्रसंघका लागि दुई स्थायी प्रतिनिधि नियुक्त

काठमाडौं, २१ माघ– राष्ट्रपति विद्या भण्डारीले सोमबार संयुक्त राष्ट्र संघका लागि नेपालका दुई स्थायी प्रतिनिधि नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अमृतबहादुर राईलाई राष्ट्र संघको न्यूयोर्कस्थित नेपाली नियोगको लागि स्थायी प्रतिनिधि र मणिप्रसाद भट्टराईलाई जेनेभास्थित नियोगका लागि स्थायी प्रतिनिधि नियुक्त गरेकी हुन् ।
राई र भट्टराई दुवै परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । राईलाई दक्षिण अफ्रिकाको राजदूतबाट सोझै न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोगका लागि स्थायी प्रतिनिधि नियुक्त गरिएको हो । राष्ट्रपतिले आइतबार भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गरेकी थिइन् । उनले आचार्यलाई पद तथा गोपनीयताको सपथसमेत खुवाएका थिइन् ।

Monday, February 4, 2019

विकास–निर्माणका बेथिति हटाउन अख्तियारको ध्यानाकर्षण

१,८४८ आयोजना अलपत्र, २३ अर्ब ठेकेदारबाट दुरुपयोग : अख्तियार
काठमाडौं, २० माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका आयोजनाहरूमा देखिएका समस्या एवं बेथिति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले आफ्नो कार्यालयमा भौतिक पूर्वाधार निर्माण र विकासस“ग जोडिएका मन्त्रालय र विभागका प्रमुखस“ग गरेको अन्तक्र्रियामा प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालित आयोजनाहरूको काममा भइरहेको ढिलाइ र भ्रष्टाचार क्षम्य हुन नसक्ने बताए ।
उनले सार्वजनिक निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था सम्बन्धमा अख्तियारले गरेको अध्ययनबाट सरकारी विकास–निर्माण कार्यको भयावह अवस्था चित्र पाइएको जानकारी गराए । उनले १ हजार ८ सय ४८ आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेका र २३ अर्ब रुपैया“भन्दा बढी सरकारी रकम पेश्की लिएर ठेकेदारले दुरुपयोग गरिरहेको अध्ययनबाट पाइएको उल्लेख गरे ।
अख्तियारद्वारा जारी विज्ञप्तिका अनुसार घिमिरेले ती आयोजना सम्पन्न नभई अधिकांशको म्याद थप नै नभएको र कतिपयको पटकपटक म्याद थप भएर पनि कार्यसम्पन्न नभएकाले सरकारी स्रोतको उपयोग हुन नसकेकोतर्फ गम्भीर हुन विकास–निर्माणस“ग सम्बन्धित मन्त्रालय र विभागका अधिकारीलाई सचेत गराए ।

गुण्डा नाइके गोर्खाली पक्राउ

काठमाडौं, २० माघ– प्रहरीले गुण्डा नइके राजु गार्खालीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महासाखाबाट खटिएको टोलीले राजधानीका विभिन्न स्थानमा व्यवसायीहरूलाई धम्काउँदै रकम असुली गर्ने गरेको उजुरीका आधारमा गोर्खालीलाई बानेश्वरबाट पक्राउ गरेको हो । महाशाखाका अनुसार गोर्खालीले काठमाडौं मलको शिवलक्ष्मी कोजुको नामको ठेक्का आफूले अलिखित रूपमा स्वीकार गरेको भन्दै गोर्खालीले मलका व्यापारीलाई पसल खाली गर्न भन्दै रुकम असुल्ने र ताला लगाउने गरेका थिए ।
मलका व्यापारी सुष्मा महरा, मुनिन्द्र बस्नेत, अजिता सिटौला, दिलबहादुर थापाको पसलमा जबरजस्ती ताला लगाएर विगत ३ महिनादेखि अनाधिकृत कब्जा जमाई डर, धाक–धम्की दिने गरेका थिए ।  गोर्खाली राजन लिम्बुलाई रोयल डिस्कोमा तरबारले घा“टी काटेर हत्या गरेको अभियोगमा १० वर्ष कैद सजाय भोगेका व्यक्ति हुन् ।

