Sunday, November 20, 2011

सहसचिव राईका सामु प्रधानमन्त्री भट्टराई लाचार

काठमाडौं, ४ मंसिर- प्रधानमन्त्री बाबुराम भट्टराईले दुई साताअघि मन्त्रिपरिषदबाट कारबाहीस्वरुप काठमाडौं महानगरको कार्यकारी अधिकृत एवं सहसचिव गणेश राईलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा सरुवाको निर्णय गराएका थिए तिनै सहसचिवको प्रधानमन्त्रीलाई थाहै नदिई गृह मन्त्रालयमा सरुवा भएभन्दा अचम्म लाग्न सक्छ । यो यथार्थ हो । मन्त्रिपरिषदको निर्णयका नाममा राईलाई कार्यकारी अधिकृतबाट गृह मन्त्रालयमा सरुवा भएको रमानापत्र दिइएको छ ।
'केही साता पहिले काठमाडौं महानगरको फोहोर र बदमासी धेरै थाहा पाएपछि म आफैंले राईलाई बोलाएर राम्रोसँग काम गर्नोस् नभए म तपाईंलाई कारबाही गर्छु भनें' प्रधानमन्त्रीले भने- 'तर कुनै सुधार नभएपछि म आफैंले मन्त्रिपरिषदबाट निर्णय गराई उनको सरुवा गराएको हो । मैले मुख्यसचिव माधव घिमिरेलाई राईलाई सरुवाको पत्र चाँडो दिनोस् भनें मुख्यसचिवले पनि सरुवाको पत्र दिइसकें मुख्यसचिवले नाटक गरेनन् होला नि । मैले राई त निलम्बन गर्ने खालको मान्छे रहेछन् महानगरलाई राम्रो मान्छ खोज्नोस् भनेको थिएँ । तर अहिले सुन्छु तिनै राई त अतिरिक्त समूहमा होइन गृह मन्त्रालयमा सरुवा भएको सुनें ।' प्रधानमन्त्रीले नचाही मन्त्रिपरिषदबाट कुनै निर्णय हुन्न । तर राईलाई भने गृह मन्त्री विजयकुमार गच्छदारको दबाबमा मन्त्रिपरिषदले गृह मन्त्रालयमा सरुवा गरेको हो । राईले सरुवा भएको दुई सातापछि महानगर प्रमुखको हैसियतको प्रमुख दलहरु माओवादी कांग्रेस एमाले राप्रपालगायतका नेताहरुको टोली लिएर इक्वेडर भ्रमणमा गएमा छन् । 'राई त साह्रै जब्बर मान्छे रहेछन् । सरुवा गरेको मान्छे राई त उल्टै महानगर प्रमुखका रुपमा विदेश भ्रमण गएछ कत्रो हिम्मत स्थानीय निकायमा रहेका पार्टीहरुको संयन्त्र पनि उस्तै भ्रष्ट रहेछन् । भ्रमण टोलीमा हाम्रै पार्टीका मान्छे पनि गएछन्' भट्टराईले भने ।
भट्टराई भन्छन्- राईको जबर्जस्ती र उनलाई दिइएको संरक्षणलाई मैले 'टेस्ट केस' का रुपमा गम्भीरतापूर्वक लिएको छु । तर उनले राई गृह मन्त्री गच्छदारको दबाबमा मन्त्रिपरिषदको निर्णय परिवर्तन गरी राईलाई अतिरिक्तबाट गृह मन्त्रालयमा सरुवा गरिएको घटनाका बारेमा थप बोल्न चाहेनन् ।
उनले काठमाडौं महानगरमा मात्र होइन सबैजसो स्थानीय निकायमा राजनीतिक संयन्त्रका नाममा राज्यको ढुकुटीको चरम दुरुपयोग भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्न आफू लागिपर्ने बताए । 'बढी भ्रष्टाचार हुने गरेका केही मन्त्रालय वैदेशिक रोजगार विभागलगायतका निकायमा आफूले प्रत्यक्ष र प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयमार्फत् निगरानी गरिरहेको छ' उनले भ्रष्टाचार र बदमासी रोक्न मैले कसर बाँकी राख्तिन ।ु
प्रधानमन्त्रीले केही मन्त्रालय र विभागमा मन्त्री र प्रशासनिक नेतृत्व मिलेर अपारदर्शी ढंगले बद्मासी गरिरहेको रिपोर्ट आफूलाई सूचना आएको उल्लेख गर्दै दोषीमाथि कारबाही गर्न आफूले छानबिन गराइरहेको दाबी गरे । उनले संयुक्त सरकारको आफ्नै किसिमको बाध्यता हुने भए पनि अपारदर्शी र बद्मासी काम गर्नेलाई आफूले छुट नदिने बताए । उनले बदमासी गर्ने मन्त्री र प्रशासनका अधिकारीको नाम भने बताएनन् । 'केही मन्त्रीले अपारदर्शी ढंगले काम गर्ने गरेको र बदमासीसमेत गरिरहेको रिपोर्ट आएको छ । त्यसमा प्रशासनका अधिकारीको समेत मिलोमतो रहेको रिपोर्ट आएको छ । प्रशासनिक अधिकारीको मिलोमतोबिना बदमासी सम्भव हुन्न' उनले भने ।
भट्टराईले आफू प्रधानमन्त्री भएपछि शान्ति प्रकि्रया र संविधान निर्माणमा अपेक्षित प्रगति भएको सुशासन र जनतामा सेवा प्रवाहमा भने आफूले चाहे जति गर्न नसकेको स्वीकार गरे ।

No comments:

Post a Comment