Sunday, June 30, 2019

आइफाका लागि अर्ब खर्च गर्ने निर्णयको नेकपाभित्रै विरोध

काठमाडौं, १४ असार– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भित्रै नेपाल सरकारको ठूलो खर्चमा इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) को आयोजना गर्न लागिएकामा विरोध सुरु भएको छ । नेकपाका नेता भीम रावलले नेपालको १ अर्ब रुपैया“ लगानीमा भारतीय चलचित्र पुरस्कार आइफाको आयोजना गर्ने निर्णय सरकारले गरेको सुन्दा आफूलाई आश्चर्य लागेको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्  ।
उनले शनिबार ट्विट गर्दै कसको स्वार्थ र उक्साहटमा आइफा नेपालमा गर्न लागिएको हो भन्ने प्रश्न गर्दै आफ्नो पार्टीको स्थायी कमिटी बैठक बसेमा त्यसबारेमा जान्न पाइने जनाएका छन् । ‘भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाका लागि काठमाडौं महानगरले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ’ रावलले ट्विटमा लेखेका छन्– ‘यस्ता काम कसको उक्साहट र स्वार्थमा कसले किन गर्छ होला † नेकपाको स्थायी कमिटीको बैठक भए जान्न पाइन्थ्यो कि ?’

गरिबी लामो समय टिक्दैन : प्रधानमन्त्री

‘काठमाडौं धूलोधूवाँ मुक्त भयो’
काठमाडौं, १४ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लामो समय गरिबी टिक्न नसक्ने बताएका छन् । केही कारणले नेपाल पछि परे पनि सधैं यही अवस्था नरहने उनको भनाइ छ । ‘तीव्र गतिमा अघि बढ्ने गरी हामीले राष्ट्रिय लक्ष्य तयार गरिसकेका छौं,’ पराराष्ट्र नीति सम्बन्धमा राजधानीमा शनिबार आयोजित राष्ट्रिय संवाद कार्यक्रममा उनले भने, ‘गरिबीमाथिको हाम्रो प्रहार तीव्र छ ।’
बाह्य सम्बन्ध विस्तारमा पनि सरकारले एकलौटी ढंगले काम नगर्ने उल्लेख गर्दै मुलुकका ठूला राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्नेमा उनले जोड दिए । ‘परराष्ट्र नीतिबारे सरकारले एकलौटी काम गर्दैन, त्यसका लागि मुलुकका ठूला दल एकै ठाउ“मा रहनुपर्ने हुन्छ,’ ओलीले भने, ‘छिमेकीसहित सबै राष्ट्रलाई हेर्ने सरकारको नीति एउटै हुनुपर्छ, अहिलेको सरकार त्यहीअनुसार चलिरहेको छ । समग्र मुलुकको साझा चासो त्यसैमा छ, दलहरूको समान धारणा आवश्यक छ, परराष्ट्र नीति एउटै हुनुपर्छ ।’

सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्न उद्यत : देउवा

काठमाडौं, १४ असार– निरंकुश एवं विवादास्पद विधेयक ल्याएर मिडिया, मानवअधिकार र सूचना प्रविधिसहित सबै क्षेत्रमा हस्तक्षेप गर्न सरकार उद्यत भएको कांग्रेस सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको अनावश्यक हस्तक्षेप रोक्न कांग्रेससहित सरोकारवाला समुदाय आन्दोलनमा उत्रिनु अपरिहार्य भएको बताए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नै नियन्त्रण गरेर सरकारले लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको उनको आरोप छ । सरकारले आफ्ना कमीकमजोरी लुकाउन अनुदार विधेयक ल्याएर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको उनको दाबी छ । कर्मचारी प्रशासनमा सरकारले अनावश्यक हस्तक्षेप गर्न थालेको र जुनसुकै क्षेत्रमा अत्यधिक कर बढाएर जनतालाई सास्ती दिने काम गरिरहेको देउवाको टिप्पणी छ ।  जनतालाई कुनै पनि प्रकारको कर नथप्ने सुनकोसी गाउँपालिकाको निर्णयको उनले प्रशंसा गरे ।

रैती बन्न इन्कार गर्छौं : नागरिक अगुवा

नागरिक संघर्ष संयोजन समिति गठन
काठमाडौं, १४ असार– नागरिक समाजका अगुवाहरूले सरकार नागरिकलाई रैतीमा परिणत गर्न उद्यत रहेको भन्दै आपत्ति जनाएका छन् । स्वनाम साथी, सुन्दरमणि दीक्षित, गौरी प्रधान, विजय कर्ण, लोकनारायण शर्मा, उज्ज्वल प्रसाईं, खगेन्द्र संग्रौलालगायतले शनिबार संयुक्त अपिल जारी गर्दै आफूहरूले रैती बन्न इन्कार गर्ने उल्लेख गरेका छन् ।
सरकारले ल्याएका विधेयकहरूले ‘सूचना, ज्ञान, न्याय र मानव अधिकार वर्जित गर्ने र नागरिकबाट रैतीमा परिणत गर्ने दुष्प्रयत्न गरेको उनीहरूको भनाइ छ । अपिलमा उनीहरूले मिडिया काउन्सिलसम्बन्धी विधेयकले बोल्न र लेख्न पाउने अधिकारबाट नागरिकलाई वञ्चित गर्ने, मानव अधिकार आयोगसम्बन्धी विधेयकले आयोगलाई नेताभक्त वकिलहरूको जागिरे अड्डामा परिणत गर्ने र पुस्तकमाथि लगाइएको भन्सार करले ज्ञानको उद्यम धराशायी बनाउने चिन्ता व्यक्त गरेका छन् ।

Friday, June 28, 2019

देवकोटा पुरस्कार ५ साहित्यकारलाई

काठमाडौं, १३ असार– संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले यस वर्षको ‘महाकवि देवकोटा पुरस्कार’ ५ साहित्यकारलाई प्रदान गर्ने घोषणा गरेको छ ।
मन्त्रालयले कविता विधामा विश्वविमोहन श्रेष्ठ (तेह्रथुम), निबन्ध विद्यामा देवीप्रसाद सुवेदी (लमजुङ), आख्यानमा नयनराज पाण्डे (बाँके), बालसाहित्यमा जीवेन्द्रदेव गिरी (सुर्खेत) र भाषा साहित्यमा रोचक घिमिरे (काठमाडौं) लाई प्रदान गर्ने निर्णय गरेको छ । छनोट समितिको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री केपी ओलीले ५ जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेका हुन् ।
सरकारले एक दशकदेखि कविता, निबन्ध, आख्यान/नाटक, बालसाहित्य/लोकसाहित्य र भाषा साहित्य विद्यामा एक÷एक जना स्रष्टालाई पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं, १३ असार–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित तीन जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुनसरीको इनरुवा–७ स्थित ज्याउल हल आधारभूत विद्यालय (मदरसा) का तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष इसुन मियाँ र प्रधानाध्यापक कुरचलाल चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।
मियाँ र चौधरीले विद्यालयमा शौचालय निर्माण र छात्रवृत्तिका लागि प्राप्त सरकारी अनुदान रकममध्ये ४ लाख ६० हजार रुपैयाँ अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मियाँले आफ्नो कार्यकालको लेखा परीक्षण नगराई विद्यालयको स्रेस्ता नै नष्ट गरेकाले उनीमाथि भ्रष्टाचार निवारण ऐनबमोजिम थप कारबाही गर्नसमेत अख्तियारले अभियोगपत्रमा माग दाबी गरेको छ ।
यस्तै रौतहटको हजमिनियास्थित सशस्त्र प्रहरी बलको नम्बर ११ गणका जवान अरुण झाविरुद्ध पनि मुद्दा दायर गरेको छ । भारतीय सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने लोभ देखाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै प्रधानाध्यापक चौधरी र सशस्त्र प्रहरी जवान झा सेवाबाट निलम्बित भएका छन् ।

स्वैच्छिक मृत्युवरण अधिकारको माग

काठमाडौं, १३ असार– प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा मुलुकमा ज्येष्ठ नागरिकलाई स्वैच्छिक मृत्युवरणको अधिकार दिनुपर्ने माग गरिएको छ । समितिको शुक्रबारको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफलमा वयोवृद्ध सरोकारवालाले उक्त माग गरेका हुन् ।
वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई स्वैच्छिक मृत्युवरण गर्न पाउने कानुनी व्यवस्थाका लागि संघीय संसद्समक्ष माग गरे । ९२ वर्षीय रिसालले धेरै विद्वान् र धनी छोराछोरीका बाबुआमाले समेत बुढेसकालमा कठिनका साथ जिउनुपरेको उल्लेख गर्दै विकसित मुलुकहरूमा जस्तै त्यस्ता ज्येष्ठ नागरिकले चाहेमा स्वैच्छिक मृत्युवरण गर्न पाउने कानुनी अधिकार दिन आग्रह गरेका हुन् ।
सुन्दा नमीठो लागे पनि ज्येष्ठ नागरिकले यस्तो इच्छा व्यक्त गर्ने गरेको पाइएको उनले उल्लेख गरे । रिसालले विश्वका कतिपय मुलुकमा निको नहुने तर बढी पीडा हुने रोग लागेका ज्येष्ठ नागरिकले चाहेमा स्वैच्छिक मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था रहेको तर्र्फ समेत समितिको ध्यानाकर्षण गराए ।

७ कलेजलाई इन्जिनियरिङमा अस्थायी स्वीकृति

काठमाडौंं, १३ असार– सरकारले सात कलेजलाई इन्जिनियरिङ अध्यापन गराउन अस्थायी स्वीकृति दिएको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकको निर्णयअनुसार सूचना प्रविधिको बीई कार्यक्रममा काठमाडौं बुद्धनगरको एभरेस्ट इन्जिनियरिङ कलेजले ९६, बीई कम्प्युटर इन्जिनियरिङतर्फ गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स लामाचौर पोखरालाई ४८ र चितवनको युनाइटेड टेक्निकल कलेजलाई बीई कम्प्युटर इन्जिनियरिङमा ४८ जना विद्यार्थी अध्यापन गराउन स्वीकृति दिइएको छ ।
कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी ललितपुरले ब्याचलर अफ आर्किटेक्चरमा ४८, पूर्वाञ्चल विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी विराटनगरलाई बीई सिभिल इन्जिनियरिङमा ९६, द हिमाल एजुकेसनल फाउन्डेसन एन्ड रिसर्च सेन्टर प्रालिको रिज कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट बालकुमारीले बीई सिभिल इन्जिनियरिङमा ४८ र पोखरा विश्वविद्यालयमातहतको मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी मोरङले सिभिल इन्जिनियरिङमा ४८ र कम्प्युटर इन्जिनियरिङमा ४८ जना पढाउन अनुमति पाएका छन् ।

१२ सय जना हजयात्रामा साउदी जाँदै

काठमाडौं, १३ असार– यस वर्ष नेपालबाट एक हजार २ सय जना मुस्लिम धर्मावलम्बी हजयात्रामा जाने भएका छन् । नेपालबाट २ हजार जनालाई पठाउन पहल गरिए पनि जम्मा १२ सय जना मात्रै जान पाउने भएको नेपाल हज समितिले जनाएको छ । अघिल्लो वर्ष पनि हजयात्रामा १२ सय जना गएका थिए ।
समितिद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समीर मिया“ले नेपालबाट हजयात्रीको कोटा एक हजार बढाउन माग गरिएकामा साउदी सरकारले ५ सय थप्ने मौखिक आश्वासन दिए पनि पूरा हुन नसकेको बताए । समितिले गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र साउदी अरबस्थित नेपाली दूतावासमार्फत कोटा बढाउने प्रयास गरेको थियो ।
उनले आगामी वर्षका लागि नेपाली हजयात्रीको कोटा बढाउनका लागि साउदी अरबसित अहिलेबाटै कूटनीतिक पहल गरिदिन सरकारलाई समितिका तर्फबाट आग्रह गरिएको जानकारी दिए । समितिका अनुसार प्रतिहजयात्री करिब २ लाख ३० हजार रुपैया“ खर्च लाग्छ । यो रकम हज यात्रीले नै ब्यहोर्छन् । समितिले १० देखि १५ हजार रुपैया“ हरेक हजयात्रीलाई राहतस्वरूप फिर्ता गर्ने गरेको छ ।

आमासँग घर फर्किरहेकी बालिकाको बसको ठक्करले मृत्यु

काठमाडौं, १२ असार– ललितपुरको चापागाउँ दोबाटोमा बिहीबार अपराह्न यात्रुबाहक बसले ठक्कर दिंदा गम्भीर घाइते भएकी पाँच वर्षीया बालिका एलिसा माझीको उपचारको क्रममा मृत्यु भएको छ ।
विद्यालयबाट आमासँग घर फर्किरहेकी बालिकालाई लगनखेलबाट लेलेतर्फ गइरहेको बा १ ख ८५०१ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट एलिसा गम्भीर घाइते भएकी थिइन् । बीएन्डबी अस्पतालमा लगिएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो । आमा(छोरी पैदल हिडिरहेका थिए । एलिसा सातदोबाटोस्थित चिल्ड्रेन स्कुलमा कक्षा १ मा अध्ययनरत थिइन् ।
उनी परिवारस“ग ललितपुरकै ढोलाहिटीमा बस्दै आएकी थिइन् । ठक्करबाट  घाइते भएकी एलिसाकी आमाको अवस्था भने सामान्य रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीले ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

बयानका लागि बोलाइए तीन ‘भूमाफिया’

