Wednesday, January 29, 2020

प्रमुख प्रशासकसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं, १४ माघ– गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चौधरी र रेग्मीले काठमाडौं–१ स्थित गुठीको जग्गा गुठीमै कायम गर्न सेवाग्राहीसित ८ लाख रुपैया“ घूस लिएको र पछि सेवाग्राहीकै निजी खातामा फिर्तासमेत गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय वाग्मती प्रदेश ललितपुरका लेखा अधिकृत विष्णुहरि पुडासैनीविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

ललिता निवासको जग्गा अनियमितता गर्नेलाई छिट्टै कारबाही : मन्त्री अर्याल

काठमाडौं, १३ माघ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा हडपेर अनियमितता गर्नेहरूलाई केही दिनभित्रै कारबाही सुरु गर्ने तयारी भइरहेको बताएकी छन् ।
उनले मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरी ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मन्त्रालयले छानबिन गरिरहेको उल्लेख गर्दै केही जटिल विषय भएकाले कारबाही सुरु गर्न समय लागेको दाबी गरिने ।
उनले अवको केही दिनभित्रै जग्गा अतिक्रमणमा संलग्न सबैमाथि कारबाही सुरु हुने जानकारी दिइन् । उनले मन्त्रालयले अतित्रमित जग्गा सरकारका नाममा ल्याउन पहिला नै काम सुरु गरे पनि सर्वोच्च अदालतले प्रश्न उठाएका कारण केही ढिला भएको बताइन् ।

Monday, January 27, 2020

कोरोना भाइरसको जोखिममा रहेका नेपालीलाई तत्काल उद्धारको माग

काठमाडौं, १२ माघ– प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना भाइरसबाट नेपाल समेत उच्च जोखिममा रहेको उल्लेख गर्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक कदम चाल्न सरकारसित माग गरेको छ ।
कांग्रेस संसदीय दलले आइतबार विज्ञप्ति जारी गरी चीनको हुबई प्रान्तको राजधानी उहानका विभिन्न विश्वविद्यालय र शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहा“ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरूलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धार गर्नसमेत माग गरेको छ ।

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १२ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई सब डिभिजन वन कार्यालय, बर्दियाका वन अधिकृत आनन्दप्रसाद साहविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
 साहले निजी जग्गाको काठको नापजाँच लागत तयार गरी डिभिजन वन कार्यालय गुलरियामा बिमाको आदेश सिफारिस गरिदिएबापत घूस लिएको छानबिनबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Sunday, January 26, 2020

गाउँपालिकाका अध्यक्ष केसीसहित तीन घूससहित पक्राउ

काठमाडौं (कास)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचा“दे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित २ जनालाई घूस रकमसहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियारले शनिबार विज्ञप्ति जारी केसी. र उनका सहयोगी चन्द्रबहादुर बस्नेतलाई सुर्खेतको वीरेन्द्रनगर– ७ स्थित हटलाइन रोडबाट ८ लाख रुपैयाँ घूससहित पक्राउ गरिएको जनाएको छ ।
उनीहरूले गाउँपालिका– ५ मा उपभोक्ता समितिहरूमार्फत निर्माण भएको सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसित घूस लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । दुवै जनालाई अख्तियारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

Saturday, January 25, 2020

निगमको अध्यक्षमा अधिकारी

काठमाडौं, ९ माघ– सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको राजीनामा स्वीकृत गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डेढ वर्षमै निगमको संगठनात्मक संरचना परिवर्तन गरी पुनः सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पर्यटन सचिवलाई दिएको हो । कार्यकारी अध्यक्षको राजिनामा स्वीकृत भएपछि निगममा कार्यकारी प्रमुखका रूपमा प्रबन्ध निर्देशकको नियुक्ति गर्ने बाटो खुलेको छ ।

प्याजमा घूस लिने इन्स्पेक्टरविरुद्ध मुद्दा

काठमाडौं, ९ माघ– अभावका बेला भारतबाट आयात हुने गरेको प्याजमा घूस लिएको अभियोगमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका इन्स्पेक्टर अमृत थापासहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सशस्त्र प्रहरी बल बीओपी मोरङका कार्यालय प्रमुख थापा र जवान शशितनारायण विश्वासले भारतबाट प्याज ल्याउने व्यापारीसित घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै दुवै जना निलम्बित भएका छन् ।
अख्तियारले दैलेखको श्री पिपलचौतरा माध्यमिक विद्यालय डुंगेश्वर ५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनौट समितिको संयोजक भक्तबहादुर शाहीसहित तीन जनालाई पक्राउ गरेको छ । शाहीले म्यासेन्जरमार्फत शिक्षक छनौट परिक्षामा प्रश्नपत्र र उत्तर कुन्जिका पठाई आफ्नो मान्छेलाई उत्तीर्ण गराएको पाइएकाले नयन्त्रणमा लिइएको अख्तियारले उल्लेख गरेको छ ।

Thursday, January 23, 2020

अब सम्पत्ति विवरण बुझाउनुनपर्ने !

