Saturday, June 27, 2020

कोरोना कोषबाट सात प्रदेश र सेनासहितलाई साढे ५५ करोड

कसलाई कति रकम ?
  • प्रदेश १ – ४ करोड
  • प्रदेश २ – ७ करोड
  • बागमती प्रदेश – ४ करोड
  • गण्डकी प्रदेश – ४ करोड
  • प्रदेश नं. ५ – ७ करोड
  • कर्णाली प्रदेश – ६ करोड
  • सुदूर पश्चिम प्रदेश – ६ करोड बराबर ३८ करोड
  • ८४ पालिका – ७ करोड २२ लाख ६८ हजार
  • सैनिक अस्पताल – ९ करोड २६ लाख ८० हजार
  • विमान भाडा – ८८ लाख ५५ हजार
  • दुई अस्पतालका संक्रमित स्वास्थ्यकर्मी र बिरामीको उपचारलाई २५ लाख

काठमाडौं, १२ असार– सरकारले ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा भएको रकमबाट सात प्रदेश र नेपाली सेनासहितका निकायलाई साढे ५५ करोड रुपैयाँभन्दा रकम बढी निकासा गरेको छ ।
योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको अध्यक्षतामा बुधबार बसेको कोषको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सात प्रदेश र नेपाली सेनासहितका निकायलाई बिहीबार नै रकम निकासा गरिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले दिएका छन् ।

सरकारले कोरोनाको जोखिम नियन्त्रण, आइसोलेसन स्थापना तथा सञ्चालन गर्न र संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्नका लागि ७ प्रदेशलाई ३८ करोड रुपैयाँ उपलब्ध गराएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रदेश १ लाई ४ करोड, प्रदेश २ लाई ७ करोड, बागमती प्रदेशलाई ४ करोड, गण्डकी प्रदेशलाई ४ करोड, प्रदेश नं. ५ लाई ७ करोड, कर्णाली प्रदेशलाई ६ करोड
सुदूर पश्चिम प्रदेशलाई ६ करोड रुपैयाँ उपलब्ध गराइएको छ । 
प्रदेशगत संक्रमण प्रक्षेपणका आधारमा सातै प्रदेशलाई रकम उपलब्ध गराइएको निर्णयमा उल्लेख छ । यसअघि स्थानीय तह र अस्पताललाई मात्र रकम दिएको कोषले पहिलोपटक सात प्रदेश सरकारलाई समेत बजेट उपलब्ध गराएको हो । सात प्रदेशलाई उनीहरूको मागको अध्ययन गरी रकम निकासा गरिएको हो ।
कोरोना कोषले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई ९ करोड २६ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ । कोषले सैनिक अस्पताललाई आईसीयू कक्षलगायतका भौतिक पूर्वाधार निर्माण गर्न र औषधि स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न रकम उपलब्ध गराएको हो ।
कोषले सातै प्रदेशका ८४ स्थानीय तहलाई कोरोना रोकथामका लागि सञ्चालन गरेका क्वारेन्टाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न र क्वारेन्टाइनमा रहेकाहरूको खानपिन र बसोबासका लागि ७ करोड २२ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराएको छ । स्थानीय तहहरूलाई घटीमा करिब ३ लाखदेखि बढीमा १७ लाख रुपैयाँसम्म रकम दिइएको छ ।
कोषले कोरोनाको परिक्षण गर्न स्वाब संकलन गर्न प्रयोग भएका नेपाली सेना, नेपाल वायु सेवा निगम र निजी क्षेत्रका हेलिकप्टर र जहाजको भाडाका लागि ८८ लाख ५५ हजार रुपैयाँ रकम निकासा गरेको छ ।
यसैगरी कोषले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र त्रिवि शिक्षण अस्पतालका १२ जना बिरामी र संक्रमित १० स्वास्थ्यकर्मीको उपचारका लागि २५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
कोषले आफूले निकासा गरेको रकम कानुनबमोजिम खर्च गर्न र त्यसको लेखा परिक्षण गराई त्यसको प्रतिवेदन पेस गर्नसमेत सबै निकायलाई सर्कुलर गरेको छ ।
सरकारले कोषबाट पहिलोपटक जोखिमयुक्त क्षेत्रका अस्पताल र जिल्ला प्रशासन कार्यालयलाई ५ करोड १७ लाख ७९ हजार र दोस्रोपटक कोरोना परिक्षण प्रयोगशाला, क्वारेन्टाइन र सिमा क्षेत्रका होल्डिङ सेन्टरलाई २४ करोड रुपैयाँ निकासा गरेको थियो ।
तेस्रोपटकको निर्णयसँगै कोषबाट निकासा भएको रकम साढे ८४ करोड रुपैयाँ पुगेको छ । हालसम्म २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी जम्मा भएको कोषमा अब १ अर्ब ५१ करोड रुपैयाँ बाँकी रहेको छ ।

No comments:

Post a Comment