Monday, December 5, 2011

राष्ट्रसेवक कर्मचारीका लागि आचारसंहिता जारी, पालना हुनेमा आशंका

कार्यालय समयमा परिचयपत्र र पोशाक अनिवार्य
सेवाग्राहीबाट उपहारसमेत लिन प्रतिबन्ध
दाताबाट व्यक्तिगत सहयोग लिने प्रवृत्तिमा रोक
राजकीय सामन्ती स्वभाव झल्कने भाषाको प्रयोगमा प्रतिबन्ध
तडकभडक र भोजभतेर गर्नेलाई कारबाही हुने

काठमाडौं, १९ मंसिर- सरकारले ५ लाखको संख्यामा रहेका राष्ट्र सेवक कर्मचारीहरुलाई जिम्मेवार अनुशासित र सेवाग्राही जनताप्रति जवाफदेही बनाउन २६ बुँदे आचारसंहिता जारी गरी लागू गरेको छ । अराजक भ्रष्ट र अनुशासनहीन हुँदै गएका कर्मचारीहरुको आचरण र व्यवहारलाई अनुशासित र मर्यादित तथा सार्वजनिक सेवालाई जनतामैत्री बनाउन मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले 'सार्वजनिक पद धारण गरेका राष्ट्र सेवक कर्मचारीहरुको आचारसंहिता २०६८' पारित गरी जारी गरेको हो । ऐननियमसमेत लागू नहुने मुलुकमा संहिता पालना हुनेमा कर्मचारीहरु नै आशंका प्रकट गर्छन् ।
सरकारको राजस्वबाट तलब भत्ता वा अन्य सुविधा लिने विभिन्न सेवामा कार्यरत निजामती नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी शिक्षक वित्तीय क्षेत्र एवं सरकारी संस्थान विकास समिति र स्थानीय निकायका कर्मचारीहरुका लागि पहिलोपटक आचारसंहिता बनाई लागू गरिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीले जानकारी दिए ।
आचारसंहिताले कर्मचारीहरुको व्यक्तिगत प्रयासबाट विदेशमा कार्यशाला र तालिममा जान दातालाई प्रभावमा पार्ने व्यक्तिगत विदेश भ्रमणका लागि दाताबाट हवाई भाडालगायत भ्रमण खर्च मागेर लिने बढ्दो प्रवृत्तिलाई प्रतिबन्ध लगाएको छ । राष्ट्रसेवकको हैसियतले आफूलाई या आफ्ना छोराछोरी र नातेदारका लागि छात्तवृत्ति माग्न नपाइने व्यवस्थासमेत आचारसंहितामा गरिएको छ ।
आचारसंहिताले राष्ट्रसेवकले सेवाग्राहीसित घूस कमिसन त परको कुरा कुनै पनि किसिमको उपहारसमेत लिन बन्देज लगाएको छ । संहिताका अनुसार विभिन्न निकायका जिम्मेवारी कर्मचारीले विभिन्न दल र तिनका भातृ संस्थाका कार्यक्रमका लागि सवारी साधन इन्धनलगायतका सरकारी सम्पत्ति दिन पाउने छैनन् । ुसरकारी वा सार्वजनिक सम्पत्ति सवारीसाधन इन्धन आदि अनधिकृत रुपमा कुनै पनि दल वा तिनका भातृ संगठनको कार्यक्रमका लागि प्रयोग गर्न वा गराउन दिन हुँदैनु संहितामा भनिएको छ ।
राष्ट्रसेवकहरुलाई अनुशासित र जनताप्रति बढी उत्तरदायी बनाउन आचारसंहितामा राष्ट्रसेवकहरुले कार्यालयमा रहँदा या कार्यक्षेत्रमा खटिई काम गर्दा परिचयपत्र लगाउनु अनिवार्य गरिएको छ । कार्यालय समयावधिभर पोसाक तोकिएका राष्ट्रसेवकका लागि सोहीबमोजिमको र नतोकिएकाको हकमा मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्थासमेत गरिएको छ ।