काठमाडौं, ८ माघ– सरकारले सार्वजनिक पदमा रहेका व्यक्तिले नियुक्त भएको र बर्सेनि आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने बाध्यकारी व्यवस्था हटाउन लागेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने भ्रष्टाचार निवारण ऐन २०५९ को बाध्यकारी व्यवस्थालाई संशोधन विधेयकमा खुकुलो बनाउँदै सरकारको स्वविवेकभित्र राखिएको छ ।
विधेयकमा सरकारले तोकेको खास समय र खास तहका व्यक्तिले मात्र सम्पत्ति विवरण बुझाए पुग्ने भनिएको छ । ऐनको दफा ५० को सम्पत्ति विवरण बुझाउनुपर्ने बाध्यकारी व्यवस्थालाई परिमार्जन गर्न प्रस्ताव गर्दै विधेयकमा ‘अनसुन्धान अधिकारीले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास तह, समूह, निकाय वा संस्थामा कार्यरत राष्ट्रसेवकलाई आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण कुनै खास–खास अवधिमा पेस गर्नुपर्ने वा पेस गर्नु नपर्ने गरी तोक्न सक्नेछ’ भन्ने प्रावधान राखिएको छ ।

गैरकानुनी मिर्गौला प्रत्यारोपणका पाँचै जना आरोपी रिहा

काठमाडौं, ८ माघ– उच्च अदालत पाटनले गैरकानुनी रूपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोग लागेका ललितपुरको निदान अस्पतालका कार्यकारी निर्देशक विपेन्द्र प्रधान र चिकित्सक राजेश पन्तसहित पाँचै जनालाई रिहा गरेको छ । ललितपुर जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा परेका ५ जनामध्ये २ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारेखमा रिहा गरिएको हो ।
आदेशअनुसार डा. पन्त, मिर्गाैला प्रत्यारोपण गराएका शंकरलाल लामा र ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन शाखा अधिकृत रामचन्द्र आले साधारण तारेखमा छुटेका छन् भने अस्पतालका कानुनी सल्लाहकार कुमोदकुमार भट्टराई ९ लाख र कार्यकारी निर्देशक विपेन्द्र प्रधान ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
नक्कली भान्जा बनाएर मिर्गाैला प्रत्यारोपण गराएको अभियोगमा ललितपुर जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पाँचै जना उच्च अदालत गएका थिए ।

Wednesday, January 22, 2020

क्याम्पसको पैसामा प्रमुखलाई सबा लाखको सेट

काठमाडौं, ७ माघ– सानोठिमी क्याम्पस भक्तपुरका प्रमुख रामचन्द्र घिमिरेले अनधिकृत रूपमा क्याम्पसको पैसाबाट सवा लाखको मोबाइल सेट खरिद गरेको पाइएको छ । प्रधानमन्त्रीमातहतको राष्ट्रिय सतर्कता केन्द्रले छानबिनका क्रममा घिमिरेले क्याम्पसको पैसाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँमा आइफोन–८ नामक मोबाइल सेट खरिद गरेको पाइएको हो ।
केन्द्रद्वारा मंगलबार जारी प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस प्रमुखहरूले १५ हजार रुपैयाँसम्मको मात्र मोबाइल सेट क्याम्पसको पैसाबाट खरिद गर्न पाउने नियम छ । घिमिरेले नियम उल्लंघन गरी क्याम्पसको खर्चमा बढीको मूल्यको मोबाइल सेट खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको २०७३ फागुन ११ को निर्णयमा क्याम्पस प्रमुखले १ पटकमात्र बढीमा १५ हजार रुपैयाँसम्मको मोबाइल सुविधा पाउने व्यवस्था गरिएको छ । क्याम्पस प्रमुख घिमिरेले मोबाइलबाहेक अरू धेरै कुरामा समेत अनियमितता गरेको पाइएकोसमेत प्रतिवेदनमा उल्लेख छ ।

Monday, January 20, 2020

आज रातिदेखि मौन अवधि

आचारसंहिताको पूर्ण पालना गर्न आयोगको आग्रह
काठमाडौं, ६ माघ– राष्ट्रिय सभाका १८ सदस्यका लागि बिहीबार हुने निर्वाचनका लागि सोमबार राति १२ बजे मौन अवधि सुरु हुँदै छ । निर्वाचन आचारसंहिताबमोजिम ४८ घण्टा अगाडि मौन अवधि सुरु हुने आयोगले जनाएको छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न÷गराउन केन्द्र तथा प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय सभा सदस्यको चुनावका लागि सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान केन्द्र राखिएको छ । मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार कार्य गर्न÷गराउन नपाइने आयोगले जनाएको छ ।

वडाध्यक्षसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ५ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान जिल्लाको बागचौर नगरपालिका– २ का वडाध्यक्ष घनश्याम शर्मासहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा शर्माका अतिरिक्त सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष डिम्बरबहादुर कामी, कोषाध्यक्ष कर्णबहादुर विक, सचिव अनिता विक, नगरपालिकाका सबइन्जिनियरद्वय थमन योगी र तोरणबहादुर विष्ट छन् ।
बागचौरको भानुभक्त निमावि, धनचुली हुँदै चिल्ढाले सडक निर्माणका क्रममा हुँदै नभएको कामको रकम भुक्तानी गरी अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । आयोजनाको नापजाँच तथा अनुगमन नै नगरी उनीहरूले एक सय मिटर मात्र नयाँ ट्र्याक निर्माण भएको अवस्थामा बदनियतपूर्वक थप सय मिटरसमेत भएको भनी रकम भुक्तानी गरेर साढे ७७ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

Sunday, January 19, 2020

पशुपति क्षेत्रभित्रका अनधिकृत घरटहरा भत्काइने

हटाउन माघ ७ सम्मको समय, अटेर गरे कोषले नै ८ गतेदेखि भत्काउन थाल्ने
काठमाडौं, ४ माघ– पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रभित्र निर्माण भएका अवैध घरटहरा, पालीलगायत संरचना हटाउने भएको छ । कोषले सातदिने समयसीमा तोकेर अवैध संरचना हटाउन निर्देशन दिँदै नहटाए आफैं हटाउने सूचना जारी गरेको छ ।
कोषको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रमा अव्यवस्थित तवरले सयौं घरटहरा र छाप्रा बनाएर वर्षौंदेखि बसोबास भइरहेको छ । ती स्थानमा व्यवसायसमेत सञ्चालन हु“दै आएको छ । अवैध संरचनाका कारण पशुपति क्षेत्र अव्यवस्थित र दुर्गन्धित हुनुका साथै वातावरणसमेत प्रदूषित बनिरहेको छ ।