जग्गा खरिद गरेका नेकपाका महासचिव विष्णु पौडेल र किनबेच गराउन प्रमुख भूमिका निर्वाह गरेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङलाई भने अझै बयानमा बोलाइएन
काठमाडौं, १२ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा बयान लिन तीन जनालाई बोलाएको छ । अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी गरी प्रमुख आरोपी मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र तत्कालीन प्रमुख मालपोत अधिकृत हुपेन्द्रमणि केसीलाई ७ दिनभित्र बयानका लागि बोलाएको हो ।
ललिता निवासको जग्गा अतिक्रमणको छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठित समितिले प्रतिवेदनमा ढकाल र सुवेदीलाई ‘भूमाफिया’ भनेको छ । डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन अधिकृत र प्रमुख अधिकृतका हैसियतमा हुपेन्द्रमणि केसीको बालुवाटारको सरकारी जग्गा अनधिकृत रूपमा व्यक्तिका नाममा गर्ने÷गराउने कार्यमा प्रमुख भूमिका थियो ।

तीन जनालाई भगत सर्वजित पुरस्कार

काठमाडौं, १२ असार– संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले यस वर्षको ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’ तीन जनालाई प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कार छनोट समितिको बुधबार बसेको बैठकले रणेन्द्र बराइली, भद्रमान घले र रमेशरञ्जन झालाई दिने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ ।
समितिले बराइलीलाई दलित मुक्ति आन्दोलन, घलेलाई समाजसुधार अभियान र झालाई सीप, कला, शिक्षा(साहित्य, संस्कृति, लेखन तथा अध्ययनअनुसन्धान क्षेत्रमा गरेको योगदानबापत पुरस्कार प्रदान गर्ने निर्णय गरेको मन्त्रालयको भनाइ छ । एक÷एक लाख रुपैयाँ राशिको पुरस्कार मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको छ ।
रिमाल र उपाध्यायलाई पनि पुरस्कार
मन्त्रालयले गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार भीष्म उप्रेती र गोपालप्रसाद रिमाल राष्ट्रिय नाटक पुरस्कार केशवप्रसाद उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको छ । एकएक लाख राशिका दुवै पुरस्कार नेपाली कविता र गद्याख्यान÷नाटक क्षेत्रमा योगदान गर्ने एक÷एक जना लेखकलाई प्रदान गर्दै आएको छ ।

पूर्वमुख्यसचिव मल्ल रहेनन्

काठमाडौं, १२ असार– पूर्वमुख्यसचिव बलरामसिंह मल्लको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित मल्लको मेडिसिटी अस्पताल ललितपुरमा बिहीबार बिहान निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ । मल्लका श्रीमती, एक छोरा र तीन छोरी छन् । 
मल्ल २०५३ देखि २०५६ सम्म मुख्यसचिव थिए । मुख्यसचिवबाट सेवा निवृत्त भएपछि उनी जर्मनीका लागि नेपाली राजदूतसमेत भएका थिए । मल्लको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

दुई इन्जिनियर घुससहित पक्राउ, चारविरुद्ध मुद्दा

काठमाडौं, १२ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पाँच जनालाई घूस रकमसहित समातेको छ ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख डिभिजन इन्जिनियर (उपसचिव) अजितकुमार श्रीवास्तवसहित दुई जनालाई अख्तियारले बिहीबार घूस रकमसहित पक्राउ गरेको छ । पक्राउ परेकामा डिभिजन कार्यालयका इन्जिनियर ग्रीष्मा ठगुन्नासमेत छन् ।
श्रीवास्तव र ठगुन्ना निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको बिल फरफारक गराइदिने नाममा सेवाग्राहीसँग लिएको २ लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
अख्तियारले बारा जिल्ला प्रसौनी गाउँपालिकाको कार्यालयबाट आसपुरन कुशवाहालाई घूस रकमसहित पक्राउ गरेको छ । गाउ“पालिकाका योजना शाखाका खरिदार विनोद यादवले नाला निर्माणको बिलबमोजिमको रकम भुक्तानीका क्रममा कुशवाहामार्फत सेवाग्राहीस“ग १५ हजार घूस लिएका थिए । कुशवाहा घूस रकमसहित पक्राउ परेको र खरिदार यादवमाथिसमेत छानबिन भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

Thursday, June 27, 2019

उपत्यकाका सम्पदा खतरा सूचीमा राख्ने युनेस्कोको प्रस्ताव

पछिल्लो समय भएका प्रगति जानकारी गराएपछि खतराको सूचीमा राख्ने प्रस्ताव फिर्ता हुन्छ : संस्कृति सचिव
काठमाडौं, ११ असार– संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौं उपत्यकाका सबै विश्व सम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ । प्रस्तावबारे युनेस्कोको आगामी जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने ४३औं सेसनमा छलफल हुने भएको छ ।
प्रस्ताव पारित भए काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदामा सूचीकृत क्षेत्रहरूको अन्तर्राष्ट्रिय पहिचान संकटमा पर्न सक्ने चिन्ता पुरातत्व विभाग स्रोतले व्यक्त गरेको छ । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण मन्दिर क्षेत्र विश्व सम्पदामा छन् ।
युनेस्कोले उपत्यकामा भूकम्पमा क्षतिग्रस्त पुरातात्विक दरबार र मन्दिर पुनर्निर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको, पशुपतिनाथ क्षेत्रको बीचबाट सडक खोलेको, कंक्रिटको संरचना बनाएको उल्लेख गर्दै खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो ।
युनेस्कोले सरकारलाई उपत्यकाका सम्पदा खतराको सूचीमा राख्ने चेतावनी दिंदै आएको थियो । तीन वर्षअघिसमेत यस्तो प्रस्ताव सेसनमा राखेकोमा अस्वीकृत भएको थियो । काठमाडौं उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज विश्वसम्पदामा सूचीकृत छन् । युनेस्कोले ती सम्पदामाथि भने कुनै प्रश्न उठाएको छैन ।

Wednesday, June 26, 2019

स्थानीय तहलाई तीन दिनभित्र बजेट विवरण पठाउन निर्देशन

काठमाडौं, ११ असार– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन दिएको छ । सरकारले असार १० भित्र सबै स्थानीय तहलाई बजेट गाउँ तथा नगरसभामा पेस गरिसक्न निर्देशन दिएको थियो । सबै स्थानीय तहले सभामा बजेट पेस गरे÷नगरेको जानकारी लिन तीन दिनभित्र विवरण पठाउन निर्देशन दिइएको जानकारी मन्त्रालय स्रोतले दिएको छ । बजेटको आयव्ययसहितको विवरण पठाउन भनिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐनमा गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार १० भित्र आवको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ/नगर सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार अधिकांश स्थानीय तहले मंगलबार बजेट प्रस्तुत गरिसकेका छन् । तर, अघिल्लो वर्ष ५५ वटा स्थानीय तहले गाउँ÷नगरसभामा बजेट प्रस्तुत नगरी खर्च गरेका थिए ।

लोकसेवाको विज्ञापनको सुनुवाइ फेरि सर्यो

काठमाडौं, ११ असार– सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी रिटमाथि सुनुवाइ आइतबारका लागि सरेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले विपक्षी प्रतिनिधिसभा राज्य व्यवस्था समितिलाई समेत बहसमा सहभागी गराउन बुधबार सुनुवाइ सारेको हो ।
 इजलासले राज्य व्यवस्था समितिलाई पूर्वसूचना नगरेका कारण सुनुवाइ स्थगित गरिएको हो । आइतबारको सुनुवाइमा लिखित जवाफ पेस गर्न समितिलाई भनिएको छ भने उसका तर्फबाट कानुन व्यवसायीले बहससमेत गर्न पाउने छन् । स्थानीय तहको विज्ञापनसम्बन्धी चार निवेदनमाथि असार ८ मा सुनुवाइ सुरु भएकामा न्यायाधीशद्वय कार्की र खतिवडाको इजलासले बहस नसकिएकाले बुधबारका लागि ‘हेर्दाहेर्दै’ को सूचीमा राखेको थियो ।

‘क्लिन फिड’मा महासंघको स्वागत

काठमाडौं, १० असार– संघीय संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ (विज्ञापनरहित विदेशी च्यानल) को व्यवस्था प्रस्ताव गरिएकामा नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासचिव रमेश विष्टद्वारा मंगलबार जारी विज्ञप्तिमा क्लिन फिडले नेपाली सञ्चारमाध्यमको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख छ । 
सरकारको आमसञ्चार नीति र महासंघले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजमा ‘क्लिन फिड’ व्यवस्था लागू गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्दै आएको विज्ञप्तिमा जनाइएको छ । महासंघले विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्था गरी लागू गर्ने प्रयास गरेकामा सरकारप्रति आभार व्यक्त गरेको छ ।
महासंघले बुधबार राजधानीको वसन्तपुरमा मिडिया विधेयकविरुद्ध वातावरण बनाउन चर्चित कविको कविता वाचन र ख्यातिप्राप्त कार्टुनिस्टको कार्टुन चित्र प्रदर्शनी कार्यक्रम राखेको थियो।महासंघले आन्दोलनरत पक्षसँग वार्ता र संवादका माध्यमबाट विधेयक फिर्ता लिई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

चिकित्सा शिक्षा आयोग गठन प्रक्रिया सुरु

प्रतिस्पर्धाबाट उपाध्यक्ष छान्न दरखास्त आहवान
काठमाडौं, १० असार– सरकारले चिकित्सा शिक्षा आयोग गठन प्रक्रिया अघि बढाएको छ । चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा आएको चार महिनापछि खुला प्रतिस्पर्धाबाट उपाध्यक्ष नियुक्ति गर्न सरकारले सिफारिस समिति गठन गरेको छ । चिकित्सा शिक्षा र सेवा सुधारका लागि आयोग गठन गर्न लागिएको हो ।
चिकित्सा शिक्षा ऐनअनुसार सरकारले लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठन गरेको समितिले उपाध्यक्ष सिफारिस गर्न सार्वजनिक सूचना प्रकाशित गरी दरखास्त आहवान गरेको छ । योग्यता पुगेकाहरूले असार २४ सम्म उपाध्यक्षका लागि दरखास्त दिन सक्नेछन् । उपाध्यक्ष हुन मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा बीस वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ । समितिले व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा लिखित र मौखिक परीक्षा लिई आवेदकमध्येबाट उपाध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।

राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता

‘खारेजीको माग गरी सरकारसँग जोरी खोज्ने निहुँ नबनाऔं’
काठमाडौं, १० असार– सरकारले संघीय संसद्बाट मंगलबार गुठी विधेयक २०७५ फिर्ता लिएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकले सर्वसम्मतिबाट विधेयक फिर्ता गर्न स्वीकृति दिएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता गर्न राष्ट्रिय सभा बैठकमा प्रस्ताव राखेकी थिइन् ।
बैठकमा बोल्दै मन्त्री अर्यालले जनभावनालाई कदर गरी सरकारले विधेयक फिर्ता लिएको उल्लेख गर्दै फेरि गुठी विधेयक खारेजीको माग गरेर सरकारस“ग जोरी खोज्ने निहु“ नबनाउन चेतावनी दिइन् । उनले समस्या समाधान भइसकेको विषयलाई छाडेर मुलुकको विकास र समृद्धिका बारेमा बहस गर्न आग्रह गरिन् । 
‘यतिबेला फेरि हल्ला गरि“दै छ । विधेयक फिर्ता गरेरमात्र पुग्दैन, खारेज नै गर्नुपर्छ भनेर । अचम्म लाग्छ जुन चीज थियो, त्यो चीज झिकेर लगियो । अब कुन चीजको खारेजी हो ? प्रश्न गर्न चाहन्छु,’ उनले भनिन् । उनले विधेयकमा हुँदै नभएको कुराका बारेमा भ्रम छर्ने काम भएको र त्यसमा सरकारलाई वास्तविक कुरा राख्ने अवसरसमेत नदिइएको दाबी गरिन् । विधेयकबारे हल्ला फि“जाएर गुठियारलाई उत्तेजित पार्ने काम भएको उनले बताइन् ।

दुई अधिकृत र इन्स्पेक्टरसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं, १० असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शाखा अधिकृत र इन्स्पेक्टरसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, नेपालगन्जका तत्कालीन अनुगमन तथा मूल्यांकन अधिकृत देवराज भुसालसहित ३ विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामा आयोजनाका कृषि प्राविधिक मोतीप्रसाद न्यौपाने, दैलेखको नारायण नगरपालिका–१, कुइकानास्थित श्रीस्थान ताजा तरकारी उत्पादन कृषक समूह, व्यावसायिक अदुवा उत्पादन उपआयोजना कृषक समूहका अध्यक्ष रामकुमारी केसी छन् । खेती नै नगरेका कृषकहरूको भर्पाइसमेतको नक्कली बिललगायतका कागजात तयार गरी अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
त्यस्तै, अख्तियारले इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ । ट्याक्टरबाट नियमानुसारको प्रक्रिया पूरा गरी गैडहवा गाउँपालिकाबाट नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग बस्नेतले १५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनायो ।