संहिता कार्यान्वयन गर्नु÷गराउनु सबै सम्बन्धित केन्द्रीय कार्यालयका प्रमुखहरुको कर्तव्य हुने व्यवस्था आचारसंंहितामा गरिएको छ । संहितामा प्रत्येक मन्त्रालय केन्द्रीय निकाय संवैधानिक निकाय र मातहतका समन्वय गर्नुपर्ने कार्यालयका प्रमुखहरुलाई संहिता पालना भए÷नभएको नियमित अनुगमन गरी पालना नगर्ने कर्मचारीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने÷गराउने जिम्मेवारी दिइएको छ ।
राष्ट्रसेवकले सेवा प्रवाह गर्दा अशक्त वृद्धवृद्धा गर्भवती महिला वा सुत्केरी बालबालिका असहाय विद्यार्थी कमजोर वर्ग र टाढाका सेवाग्राही जनतालाई प्राथमिकता दिनुपर्ने व्यवस्था संहितामा गरिएको छ । राष्ट्रसेवकहरुले आफ्नो व्यावसायिक सीप ज्ञान र अनुभवले गर्न सक्ने कामसमेत बाहिरका व्यक्तिलाई दिने र त्यसबाट व्यक्तिगत आर्थिक स्वार्थपूर्ति गर्ने प्रवृत्तिलाई समेत संहिताले अंकुश लगाएको छ ।
संहितामा राष्ट्रसेवक कर्मचारीले अनावश्यक तडकभडक नगरी ुसादा जीवन उच्च विचारु को मान्यतालाई अवलम्बन गर्नुपर्ने र आफ्नो नगरी नहुने पारिवारिक भोजभतेरलाई मितव्ययी बनाउनुपर्ने अनिवार्य गरिएको छ । कर्मचारीलाई समाजमा शालीन शिष्ट र सादा पहिचान कायम गर्नुपर्नेछ ।
विभिन्न सरकारी सेवामा रहेको आफूभन्दा माथिका कर्मचारीलाई अनावश्यक उच्च आदरार्थी र राजकीय सामन्ती स्वभाव झल्कने भाषाको प्रयोग गर्ने प्रवृत्तिलाई संहितामा प्रतिबन्ध लगाइएको छ । नेपाली सेना र प्रहरीमा अनावश्यक उच्च आदरार्थी र राजकीय सामन्ती स्वभाव झल्कने भाषाको बढी प्रयोग प्रवृत्ति छ ।
कर्मचारीले सेवाग्राही र आफूभन्दा माथिका कर्मचारीप्रति उचित आदरभाव देखाउनुपर्ने र आफूभन्दा मुनिका कर्मचारीप्रति सम्माजनक व्यवहवार गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ । आफू मातहतका कर्मचारीलाई हेयवाचक शब्दमा बोल्नसमेत निषेध गरिएको छ ।
संहिताले राष्ट्रसेवक कर्मचारीलाई सेवाग्राहीलाई कुनै पनि आधारमा भेदभाव गर्न नपाइने सेवाग्राहीमैत्री हुनुपर्ने व्यवस्था गरिएको छ । संहितामा कर्मचारीले जातजाति धर्म भाषा िलंग राजनीतिक वा सामाजिक हैसियत भौगोलिकता राजनीतिक दृष्टिकोण पहुँच वा व्यक्तिगत सम्बन्ध वा अन्य कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई सम्मानका साथ समान व्यवहार गरी सेवाप्रवाह गर्नुपर्ने अनिवार्य गरिएको छ । बोलीचाली हाउभाउ वा शारीरिक संकेतबाट सेवाग्राहीलाई अवहेलना गर्ने कर्मचारीमाथि कारबाही हुने व्यवस्थासमेत संहितामा गरिएको छ ।

No comments:

Post a Comment