लेखा अधिकृतसहित तीनविरुद्ध मुद्दा

काठमाडौं, ४ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुसेवा विभाग, ललितपुरका लेखा अधिकृत रमेश कार्कीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा कार्कीका अतिरिक्त रूपन्देही जिल्ला अदालतका नायव सुव्वा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मा छन् ।
पशुसेवा विभागका लेखा अधिकृत कार्कीले कार्यालयको सूचना विज्ञापन पत्रिकामा प्रकाशित गरेपश्चात सेवाग्राहीलाई बिल रकम भुक्तानी गर्ने क्रममा ८ हजार ५ सय रुपैयाँ घूस लिएको अनुसन्धानबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

नाट्टाको अध्यक्षमा गुरागाईं

काठमाडौं, ४ माघ– नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन् । उनले नाट्टाको शुक्रबार भएको चुनावमा १ सय ५० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी भीमप्रसाद पन्तले १ सय २६ र मिहिका धाख्वाले १ सय ९ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सह–कोषाध्यक्षमा युविका भण्डारी तथा सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजंग पाण्डे निर्वाचित भएका छन् ।

हिमाल सफा र सुरक्षित छन् : भट्टराई

काठमाडौं, ४ माघ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरू सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभर फैलाएर पर्यटक आकर्षित गर्नुपर्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित कञ्चनजंघा हिमाल सरसफाइ अभियानसम्बन्धी कार्यक्रममा बोल्दै उनले बाहिर जतिसुकै नकारात्मक कुरा प्रचार भइरहे पनि नेपालका हिमाल सफा र सुरक्षित रहेको बताए ।
उनले नेपाली हिमाल सफा छन् भन्ने सन्देश विश्वभर फैलाएर पर्यटक आवागमन बढाउनेतर्फ पर्यटन व्यवसायीसहित सबैको ध्यान जानुपर्ने बताए । ‘भ्रमण वर्षलाई ख्याल गर्दै नेपालका हिमालहरू सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वमा दिएर हिमाल आरोहण अभियानलाई अगाडि बढाउनुपर्छ,’ उनले भने । उनले मुलुकको आर्थिक विकास र पर्यटनका लागि हिमालहरू सबैभन्दा महत्वपूर्ण सम्पदा भएको बताए ।

यादव राजपाको संयोजक

काठमाडौं, ४ माघ– राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलको संयोजक नेता महेन्द्रराय यादव भएका छन् । नेता राजेन्द्र महतोको अध्यक्षतामा बसेको अध्यक्ष मण्डलको बैठकले चक्रीय प्रणालीमा यादवलाई पार्टी संयोजकको जिम्मेवारी दिएको हो ।
यादवले आइतबारदेखि संयोजकको जिम्मेवारी सम्हाल्ने राजपाले जनाएको छ । ६ पार्टी एकीकृत भएर बनेको राजपाका ६ अध्यक्षले पालैपालो ६÷६ महिना पार्टीको नेतृत्व गर्दै आएका छन् । अध्यक्ष मण्डलका संयोजक महतोको छमहिने कार्यकाल शनिबार सकिएको छ ।

Saturday, January 18, 2020

कांग्रेसले संसद सुचारु गर्न दबाब दिने

काठमाडौं, २ माघ (कास)– प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभाको सभामुख यथाशीघ्र चयन गरी संघीय संसद्को बैठक सुचारु गर्न दबाब दिने भएको छ । कांग्रेसले संसद् सुचारु गर्न संसद्का अतिरिक्त सत्तारूढ दल नेकपा र सरकारलाई दबाब दिने रणनीति तय गर्न शुक्रबार संसदीय दलको बैठक बोलाएको छ ।
नेकपाभित्रको विवादले सभामुख चयन हुन नसकेपछि पुस ४ मा सुरु भएको संघीय संसद्को अधिवेशन झन्डै एक महिनादेखि अवरुद्ध छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले लामो समयदेखि सभामुख चयन हुन नसकेका कारण संसद् अवरुद्ध भइरहेकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जनाए ।
‘संघीय संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाज सदनमा राख्न नसकेकाले यथाशीघ्र सञ्चालन गराउन प्रतिपक्षको रणनीति तय गर्न बैठक बोलाइएको हो,’ उनले भने, ‘नेकपाको आन्तरिक विवादले संसद् बैठकलाई बन्धक बनाउनु हुँदैन । सभामुखको छिटो चयन गर्न हामी संसद्मा दबाब सिर्जना गर्छौं ।’
प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभाको सभामुख यथाशीघ्र चयन गरी संघीय संसद्को बैठक सुचारु गर्न दबाब दिने भएको छ । कांग्रेसले संसद् सुचारु गर्न संसद्का अतिरिक्त सत्तारूढ दल नेकपा र सरकारलाई दबाब दिने रणनीति तय गर्न शुक्रबार संसदीय दलको बैठक बोलाएको छ ।

Thursday, January 16, 2020

पूर्व सांसदसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौं, १ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली उपभोक्ता समिति गठन गरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम हिनामिना गरेको अभियोगमा पूर्वसांसद वीपी यादवसहित ६ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिराहाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको २ र ३ वडामा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेर जिल्लाको पूर्वाधार विकास कार्यालयसँग सम्झौता गरी २५ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि भएकाले यादवसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा यादवका अतिरिक्त पूर्वाधार विकास कार्यालय, सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, राजपाका तत्कालीन केन्द्रीय सदस्य हरिनारायण मण्डल, वीरेन्द्रकुमार मण्डल, कृष्णकुमार यादव र नायब सुब्बा भागवत यादव छन ।

