Thursday, July 13, 2017

मुख्यसचिवको गरिमा बिर्सेर सहसचिवस्तरको जागिरमा

बढी पेन्सनको लोभमा सुवेदी राजीनामा नदिई एडीबीको जागिरमा
काठमाडौं, २९ असार– मुख्यसचिव सोमलाल सुवेदीले निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक पदमा जागिर खान लागेका छन् । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सन बढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागिरमा जान लागेका हुन् । उनी साउन १ देखि पद सम्हाल्न एडीबीको मुख्यालय फिलिपिन्सको मनिला जा“दै छन् ।
सुवेदीको पेन्सन बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषद्समेत सहयोगी बनिदिएको स्रोतले जनायो । देउवा र मन्त्रिपरिषद्ले एडीबीमा जागिर खान जान लागेका सुवेदीको राजीनामा माग्नुको सट्टा उनको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिदिएको छ । मन्त्रिपरिषदको जेठ ४ को बैठकले सुवेदीको मुख्यसचिव पद असार २८ (बुधबार) देखि लागू हुने गरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय गरिदिएको हो । उनले काज बिदामै रहेर एडीबीको जागिर खानेछन् । 

बिदा भए मुख्यसचिव सुवेदी, एडीबीमा जाने

काठमाडौं, २७ असार– मुख्यसचिव सोमलाल सुवेदीले पदबाट राजिनामा नदिईकन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मंगलबारदेखि बिदा भएका छन् । उनी एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक पदको कार्यभार साउन १ देखि सम्हाल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बिदा भएका हुन् । विभिन्न मन्त्रालय र कार्यालयका सचिव र उच्च अधिकारीहरूले सिंहदरबारमा मंगलबार कार्यक्रम नै मुख्यसचिव सुवेदीलाई बिदाइ गरेका थिए । सरकारले सुवेदीले तीन महिनाअघि नै एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । एडीबीको सहमति आएपछि साउन १ देखि हाजिर हुने गरी सुवेदी जान लागेका हुन् । उनले एडीबीको मुख्यालय फिलिपिन्सको मनिलामा रहेर कार्य गर्नेछन् ।

Tuesday, July 4, 2017

मुग्लिन–नारायणगढ सडक खण्डको विकल्प


  • चार विकल्प 
  • १. कान्ति लोकपथ   – फराकिलो बन्दै । कात्तिकदेखि विकल्पका रूपमा प्रयोग गर्न सकिने, अर्को असारमा पूर्ण तयार हुने । 
  • २. त्रिभुवन लोकपथ   – धेरै लामो र फराकिलो बनाउन कठिन । 
  • ३. बीपी लोकमार्ग   – मोडहरू सानो, ठूला गाडीलाई समस्या ।
  • ४. दक्षिणकाली–कुलेखानी–हेटौंडा – सा“घुरो भएकाले ठूला गाडीलाई समस्या । यो सडक चौडा बनाउन सुरुङ नै बनाउनुपर्ने

काठमाडौं, २० असार– राजधानीको ‘लाइफ लाइन’ का रूपमा रहेको नारायणगढ–काठमाडौंं सडकको मुग्लिन–नारायणगढ खण्डमा वर्षायामका बेला छिन–छिनमा पहिरो गएर हरेक दिनजसो हजारौं यात्रुले सास्ती भोग्नुपरिरहेको छ । सातायता मात्रै केहीले ज्यान गुमाएका छन् । सडक चौडा पार्ने क्रममा रहेको उक्त खण्डमा वर्षा नभएका बेला समेत सुक्खा पहिरो जाने गरेकाले यात्रु मात्र हैरान छैनन् कि खाद्यान्नलगायत ओसारपसारमा समेत समस्या भइरहेको छ ।
के मुग्लिन–नारायणगढ सडक खण्डको विकल्प छैन त ? ‘विकल्पमा मुलुकको पूर्वी भागमा जान बीपी लोकमार्ग, त्रिभुवन लोकपथ (बाइरोड) र दक्षिणकाली–कुलेखानी–हेटौंडा गरी तीनवटा सडक छन्,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने, ‘तर, यी तीनवटै सडक सा“घुरा र मोडसमेत नपुग्ने भएकाले ठूला गाडी ओहोरदोहोर गर्न सक्दैनन् ।’ यी सडक मोटरसाइकल, साना यात्रुवाहक गाडी (माइक्रो र जिप) र निजी सवारी साधनका लागि मात्र विकल्प बनिरहेका छन् । ‘ठूला गाडीका लागि तत्काल कुनै विकल्प छैन,’ उनले भने, ‘आपतकालीन अवस्थामा पश्चिमी नेपालका लागि पृथ्वी लोकमार्ग (काठमाडौं–पोखरा) हु“दै सिद्धार्थ लोकमार्ग (पोखरा–बुटवल) उपयुक्त विकल्प हुन सक्छ ।’ तर यो मार्ग मुग्लिन–नारायणगढभन्दा बढी दूरीको छ ।