११३ कर्मचारीको दरबन्दी गायब

संगठन तथा व्यवस्थापन सर्वेक्षणमा छुटाइँदा नेपाली सेनाका विभिन्न एकाइमा कार्यरत १ सय १३  जना निजामती कर्मचारी ‘गायब’
काठमाडौं, १० असार– सरकारले संघीय निजामती प्रशासनको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमा त्रुटि गर्दा रक्षा मन्त्रालय मातहतका १ सय १३ जना कर्मचारी अन्योलमा परेका छन् । रक्षा मन्त्रालयको संगठनात्मक स्वरूप निर्धारणका लागि २०७५ सालमा गरिएको सर्वेक्षणका क्रममा नेपाली सेनाका १७ वटा एकाइमा कार्यरत निजामती कर्मचारी छुटाइँदा समस्या उत्पन्न भएको हो ।
‘सैनिक मुख्यालयदेखि गठ्ठाघर, सुन्दरीजल, स्वयम्भू बारुदखानालगायत ब्यारेकमा कार्यरतहरूलाई ओएन्डएम सर्वेक्षणमा छुटाइएकाले रक्षा मन्त्रालयको स्वीकृत संगठन संरचनामा उनीहरूको दरबन्दी छैन । ती कर्मचारी फाजिलमा परिने हो कि भन्ने चिन्तामा छन्,’ रक्षा मन्त्रालयका एक अधिकारीले भने ।
ती कर्मचारी आ–आफ्नो ठाउँमा काम गरिरहेको भए पनि स्वीकृत दरबन्दी नभएकाले अब कहा“ जाने, के गर्ने भन्ने अन्योल छ । ती कर्मचारी आफ्नो जागिरे जीवनको भविष्य र वृत्तिविकास के हुने हो भन्ने चिन्तामा समेत परेको रक्षाका ती अधिकारीले बताए ।

Tuesday, June 25, 2019

फिल्म निर्माता पक्राउ

चन्द समूहमा लागेको आरोप
काठमाडौं, ९ असार– प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गैरकानुनी गतिविधिमा लागेको आरोपमा फिल्म निर्माता नरबहादुर कार्कीलाई पक्राउ गरेको छ।नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको संयुक्त टोलीले कार्कीलाई राजधानीको कमलपोखरीबाट सोमबार साँझ पक्राउ गरेको हो।
कार्की संदिग्ध गतिविधिमा लागेका कारण अनुसन्धानका लागि नियन्त्रणमा लिइएको दाबी प्रहरीले गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ । उनले पछिल्लो समय सामाजिक सञ्जालमा सरकार र प्रहरीविरुद्ध आक्रामक धारणा लेख्दै आएको र त्यही कारण पक्राउ परेको दाबी प्रहरी स्रोतको छ । कार्की नायिका रेखा थापाको प्रमुख अभिनय रहेको फिल्म ‘मालिका’ का निर्माता हुन् ।

सत्ता उन्मादले तीन अनुदार विधेयक : अध्यक्ष शर्मा

पकाठमाडौं, ९ असार– मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा दण्डहीनता बढेको र प्रश्न उठने खालका इन्काउन्टरमा मानिस मारिन थालेकामा चिन्ता व्यक्त गर्दै संविधान जतिसुकै राम्रो भए पनि अधिकार पाएकाहरू इमानदार नहु“दा यस्ता समस्या दोहोरिइरहने बताएका छन् ।
‘अहिले देशमा दण्डहीनता बढेको छ । इन्काउन्टरमा मानिस मारिएका छन् । प्रश्न उठ्ने खालका इन्काउन्टरहरू अगाडि आएका छन्’ राजधानीको नयाँ बानेश्वरमा सोमबार आयोजित छलफल कार्यक्रममा बोल्दै शर्माले भने– ‘यसले के सावित गर्दछ भने जतिसुकै राम्रो दस्तावेज भए पनि यदि त्यो दस्तावेजलाई चलाउने अधिकार पाएकाहरूले इमानदारीपूर्वक सञ्चालन गर्दैनन् भने यस्ता समस्या आइरह“दा रहेछन् ।’
उनले मिडिया काउन्सिल विधेयक, मानव अधिकार विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार आयोगको अधिकार कुण्ठित गर्ने भएकाले तिनको विरोधमा सरोकारवालाहरू आन्दोलित हुन बाध्य भइरहेको उल्लेख गरेका छन् । उनले पत्रकारले लेखेकै भरमा फौजदारी मुद्दा लगाउन नमिल्ने उल्लेख गर्दै त्यसले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने टिप्पणी गरे ।
 ‘अहिले तीनवटा ऐनलाई लिएर पत्रकारहरू आन्दोलित हुनुभएको छ । मैले केही मित्रहरु, अधिकारकर्मीस“ग कुरा गर्दाखेरि उहा“हरूको भनाइ के छ भने पत्रकार भएकाले सबै कुरामा उन्मुक्ति हुन्छ र ? पत्रकारको पनि कतै जवाफदेहिता त हुनुपर्छ । मैले भनें, जवाफदेहिता त हुन्छ, कोही कसैले फौजदारी अपराध गर्छ भने पत्रकार भएकैले उन्मुक्ति हुन सक्दैन । उन्मुक्ति त केलाई हो भन्दाखेरि पत्रकारले आफ्नो पत्रकारिता गर्दाखेरि उसले लेखेको सम्पादकीयलाई लिएर फौजदारी मुद्दा चलाउनु हुँदैन । जहाँसम्म मैले बुझे अनुसार यही हो । पत्रकारसँग मानवअधिकार आयोग कसरी जोडियो त भन्दा हामीले यी विधेयकको आलोचना गरेका छौं । यस कारणले आलोचना गरेका छौं कि यसले अभिव्यक्ति स्वतन्त्रता हनन गर्छ ।’

Monday, June 24, 2019

साझाका २० बस थपिंदै

काठमाडौं, ८ असार– साझा यातायातले काठमाडौं महानगरसँगको सहकार्यमा राजधानीमा थप २० वटा बस सञ्चालन गर्ने भएको छ । साझाले ती बस असार १६ देखि सञ्चालनमा ल्याउने भएको छ ।
साझाका अनुसार ती बस सञ्चालनका लागि यातायात व्यवस्था विभागबाट रुट परमिट समेत लिइसकिएको छ ।
ती बस काठमाडौं, ललितपुर र भक्तपुरमा चलाइने छ । साझाका अनुसार नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्म र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्म बस सञ्चालन गर्ने रुट तय गरिएको गरिएको छ ।
साझाका ७१ बस नियमित सञ्चालनमा छन् । २० वटा थपिएपछि ९१ वटा पुग्ने छन् । यीमध्ये एउटा अपांगता भएका र ज्येष्ठ नागरिकका लागि लक्षित ‘लो फ्लोर’ बस छ । चारवटा सुविधासम्पन्न (डिलक्स) बस साझाले उपत्यका बाहिर लामो रुटमा चलाउँदै आएको छ । बाँकी बस राजधानी उपत्यकामा सञ्चालनमा छन् । साझाले आफ्ना बसमा कार्डमार्फत भाडा तिर्ने प्रविधिसमेत सुरु गरिसकेको छ ।

सुसाइड नोट विमलाकै भएको पुष्टि

काठमाडौं, ८ असार– शैक्षिक अभियन्ता उत्तम सञ्जेलले बौद्धमा सञ्चालन गरेको समता अस्पतालमा मृत भेटिएकी विमला तामाङको खल्तीबाट बरामद चिट (सुसाइड नोट) उनले नै लेखेको प्रमाणित भएको छ । अनुसन्धान अधिकारीहरूले विमलाले छोरालाई भर्ना गर्दा विद्यालयमा भरेको फारम र भेटिएको नोटका अक्षर मेल खाएको पत्ता लगाएको स्रोतको दाबी छ ।
नोटमा अस्पतालकी व्यवस्थापक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी (सञ्जेल), प्रिथकुमारी श्रेष्ठ र संगीता केसीको नाम उल्लेख छ । प्रहरीले उनीहरू तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर थुनामा राखी अनुसन्धान गरिरहेको छ । सुसाइड नोटमा उल्लिखित विषयले घटनाको छानबिनमा सहयोग पुग्ने प्रहरीको दाबी छ ।

वडा सदस्यसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं, ८ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका वडा सदस्य रामचन्द्र राय यादवसहित चार जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
महोत्तरीको एकडारा गाउँपालिका–४ का वडा सदस्य यादवले गाउँपालिकाको बजेटबाट निर्माण गर्न लागिएको धर्मशालालाई रकम निकासा गराउन सेवाग्राहीसँग ३६ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने, लेखापढी व्यवसायी विष्णु केसी र मालपोत कार्यालय साँखुका नायब सुब्बा महेश काफ्लेविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा हालसाबिक गर्ने प्रयोजनका लागि न्यौपानेसहित तीन जनाले सेवाग्राहीसित डेढ लाख रुपैया“ घूस लिई अनियमितता गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै न्यौपाने र काफ्ले सेवाबाट निलम्बित भएका छन् ।

नेपालीको खुसी मापन गरिंदै

काठमाडौं, ८ असार– सरकारले नेपाली जनताको खुसी मापन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ मा तथ्यांक विभागले एक वर्ष लगाएर जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्न लागेको हो ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा अघि सारेको छ । यही नारालाई आधार बनाएर विभागले सर्वेक्षणमार्फत नेपाली जनताको खुसीको वास्तविक स्थिति मापन गर्न लागेको हो । विभागले आर्थिक वर्ष सुरु भएपछि सर्वेक्षण थाल्ने गृहकार्य सुरु गरेको छ । सर्वेक्षणको मापदण्ड तयार गर्न भने बा“की छ । २०७६÷७७ को बजेटमा मुलुकमा नेपाली जनताको खुसीको मापन गर्न आवश्यक रकमसमेत विनियोजन गरिएको छ ।
छिमेकी मुलुक भुटानले वैज्ञानिक मापदण्ड तय गरी जनताको खुसी मापन गर्दैै आएको छ । यसका लागि भुटानले जीवनस्तर, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक जीवन, सकारात्मक मनोभावना, सुशासन, सांस्कृतिक प्रवद्र्धनलगायत मापदण्ड बनाएको छ ।

लोकसेवा विज्ञापनसम्बन्धी रिट हेर्दाहेर्दैमा

काठमाडौं, ८ असार– लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ बुधबारलाई सारिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले रिटमाथि आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर अर्को सुनुवाइ तोकेको हो ।
आइतबार रिट निवेदकतर्फकै कानुन व्यवसायीको बहस सकिएन । आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ६ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापनको पक्ष र विपक्षमा सर्वोच्चमा चारवटा छुट्टाछुट्टै रिट परेका छन् । न्यायाधीशद्वयको इजलाशले आइतबार चारै रिट एकै ठाउ“ राखेर सुनुवाइ सुरु गरेको छ । रिटमाथि सरकारी वकिलको बहस र लोकसेवा आयोगका तर्फबाट समेत जवाफ पेस गर्न बा“की छ ।

गुठी विधेयक फिर्ता लिन पत्र दर्ता

मंगलबार औपचारिक रूपमा फिर्ता हुने
काठमाडौं, ८ असार– सरकारले गुठी विधेयक फिर्ता गर्न राष्ट्रिय सभामा औपचारिक रूपमा पत्र (लिखित प्रस्ताव) दर्ता गरेको छ । गुठी विधेयकको विरोधमा उपत्यकामा आन्दोलन चर्किएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सरकारले विधेयक फिर्ता लिन राष्ट्रिय सचिवालयमा पत्र दर्ता गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राष्ट्रिय सभामा शनिबार पत्र दर्ता गरेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ । संसद् नियमावलीअनुसार विधेयक फिर्ता लिन सरकारले संसद्मा प्रस्ताव गर्नुपर्ने र त्यसलाई सम्बन्धित सदनको बहुमतबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ ।
विधेयक औपचारिक रूपमा फिर्ता गर्नु २४ घण्टाअगाडि संसद्मा प्रस्ताव दर्ता गर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ । बैठकमा मंगलबार सरकारको विधेयक फिर्ता लिने प्रस्ताव पेस हुनेछ । सरकार आफैंले फिर्ता लिने प्रस्ताव गरेको र कांग्रेसलगायत प्रतिपक्षी पार्टीसमेत विधेयकको विरोधमा रहेकाले राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा फिर्ताको निर्णय हुने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

Sunday, June 23, 2019

निलम्बित सांसद चौधरीको नेल हटाइयो

नेल लगाउन आदेश दिनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, ७ असार– वीर अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टीका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको फलामे सिक्री (नेल) हटाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चौधरीको नेल हटाइएको हो । प्रधानमन्त्रीले उनलाई अस्पतालमा नेल लगाएर राख्न आदेश दिने जेल प्रशासनका अधिकारीलाई कारबाही गर्न पनि निर्देशन दिएका थिए । ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई शनिबार फोन गरी उक्त निर्देशन दिएका थिए । डिल्लीबजार कारागारबाट अस्पताल लगिएका चौधरीलाई कारागार प्रमुखकै आदेशमा नेल लगाइएको स्रोतले जनायो ।
मुख्यसचिव रेग्मीले गृहसचिव प्रेमकुमार राईलाई फोन गरी चौधरीलाई अस्पतालमा नेल लगाएर राख्न लगाउने जेल प्रशासनका सम्बन्धित अधिकारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । सचिव राईले गृह मन्त्रालयले आन्तरिक छानबिन गरी दोषीमाथि कारबाही गर्ने मुख्यसचिवलाई जानकारी गराएका छन् ।
चौधरीलाई नेल लगाएर राखिएको तस्बिर शुक्रबार दिउ“सोदेखि सामाजिक सञ्जाल र अनलाइनमार्फत सार्वजनिक भएपछि तीव्र विरोध भएको थियो । चौधरीको कम्मर र ढाडको दुखाइ कम गर्न चिकित्सकले फिजियोथेरापी गराउन सुरु गरेका छन् ।

Friday, June 21, 2019

निलम्बित सांसद चौधरीलाई अस्पतालमा पनि नेल

काठमाडौं, ६ असार– डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गरिएको छ । फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
चौधरीको खुट्टामा प्रहरीले मोटो नेल लगाएको छ । ‘अस्पतालमा उपचाररत हु“दा पनि प्रहरीले चौधरीमाथि दमन गर्न छाडेको छैन । कारागारभित्र रह“दा नेल र हतकडी नलगाए पनि अस्पतालमा लगाइएको छ,’ चौधरीको पारिवारिक स्रोतले भन्यो । त्यहा“ उनलाई कडा सुरक्षाभित्र राखिएको छ । चौधरी भाग्न नसकून् भनेर नेल लगाइराखिएको प्रहरी स्रोतको दाबी छ ।
दुई सातादेखि बिमार चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको हो । फोक्सोमा समस्या उत्पन्न भएपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ । ढाडको बोनम्यारोमा पनि समस्या देखि“दा उनी हि“डडुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइ छ ।

इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ६ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इन्जिनियरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने एक जनालाई घूससहित पक्राउ गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर बद्री भण्डारीले विज्ञापनबापतको कमिसनका लागि सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यसैबीच अख्तियारले जिल्ला अदालत बाराका खरिदार सुनील चौधरीलाई बिहीबार घूससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको १८ हजार रुपैयाँ घूससहित चौधरी पक्राउ परेको अख्तियारले जनाएको छ ।

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, ६ असार– कांग्रेसले असार २२ गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षा तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले कार्यसमिति बैठक बोलाएको हो । कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी बैठक बोलाइएको जनाएको छ । 
बैठकमा कांग्रेसको नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत पार्टी नियमावली तथा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानबारे समेत छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।

मानव अधिकार आयोगले सर्लाही घटनाको अनुसन्धान गर्ने

काठमाडौं, ६ असार– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल दोहोरो मुठभेडमा बिहीबार प्रहरीको गोली लागी मारिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ। आयोग प्रवक्ता वेदप्रसाद भट्टराईले उक्त घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय र प्रदेश नं २ कार्यालयबाट शुक्रबार नै घटनास्थलमा टोली खटाइएको विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिअनुसार केन्द्र र प्रदेशको संयुक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ । घटनामा प्रहरीको गल्ती भेटिए कारबाहीको सिफारिस गरिनेसमेत आयोग स्रोतले जानकारी दिएको छ ।  

चीनले सवा दुई अर्बको सैन्य सामग्री सहयोग गर्ने

प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता
काठमाडौं, ५ असार– चीनले नेपाली सेनालाई १५ करोड युआन (करिब २ अर्ब ४० करोड रुपैयाँ) बराबरको सैन्य सामग्री सहयोग गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत १५ करोड युआन बराबरका सामग्री तथा सवारी साधन प्रदान गर्नेछ ।
चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार चीनको केन्द्रीय सैन्य परिषदका सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता गरेका थिए । त्यही क्रममा थापा र चिनिया“ समकक्षीबीब बुधबार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको जानकारी नेपाली सेनाले दिएको छ ।
त्यसअघि बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको हेडक्वार्टरमा प्रधानसेनापति थापाको सम्मानमा चिनियाँ सेनाले सम्मान गारत अर्पण गरेको थियो । थापाले बुधबार नै चिनियाँ जनमुक्ति सेनाका विभिन्न सैनिक संरचनाको निरीक्षण भ्रमण गरे । असार १ देखि चीन भ्रमणमा रहेका प्रधानसेनापति थापा असार ७ मा स्वदेश फर्कने कार्यक्रम छ ।

दुईविरुद्ध मुद्दा, दुई जना घुससहित समातिए

काठमाडौं, ५ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । दुई जनालाई घूस रकमसहित पक्राउ गरेको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भद्रपुर झापाका शाखा अधिकृत सुमेन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमालविरुद्ध मुद्दा दायर गरिएको हो ।
मण्डल र धितालले विद्युत् जडान तालिम सञ्चालन गरेबापतको बजेट निकासा दिन आलटाल गरी सेवाग्राहीस“ग ३५ हजार रुपैयाँ घूस लिएको अख्तियारले जानकारी दिएको छ । उनीहरू दुवै जनालाई घूस रकम बराबर बिगो जरिवाना र जेल सजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।
यसैबीच अख्तियारले काठमाडौं महानगर ९ वडा कार्यालय, गौशालाका तेस्रो तहका कर्मचारी गोविन्द खडकालाई घूस रकमसहित समातेको छ । कर तिर्न आएका व्यवसायीसँग लिएको १० हजार रुपैयाँ घूससहित खडका पक्राउ परेको अख्तियारले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Thursday, June 20, 2019

तीन न्यायाधीशलाई कारबाही सिफारिस

साढे ३३ किलो सुन तस्करी प्रकरणमा न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई कारबाही गरिँदै
भुर्तेल, सुवेदी, पाण्डे र बानियाँलाई न्यायाधीशलाई सचेत गराइने
काठमाडौं, ४ असार– न्यायपरिषद्ले साढे तेत्तीस किलो सुन तस्करी प्रकरणमा उच्च अदालत विराटनगरका तत्कालीन तीन न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । न्याय परिषदको मंगलबार बसेको बैठकले अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारबाही गर्ने निर्णय गरेकाले उनीहरूमाथि कारबाही गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीशहरूले सुन तस्करी प्रकरणका अभियुक्तमध्ये कतिपयलाई थुनामा नराखी साधारण तारेखमा राख्ने र कतिपयलाई सफाइ दिने निर्णय गरेका थिए । त्यही आदेशका कारण विवादमा परेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उनीहरूलाई न्यायपरिषद्मा तानी छानबिन सुरु गरेका थिए । छानबिनका लागि न्यायपरिषद्ले गत चैत २५ मा सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खडका र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो । समितिले अघिल्लो साता प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको थियो ।

सहायक डिन घूससहित पक्राउ

काठमाडौं, ४ असार– एक कलेजलाई सम्बन्धन दिलाइदिने आश्वासन दिएर ५० हजार रुपैयाँ घूस लिँदै गर्दा बुधबार त्रिवि विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पटेल पक्राउ परेका छन् । अख्तियार टोलीले कीर्तिपुरको ट्याङलाफाँटस्थित स्टिक्स फास्ट फुड एन्ड क्याफेबाट पटेललाई घूस रकमसहित नियन्त्रणमा लिएको हो । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

२३ लाख बैंकिङ ठगी गर्ने पक्राउ

काठमाडौं, ४ असार– प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार काठमाडौं तारकेश्वर नगरपालिका–९ का प्रमोदकुमार खडकालाई पक्राउ गरी कारागार चलान गरेको छ । खडकाविरुद्ध परेको मुद्दामा तत्कालीन उच्च अदालत पाटनले उनलाई एक महिना कैद र २३ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यतिबेलादेखि उनी फरार थिए ।
प्रहरीले राजधानीको चक्रपथबाट मंगलबार खडकालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाएकोे जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दिएको छ । खडकाले आर्थिक व्यवहार मिलाउन भन्दै प्रशान्त जैसवालसँग २३ लाख रुपैयाँ लिएका थिए । खडकाले नियतवश पैसा नभएको बैंकको चेक दिएपछि जाहेरवाला जैसवालले जाहेरी दिएका थिए ।

प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं, ४ असार– संघीय संसदको सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतमाथि सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिको बुधबार बसेको बैठकले चारै जनाविरुद्ध १० दिनभित्र उजुरी दिन आहवान गरेको छ ।
मन्त्रिपरिषदको जेठ २३ मा बसेको बैठकले महेश दाहाललाई अस्ट्रेलिया, नारद भारद्वाजलाई कतार, दावाफुटी शेर्पालाई स्पेन र वंशीधर मिश्रलाई बंगलादेशको राजदूत सिफारिस गरी सुनुवाइका लागि संसद् सचिवालयमा नाम पठाएको थियो । असार १५ गते बस्ने बैठकले प्रस्तावित राजदूतहरूविरुद्ध असार १४ भित्र पर्ने उजुरीको अध्ययन गर्नेछ । समितिले त्यसको भोलिपल्ट उजुरीकर्ताहरूलाई बोलाएर उजुरीबारे छलफल गर्नेछ ।
प्रस्तावित चारै जनालाई बोलाएर उनीहरूको दायित्व र भावी योजनाबारे प्रस्तुति सुन्नुका साथै उजुरीका बारेमा सवाल–जवाफ गरेपछि समितिले अनुमोदन गर्ने/नगर्ने निर्णय गर्नेछ ।

तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ४ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरीको मलेकपुर–५ स्थित कृषि उपज तथा पशु हाटबजार समितिका अध्यक्ष मधुकर यादव र कोषाध्यक्ष विश्वप्रसाद यादवविरुद्ध मुद्दा दायर गरिएको हो । अध्यक्ष यादवसँग मिलेमतोमा कोषाध्यक्षले हाटबजारको कार्यालय भवनका लागि २ लाख ४२ हजार रुपैयाँमा निर्माण गरिएको संरचना निजी प्रयोगमा ल्याई सरकारी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीहरूलाई जनही २ लाख ४२ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ । उजुरी छानबिनका क्रममा प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोका पूर्वप्रहरी नायब निरीक्षक सरोज क्षत्री केसीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको पुष्टि भएकाले उनीविरुद्ध समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

पदाधिकारीका आफन्तलाई कानुनविपरीत भत्ता

काठमाडौं, ४ असार– संघीय संसदका प्रमुख चार पदाधिकारीले कानुनविपरीत आफ्नो स्वकीय सचिवालयका कर्मचारीलाई भत्ताबापत मोटो रकम दिन थालेका छन् । सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षले स्वकीय सचिवालयमा नियुक्त २८ कर्मचारीलाई संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐनविपरीत भत्ता दिएका हुन् ।
ऐनमा ‘पदाधिकारीको स्वकीय सचिवालयमा नियुक्त कर्मचारीले सुरु स्केलबराबरको तलब मात्र पाउने’ उल्लेख छ । प्रमुख चार पदाधिकारीले ऐनको उक्त व्यवस्थाविपरीत निर्णय गराई मासिक अधिकतम ८० घण्टासम्म अतिरिक्त समय काम गरेबापत सुरुको तलब स्केलको ५० प्रतिशतसम्म भत्ता उपलब्ध गराउन थालेका हुन् ।
प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सचिवालयमा ८/८ जना र उपसभामुख तथा उपाध्यक्षको स्वकीय सचिवालयमा ६/६ जना कर्मचारी छन् । ती सबै कर्मचारी पदाधिकारीका आफन्त र परिवारका सदस्य हुन् । २८ जनालाई न्यूनतम स्केलको ५० प्रतिशतका दरले सुविधा दि“दा वर्षको एक करोड रुपैया“भन्दा बढी खर्च हुने जानकारी संसद् सचिवालय स्रोतले दिएको छ ।

Wednesday, June 19, 2019

सञ्चार माध्यमले ‘तपाईं’ भन्नसमेत जान्दैनन् : प्रधानमन्त्री

काठमाडौं, ३ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरूमाथि नेपाली भाषा बिगारेर प्रयोग गर्ने गरेको आरोप लगाएका छन् । सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यमका कारण नेपाली भाषाका आदरार्थी शब्द हराउन लागेकोमा चिन्ता व्यक्त गरे ।
‘हाम्रो समाज र भाषा शिष्ट छ, तर हाम्रा टेलिभिजन र सञ्चारमाध्यमहरूले तपाईं भन्नसमेत जान्न छाडिसके,’ उनले भने, ‘त्यही कारण तपाईं भन्ने शब्दै हराइसक्यो ।’
भाषा र संस्कृतिको कुरा गर्ने सञ्चारमाध्यमहरूले नै भाषाको मर्म र मर्यादा नबुझेको औंल्याउँदै उनले ‘नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन छ’ भन्ने सम्झाए । ‘हाम्रा सञ्चारमाध्यमले बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबाउलाई पनि तिमी, हजुरआमालाई पनि तिमी, यो त नेपाली भाषा र सभ्यताभित्र पर्दैन,’ उनले भने ।
कतिपयलाई आफ्नो कुरा मन नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली भाषाको मर्म, मर्यादा र शिष्टता बुझ्न आग्रह गरे । ‘सबै समान हो भन्नेमात्र पर्ला । कुनै भाषामा लिंग छुट्टिएको हुन्न । कुनै भाषामा आदरार्थी शब्द हु“दैनन्,’ उनले भने, ‘हरेक भाषाको आ–आफ्नै मर्म हुन्छ । हाम्रो भाषाका आफ्नै मर्म र मर्यादा छन् ।’
स्थापित सञ्चार माध्यमहरूले सामाजिक सञ्जाललाई गुरु र मानक मान्दा नेपाली भाषाको शिष्टता बिर्सन थालेको उनले टिप्पणी गरे । ‘सामाजिक सञ्जाललाई फलो गरेर भाषा, शैली, संस्कृति, बोलाइचलाइ गर्ने हो भने हामी कस्तो समाज सिर्जना गर्छौं ?’ उनले प्रश्न गरे ।

मिडिया विधेयकविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं, ३ असार– नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै मंगलबारबाट देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान रहेको विधेयक फिर्ताका लागि सरकारलाई दबाब दिन मुलुकभर रहेका आफ्ना जिल्ला÷प्रतिष्ठान शाखा र एसोसिएट संस्थामा हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।
अभियान बिहीबारसम्म जारी रहनेछ । संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