Wednesday, January 15, 2020

पूर्वसहायक रथीसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौं, २९ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज विष्टसहित ८ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विष्ट र कृषि विकास बैंक, न्युरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेलसहित ८ जनाले मिलेमतोमा अनधिकृत रूपमा बैंकको ४ करोड २४ लाख ७३ हजार रुपैयाँ झिकेर हिनामिना गरेको पाइएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
बैंकबाट रकम झिक्ने र अर्को खातामा राख्ने कार्यमा विभिन्न प्रक्रिया मिलाउने र निकालिएको रकम भाग लगाउने पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । मुद्दा दायर गरिएकामा विष्ट र ढुंगेलका अतिरिक्त दीपिका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे र प्रकाश घतानी छन् । 
अभियोगपत्रमा विष्ट, ढुंगेल र दीपिका रेग्मीलाई जनही ४ करोड २४ लाख, गिरीलाई २ करोड ६२ लाख, सलिल रेग्मीलाई १ करोड १० लाख, मरहट्ठालाई ६७ लाख, घतानीलाई २ करोड ६७ लाख र पाण्डेलाई ४ लाख रुपैयाँ बिगो कायम गरी डेढ/डेढ वर्ष कैद र जेल सजाय माग गरिएको छ ।

Monday, January 13, 2020

एकै दिन १७ जनाविरुद्ध मुद्दा, लेखा अधिकृत घूससहित पक्राउ

काठमाडौं, २७ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एकै दिन डीएफओ, सडकका डिभिजन प्रमुख र वडाध्यक्षसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हरिया साललगायतका रूख जथाभावी कटान गरी डेढ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मकवानपुरका तत्कालीन वन अधिकृत र सामुदायिक वनका अध्यक्षसहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएका मकवानपुरका तत्कालीन वन अधिकृत राजेन्द्र न्यौपाने, सहायक वन अधिकृतहरू रामबाबु यादज, राजेन्द्रमान राज भण्डारी, विशाल भट्टराई, सोनालाल जयसवाल र नारायणबहादुर कार्की, तत्कालीन रेन्जर राजु लामा, फरेस्टर मोहनराज घिमिरे, वन रक्षक किरणकुमार क्षेत्री र धनलाल यादव, सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोले छन् ।
उनीहरूले तत्कालीन गढी इलाका, सेक्टर, जिल्ला वन कार्यालय, क्षेत्रीय वन निर्देशनालय हेटौडाका कर्मचारी तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णयविपरीत हरिया साल तथा अस्ना जातका रूख कटान गरी ९ हजार १ हजार ७८ क्यु फिट बिक्री गरी १ करोड ५२ लाख १९ हजार ३ सय २६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

महतो हत्यामा छानबिन गर्न आयोगको निर्देशन

काठमाडौं, २७ पुस– राष्ट्रिय मानवअधिकार आयोगले धनुषाका दिलीप महतोको हत्यामा संलग्नलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गरी यस्ता घटना दोहोरिन नदिन निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । धनुषाको मिथिला–५ श्रीनगरका महतोको नदीको अवैध उत्खनन रोक्ने क्रममा शुक्रबार हत्या भएको थियो ।
आयोगले पनि उक्त घटनाको आफ्नो तवरबाट अनुसन्धान गर्ने भएको छ । महतोको हत्याका विषयमा अनुगमन तथा अनुसन्धान गर्ने टोली घटनास्थलतर्फ पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आचारसंहिता जारी

काठमाडौं, २७ पुस– निर्वाचन आयोगले राष्ट्रिय सभाका १८ सदस्य चयन गर्न आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आइतबारदेखि लागू हुने गरी आचारसंहिता जारी गरेको छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी गरिएको आचारसंहिताको पूर्ण रूपमा पालना गर्न÷गराउन सम्पूर्ण सरोकारवाला पक्षलाई निर्देशन दिएको छ। आचारसंहितामा सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, तीनै तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुने आयोगले उल्लेख गरेको छ ।

Sunday, January 12, 2020

पाम आयलको निर्यात खुलाउन कांग्रेसको माग

काठमाडौं, २६ पुस– प्रमुख प्रतिपक्षी कांग्रेसले भारतीय सरकारबाट रोक लगाइएपछि नेपालमा प्रशोधित पाम आयल भारतमा निर्यात नहुने र उद्योगी व्यवसायीहरूको लगानी जोखिममा पर्ने स्थिति उत्पन्न भएकामा गम्भीर चिन्ता व्यक्त गरेको छ ।
कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्णद्वारा जारी विज्ञप्तिमा भारतीय रोकले नेपालमा उत्पादित पाम आयल खेर जाने र उद्योगका श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत संकट उत्पन्न हुने अवस्थाप्रति गम्भीर भई कूटनीतिक पहल गरेर पुनः निर्यातको निर्वाध वातावरण बनाउन सरकारसित माग गरिएको छ ।

जनप्रशासन संघको अध्यक्षमा बाँस्कोटा

काठमाडौं, २६ पुस– राष्ट्रिय सूचना आयोगका निवर्तमान प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा जनप्रशासन संघको अध्यक्ष निर्वाचित भएका छन् । पूर्व तथा वर्तमान प्रशासक र जनप्रशासन विषयका अध्यापकहरूको संगठनको शुक्रबार भएको साधारणसभाले सर्वसम्मतिबाट दुई वर्षका लागि १५ सदस्यीय नया“ नेतृत्व चयन गरेको हो ।
संघको उपाध्यक्षमा यशोधा काफ्ले, महासचिवमा रामशरण चिमोरिया, सचिवमा सुवास शर्मा, कोषाध्यक्षमा तीर्थराज पराजुली निर्वाचित भएका छन् । संघको सदस्यमा मणिराम ओझा, चुडाराज उप्रेती, हिरामणि घिमिरे, जितबहादुर पौडेल, शान्तिलक्ष्मी शाक्य, शेरबहादुर ढुंगाना, दीपक खड्का, विष्णुराज पौडेल, सरोज खनाल र नारायण सुवेदी चयन भएका छन् ।

रेग्मीपछिको मुख्यसचिव को ?