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २० माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता माध्यमिक विद्यालय, सिराहाका प्रधानाध्यापक मोहम्मद सनाउल्लाह खा“विरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय भवन निर्माणका क्रममा १० लाख १८ हजार ६ सय ७० रुपैया“  भ्रष्टाचार गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले विद्यालय भवन निर्माणको कार्य प्राविधिक लगतअनुसार नगरेको, छात्रवृत्ति वितरण तथा पाठ्यपुस्तक वितरण नगरेको, आर्थिक वर्ष २०६७÷०६८ को पुरानो शौचालय हालसम्म पनि मर्मतसम्भार जस्ता धेरै कार्यमा आर्थिक हिनामिना गरेको उजुरीको अध्ययन गर्दा भ्रष्टाचार भएको पाइएको अभियोगपत्रमा मागदाबी गरेको छ ।

प्रस्तावित ५ संवैधानिक अध्यक्षविरुद्ध उजुरी आह्वान

कांग्रेसद्वारा सुनुवाइ समिति बैठक बहिष्कार
काठमाडौं, २० माघ– प्रमुख प्रतिपक्षी कांग्रेसले संवैधानिक आयोगबाट ५ संवैधानिक आयोगको अध्यक्षमा गरिएको सिफारिसप्रति लिखित असहमति राख्दै संघीय संसदको सुनुवाइ समितिको बैठक बहिष्कार गरेको छ । आयोगका ५ अध्यक्षमा प्रस्तावित ५ जनाको नाममा सुनुवाइ सुरु गर्न आइतबार बसेको समितिको बैठक कांग्रेस सांसदहरूले बहिष्कार गरेका हुन् ।
समितिमा कांग्रेस सांसदहरूले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको अनुपस्थितिबिना बसेको बैठकबाट आयोगमा नियुक्त गर्न गरिएको सिफारिस संविधान र कानुनविपरीत रहेकाले सुनुवाइ गर्न नमिल्ने जिकिर गरेका छन् । उनीहरूले लिखित प्रस्ताव राखी समितिले सिफारिसको निर्णयको कागजात मगाइ छानबिन गर्नुपर्ने माग गरेका छन् ।
कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षी नेताको सहभागिताबिना परिषदको बैठकले गरेको निर्णय मान्य नहुने धारणा राखेका थिए । ‘प्रतिपक्षीको अस्तित्वलाई सरकारले स्वीकार गर्नुपर्छ, संवैधानिक परिषदको बैठकबाट प्रतिपक्षी नेताको सहभागिताबिना नै नियुक्तिको सिफारिस गर्ने निर्णय भएको छ । पहिला त्यसको कागजात मगाएर हेरौं’ उनले बैठकमा भने ।

आचार्य भारतका लागि राजदूत नियुक्त

काठमाडौं, २० माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आइतबार पूर्वमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार नै आचार्यलाई पद तथा गोपनीयताको सपथ गराइन् ।
मन्त्रिपरिषद्बाट भारतका लागि राजदूतमा सिफारिस भएका आचार्यलाई मंसिर २३ मा संघीय संसदको सुनुवाई समितिले अनुमोदन गरेको थियो । आचार्यले यसै साता भारतमा गएर राजदूत पद सम्हाल्ने जानकारी परराष्ट्र मन्त्रालय स्रोतले दिएको छ ।