विज्ञापनविरुद्ध परेको रिटको सुनुवाइ सर्यो

काठमाडौं, ३ असार– लोकसेवा आयोगले स्थानीय तहमा रिक्त कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ सरेको छ । सर्वोच्चमा मंगलबार सुनुवाइको मिति तोकिए पनि विज्ञापनको पक्ष/विपक्षमा अरू रिटसमेत परेका कारण सुनुवाइ सरेको अदालत स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार सर्वोच्चका न्यायाधीशद्वय डम्बरबहादुर शाही र दीपककुमार कार्कीको इजलासले सबै रिट निवेदन एकै पटक हेर्न सुनुवाइ सार्ने आदेश जारी गरेको छ।इजलासले अर्को सुनुवाइको मिति भने तोकेको छैन ।
स्थानीय तहका १ सय २१ जना करार कर्मचारीले सोमबार विज्ञापनविरुद्ध रिट दायर गरेका छन् । लोकसेवाले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६२ पदका लागि गरेको विज्ञापन समानुपातिक समावेशी सिद्धान्त र संविधानविपरीत रहेको दाबीसहित सर्वोच्चमा पहिलो रिट दर्ता दायर भएको थियो । विज्ञापन पक्षधरहरूले समेत विज्ञापन नरोक्न माग गर्दै अर्को रिट दायर गरेका छन् ।
स्थानीय स्वायत्त शासन ऐनलाई टेकेर सर्वोच्चले केही वर्षअघि तत्कालीन स्थानीय निकायमा सीमित कोटा निर्धारण गरी करार कर्मचारीलाई स्थायी गराउन आन्तरिक प्रतिस्पर्धा गराउन आदेश दिएको थियो । नया“ व्यवस्थाअनुसार सर्वोच्चको आदेशलाई बेवास्ता गर्दै विज्ञापन गरिएको जिकिर स्थानीय तहका करार कर्मचारीले आफ्नो रिटमा गरेका छन् ।

दुई जना घूससहित पक्राउ, गाविस सचिवविरुद्ध मुद्दा

काठमाडौं, ३ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित दुई जनालाई घूससहित पक्राउ गरेको छ । एक जना तत्कालीन गाविस सचिवविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले भोजपुरको हतुवागढी गाउ“पालिकाका इन्जिनियर मिसुहाङ किराँत र सबइन्जिनियर नइन्द्र पारोहाङ राईलाई घूससहित रंगेहात पक्राउ गरेको हो ।
किराँत र राई बाटो मर्मतको बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग लिएको २० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियारले जनाएको छ । उनीहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
अख्तियारले बाराको तत्कालीन पिपरा सिमरा गाउँ विकास समितिका सचिव विजयकान्त झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झाले गाविसको विभिन्न आर्थिक वर्षको चालु खर्च, पु“जीगत र सामाजिक सुरक्षा भत्ता वितरणमा गरी जम्मा ६३ लाख १ हजार ७ सय ७१ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै झा सेवाबाट निलम्बित भएका छन् ।

लोकसेवाको दरखास्त दिने म्याद थप

स्थानीय तह कर्मचारी भर्ना विवाद
काठमाडौं, ३ असार– लोकसेवा आयोगले स्थानीय तहमा रिक्त कर्मचारीका लागि खोलेको विज्ञापनमा दरखास्त दिने म्याद ७ दिन थपेको छ । अनलाइनबाट दरखास्त लिइने सिस्टममा सोमबारदेखि समस्या आएको थियो । त्यसैले आयोगको मंगलबारको बैठकले म्याद थप्ने निर्णय गरेको हो ।
आयोगको सर्भरमा समस्या आएपछि धेरै आवेदकले अनलाइनबाट दरखास्त दिन पाएका थिएनन् । दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म थियो । आयोगले विज्ञप्ति जारी गर्दै असार १० सम्मलाई दरखास्त दिने म्याद थपिएको जनाएको छ । आयोगका अनुसार दोब्बर दस्तुर तिरेर असार १७ सम्म दरखास्त दिन सकिने छ ।
आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि विज्ञापन गरेको छ । लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै सडक र संसद्मा विरोध भइरहेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिले लोकसेवा र सरकारलाई विज्ञापन नै रद्द गर्न निर्देशन दिइसकेको छ ।

Tuesday, June 18, 2019

महानगरको योजना आयोगमा पाँच सदस्य नियुक्त

काठमाडौं, २ असार– काठमाडौं महानगरले सहरको समस्या  समाधान गर्न शहरी योजना आयोगमा पाँच सदस्य नियुक्त गरेको छ । महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम जनताको आवश्यकता र चाहनाबमोजिम महानगरको विकासमा योगदान पु¥याउन आयोगमा सदस्यहरू नियुक्त गरिएको हो ।
आयोगको सदस्यमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा. डा. त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य तथा समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, सहरी योजनातर्फ कृतिकुसुम जोशी र प्राविधिकतर्फ इन्जिनियर सजीव श्रेष्ठ नियुक्त भएका छन् ।
महानगरको कार्यपालिका बैठकले यसअघि सरोज बस्नेतलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । महानगरले सन्तुलित विकासबाट दिगो शहरी समृद्धि प्राप्त गर्न नीति तथा योजना निर्माण र सहजीकरणका लागि शहरी योजना आयोग गठन गर्न तथा सञ्चालन कार्यविधि ऐन पारित गरेको छ । ऐनमा महानगरका प्रमुखको अध्यक्षतामा १४ सदस्यीय शहरी योजना आयोग गठन हुने व्यवस्था छ ।

कोटेश्वर–कलंकी सडकमा वृक्षारोपण गरिने

काठमाडौं, २ असार– वन तथा वातावरण मन्त्रालयले चक्रपथको कोटेश्वर–कलंकी चक्रपथ खण्डमा हरियाली बनाउन वृक्षारोपण गर्ने भएको छ ।
आगामी असार १४ मा राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर चक्रपथको उक्त विस्तारित खण्डमा ५ फिट अग्ला बिरुवा रोपिने जानकारी वन तथा भू–संरक्षण विभाग स्रोतले दिएको छ ।
विभागले चक्रपथको उक्त खण्डमा दुवै किनारामा करिब ३ हजार ३ सय राजवृक्ष, तेजपात, गिनको इलोलगायत बिरुवा रोप्ने छ ।
स्रोतका अनुसार चक्रपथ क्षेत्रको माटामा ढुंगागिट्टीको मात्रा बढी भएकाले वृक्षरोपण गर्दा ५० सेन्टिमिटर चौडा तथा ५० सेन्टिमिटर गहिरो खाल्डो खनी प्रांगारिक मल र माटाले पुरेरमात्र वृक्षरोपण गरिने छ ।
विभागले स्थानीय तहका वडा कार्यालय, डिभिजन वन कार्यालय, सडक कार्यालय, स्थानीय लगायतस“ग समन्वय गरी रोपिएका बिरुवाको संरक्षण गर्ने भएको छ । चक्रपथको उक्त खण्ड चिनिया“ सहयोगमा विस्तार गरी ८ लेनको बनाइएको छ ।

Monday, June 17, 2019

रेलवार्ता गर्न नेपाली टोली चीनमा

काठमाडौं, १ असार– काठमाडौं–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी लगायतका विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था सचिव देवेन्द्र कार्की नेतृत्वको नेपाली टोलीमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकार तथा अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।
चिनिया“ सरकारको निमन्त्रणामा नेपाली टोली वार्ता गर्न चीनमा गएको हो । नेपाली टोलीले चीनको नेसनल रेल्वे अथोरिटीका पदाधिकारीसँग द्विपक्षीय छलफल गर्ने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार दुई पक्षबीच जतिसक्तो छिटो विस्तृत इन्जिनियरिङ अध्ययन सुरु गरी रेलमार्गको डीपीआर तयार गर्नेबारेमा सहमतिको खाका तयार गर्ने छ । उनका अनुसार नेपाली र चिनियाँ अधिकारीबीच रेलमार्गमा लगानी र निर्माण ढाँचालगायतका विषयमा समेत छलफल हुनेछ ।

दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेलका नापी सर्वेक्षक उपेन्द्रप्रसाद यादव र कार्यालय सहयोगी राजन विष्टविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यादव र विष्टले जग्गा नापजाँच गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै दुवै जना सेवाबाट निलम्बित भएका छन् ।

आफैंले बनाएको कानुनविपरीत विज्ञापन रद्द गर्न निर्देशन

सर्वोच्च अदालतले विज्ञापनबारे छलफल गर्न मंगलबार बोलाएको छ । निर्णय नआएसम्म केही बोल्दैनौं : अध्यक्ष, लोकसेवा आयोग
काठमाडौं, १ असार– लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था समिति आफैंले पारित गरेको कर्मचारी समायोजनसम्बन्धी ऐनको प्रावधानविपरीत विज्ञापन रद्द गर्न निर्देशन दिएको बताएका छन् । आयोगको ६९ औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले संविधान, कानुन र स्थापित परम्पराअनुरूप आयोगले कर्मचारी भर्नासम्बन्धी विज्ञापनमा बिनाकारण प्रश्न उठाएकामा चिन्ता व्यक्त गरे ।
राज्यव्यवस्था समितिबाट पारित ऐनले नै प्रदेश लोकसेवा आयोग गठन नभएसम्म प्रदेश या स्थानीय तहका लागि आवश्यक कर्मचारीको छनोट लोकसेवा आयोगले गर्ने व्यवस्था गरेको छ । सोहीअनुरूप काम गर्दा पनि प्रश्न उठाइनु दुःखद भएको उनले बताए । संवैधानिक अंगले संविधान र प्रचलित कानुनको उल्लंघन गर्ने कल्पनासमेत गर्न नसक्ने उनको भनाइ छ । 
‘कर्मचारी समायोजन ऐन, २०७५ पारित गरेको अहिलेकै राज्यव्यवस्था समितिका सांसदहरूले होइन ?’ उनले प्रश्न गरे, ‘उक्त ऐनमा किन प्रदेश लोकसेवा आयोग गठन नभएसम्म प्रदेश या स्थानीय तहले नेपाल सरकारमार्फत अनुरोध गरेमा लोकसेवा आयोगले कर्मचारी छनोट गरिदिने व्यवस्था राखेको ?’

यूटयुबर गौतम रिहा

काठमाडौं, १ असार– चलचित्रको व्यंग्यात्मक समीक्षा गर्दा पक्राउ परेका प्रनेश गौतम आइतबार अपराह्न साधारण तारिखमा रिहा भएका छन् ।
‘स्ट्यान्ड अप कमेडियन’ का रूपमा परिचित गौतमविरुद्ध प्रहरीले शुक्रबार जिल्ला अदालत काठमाडौंमा साइबर क्राइम ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौंले मुद्दामाथि थुनछेक बहस गर्दै आइतबार गौतमलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।
प्रहरीले चलचित्र ‘वीर विक्रम–२’ को व्यंग्यात्मक समीक्षा गरेकामा साइबर क्राइम ऐनअन्तर्गत गौतमलाई जेठ २५ मा पक्राउ गरेको थियो । गौतमले युट्युब च्यानल मिम नेपालमा चलचित्रको भिडियो समीक्षा गरेका थिए ।

Sunday, June 16, 2019

लोकसेवाको विज्ञापन नरोक्न चेतावनी

काठमाडौं, ३२ जेठ– लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिले स्थानीय तहका लागि कर्मचारी भर्ना गर्न गरेको विज्ञापन रोकिए विद्यार्थीमा डिप्रेसन बढ्न सक्ने बताएको छ । त्यसैले यसलाई कुनै पनि अवस्थामा नरोक्न उसको आग्रह छ ।
समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि लाखौं विद्यार्थी अन्यौलमा परेको उल्लेख गर्दै विज्ञापन नरोक्ने चेतावनी दिएको हो ।
समितिले स्थानीय निकायमा कर्मचारी भर्नाका लागि गरिएको विज्ञापन रोकिए लाखौं युवा डिप्रेसनको शिकार हुने उल्लेख गरेको छ । समितिले आवेदन दिइसकेका झन्डै २ लाख विद्यार्थीको भविष्यमाथि खेलवाड भए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

सातै प्रदेशमा फेरिए प्रहरी प्रमुख

१९ डीआईजीको सरुवा
काठमाडौं, ३२ जेठ– गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सरुवा गरेको छ ।
गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जीटी र महिला, बालबालिका सेवा निर्देशनालयमा पीताम्बर अधिकारीलाई लगिएको छ ।

नेकपाकै सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा

काठमाडौं, ३२ जेठ– सत्तारूढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौं–५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए । ‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ । कि सार्वजनिक रूपमा माफी माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्,’ रिपोर्टर्स क्लबद्वारा राजधानीमा शनिबार अयोजित कार्यक्रममा उनले भने, ‘सरकारको प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ भने, राजीनामाबाहेक अर्को बाटो हुँदैन ।’
मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका राजधानीवासीलाई सान्त्वना दिनुपर्नेमा आगोमा घिउ थप्ने काम गरेको भन्दै गुुठियारलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीको दिनगन्ती सुरु हुने बताए ।
मानन्धरले प्रधानमन्त्री केपी ओली युरोपबाट फर्केपछि विधेयक फिर्ता लिन दबाब दिने उल्लेख गर्दै फिर्ता नभए राजधानीमा आन्दोलनको आँधीबेहरी सुरु हुने चेतावनी दिए ।

गुठी विधेयक पारित भए सम्पदा मासिन्छ : सत्यमोहन

काठमाडौं, ३२ जेठ– संस्कृतिविद् सत्यमोहन जोशीले प्रस्तावित गुठी विधेयक जस्ताको तस्तै पारित भए काठमाडौं उपत्यकाको संस्कृति र सम्पदा मासिने चिन्ता व्यक्त गरेका छन् ।
कीर्तिपुरवासीबाट शनिबार अभिनन्दित भएपछि कार्यक्रममा बोल्दै उनले गुठीसँग काठमाडौंवासीको भावना जोडिएकाले त्यसमाथि खेलबाड नगर्र्न सरकारलाई चेतावनी दिए ।कार्यक्रममा संघीय सांसद राजेन्द्र केसी, प्रदेश सांसद पुकार महर्जन, कीर्तिपुरका मेयर रमेश महर्जन र वडाध्यक्ष गंगाराम महर्जनले कीर्तिपुरवासीका तर्फबाट जोशीलाई नागरिक अभिनन्दन गरेका थिए ।
कीर्तिपुरमा क्रियाशील सामाजिक संघसंस्था, परम्परागत गुथि, दाफा गुथिदेखि महिला समूहहरूको संयुक्त पहलमा आयोजित कार्यक्रमका क्रममा जोशीलाई कीर्तिपुरको लोकतान्त्रिक चोकबाट सांस्कृतिक बाजागाजासहित नगर परिक्रमासमेत गराइएको थियो । नयाँबजार, नगाउँ हुँदै बाघभैरव ब्याङवेट पुगेपछि कीर्तिपुरवासीका तर्फबाट जोशीलाई सम्मान गरिएको थियो ।