लोकदर्शन रेग्मीले तीनवर्षे पदावधि पूरा गर्न पाए भने अनिवार्य अवकाश पाएका दिन चन्द्र घिमिरे सबैभन्दा वरिष्ठ सचिवका नाताले प्रबल दाबेदार बन्नेछन् । सरकारले रेग्मीलाई पहिले नै बिदा गरेर अरूलाई मुख्यसचिव बनाउने सम्भावना पनि छँदै छ ।
काठमाडौं, २६ पुस– छ महिना अगाडिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास प्राप्त सचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन लागेको चर्चा निकै चलेको थियो । गत साउन २१ मा राईभन्दा वरिष्ठ सचिवत्रय अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्सालले ५ वर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश पाएपछि उनी वरिष्ठताका नाताले समेत मुख्यसचिव हुने बाटो खुलेको मानिएको थियो ।
मुख्यसचिव निजामती प्रशासनका ७१ जना विशिष्ट श्रेणी (सचिव) लाई संयोजन गर्ने, सरकारका तर्फबाट निर्देशन दिने तथा मन्त्रिपरिषद् बैठकमा कुन एजेन्डा पेस गर्ने र कुन नगर्ने भनेर निर्णय गर्ने आकर्षक पद हो । मन्त्रिपरिषद्मा सरकार प्रमुखको निकट भएर काम गर्नुपर्ने भएकाले मुख्यसचिव प्रधानमन्त्रीको विश्वासपात्र व्यक्ति नै हुनुपर्ने भएकाले स्वाभाविक रूपमा ओलीको प्रमुख रोजाइमा राई थिए । सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आकर्षक मुलुकमा राजदूत नियुक्त गरी पद खाली गराएर राईलाई बढुवा गरी निजामती प्रशासनको नेतृत्व सुम्पने तयारीसमेत सुरु गरेको थियो । प्रधानमन्त्री ओलीले रेग्मीलाई राजदूत हुने मुलुक रोज्नसमेत आग्रह गरिसकेका थिए । ‘राईको उमेरका कारण पूरै तीन वर्ष मुख्यसचिव नहुने भएपछि प्रधानमन्त्री ओली राईलाई मुख्यसचिव बनाउने तयारीबाट पछि हटेका हुन्,’ मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो । ५८ वर्षे उमेर हदका कारण राई एक वर्षभन्दा कम समय मात्र मुख्यसचिव हुन्थे ।

Saturday, January 11, 2020

दरबार मार्गको जग्गा भाडामा दिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं, २५ पुस– नेपाल ट्रष्टले दरबार मार्गको एक रोपनीभन्दा बढी सरकारी जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिलाई भाडामा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ ।
अधिवक्ता परिवर्तन राईको रिट निवेदनमा शुक्रबार भएको सुनुवाइपछि मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले ट्रस्टको जग्गा भाडामा दिने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।
अदालतको आदेशस“गै उक्त जग्गामा थामसेर्कु ट्रेकिङ प्रालिले बनाइरहेको भवनलगायतका निर्माणका कामसमेत रोकिने भएको छ । ट्रष्टले थामसेर्कु ट्रेकिङलाई ३० वर्षका लागि उक्त जग्गा भाडामा दिने निर्णय गरेको थियो ।
२०७३ फागुनमा ट्रस्टले ६ अर्ब ४५ करोड ३७ लाख रुपैयाँमा थामसेर्कु ट्रेकिङ प्रालिलाई दिने प्रस्ताव गरी पत्राचार गरेको थियो । तीन महिनापछि नै ट्रष्टले २०७४ वैसाख ६ मा पुनः पत्र पठाई उक्त जग्गा १ अर्ब ५९ करोड भाडामा दिने प्रस्ताव थामसेर्कु ट्रकिङलाई पठाएको थियो ।

घूस लिने सईविरुद्ध मुद्दा

काठमाडौं, २५ पुस– धनुषाको यज्ञभूमिस्थित इलाका प्रहरी कार्यालयका यज्ञभूमिका प्रहरी नायब निरीक्षक कालीचरण पञ्जियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइदिएबापत १५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले शुक्रबार जनाएको हो ।

ढकाल र बाँस्कोटालाई थप मन्त्रालय

काठमाडौं, २५ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई शुक्रबार थप मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटालाई सहरी विकास र ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकेकी हुन् ।
स्वास्थ्य मन्त्रालयमा सारिनुअघि ढकाल कानुनमन्त्री थिए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुनमन्त्री बनाएपछि ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो । कानुनमन्त्री यादव र सहरी विकासमन्त्री इस्तियाक राईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले ती मन्त्रालय आफ्नै जिम्मेवारीमा राखेका थिए ।

Thursday, January 9, 2020

उत्तरपुस्तिका नै साट्नेविरुद्ध मुद्दा

काठमाडौं, २३ पुस– कर्णाली प्राविधिक शिक्षालयको परीक्षाको प्रश्नपत्र आउट गर्ने र परीक्षार्थीको उत्तरपुस्तिका नै परिवर्तन गर्ने परीक्षा निरीक्षकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शिक्षालयका परीक्षा निरीक्षक चन्द्रसिंह खत्री, परीक्षार्थी गंगाराज शाही र बाहिरबाट उत्तर लेखिदिने टंकप्रसाद चौलागाईंविरुद्ध मुद्दा दायर गरेको हो । कृषितर्फको डिप्लोमा प्रथम वर्षका परीक्षार्थी शाहीलाई उत्तीर्ण गराउन खत्रीले सबै विषयमा प्रश्नपत्र आउट गरी चौलागाईंलाई लेख्न लगाएर उत्तरपुस्तिका परिवर्तन गरी अनियमितता गरेकाले तीनै जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । परीक्षार्थी शाही प्राविधिक शिक्षालयकै कर्मचारी पनि हुन् । उनको परीक्षा रद्द गरी तीनै जनालाई तीन महिना जेल सजाय र जरिवाना गर्न आयोगले अभियोगपत्रमा मागदाबी गरेको छ ।