Friday, February 1, 2019

दुई राप्रपाबीच एकीकरण

काठमाडौं, १८ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को औपचारिक रूपमा एकीकरण भई शुक्रबार राप्रपा (संयुक्त) गठन भएको छ ।
राजधानीमा शुक्रबार एकता सभा गरी पशुपतिसमसेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका दुई राप्रपाबीच एकीकरण भएको हो । हिन्दू राष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने साझा संस्थाका रूपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रूपमा अवलम्बन गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहन दुवै पार्टी सहमत भई एकता घोषणा गरिएको नेताहरूले जनाएका छन् । एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर अन्तरिम विधान निर्माण गरिनेछ । एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ ।

उपप्रबन्धक चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १८ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरणको चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चौधरीले सार्वजनिक सेवामा रह“दा स्रोत नखुलेको २ करोड १४ लाख ५८ हजार ८ सय ३४ रुपैयाँ आर्जन गरी भ्रष्टाचार गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
चौधरीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियंकाकुमारी चौधरीलगायतको नाममा राखेकोसमेत अख्तियारको विज्ञप्तिमा उल्लेख छ । अख्तियारले बिगो बराबरको रकम चल–अचल सम्पत्ति जफत गर्न र एक वर्ष जेल सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

भारतले यस वर्ष ११ अर्ब २० करोड सहयोग गर्ने

काठमाडौं, १८ माघ– भारतले नेपाललाई सन् २०१९÷२० मा ११ अर्ब २० करोड रुपैया“ (७ अर्ब भारू) अनुदान सहयोग दिने भएको छ । भारतीय वित्तमन्त्री पियुष गोयलले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०१९÷२० को युनियन बजेटमा नेपाललाई ७ अर्ब भारू सहयोग गर्ने उल्लेख छ ।
बजेटको विदेशी मुलुकलाई दिइने ऋण तथा अनुदानको सूचीमा सहयोग रकम उल्लेख छ ।
भारतले यस वर्ष पनि अघिल्लो वर्ष बराबर नै सहयोग दिन लागेको हो । भारतले दक्षिण एसियाली मुलुकमा सबभन्दा बढी सहयोग भुटानलाई दिने भएको छ । यस वर्ष भारतले भुटानलाई २१ अर्ब १५ करोड भारू सहयोग गर्ने भएको छ । भारतले नेपाललाई हरेक वर्ष बजेटरी सहयोग दिंदै आएको छ । सरकारले बजेटरी सहयोग प्रशासनिकसहित जुनसुकै शीर्षकमा समेत खर्च गर्न सकिन्छ ।

राजदूत शेर्पाद्वारा राजिनामा

‘ममाथिका आरोप मिथ्या’
काठमाडौं, १८ माघ– मानव तस्करीको अभियोग लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् ।  शेर्पामाथि मानव तस्करीको अभियोग लागेपछि परराष्ट्र मन्त्रालयले काठमाडौं झिकाएर उनीमाथि छानबिन गरेको थियो ।
छानबिन प्रतिवेदनपछि सरकारले शेर्पालाई अस्ट्रेलियामा गई बिदाइ भएर आउन निर्देशन दिएको थियो ।  अस्ट्रेलियाबाट फर्कनासाथ उनले राजिनामापत्र बुझाएकी हुन् । शेर्पालाई आफ्नै सवारी चालक वाङु शेर्पाले आफूलाई अस्ट्रेलिया लैजाँदा पैसा असुलेको र आफ्नी श्रीमतीलाई सहयोगीका रूपमा अस्ट्रेलिया ल्याउन मोटो रकम मागेकोलगायतका आरोप लगाएका थिए । राजिनामापछि उनले शुक्रबार वक्तव्य नै जारी गरी आफूमाथि लागेको अभियोग मिथ्या भएको दाबी गरेकी छन् । उनले वक्तव्यमा आफ्नो जीवनको सुरुवात मानव तस्करीविरुद्धको अभियानबाट भएको दाबी गरेकी छन् ।