गुठी विधेयकले संस्कृतिमाथि प्रहार : कांग्रेस

काठमाडौं, ३२ जेठ– प्रमुख प्रतिपक्षी कांग्रेसको संसदीय दलले सरकारद्वारा प्रस्तुत गुठीसम्बन्धी विधेयकले मुलुकको परम्परा, धर्म, संस्कृति र सभ्यतामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ । संसदीय दलले शनिबार सिहंदरबारमा गुठीसँग सम्बन्धित विज्ञ, गुठियार प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेपछि विधेयक संविधानको प्रावधान र व्यवस्थाको समेत प्रतिकूल रहेको ठहर गरेको छ ।
कांग्रेस संसदीय दलले विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा विधेयक फिर्ता गराउन गुठियार र सरोकार राख्ने सम्बन्धित सबै पक्षबाट भइरहेको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने र संघीय संसदमा सशक्त दबाब सिर्जना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

कुलेखानी तेस्रो र त्रिशूली ३ ए मा निर्धारित डेटलाइनमा नसकिने

ठेकेदारले लापरबाही गर्दा निर्धारित पछिल्लो मिति असार मसान्तसम्ममा बिजुली उत्पादन सुरु नहुने सम्भावना बढेको छ ।
ठेकेदारका कारण आशंका बढेको छ तर तोकिएकै मितिमा काम सकाउने प्रयासमा छौं : विद्युत् प्राधिकरण

काठमाडौं, ३२ जेठ– नेपाल विद्युत् प्राधिकरणका ‘क्रोनिक’ बनिरहेका कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली ३ ए आयोजनाबाट पछिल्लो घोषित मिति असार मसान्तमा समेत बिजुली उत्पादन सुरु हुन नसक्ने देखिएको छ । दुवै आयोजनाका चिनियाँ ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर काममा ढिलाइ गरेपछि घोषित मितिमा विद्युत् उत्पादन सुरु हुन नसक्ने खतरा बढेको विद्युत् प्राधिकरणका अधिकारी बताउँछन् ।
ती अधिकारीका अनुसार यी आयोजनाको विद्युत् उत्पादन मिति अझै कति पछाडि धकेलिने हो भन्न नसकिने स्थिति छ ।
सन् २०१४ को अन्त्यमा निर्माण सम्पन्न गर्ने गरी ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए आयोजनाको काम सन् २०१० मा सुरु भएको हो । चिनियाँ ठेकेदार कम्पनी गेजुवाको लापर्बाहीले आयोजना चार वर्ष ढिला भइसकेको छ । गेजुवा र प्राधिकरणका अधिकारीहरूबीच केही समयअघि भएको छलफलपछि असार मसान्तमा माथिल्लो त्रिशूली ३ ए बाट ६० मेगावाट बिजुली उत्पादन सुरु गर्ने सहमति भएको थियो ।

प्रधानसेनापति आइतबार चीन जाने

काठमाडौं, ३२ जेठ– प्रधानसेनापति पूर्णचन्द्र थापा चीन भ्रमणमा जाने भएका छन् । चीनको जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति थापा आइतबार एयर चाइनाको उडानबाट चीन जान लागेका हुन् ।
थापाको प्रधानसेनापति भइसकेपछि यो पहिलो चीन भ्रमण हो । भ्रमणक्रममा उनले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थल अवलोकन भ्रमण गर्ने र उच्चस्तरीय सैन्य पदाधिकारीस“ग भेटघाट गर्ने कार्यतालिका छ । भ्रमणले नेपाली र चिनियाँ सेनाको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ । थापासहित ८ जनाको भ्रमण टोली असार ७ मा स्वदेश फर्कनेछ ।

Saturday, June 15, 2019

कोटेश्वरको जाम हटाउन तीन विकल्प

पहिलो र दोस्रो विकल्प सुरुङ मार्ग, तेस्रो फ्लाई ओभर
काठमाडौं, ३१ जेठ– जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले राजधानीको कोटेश्वर चोकमा दिनहु“ हुने ट्राफिक जाम घटाउन तीनवटा विकल्पसहितको प्रारम्भिक प्रतिवेदन दिएको छ । राजधानीमा मुख्यचोकमा ट्राफिक सुधारका लागि नेपालको आग्रहमा अध्ययन गरिरहेको जाइकाको विज्ञ प्राविधिक टोलीले कोटेश्वरका लागि दुई फरक–फरक सुरुङमार्ग र फ्लाई ओभरसहित तीनवटा विकल्प दिएको हो ।
जापानी टोलीले एक महिनाभित्रै पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट दिने भएको छ । टोलीले फेब्रुअरीदेखि अध्ययन थालेको हो । पूर्वसम्भाव्यता अध्ययन क्रममा टोलीले प्रारम्भिक प्रतिवेदन दिएको हो । टोलीले दिएको प्रतिवेदनमा पहिलो विकल्पका रूपमा तीनकुनेबाट बालकुमारीसम्म सडकमुनि रिङ रोडमा सुरुङ मार्ग निर्माण गर्ने रहेको छ । तीनकुनेबाट सूर्यविनायक (भक्तपुर) तिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर केही फराकिलो बनाउने र त्यसको तलतलै तीनकुनेबाट बालकुमारीसम्म रिङ रोडमा १ हजार १ सय ४० मिटर लामो सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव छ ।

६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आफैं नक्कली हस्ताक्षर गरेर बुझे सामाजिक सुरक्षा भत्ता
काठमाडौं, ३१ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको साबिक भसेढवा गाविसका तत्कालीन प्राविधिक सहायक अखिलेन्द्रकुमार यादवसहित ३ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सामाजिक सुरक्षा भत्तालगायत सरकारी बजेट भ्रष्टाचार गरेको पुष्टि भएकाले यादवसहित तत्कालीन गाविस सचिवद्वय जवाहरलाल झा र जयचन्द्रप्रसाद जयसवालविरुद्ध मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ ।
उनीहरूले सामाजिक सुरक्षा भत्ता आफ्नै वा अरू कसैको औंठाछाप प्रयोग गरी आफैंले बुझेर अनियमितता गरेको भेटिएको अख्तियारले उल्लेख गरेको छ । उनीहरूले अर्धसरकारी अनुदान रकम र स्थानीय पूर्वाधार विकास निर्माणको रकम पनि दुरुपयोग गरी ४१ लाख ७७ हजार ६ सय ५१ रुपैया“ भ्रष्टाचार गरेका थिए ।
प्राविधिक सहायक यादवले ३३ लाख २४ हजार ३ सय ९१, तत्कालीन गाविस सचिव झाले ५ लाख ८१ हजार ३ सय ८५ र जयसवालले २ लाख ७१ हजार ८ सय ७५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको भनाइ छ । अख्तियारले अभियोगपत्रमा उनीहरूमाथि भ्रष्टाचार गरेबराबरको रकमलाई बिगो मानी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।

कमलपोखरीमा पार्क बनाउन प्रहरी चौकी मालीगाउँ सारिने

काठमाडौं, ३१ जेठ– सरकारले महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय मालीगाउ“ सार्ने भएको छ ।
काठमाडौं महानगरको प्रस्तावमा मन्त्रिपरिषद्ले कमलपोखरी वृत्त रहेको ठाउ“मा पार्क बनाउन सार्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा कमलपोखरी प्रहरीलाई मालीगाउ“स्थित बालमन्दिरको जग्गामा सार्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बा“स्कोटाले जानकारी दिए । महानगरले ‘बृहत् कमलपोखरी’ योजना अघि बढाउ“दै प्रहरी चौकी सार्न सरकारलाई दबाब दि“दै आएको थियो ।
प्रहरी चौकी साढे ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । चौकीलाई मालीगाउ“को हाल शिक्षाका लागि खाद्यान्न परियोजनाले प्रयोग गर्दै आएको भवनमा सारिनेछ । भवनमा चार रोपनीको परिसर छ । कमलपोखरी वृत्तमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा करिब एक सय प्रहरी बस्दै आएका छन् । 

Friday, June 14, 2019

करारमा कर्मचारी राख्नु हुन्न : कांग्रेस

  • संसदीय समितिको निर्देशनअनुसार रद्द गरी समानुपातिक समावेशी सिद्धान्तअनुसार अर्को विज्ञापन तत्काल निकाल्न माग
  • ‘आवेदन दिइसकेकासमेतलाई सहभागी गर्ने गरी विज्ञापन निकाल’
काठमाडौं, ३० जेठ– प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेश लोकसेवा आयोगबाट सिफारिस नभएसम्म स्थानीय तहहरूले करारमा कर्मचारी नियुक्ति गर्न सक्ने प्रतिनिधिसभा राज्यव्यवस्था समितिको निर्णयप्रति असहमति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी स्थानीय तहहरूमा निर्वाचित जनप्रतिनिधिका भाइ, भतिजा, छोराछोरी, आफन्त र आसेपासे करारमा राखिने हुनाले त्यसमा सहमत हुन नसक्ने बताएका हुन् ।
कांग्रेसले स्थानीय तहहरूमा रहेका आफ्ना पार्टीका जनप्रतिनिधिलाई समेत करारमा कर्मचारी नियुक्त नगर्न आग्रह गरेको छ । ‘स्थानीय तहहरूमा करारमा कर्मचारी राख्दा भविष्यमा समस्या निम्तिन्छ,’ शर्माले भने, ‘स्थानीय तहमा कर्मचारीको नियुक्ति लोकसेवा आयोगको सिफारिसमा मात्र गर्नुपर्छ । हाम्रो पार्टी सधैं करारमा कर्मचारी राख्ने कुराको विपक्षमा उभिन्छ ।’
शर्माले स्थानीय तहमा कर्मचारीहरूको नियुक्ति लोकसेवाबाट विज्ञापन गरेर मात्र हुनुपर्ने पार्टीको अडान रहेको उल्लेख गर्दै संविधानअनुसार कर्मचारीको नियुक्ति ४५ प्रतिशत समावेशी र समानुपातिक सिद्धान्तका आधारमा हुनुपर्ने बताए ।

एक लाख घुससहित इन्जिनियर पक्राउ

काठमाडौं, ३० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रूपनी गाउ“पालिकाका इन्जिनियर विकास श्रेष्ठलाई रंगेहात पक्राउ गरेको छ । निर्माण सम्पन्न भइसकेको झोलुंगेपुलको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीस“ग लिएको १ लाख रुपैया“ घूससहित श्रेष्ठ पक्राउ परेको अख्तियारको दाबी छ । उनलाई हिरासतमा राखी थप छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

२८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी २ करोड १६ लाख भ्रष्टाचार गरेको अभियोग
काठमाडौं, ३० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके र बर्दियाको सार्वजनिक जग्गा व्यक्तिका नाममा गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख मालपोत अधिकृतद्वय दीर्घबहादुर पोखरेल र कृष्णप्रसाद ज्ञवालीसहित २८ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरूले बाँके र बर्दियाको ८ कित्ता सार्वजनिक जग्गा नक्कली जग्गाधनीहरू कौशल भन्ने खैरुल हसन अन्सारी, हसरतुन निसा अन्सारी र लाली मल्लका नाममा दर्ता गरी २ करोड १६ लाख ७३ हजार रुपैयाँ भ्रष्टाचार गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 
प्रमुख मालपोत अधिकृतसहितका कर्मचारी, नक्कली जग्गाधनी र लेखापढी व्यवसायीले बा“के खासकारका“दो–७ र तत्कालीन नेपालगन्ज नगरपञ्चायत–३ को एक÷एक र बर्दिया नेउलापुर– वडा नं. ७ को १ र ९ को ५ कित्ता सरकारी जग्गाको कागजात किर्ते गरी व्यक्तिका नाममा दर्ता कायम गरी राज्यलाई हानिनोक्सानी र आफूलाई गैरकानुनी लाभ पु¥याएको अख्तियारले जनाएको छ ।

Thursday, June 13, 2019

हज समितिको टिकट खरिदमा ३८ लाख भ्रष्टाचार

१० जनाविरुद्ध मुद्दा, जनही ३८ लाख बिगो मागदाबी
काठमाडौं, २९ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हज कार्यसम्पादन उपसमिति (२०७४) का अध्यक्ष मोहम्मद शोएबसहित १० जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०७४ सालमा उपसमितिका अध्यक्ष शोएबसहितले सार्वजनिक खरिद ऐनविपरीत हजयात्रीका लागि मक्कामदिना जाने–आउने हवाई टिकटका लागि दोस्रो कम अंक कबोल गर्ने हिना ट्राभल्स एन्ड टुर्सको बोलपत्र स्वीकृत गरी ३८ लाख रुपैया“ अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
युनिभर्सल टुर्स एन्ड ट्राभल्सले ८८ हजार ९९५, हिना ट्राभल्स एन्ड टुर्सले ९० हजार र सिलिंक्स ट्राभल्स एन्ड टुर्सले ९५ हजार ३ सय रुपैयाँमा प्रतियात्रु हवाई टिकट उपलब्ध गराउने बोलपत्र पेस गरेकामा हज कार्यसम्पादन उपसमितिका पदाधिकारी र हज समितिको सचिवालयका सदस्यसचिवले कानुनविपरीत दोस्रो बढी रकम कबोल गरेको हिना ट्राभल्स एन्ड टुर्सको प्रस्ताव स्वीकृत गरी ३८ लाख रुपैया“ हिनामिना गरेको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ ।

सर्वोच्चको प्रश्न– ‘लोकसेवाको विज्ञापन रद्द किन नगर्ने ?’