मौसम पूर्वानुमानको सूचना दिन चीनलाई आग्रह

काठमाडौं, २३ पुस– चीनमा हुने मौसम परिवर्तनका कारण नेपालमा आउने बाढीपहिरोजस्ता विपत्तिबारे पूर्वसूचना दिन चिनियाँ सरकारलाई आग्रह गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयले चीनमा बाढीपहिरो आउँदा त्यसको असर नेपालमा समेत पर्ने गरेकाले मौसम पूर्वानुमानको सूचना दिन आग्रह गरेको हो ।
मुलुकको करिब १५ सय किलोमिटर उत्तरी सिमाना चीनस“ग जोडिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चीनको मौसम विभागका उपमहानिर्देशक चेन युङफेङ नेतृत्वको टोलीसित बुधबार गरेको भेटका क्रममा मौसमबारे पूर्वसूचना दिन आग्रह गरेका हुन् । उनले मुलुकका अधिकांश नदीको मुहान चीन नै रहेको र तिनमा ठूला लगानीमा जलविद्युत् आयोजना निर्माण भइरहेको उल्लेख गर्दै मौसममा हुने परिवर्तनका कारण आउने बाढीपहिरोको जोखिमबाट ती संरचनाको सुरक्षा गर्न पूर्वसूचना जरुरी भएको धारणा राखेका थिए ।

Wednesday, January 8, 2020

घूस लेनदेन गर्ने दुवै पक्राउ

काठमाडौं, २२ पुस– राजधानीको साँखुस्थित मालपोत कार्यालयका नायव सुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटा घूस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार घूस लेनदेन गरिरहेका कुइँकेल र सापकोटालाई मालपोत कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । कुइँकेलले जग्गाको दृष्टि बन्दकको लिखत पास गरिदिएबापत सापकोटासित २ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । दुवै जनालाई अख्तियारको हिरासतमा राखिएको छ ।
अख्तियारले इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब निरीक्षक हेमन्त केसीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Tuesday, January 7, 2020

खाडीका चार मुलुकमा श्रम सहचारी नियुक्त

काठमाडौं, २१ पुस– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठूलो सङ्ख्यामा नेपाली कार्यरत मध्यपूर्वका विभिन्न चार मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारी छनौट गरेको छ । छिट्टै उनीहरू नियुक्तिपत्र बुझेर सम्बन्धित मुलुकमा जाने जानकारी मन्त्रालयले दिएको छ ।
साउदी अरेबियाको श्रम काउन्सेलरमा उपसचिव जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (यूएई) का लागि निर्मला थापालाई छनौट गरिएको जानकारी मन्त्रालयले दिएको छ । मन्त्रालयका अनुसार बहराइनका लागि श्रम सहचारीमा शाखा अधिकृत दामोदर दाहाल र कतारका लागि अनुज गौतमलाई छनौट गरिएको छ ।
श्रम काउन्सेलर र सहचारीले आफू खटिएको मुलुकमा गएर नेपाली कामदार समस्यामा पर्दा उद्धार तथा सहजीकरणको भूमिका निर्वाह गर्नेछन् । काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ मा भएको व्यवस्थाबमोजिम उनीहरूलाई छनोट गरिएको हो ।

बैंकमार्फत घूस बुझ्ने इन्जिनियर पक्राउ

काठमाडौं, २१ पुस– ठेकेदारसँग बैंक खातामार्फत घूस रकम बुझ्ने गरेका सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभाग मातहतको इलामस्थित डिभिजनल कार्यालयका सुवास बस्नेतलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको छ । प्रमाण नष्ट गर्न नपाऊन् भनेर उनलाई नियन्त्रणमा लिइएको समेत आयोगले उल्लेख गरेको छ । आयोगले छानबिन थालेपछि उनलाई हालै इलामको डिभिजन कार्यालयबाट हटाई विभागमा तानिएको हो ।
बस्नेतले ठेकेदारलाई बिलको भुक्तानी गर्ने क्रममा बैंक खातामा घूस रकम जम्मा गर्न बाध्य पार्ने गरेको आयोगले उल्लेख गरेको छ । प्रारम्भिक छानबिनका क्रममा बैंक खातामार्फत ठेकेदारस“ग घूस रकम लिने गरेको भेटिएकाले उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

Monday, January 6, 2020

सुडान काण्डका भारती रिहा

काठमाडौं, २० पुस– सर्वोच्च अदालतको आदेशमा सुडान घोटाला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती आइतबार रिहा भएका छन् ।
सर्वोच्चले थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि उनी रिहा भएका हुन् । राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टाचारी ठहर भएपछि गत भदौ १२ गते पक्राउ परेर डिल्लीबजार कारागारमा रहेका भारती रिहा भएका हुन् ।
न्यायाधीश तेजबहादुर केसी, प्रकाश ढुंगाना र मनोजकुमार शर्माको इजलासले गत मंसिर २८ गते पुनरावलोकनमा निस्सा हुने आदेश जारी गरेको थियो । त्यही आदेशको कार्यान्वयनका क्रममा सोमबार भारती धरौटीमा छुटेका हुन् । सर्वोच्चले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा दिएको हो ।