पूर्व युवराज पारस डिस्चार्ज

काठमाडौं, १८ माघ– पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेसनल हस्पिटलबाट शुक्रबार डिस्चार्ज भएका छन् । तेस्रोपटक हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना भएका शाहलाई लिन बहिनी प्रेरणासहित आफन्तहरू अस्पताल आएका थिए । उनी  निर्मल निवास फर्केका छन् ।
उनको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनी सामान्य खानपिन र हिडडुल गर्न सक्षम भए पनि नियमित रूपमा औषधि सेवन गर्नुपर्ने छ । अस्पतालले उनलाई एक सातापछि फ्लो अपका लागि बोलाएको छ । उनलाई १० वर्षको अवधिमा तीनपटक हृदयाघात भएको हो ।

दुई राप्रपाबीच आज एकता

काठमाडौं, १७ माघ– पशुपतिसमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई राप्रपाबीच शुक्रबार एकताको घोषणा हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच बिहीबार एकीकरणको आधारपत्रमा हस्ताक्षर भएस“गै एकताको टुंगो लागेको हो । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने सहमति बनेको छ । चुनाव चिह्न ’हलो’ हुने भएको छ ।
पार्टी एकता घोषणाका लागि शुक्रबार दिउ“सो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम तय गरिएको छ । एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने, महाधिवेशन नहुञ्जेलसम्मका लागि समान हैसियतमा दुई अध्यक्ष रहने आधारपत्रमा उल्लेख छ ।
मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यले एकीकरण गर्न लागिएको नेताहरूले बताएका छन् । 

नेता नेपाल लाओस प्रस्थान

काठमाडौं, १७ माघ– सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार लाओस प्रस्थान गरेका छन् । उनी लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय टोलीको नेतृत्व गर्दै बुधबार राति लाओस प्रस्थान गरेका छन् ।
टोलीमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्य जयन्ती राई, बिना श्रेष्ठ, विष्णु रिजाल र अलि अख्तर छन् ।
भ्रमणका क्रममा नेकपा र रिभोलुसनरी पार्टी तथा नेपाल र लाओसबीच सम्बन्ध सुधार गर्ने विषयमा छलफल हुने जानकारी उनको स्वकीय सचिवालयले दिएको छ । उनी माघ २२ मा स्वदेश फर्कनेछन् ।

कर्मचारी नेता ५ लाख घुसहित पक्राउ

काठमाडौंं, १७ माघ– सत्तारूढ नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनका नेता भोलानाथ चालिसे बिहीबार ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 
अख्तियारले जिल्ला अदालत काठमाडौंमा कार्यरत नायव सुब्बा चालिसेलाई सवारी ज्यान मुद्दा मिलाइदिने आश्वासन दिएर सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंको भवन परिसर बबरमहलबाट पक्राउ परेका चालिसेलाई हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । उनी नेपाल निजामती कर्मचारी संगठन काठमाडौंका उपाध्यक्ष हुन् । उनी ३ वर्षदेखि काठमाडौं जिल्ला अदालतमा कार्यरत थिए । उच्च अदालत पाटनमा सरुवा भए पनि सत्तारूढ दलको दबाबमा उनी अटेर गरी जिल्ला अदालतमै बसिरहेका थिए ।

२० हजार डलरसहित इजरायली पक्राउ

काठमाडौं, १७ माघ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९ हजार ७ सय अमेरिकी डलरसहित एक जना इजरायलीलाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इजरायली नागरिक राहदानी नं. २१७४०५३८ बहाक ३१ वर्षीय सही वेन मोहा छन् । काठमाडौंबाट थाई लायन एयरको उडानबाट बैंकक जान लागेका इजरायली नागरिकको कम्मरको मनी पर्सबाट उक्त परिमाणमा डलर भेटिएको हो ।
एक्स रे मेसिनमा चेक गर्ने क्रममा अवैध डलर भेटिएको जानकारी विमानस्थल सुरक्षा कार्यालयले दिएको छ । विमानस्थल सुरक्षा कार्यालयले बिहीबार नै इजरायली नागरिकमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागलाई बुझाएको छ ।