काठमाडौं, २९ जेठ– सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि सर्वोच्च अदालतद्वारा गरिएको विज्ञापन रद्द गर्नु नपर्ने कारण भए लिखित रूपमा पेस गर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्चले असार ३ भित्र लोकसेवाको विज्ञापन रद्द गर्न अन्तरिम आदेश जारी गर्नुपर्ने या नपर्नेबारे छलफलका लागि सरकार, लोकसेवा आयोग र रिट निवेदकलाई अदालतमा आउनसमेत आदेश दिएको छ ।
आयोगले गरेको विज्ञापन समावेशिताको मर्मविपरीत भएकाले रद्द गर्न माग गर्दै अधिवक्ता विकास ठाकुरले सोमबार दायर गरेको रिटमा बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले सरकार र लोकसेवाका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले यस विषयमा अन्तरिम आदेश हुने कि नहुने भन्नेबारे निष्कर्षमा पुग्न निवेदक, सरकार र आयोगलाई बहसका लागि बोलाएको हो ।

पत्रकार महासंघद्वारा थप आन्दोलन घोषणा

काठमाडौं, २८ जेठ– नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने गरी ल्याइएको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन सरकारलाई दबाब दिन तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । दुई चरणको आन्दोलनबाट माग पूरा नभएपछि महासंघको मंगलबार बसेको केन्द्रीय समिति बैठकले एक महिना लामो कार्यक्रम घोषणा गरेको हो ।
असार ३ मा प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान चलाउने, असार ६ मा संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने, असार १० मा मिडिया काउन्सिल विधेयकविरुद्ध कार्टुन प्रदर्शनी गर्ने कार्यक्रम छ । 
महासंघले असार १५ मा सबै जिल्ला शाखाहरूले विधेयकविरुद्ध आ–आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरूलाई एसएमएसमार्फत सन्देश पठाएर ध्यानाकर्षण गराउने, असार २० मा बृहत् ‘प्रेस स्वतन्त्रता सभा’ गर्ने, असार २५ मा मध्याहन १२ः०० बजे लालटिन जुलुस र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम राखेको छ । महासंघले उक्त विधेयक संघीय संसद्मा छलफलका लागि पेस हुने दिन देशव्यापी रूपमा आकस्मिक विरोध प्रदर्शन गर्ने कार्यक्रमसमेत घोषणा गरेको छ ।

३३४ सांसदलाई ल्यापटप

  • संसद् सचिवालयलाई पेपरलेस बनाउने तयारी
  • सांसदलाई चलाउनसमेत सिकाइने
  • पेपर, प्रिन्ट र फोटोकपीका लागि हुने खर्च कटौती हुने
काठमाडौं, २८ जेठ– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३ सय ३४ सांसदलाई एकएकवटा ल्यापटप दिने भएको छ । सांसदहरूलाई ‘पेपरलेस’ र ‘सूचना प्रविधिमैत्री’ बनाउन सचिवालयले अत्याधुनिक ल्यापटप दिन लागेको हो ।
सचिवालयले आर्थिक वर्षको अन्त्यमा अर्थ मन्त्रालयको सहमतिमा बजेट रकमान्तर गरी ल्यापटप खरिद प्रक्रिया अघि बढाएको छ । सचिवालयले प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदका लागि ल्यापटप खरिद गर्न गत जेठ १९ मा बोलपत्र आहवान गरिसकेको छ ।
बोलपत्रबाट छनोट हुने प्रस्तावक कम्पनीले एक महिनाभित्रै ३ सय ३४ ल्यापटप उपलब्ध गराउने सचिवालय स्रोतले जानकारी दिएको छ । राज्यकोषबाट करिब साढे ३ करोड रुपैया“ खर्चेर सांसदका लागि ल्यापटप दिन लागिएको हो ।
सबै सांसदलाई ल्यापटप उपलब्ध गराइसकेपछि सचिवालयको पेपर, प्रिन्ट र फोटोकपीका लागि हुने खर्च कटौती हुने सचिवालय स्रोतको दाबी छ । ‘सांसदले आफ्नो प्रस्ताव र टिपोट ल्यापटपमै तयार गर्नेछन् । आफूलाई चाहिने डकुमेन्टसमेत त्यसमै राख्नेछन्,’ सचिवालय स्रोतले भन्यो, ‘सांसदबीच प्रस्ताव र डकुमेन्टको आदानप्रदान पनि त्यसबाटै हुनेछ ।’

गुठी विधेयक संविधानविपरीत : कांग्रेस

काठमाडौं, २८ जेठ– प्रमुख प्रतिपक्षी कांग्र्रेसले सरकारद्वारा संघीय संसदमा दर्ता गरिएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना र प्रावधान प्रतिकूल हुनेगरी मुलुकको धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी संविधानको प्रतिकूल, धर्म, संस्कृति, परम्पराको विनास गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी ल्याइएको विधेयकलाई आफ्नो पार्टीले स्वीकार नगर्ने चेतावनी दिएको छ ।
विज्ञप्तिमा कांग्रेसले विधेयक तुरुन्त फिर्ता गरी सरोकारवालासँग सार्थक संवादमार्फत सहमतिका आधारमा तत्काल समाधान खोज्नसमेत सरकारसमक्ष माग गरेको छ । कांग्रेसले विधेयकको विरोधमा आइतबार शान्तिपूर्ण प्रदर्शनमा उत्रेका गुठीका गुठीयार र आम नागरिकमाथि प्रहरीद्वारा भएको दमनको विरोध गरेको छ ।

Tuesday, June 11, 2019

६ जनाविरुद्ध मुद्दा, एक जना घुससहित पक्राउ

काठमाडौं, २७ जेठ– जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. घ, बाराका तत्कालीन कार्यालय प्रमुख हीरानन्द झासहित ५ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठेकेदारसितको मिलेमतोमा सर्लाही र रौतहट जिल्लामा बागमती नदी नियन्त्रण योजनामा ८५ लाख ९० हजार रुपैयाँ हिनामिना गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार मुद्दा दायर गरिएकामा झाका अतिरिक्त डिभिजन कार्यालय (घ)का तत्कालीन लेखा प्रमुख (लेखापाल) अरुण कुमार राई र तीनवटा निर्माण कम्पनीका सञ्चालक क्रमशः तेण्डी शेर्पा, जीवन थापा र रेवन्तकुमार बस्नेत छन् । अख्तियारले उनीहरूलाई जनही ८५ लाख ९० हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।
यसैगरी अख्तियारले बाँके जिल्लाका राप्तिसोनारी गाउ“पालिका–१ स्थित लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा कामीले काठ उपलब्ध गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Monday, June 10, 2019

घुससहित इन्जिनियर पक्राउ

काठमाडौं, २६ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर बद्री भण्डारीलाई घूससहित पक्राउ गरेको छ । कार्यालयको विज्ञापन छापेबापत कमिसनका लागि सेवाग्राहीसँग लिएको ३५ हजार रुपैयाँ घूससहित भण्डारी पक्राउ परेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार भण्डारीलाई हिरासतमा राखी छानबिन अघि बढाइएको छ ।

आजदेखि पुनर्निर्माणसम्बन्धी दक्षिण एसियाली सम्मेलन

काठमाडौं, २६ जेठ– पुनर्निर्माण, विपद व्यवस्थापन, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरूको भूमिकासम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
दुई दिने सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एन्ड लोकल गभर्मेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा हुन लागेको हो ।
सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधि र विज्ञहरू सहभागी हुने छन् । सम्मेलनमा चिनियाँ विज्ञको समेत सहभागिता रहने जानकारी पुनर्निर्माण प्राधिकरणले दिएको छ ।
सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणको प्रगति र त्यसको दिगोपनासम्बन्धी प्रस्तुति दिने कार्यक्रम छ । सम्मेलनमा विज्ञ, बढी भूकम्पप्रभावित गाउँपालिका र नगरपालिका प्रमुखहरूले प्रस्तुति दिने कार्यक्रम छ ।

द्रुत मार्गको आयोजना प्रमुखमा फेरिए

काठमाडौं, २६ जेठ– नेपाली सेनाले तराई–मधेस फास्ट ट्रयाक (द्रुतमार्ग) को आयोजना प्रमुख परिवर्तन गरेको छ । सैनिक मुख्यालयले आयोजना प्रमुख उपरथी योगेन्द्र खाँणको सट्टामा महासेनानी शरदलाल श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिएको छ ।
खाँडले असारको दोस्रो साता अनिवार्य अवकास पाउँदैछन् । नेपाली सेनामा अनिवार्य अवकास पाउनु दुई साताअघि बिदामा बस्ने परम्परा छ । त्यही परम्पराअनुसार खाँड बिदामा बस्न लागेकाले उनी मातहतमा कार्यरत प्राविधिक महासेनानी श्रेष्ठलाई द्रुत मार्गको कार्यवाहक आयोजना प्रमुखको जिम्मेवारी दिइएको वाजकारी सैनिक स्रोतले दिएको छ ।  तराई–मधेस द्रुतमार्ग राष्ट्रिय गौरवका आयोजना हो । आयोजना निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ ।

Sunday, June 9, 2019

प्रधानमन्त्री युरोपतिर

  • बेलायत र फ्रान्स पनि जाने
  • भ्रमण टोली २० सदस्यीय
काठमाडौं, २५ जेठ– युरोपका तीन देशको साताव्यापी भ्रमणका लागि प्रधानमन्त्री केपी ओली शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् । २० सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै ओली स्विट्जरल्यान्डको भियनातर्फ लागेका हुन् । भियनापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्स भ्रमण गर्ने कार्यक्रम छ ।
भियनामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन ओली जेनेभा गएका हुन् । उनी त्यहा“ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछन् । उनले सोमबार विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । जेनेभामा रह“दा साइडलाइनमा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फुअट ओकाट्या, नर्वेका प्रधानमन्त्री, स्विट्जरल्यान्डका पूर्वराष्ट्रपति, फेडरल काउन्सिलरलगायतस“ग भेट गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली जुन १० मा बेलायतको औपचारिक भ्रमणमा जानेछन् । सोही दिन उनले अक्सफोर्ड युनिभर्सिटीको अक्सफोर्ड युनियनले आयोजना गर्ने ‘शान्ति, प्रजातन्त्र र विकास’ विषयक कार्यक्रममा सम्बोधन गर्नेछन् । ‘नेपालको शान्ति प्रक्रिया, प्रजातन्त्र र समृद्धिको यात्रा’ का विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

Saturday, June 8, 2019

भोलि उपत्यकामा भोटो जात्रा बिदा

काठमाडौं, २४ जेठ– सरकारले काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले बिदा दिइएको गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइएको छ । जावलाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाइन्छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइनेछ ।

हुरीपीडितलाई तत्काल राहत दिन कांग्रेसको आग्रह

काठमाडौं २४ जेठ– प्रमुख प्रतिपक्ष कांग्रेसले कैलाली र कञ्चनपुरका हुरीपीडितलाई तत्काल उद्धार गरी उपचार व्यवस्था गर्न र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सरकारस“ग माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी पीडितको राहत र उद्धारमा जुट्न आफ्ना नेता–कार्यकर्तालाई आहवानसमेत गरेको छ ।
कांग्रेसले सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ जेठ २५ मा समापन गर्ने केन्द्रको परिपत्र भए पनि हावाहुरीका कारण हुन पुगेको मानवीय र भौतिक क्षतिको संवेदनशीलता आत्मसात् गर्दै समापन कार्यक्रमभन्दा राहत र उद्धारमा जुट्न आग्रह गरिएको जनाएको छ ।
यसैबीच कांग्रेस संसदीय दलले पनि घाइतेलाई तत्काल उद्धार गरी उपचार तथा राहत, विस्थापित परिवारको पुनःस्थापना र उचित क्षतिपूर्ति व्यवस्था गर्न सरकारस“ग आग्रह गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खा“डद्वारा शुक्रबार जारी विज्ञप्तिमा पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थालाई उद्धार एवं राहतमा जुट्न अपिल गरिएको छ ।

दुई अधिकृतसहित चार जना रंगेहात पक्राउ

काठमाडौं, २४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र प्रहरी अधिकृतसहित चार जनालाई घूस रकमसहित पक्राउ गरेको छ । माडी–लुंग्र्री करिडोर सिंचाइ आयोजना, रोल्पाका इन्जिनियर तारा श्रेष्ठलाई योजनाको अन्तिम बिल भुक्तानीका बेला सेवाग्राहीस“ग लिएको १ लाख रुपैया“ घूससहित समातिएको अख्तियारले जनाएको छ ।
अख्तियारले इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई समेत पक्राउ गरेको छ । प्रक्रिया पूरा गरी गैडहवा गाउँपालिकाअन्तर्गत नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग लिएको १५ हजार रुपैयाँ घूससहित बस्नेतलाई समातिएको अख्तियारको भनाइ छ ।
मालपोत कार्यालय चाबहिलका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई पनि अख्यितारले घूससहित पक्राउ गरेको छ । स्वामित्व विवादका कारण सर्वोच्च अदालतमा विचाराधीन रहेको गोकर्णेश्वर नगरपालिका ४ मा रहेको जग्गाको प्रमाणित मिसिल उपलब्ध गराउन सेवाग्राहीसँग २ हजार रुपैयाँ घूससहित श्रेष्ठ पक्राउ समातिएका थिए ।