नक्कली मोहीका नाममा २ करोड हिनामिना

गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेको भन्दै ६ जनाविरुद्ध मुद्दा
काठमाडौं, २० पुस– धनुषामा गुठी संस्थानका कर्मचारी, बिचौलिया र नक्कली मोही मिलेर मुआब्जाका नाममा २ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको पाइएको छ । धनुषा जिल्लाको साविक भरतपुर गाविसमा नेपाली सेनाका लागि अधिग्रहण गरिएको गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरणका नाममा रकम हिनामिना गरेको भेटिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा गुठी संस्थान शाखा कार्यालय, जनकपुरका तत्कालीन प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार आचार्य, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, बिचौलिया सुमनकान्त ठाकुर, नक्कली मोही गायत्रीदेवी जयसवाल र शत्रुधन जयसवालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
संस्थानको जनकपुर कार्यालयले दुई जना नक्कली मोही खडा गरी गैरकानुनी रूपमा मुआब्जा वितरण गरेको र त्यसमा कर्मचारी र बिचौलियाले मोटो रकम कमिसनका रूपमा लिएको अभियोगपत्रमा उल्लेख छ । अख्तियारद्वारा जारी विज्ञप्तिअनुसार नक्कली मोहीलाई मुआब्जा भुक्तानी गरेबापत पाण्डेले १९ लाख ३० हजार, आचार्यले ६ लाख ५० हजार, भुसालले ४ लाख ३० हजार रुपैयाँ घूस लिएका थिए ।

Sunday, January 5, 2020

तीन इन्जिनियर १९ लाख घूससहित पक्राउ

काठमाडौं, १९ पुस– सडक डिभिजन कार्यालय सिरहाका निमित्त प्रमुख विनोद साहसहित तीन इन्जिनियर १९ लाख रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले लहानबाट शुक्रबार उनीहरूलाई घूस रकमसहित पक्राउ गरेको हो ।
निमित्त डिभिजन प्रमुख विनोद साह कार्यालय प्रमुखको आवासबाट ३ लाख र सिरहा डिभिजनकै इन्जिनियर नवीनकुमार साह र सब–इन्जिनियर वीरेन्द्रकुमार साह कर्मचारी आवास गृहबाट १५ लाख ९६ हजार रुपैयाँ घूससहित पक्राउ परेको आयोग मुख्यालयद्वारा शनिबार राजधानीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

जापानले २३ सय कामदार लैजान परीक्षा लिँदै

काठमाडौं, १९ पुस– जापानले दुई हजारभन्दा बढी नेपाली कामदार लैजान यही सातादेखि छनोट प्रक्रिया सुरु गर्ने भएको छ । जापानी सरकारका तर्फबाट जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गर्न लागेको हो ।
फाउन्डेसनले सूचना जारी गरी कामदार छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार फाउन्डेसनले पहिलो चरणमा एक हजार कामदार छनोट गर्न जनवरी ७–८, १४–१६, २१–२३, २८–२९ तारिखमा भाषा परीक्षा लिनेछ ।
दोस्रो चरणमा आगामी मार्च ३–५, ९–१२ र १५–१९ तारिखमा भाषा परीक्षा लिइने सूचनामा उल्लेख छ । फाउन्डेसनले परीक्षा शुल्क २५ सय रुपैया“ तोकेको छ । फाउन्डेसनले कम्प्युटरमा आधारित प्रणालीबाट लिखित, सीप परीक्षणलगायत परीक्षा लिनेछ ।

Friday, January 3, 2020

राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारी माग नगर्न सर्कुलर

काठमाडौं, १७ पुस– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै मन्त्रालय, आयोग, बोर्ड, केन्द्र, परिषद, कार्यालय, प्राधिकरण, सातवटै प्रदेश प्रमुखका कार्यालय र ७७ वटै जिल्ला समन्वय समितिका कार्यालयहरुलाई सो निर्देशन दिएको हो ।
लोकसेवाले स्थानीय तहका लागि माग गरेको कर्मचारी सिफारिस हुने क्रम यथावत् रहेको अवस्थामा थप कर्मचारी माग गर्दा आवश्यकताभन्दा बढी कर्मचारी पूर्ति हुने भएकाले तत्काललाई पदपूर्तिसम्बन्धी माग नगर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । अर्को व्यवस्था नभएसम्म राजपत्र अनंकित तथा श्रेणीविहीन पदको पद रिक्त भए पनि हाललाई माग आकृति फाराम भरेर नपठाउन परिपत्रमा भनिएको छ ।

चाकरीस्वरूप मुख्यसचिवको घरमा सशस्त्रको ट्यांकरबाट पानी

काठमाडौँ, १७ पुस— सशस्त्र प्रहरी बलले आफ्नो ट्यांकरमार्फत् मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियमित रूपमा खानेपानी आपूर्ति गरिदिने गरेको पाइएको छ । सशस्त्रले साताको एकपटक राजधानीको कोटेश्वरस्थित रेग्मीको घरमा एक ट्यांकर पानी आपूर्ति गरिदिने गरेको स्रोतले उल्लेख गरेको छ ।
रेग्मीले सरकारी निकायको ट्यांकरबाट आउने पानी र ढुवानी शुल्क केही तिर्नु पर्दैन। सशस्त्रले निःशुल्क रूपमा उनलाई अनधिकृत रूपमा यस्तो सुविधा उपलब्ध गराएको हो। मुख्यसचिव या कुनै पनि प्रशासनिक अधिकारीले सरकारी निकायबाट निःशुल्क रूपमा खानेपानी या अरू सुविधा लिनु आफैंमा कानुन विपरीत हो । ‘कुनै पनि सरकारी अधिकारीले मातहतको या आफ्नो पहुँच भएको कार्यालयबाट अनधिकृत कुनै पनि सुविधा लिन मिल्दैन’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
‘रेग्मी २०७३ भदौ १९ देखि २०७४ कात्तिक ७ सम्म गृह सचिव हुँदा सशस्त्रका तत्कालीन नेतृत्वले चाकरी स्वरूप साताको एकपटक ट्यांकरबाट पानी लगिदिन थालेको हो। रेग्मी मुख्यसचिवमा बढुवा भएपछि पनि यो चाकरी गर्दै ट्यांकरबाट पानी पुर्‍याउने सेवाको क्रम जारी छ’ सशस्त्रको एक अधिकारीले भने ।

Thursday, January 2, 2020

नक्कली लाइसेन्स र परिचयपत्र बनाउने गिरोह पक्राउ

काठमाडौं, १६ पुस– स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाई बिक्री गरेको आरोपमा बुधबार पाँच जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरूलाई राजधानीबाट पक्राउ गरेको हो । पक्राउ परेकामा सर्लाहीका दीपक ब्लोन, वुद्धिबहादुर रोक्का, काठमाडौं बौद्धका अशोक कार्की, काठमाडौंको लाजिम्पाटका कुमार तण्डुकार र बारा सिमराका मोहन यादव छन् ।
पुतलीसडकबाट दीपक ब्लोनसँग मंगलबार नक्कली स्मार्ट लाइसेन्स फेला पारी सोधपुछ गर्ने क्रममा गिरोह नै पक्राउ परेको प्रहरीले जनाएको छ । अर्का अभियुक्त रोक्काले न्युरोडस्थित आफ्नो आशिष स्टुडियोमा डिजाइन गरी न्यूरोडकै फोटो कन्सर्न प्रालिबाट नक्कली सवारी लाइसेन्स प्रिन्ट गर्ने गरेको पाइएकोसमेत प्रहरीले उल्लेख गरेको छ ।

नगर विकास समितिका अध्यक्षविरुद्ध मुद्दा

काठमाडौं, १६ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर विष्टसहित चार जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनबाट विष्टले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अध्यक्ष नियुक्त भएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले श्रीराम राइस मिलका सञ्चालक सियाकिशोर साह, कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका स्टोर किपर रामबाबु महतो र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका खरिदार त्रिलोचना पोखरेलविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

सूचना प्रविधि विधेयक सच्याऊ ः मानव अधिकार आयोग

काठमाडौं, १६ पुस– राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट पारित सूचना प्रविधिसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने भन्दै चिन्ता व्यक्त गरेको छ।आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा आयोगले अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित गर्न बनेको विधेयक नै त्यसको प्रतिकूल रहेको टिप्पणी गर्दै त्यसलाई सच्याउन सरकार र संघीय संसद्लाई आग्रह गरेको छ।
आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन अनुकूल हुने गरी विधेयकलाई परिमार्जन गर्नुपर्ने धारणा राखेको छ । आयोगले सरोकारवालास“ग पर्याप्त छलफल गरेर प्रत्येक व्यक्तिले अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने गरी कानुन निर्माण गर्नसमेत सबै पक्षलाई आग्रह गरेको छ । ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता संविधान प्रदत्त मौलिक हक हो । अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउ“दा त्यसले प्राप्त गर्न खोजेको उद्देश्यस“ग औचित्यपूर्ण सम्बन्ध रहेको हुनुपर्छ भन्ने सर्वोच्च अदालतको ०७४ वैशाख ६ को फैसलालाई समेत आयोग स्मरण गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

Wednesday, January 1, 2020

बाटो निजी बनाउनेविरुद्ध मुद्दा

काठमाडौं, १५ पुस– नापी तथा मालपोत कार्यालयका प्रमुख र जग्गाधनीको मिलेमतोमा राजधानीमै सरकारी बाटोको जग्गा व्यक्तिगत बनाई अनियमितता गरेको भेटिएको छ । जग्गाधनी अरुणकुमार रञ्जितकारले ३ नम्बर नापी गोश्वारा, काठमाडौं र मालपोत कार्यालय, डिल्लीबजारका प्रमुखहरूलाई अनुचित प्रभावमा पारी सरकारी बाटोको ३ सय ११ वर्गमिटर जग्गा आफ्नो नाममा बनाउन सफल भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका क्रममा काठमाडौं महानगरको कित्ता नम्बर २३७ को २०५२÷५३ मा नयाँ नापी हुँदा सँगै रहेको सार्वजनिक बाटोको ९ आनाभन्दा बढी जग्गा घुसाई कित्ता नम्बर र क्षेत्रफल कायम गरेको भेटेको हो । अख्तियारले सरकारी बाटोको जग्गा व्यक्तिको नाममा कायम गर्ने ३ नम्बर नापी गोश्वारा, काठमाडौंका तत्कालीन प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मा र मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत विष्णुकुमार राईविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तीन दिन हिमपात र वर्षाको सम्भावना

काठमाडौं, १५ पुस– जल तथा मौसम विज्ञान विभागले मंगलबार रातिदेखि तीन दिनसम्म देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जनाएको छ।
जम्मु–कश्मीरबाट माथिबाट नेपाल प्रवेश गरेको न्यून चापीय प्रणाली बुधबार सा“झसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । बुधबार र बिहीबार देशैभर बदली भई तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार विशेष बुलेटिन जारी मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार रातिदेखि बिहीबारसम्म तराई र पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकोसमेत उल्लेख गरेको छ ।

सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्छ : महासंघ

काठमाडौं, १५ पुस– नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सूचना प्रविधि विधेयक अघि बढाइएकामा आपत्ति प्रकट गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरी लेखेकै आधारमा ५ वर्ष जेल र १५ लाख रुपैया“ जरिवाना वा दुवै सजायसहितको कठोर दण्ड व्यवस्था गरिएको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने चिन्ता व्यक्त गरेको छ ।
महासंघले सरोकारवालास“ग छलफल र सहमति गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सम्मान हुने गरी सूचना प्रविधिसम्बन्धी विधेयक अघि बढाउन माग गरेको छ । महासंघले सूचना प्रविधिसम्बन्धी विधेयकका कतिपय प्रावधान आमसञ्चारको क्षेत्रलाई नियन्त्रण गर्न दुरुपयोग हुन सक्ने गम्भीर खतरा देखिएकोसमेत औंल्याएको छ ।