चार देशमा राजदूत सिफारिस

अस्ट्रेलियामा महेश दाहाल, कतारमा नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्र
काठमाडौं, २४ जेठ– सरकारले चार मित्रराष्ट्रका लागि कूटनीतिक अनुभव नभएका चार जनालाई राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
राजदूत सिफारिसमा सत्तारूढ नेकपाभित्रको शक्ति सन्तुलन मिलाइएको छ । सिफारिसमा परेका चार जना प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल निकटका व्यक्ति हुन् । सरकारले राजदूत सिफारिस गरेको निर्णय औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।
तत्कालीन राजदूत लक्की शेर्पा फर्किएपछि खाली भएको अस्ट्रेलियामा अध्यक्ष दाहालको प्रस्तावमा उनीनिकट दाहाललाई सिफारिस गरिएको छ । नेपाल टेलिभिजनको अध्यक्ष भइसकेका दाहाल अध्यक्ष दाहालका जिल्लावासी र नातेदार हुन् ।

Thursday, June 6, 2019

चिकित्सा शिक्षा ऐन तत्काल संशोधन गर : डा. केसी

काठमाडौं, २२ जेठ– सामाजिक अभियन्ता डा. गोविन्द केसीले मेडिकल माफियामुखी प्रावधानहरूसहित जबर्जस्ती संघीय संसदबाट पारित गरिएको चिकित्सा शिक्षा ऐनलाई आफूस“ग भएको सम्झौताअनुसार तत्काल संशोधन गर्न सरकारसित माग गरेका छन् ।
उनले बुधबार विज्ञप्ति जारी गरी उच्चस्तरीय चिकित्सा शिक्षा तथा सेवा अध्ययन कार्यदलको प्रतिवेदन र आफूसित पटकपटक भएका सम्झौताअनुसार चालू संघीय संसदको अधिवेशनबाट चिकित्सा शिक्षा ऐनलाई संशोधन गर्न माग गरेका हुन् ।
उनले विज्ञप्तिमा प्रेस स्वतन्त्रता तथा मानव अधिकारको संरक्षण र द्वन्द्वपीडितको माग संबोधनमा गम्भीर नबने सरकारविरुद्ध जस्तोसुकै पुनः सत्याग्रहमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
उनले विज्ञप्तिमा ओली नेतृत्वको सरकारका गैरलोकतान्त्रिक तथा निरंकुशता–उन्मुख कदमविरुद्ध आफू फेरि पनि बोल्न बाध्य भएको उल्लेख गरेका छन् । प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले संघीय संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता गर्नुपर्ने मागसमेत उनको छ ।

सिंहदरबारमा प्रधानमन्त्रीले रोपे एभोकाडो

‘फलफूलको बिरुवा रोपण अभियान’ को सुरुआत
काठमाडौं, २२ जेठ– प्रधानमन्त्री केपी ओलीले एभोकाडोको बिरुवा रोपेर देशव्यापी ‘फलफूलको बिरुवा रोपण अभियान’ को सुरुआत गरेका छन् ।
विश्व वातावरण दिवसको उपलक्ष्यमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको बिरुवा रोपेर प्रधानमन्त्रीले ‘एक नेपाली एक फलफूलका बिरुवा रोपण अभियानको निरन्तरता कार्यक्रम’ को औपचारिक उदघाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले वातावरण दिवसमा दिएको सन्देशमा आफूलाई एभोकाडो फल मन पर्ने भएकाले एभोकाडोको विरुवा रोपेको उल्लेख गरेका छन् ।
त्यस क्रममा सिंहदरबार परिसरमा २८ वटा एभोकाडोको बिरुवा रोपिएका छन् । ‘एक नेपाली, एक फलफूलका बिरुवा रोपण अभियानको निरन्तरता कार्यक्रम’ को उदघाटन कार्यक्रममा मन्त्री, उच्च पदस्थ कर्मचारी, सरकारका उच्च पदाधिकारीको उपस्थिति थियो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री बिना मगर, उद्योगमन्त्री मात्रिका यादवलगायतले समेत सिंहदरबार परिसरमा फलफूलका बिरुवा रोपेका थिए । सरकारले आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षका रूपमा मनाउने घोषणा गरेको छ ।

Monday, June 3, 2019

दुई नक्कली प्रमाणपत्रधारीविरुद्ध मुद्दा

काठमाडौं, १९ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रधारी दुई जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका इन्जिनियर प्रदीपकुमार यादवले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 
मुद्दा दायरसँगै उनी सेवाबाट निलम्बित भएका छन् । बर्दियास्थित श्री युवक उच्च माध्यमिक विद्यालय, जोगीगाउ“का शिक्षक वीरबहादुर थारूले डा. राममनोहर लोहिया अवध विश्वविद्यालय, भारतको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति लिई सेवारत रहेको पुष्टि भएकाले उनीविरुद्ध समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

सानेपा दुर्घटनामा पत्रकारसहित दुईको मृत्यु

काठमाडौं, १९ जेठ– तीन जीप र एउटा मोटरसाइकल ठोक्किएर सानेपामा भएको दुर्घटनामा पत्रकारसहित २ जनाको मृत्यु भएको छ ।
आइतबार अपरान्ह भएको दुर्घटनामा नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरेको मृत्यु भएको छ । ललितपुरको गोदावारी निवासी घिमिरे लामो समयदेखि रेडियो पत्रकारका रूपमा कार्यरत थिए ।
प्रहरीका अनुसार सुरुमा दुई जीप ठोक्किएर अनियन्त्रित भएका थिए । अनियन्त्रित जीपमा अर्को एउटा जीप र मोटरसाइकल आएर ठोक्किन पुगेपछि घिमिरेसहित दुई जना घाइते भएका थिए ।
दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै मेगा अस्पताल पु¥याएको थियो । त्यहा“ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो । नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो ।
‘हामी कहा“ ल्याउनुभन्दा अगाडि नै दुवै जनाको मृत्यु भइसकेको थियो । घटनास्थलमै मृत्यु भएको हुनुपर्छ’ नर्भिक अस्पताल स्रोतले भन्यो ।  मृत्यु भएका अर्का व्यक्ति नुवाकोट जिल्ला, कुमोरी–३ का चन्द्रमणि मुडभरी भएको जानकारी प्रहरीले दिएको छ ।

Sunday, June 2, 2019

उपराष्ट्रपति पुन स्वदेश फिर्ता

काठमाडौं, १८ जेठ– उपराष्ट्रपति नन्दबहादुर पुन अस्ट्रियाको ८ दिने भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्केका छन् । उनी अस्ट्रियाको भियनामा आयोजित जलवायुसम्बन्धी आर–२० अस्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी भई फर्केका हुन् ।
पुनले भियनामा रह“दा अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान दर बेलेनसित भेटवार्ता गरेका थिए ।
भेटवार्ताका क्रममा उनले युरोपियन युनियनले नेपाल वायु सेवा निगमको युरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । जेठ १४ गते भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अस्ट्रियन विश्व शिखर सम्मेलनको उच्चतम सत्रमा बोल्दै उपराष्ट्रपति पुनले जलवायु परिवर्तनको विश्वव्यापी प्रभावबाट नेपालले भोगिरहेको समस्या र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि नेपालले गरिरहेको पहलका बारेमा विश्व समुदायलाई जानकारी गराएका थिए ।

वडा सदस्य घुससहित पक्राउ, फरेस्टरविरुद्ध मुद्दा

काठमाडौं, १८ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय (यादव) लाई घुस रकमसहित पक्राउ गरेको छ ।
गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराइदिन सेवाग्राहीसँग ३६ हजार रुपैया“ घुससहित वडा सदस्य राय शुक्रबार पक्राउ परेको अख्तियारले जनाएको छ । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
अख्तियारले सव–डिभिजन वन कार्यालय, चौरजहारी, रुकुम (पश्चिम) का फरेस्टर महेन्द्र बीसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बीसीले कु–काठ कटान आदेशको काममा सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण

छोरीले बाबुलाई दिइन् कलेजो
अब नियमित प्रत्यारोपण गर्न सकिनेछ : अस्पताल
काठमाडौं, १८ जेठ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलोपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन एवं प्राध्यापक डा. रमेशसिंह भण्डारीको टिमले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो ।
शुक्रबार बिहान ८ बजे सुरु गरिएको प्रत्यारोपण १६ घण्टापछि शनिबार बिहान १२ बजे सकिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि ५८ वर्षीय बाबुलाई ३३ वर्षीय छोरीले कलेजो दिएकी थिइन् ।
शल्यक्रियामा डाक्टर नर्स र स्वास्थ्यकर्मीसहितको ५० जनाको टोली र सर्जरीमा डा. भण्डरीको नेतृत्वमा १२ चिकित्सक सहभागी थिए । यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भए पनि शिक्षण अस्पतालमा पहिलोपटक भएको हो । भक्तपुरमा कलेजो प्रत्यारोपण निरन्तर छैन ।

अब दाहाल प्रधानमन्त्री हुनु हुन्छ : गजुरेल

काठमाडौं, १८ जेठ– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद हरिबोल गजुरेलले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आलोपालो पार्टी र सरकार चलाउने कुरा पुरानो सहमति भएको स्पष्ट पारेका छन् ।
‘यो कुरा त पहिलेदेखि नै मिडियामा आइरहेकै कुरा हो । उहा“हरू दुवैले मिलेर नै पार्टी र सरकार चलाउनु हुन्छ । आलोपालोमा सहमति भइसकेको छ’ राजधानीमा शनिबार आयोजित कार्यक्रममा दाहाल निकट नेता गजुरेलले भने । उनले आलोपालोको सहमतिअनुसार अब दाहाल प्रधानमन्त्री बन्ने बताए ।
दुई पार्टीबीच एकता गराउन दुवै अध्यक्षको अहम् भूमिका रहेको उल्लेख गर्दै उनले भने– ‘अब पार्टीभित्र कार्यविभाजन पनि छिट्टै टुंगो लाग्छ, हामीलाई दुवै अध्यक्षमाथि विश्वास छ ।’
उनले मुलुकको कम्युनिस्ट आन्दोलनलाई संकटबाट जोगाउनका लागि समेत एकता महत्वपूर्ण रहेको बताए । उनले मुलुकको राजनीतिमा अविश्वास उत्पन्न हुन नदिन नेपाली नेताहरूले अब बोल्ने तरिका बदल्नुपर्ने बताए । ‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ । मुलुकको विकास र समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य हुनु पर्छ’ उनको भनाइ थियो ।

Saturday, June 1, 2019

अब इदको दिन सार्वजनिक बिदा

काठमाडौं, १५ जेठ– सरकारले मुस्लिम धर्मावलम्बीहरूको चाड इद उल फित्रका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मुस्लिम समुदायको मागबमोजिम इद उल फित्रका दिन सार्वजनिक दिन निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिए ।
इद उल फित्रका दिन सार्वजनिक बिदा कटौती गरेकामा मुस्लिम समुदायले विरोध गर्दै आएका थिए । मुस्लिम समुदायले सातै प्रदेशका मुख्यमन्त्रीलाई इदका दिन सार्वजनिक बिदाको व्यवस्थाका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाएका थिए । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नै इद उल फित्रका दिन सार्वजनिक बिदा कटौती गरी सम्बन्धित समुदायलाई मात्र बिदा दिने परम्परा सुरु गरेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार अब इदका दिन मुलुकभर सार्वजनिक बिदा हुनेछ ।

कर्मचारीको कसको तलब कति पुग्यो ?

काठमाडौं, १५ जेठ– सरकारले राष्ट्रसेवक कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत सरकारले करिब साढे ५ लाख हाराहारी संख्यामा रहेका कर्मचारीको तलब साउन १ देखि लागू हुने गरी बढाएको हो । कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको छ ।
झन्डै साढे दुई लाख हाराहारी रहेका सेवानिवृत्त राष्ट्रसेवकहरूको पेन्सनसमेत वृद्धि भएको छ । पूर्वराष्ट्रसेवकहरूको पेन्सनमा जुन पदबाट सेवानिवृत्त भएको हो, त्यही पदको बहालवाला कर्मचारीको बढेको तलबको ६६ प्रतिशतका दरले वृद्धि हुनेछ ।
सबभन्दा तल्लो तहको कर्मचारी कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० बाट ३ हजार २ सय ४६ बढेर १९ हजार ४ सय ७६ रुपैया“ पुगेको छ । सबभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ५५ हजार २ सयबाट ९ हजार ९ सय ३६ बढेर ६५ हजार १ सय ३५ रुपैया“ पुगेको छ । खरिदारको तलब २२ हजार १ सय ७० बाट ४ हजार ४ सय ३४ बढेर २६ हजार ६ सय ४ रुपैया“ पुगेको छ ।

१० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १५ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा भन्सार कार्यालयका अधिकृत मानप्रसाद विकसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिलेमतोमा एउटै प्रज्ञापनपत्र तथा एउटै राजस्व बुझाएको बैंक रसिद प्रयोग गरी दुई अलगअलग मालवाहक ट्रक भन्सार कार्यालयबाट जा“चपास गराई ५३ लाख ९४ हजार रुपैयाँ सरकारलाई हानिनोक्सानी पु¥याएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा अधिकृतसहित भन्सार कार्यालयका खरिदार अतुलकुमार शर्मा, नासुद्वय शिशिरविक्रम शाह र रामचन्द्र भट्ट, भन्सार एजेन्ट जगतराज दाहाल र मालसामान धनी राजनप्रसाद तिमल्सिना छन् । अख्तियारले यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, वीरगन्ज, पर्साका नासु बद्रीप्रसाद दाहालसहित तीन जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनले दाहाल, लेखापढी व्यवसायी रोशनकुमार रौनियार र सुनीलकुमार यादवले ३१ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।